हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सन्दर्भ | दशैँ

चाडबाड र परिवार

'जनजातिले दशैँ मान्नुहुँदैन', 'तिहार बाहुनवादी चाड हो' वा 'छठ रुढिवादी संस्कार हो' भन्नेहरूमध्येका अधिकांश आधुनिकतावादीहरू– टेलिभिजन–योगी, रेडियो–गुरु तथा इन्टरनेट–मसिहाहरूका पछाडि अन्धविश्वासका साथ लाग्न पटक्कै गाह्रो मान्दैनन्।

सीके लाल

एक दशकको हिंस्रक विद्रोहपछि माओवादी नेताहरू आजकल शहरमा छन्। झण्डै साढे चार वर्षको शान्तिपूर्ण आन्दोलनको उत्कर्षको रूपमा भएको १९ दिने जनविद्रोहको बलमा स्थापित प्रतिनिधिसभाले स्वयंलाई सार्वभौम घोषित गरिसकेको छ। राजा थपनाका मात्र छन्। सेनाले कानूनतः नागरिक नियन्त्रणलाई स्वीकार गरिसकेको छ। अनपेक्षित केही भएन भने सात दल र माओवादीका शीर्ष नेताहरू भेटेर सम्भवतः दशैँ अगाडि नै अन्तरिम संविधानबारे छिनोफानो गर्ने निश्चित छ। शान्तिको यस्तो सम्भावनायुक्त वातावरण नेपालमा झण्डै १० वर्षयता कहिल्यै अनुभव गर्न सकिएको थिएन। तापनि किन हो कुन्नि, यस पटकको दशैँ पनि दशैँजस्तो छैन। बजारमा उपभोक्ताहरूको चाप बढेको जस्तो लागेपनि बिक्रेताहरू उत्साहित देखिँदैनन्। र, खरीदकर्ताहरूमा हुनुपर्ने उमङ्ग छैन। अचाक्ली बढेको बजारभाउ उपभोक्ताहरूका लागि चिन्ताको विषय हुनु स्वाभाविक हो। तर दशैँ जस्तो चाडबाड अगाडि केही वर्षयता देखिन थालेको उदासीनताका पछाडि आर्थिक बाहेक अन्य कारणहरू पनि छन्। आधुनिकताको अन्धो दौडले परम्परागत चाडपर्वहरूको महत्ता र उपयोगितालाई घटाउँदै लगिरहेको छ।

हुन त तीन चार दिनदेखिको बदली र सिमसिम पानीले गर्दा यसपालिको घटस्थापना निष्प्राण जस्तै थियो। हिन्दी गीतको धून बजाउँदै कलश–यात्राको अगुवाई गरिरहेका ब्याण्ड बाजा बजाउने समूहहरूले राजधानीका सडकहरूको रौनकता केहीबेरका लागि बढाएका भए तापनि कञ्चनजंघा क्षेत्रको हेलिकोप्टर दुर्घटनाको खबरले रमितेहरू तुरुन्तै तितरवितर भएका थिए। तर हवाई तथा सडक यातायातमा देखिएको चापका बाबजूद उल्लेख्य सङ्ख्याका राजधानी बासिन्दाहरू यस पटक पनि दशैँ मनाउन मूल ठाउँ वा कूलघर गइरहेका छैनन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सप्तमीका दिन विराटनगर जाने कार्यक्रम अनौपचारिक रूपमै भएपनि सार्वजनिक भइसकेको छ। तर उनकै मूल शहरका कैयन् राजधानीवासीहरू आ–आफ्ना बा–आमालाई दशैँको टीकाका लागि बरु काठमाडौँ बोलाउने तर स्वयं भने उपत्यका बाहिर नजाने मनस्थितिमा छन्। मुलुकको अत्यन्त सानो मध्यम वर्गको जीवनशैलीमा देखिएको चाडबाडप्रतिको घट्दो रुचि आफैँमा उतिसाह्रो महत्त्वपूर्ण प्रवृत्ति होइन। तर परम्परागत पर्वहरूप्रति प्रदर्शित भइरहेको उदासीनता परिवर्तनशील आर्थिक, सामाजिक तथा सांस्कृतिक अन्तरसम्बन्धहरूको परिचायकको रूपमा बुझ्न उपयोगी ठहरिन सक्छ।

चाडपर्वको अर्थ–राजनीति
दशैँको 'इतिहास' कसैलाई थाहा छैन। महिषासुर मर्दन वा रावण–वधजस्ता मिथकहरू सम्भवतः धेरैपछि प्रचलनमा आएका हुन्। देवीका विभिन्न रुपहरूको उपासनाको व्याख्या पनि उतिसाह्रो पुरानो लाग्दैन। तर सफल शिकारपछिको सार्वजनिक हर्षोल्लास हाम्रा प्राग्ऐतिहासिक व्याधा–पुर्खाहरूको पालामा पनि व्याप्त रहेको हुनुपर्दछ। रातो टीका लगाउने, पाकेको अन्नको साटो अन्य प्रशोधित परिकार र मासु खाने तथा नाचगान गर्ने प्रचलन पक्कै पनि धार्मिक भन्दा पनि सांस्कृतिक अनुष्ठानको रूपमा शुरु भएको हुनुपर्दछ। त्यस्तै दीपावली र रामको अयोध्या आगमनको प्रसङ्ग कमजोर तर्कले जोडिएको राजनीति–अभिप्रेरित व्याख्या जस्तो लाग्दछ। बरु हाम्रा व्याधा–वटुलुवा (हन्टर–ग्यादरर) पुर्खाहरूले धान वा गहुँ जस्ता लामा–लामा घाँसका बालाहरू उब्जाउन, राख्न र खान मिल्ने आविष्कारलाई चमत्कार मानेर लक्ष्मीपूजा शुरु गरेका हुन् कि? त्यो जे जस्तो भए तापनि सिरुवा, जूडशितल वा वैशाखी चाड खीं (हिउँदमा लगाइने र वसन्तमा भित्र्याइने दलहन, तेलहन तथा जौ–गहुँजस्ता अन्नबालीहरू) सामाजिकतासँग जोडिएको भए जस्तै दशैँ–तिहार–छट धानबाली जीवनशैलीको विशिष्ट संस्कृति हो। कालान्तरमा दशैँ बाहुन क्षेत्री शासक, तिहार वैश्य–गृहस्थ मध्यस्थ र छठ मिथिला–मगध–वैशालीका सामान्य किसानहरूको विशेष पर्वको रूपमा सीमित हुन पुगेकोे भए तापनि धानखेतीको वार्षिक समापन सबैजसो शरदोत्सवहरूको साझा सामाजिकता हो।

मानो खाएर मुरी उब्जाउने काममा वर्षा ऋतु बिताएको किसान लहलहाउँदो धानको बाला देख्छ र मीठो खान चाहन्छ। धानखेतीको हिलो–मैलोले तारतार भइसकेको लुगाले आसन्न हेमन्त धान्न सकिँदैन भन्ने यथार्थलाई बुझ्दै ऊ वार्षिक लुगाफाटोको जोडजाम पनि यही मेसोमा गर्न चाहन्छ। दुःख पोखे घट्छ, खुसी बाँडे बढ्छ। त्यसैले मीठो खाने, राम्रो लाउने मौसमसँगै मिलेर रमाइलो गर्ने अवसर बन्न पुग्दछ। चङ्गा–पीङ, जुवा–तास, नाच–गान, देउसी, भैलो तथा रातरात भरको जाग्राम बत्ती, पुस्तक, रेडियो वा टीभी आउनु अगाडिको समाजको व्यावहारिक तनाव उपचारतरिका (स्ट्रेस वस्टर्स) पनि रहेको हुनुपर्दछ। लुगा सिउने सूजिकार, जुत्ता बनाउने चर्मकार, गहना गढ्ने स्वर्णकार, खुद्रा व्यापार गर्ने पैकार वा सिर्जनात्मक पेशामा लागेका थरीथरीका मूर्तिकार, चित्रकार एवं अन्य कलाकारहरूः धान संस्कृतिको समृद्धिमा शरदोत्सवले समाजको सबै तप्कालाई समावेश गराउँछ। तर धानसंस्कृति स्वयं क्षयोन्मुख छ। त्यसैले धानसंस्कृतिका चाडपर्वहरूको पनि रुपान्तरण भइराखेको छ।

शुद्ध धानखेतीले जीविकोपार्जन गर्ने किसानहरूको औसत आर्थिक अवस्था अब दशैँ–तिहारमा समेत रमाइलो गर्न सक्ने हैसियतको रहेन। धानखेतीको लागत मूल्य आकाशिँदो छ। कृषि मजदुर पंजाव–हरियाणा जान थालेदेखि रोपाइँ–कटाइ ज्याला सामान्य किसानले व्यहोर्न सक्दैन। धानबाली अब त्यसले मात्र लगाउँछ जसको लागि अरू कुनै विकल्प उपलब्ध छैनः आकाशेपानी, हलो–गोरु र परम्परागत मलखाद बाहेक अरू कुनै कृषि अवयवको जोरजाम गर्न नसक्नेहरूका लागि धान छर्नु र रोप्नु अझै पनि निर्वाहको एकमात्र उपाय हो। तर ती दशैँ मनाउन सक्ने अवस्थामा हुँदैनन्। दशैँ त्यस्ताले मात्र अब धक फुकाएर मनाउन सक्छन्, जसको घरमा कृषि आय बाहेक अन्य नगद आम्दानी भित्रिन्छ। तर नगद–संस्कृतिले दशैँको मर्म ठम्याउन सक्दैन।

कुनैबेला नेपालको भू–भाग कृषि र वन्य उत्पादनको निर्यातको लागि प्रख्यात हुने गर्दथ्यो। राणाशासकहरूले नेपाली अर्थतन्त्रलाई भाडाका सिपाही र चौकीदार निर्यातमा निर्भर बनाए। शाह राजाहरूको प्रत्यक्ष शासनअन्तर्गत घरेलु नोकरको निर्यात र विदेशी ऋण तथा सहयोगले नेपालको अर्थव्यवस्थालाई धान्न थाल्यो। यस्ता सबै विस्थापन–विभीषिकाहरूले दशैँतिहार परम्परालाई समाप्त पार्न सकेन, किनभने निर्वासित कामदारहरू घर फर्किने छुट्टी मिलाउन सामान्यतः स्वतन्त्र हुने गर्दथे। प्रजातन्त्रपश्चात् नेपालले अँगालेको नवउदारवादी अर्थनीतिले आर्थिक वर्चस्व भएकाहरूको जीवनशैलीलाई मानकको रूपमा स्थापित गरेको छ। नयाँ वर्ष, भ्यालेन्टाइन्स डे, क्रिसमस तथा 'फ्राइडे नाइट–आउट' विश्वव्यापीकरण पुस्ताका आदर्श उत्सवहरू हुन्। तिनलाई दशैँतिहारले आकर्षित गर्न छोडिसकेको छ। र, बाध्यताहरू छन् मलेसिया, मध्यपूर्व एसिया तथा अरब मुलुकमा रोजगारका लागि विदेशिएका कामदारहरूका। तिनले दशैँतिहार मिलाएर घर आउने छुट्टी पाउन सक्दैनन्। बरु रमजान वा नयाँ वर्षको कार्यसुस्ततामा तिनले मुलुक फर्किन पाउने बिदा मिलाउन सक्दछन्। तिनका लागि दशैँ सबै परिवार सँगै बस्न पाएको वर्षको जुनसुकै महिनामा पर्न सक्छ, हेमन्त ऋतु पर्खिनुपर्दैन।

आजीविकाका कारणले नै पहिलो पुस्ता पहाडको घर, दोस्रो पुस्ता जिल्ला सदरमुकाम वा मधेशको गाउँ र तेस्रो पुस्ता राजधानीमा सर्न पुगेकाहरूको दशैँ उराठलाग्दो बन्न पुगेको छ। तीमध्ये अधिकांश आर्थिक रूपले सम्पन्न छन्। तिनका सन्तानले डाँडाकाँडा मात्र होइन, सात समुद्रपारिका शहर समेत ढाकिसके। तर तिनका परिवार परम्परागत रहेनन्। ई–मेल, एसएमएस र टेलिफोनबाट ढोगभेट र शुभकामना साटासाट गर्न बाध्य यो वर्ग केही वर्षयता ई–पसलहरू खुलेपछि लुगाफाटो त के खसीबोका समेत घरमै पाउन थालेको छ। तर मानवीय सम्बन्धलाई चिठीपत्र, हालखबर र उपहार आदानप्रदानले प्रतिस्थापित गर्न सक्दैन। परम्परागत परिवारको विच्छेदनले दशैँ–तिहारको महत्तालाई सुस्तरी समाप्त पार्दै लगिरहेको छ। परिवारको पुनर्संरचना र पारिवारिक सम्बन्धहरूको पुनःपरिभाषा समसामयिक नेपालको एउटा प्रमुख चुनौतीको रूपमा अगाडि आउने सम्भावना देखिँदैछ।

परिवार र संसार
योगी वा अघोरी मात्र पूर्ण रूपले स्वायत्त व्यक्तिको रूपमा रहिरहन सक्दछ। बाँकीलाई समाज चाहिन्छ। त्यसैले मानिसलाई सामाजिक प्राणी भनिएको हो। तर समाज स्वतः निर्मित संरचना होइन, त्यो मानिसले नै बनाएको अन्तरसम्बन्धहरूको जालो हो। त्यस अन्तरसम्बन्ध संरचनाको प्राथमिक इकाई जैविक परिवार हो, जसअन्तर्गत कुनैबेला बाजे–बराजुदेखि नाति–खनातिनीसम्म पर्ने गर्दथे। परम्परागत कृषि पेशाबाट व्यापार, व्यवसाय, उद्यम र सेवा हुँदै एकल श्रमको अवस्थासम्म आइपुग्दा परिवारका विभिन्न श्रेणीहरू सिर्जना भएका छन्। सगोत्रीय, १३ दिने, विस्तृत, नजिक र नाभिकीय हुँदै अब 'दुई कामदार, बेपरिवार' सँगै बस्ने अविवाहित व्यवस्था पनि नयाँ रहेन। हरेक किसिमको परिवारलाई आ–आफ्नै प्रकारको चाडबाड सुविधाजनक लाग्दछ।

बाजेदेखि नातिनीसम्म सँगै बस्ने परिवारका लागि ससुराली–मावली र छरछिमेक सबै आफ्ना हुन्छन्। ती दशैँ–तिहारलाई खर्चिलो तर उपयोगी त्योहारको रूपमा हेर्दछन्। चाडबाडमा संयुक्त परिवारका आईमाईहरूको जिम्मेवारी कैयन् गुणा बढ्छ, तर दशैँ–तिहारको सबभन्दा धेरै प्रतीक्षा तिनैलाई हुन्छ। त्यसो किन होला? नजिक वा नाभिकीय परिवारमा हुर्के–बढेकाहरूले राम्रोसँग शायद बुझ्न सक्दैनन्। चाडबाड नहुने हो भने वर्षैभरि उस्तै दिन, उही रातको निरश कार्यचक्र भोग्न बाध्य गृहिणीहरू खपिनसक्नुको विरक्तिका शिकार हुन्थे। तर एउटा पछि अर्को त्योहार आउँछ, उत्सवको वातावरण छाउँछ। र, त एकछाक, आधा पेट खाएर बालबच्चा हुर्काउनेहरू पनि आ–आफ्ना उमेर ५०–६० तिहारमा नाप्छन्।
नजिक परिवार (सामान्यतः पुरुष परिवार प्रमुखको बा–आमा, जीवनसँगिनी र छोराछोरी) संरचनाले दशैँ–तिहारलाई गैरकृषि व्यवसायमा लिप्त भइसक्दा पनि धानिरहेकै हुन्छ। 'वर्षदिनको चाड भनेर शहरबजारलाई दशैँ–तिहारमा गुलजार गर्ने वर्ग मूलतः संयुक्त परिवार नै हुने गर्दछ। नाभिकीय परिवार (विवाहित स्त्री–पुरुष र छोराछोरी) त्योहारमा अपेक्षाकृत बढी खर्च गर्दछन्– महँगो खरीददारी, जाडरक्सी, खसी, मासु, विदेशी कपडा र खेलाडी जुत्ता जस्ता सोखहरू पूरा गर्न तीमध्ये अधिकांशले दशैँतिहार नै पर्खिनुपर्दछ। तर 'दुई कमाउ–एक सन्तान' वा 'दुई कामदार–बेपरिवार' समुदायमा रोजेको दिन दशैँ र चाहेको बेला होली–दीपावली हुनसक्छ। तिनले दशैँ–तिहारलाई लामो छुट्टीभन्दा बढ्ता महत्त्व दिँदैनन्। जतिजति परिवारको सङ्कुचन हुँदै जान्छ, सामाजिक र सांस्कृतिक चाडहरूको महत्ता घट्दै जान्छ। स्व–केन्द्रित व्यक्तिहरू चाडपर्वको भूमिका र एकआपसमा उत्सवले उत्पन्न गराउने वा बढाउने आत्मीयतालाई राम्रोसँग ठम्याउन सक्दैनन्।

धार्मिकताको स्वरुप परिवर्तन दशैँ–तिहार जस्ता चाडहरूको महत्त्व घटाउने अर्को कारण बन्न पुगेको छ। त्योहारको निहुँमा तराईका गाउँहरूमा अब लाउडस्पीकर बज्दछन्, पहाडतिरका जात्राहरू सामूहिक जुवाको थलो बन्न थालेका छन् र शहरबजारमा दशैँ 'उपहार योजना' को बाढी लिएर आउँछ। बजारको उपभोक्ता मन्दिर जान्छ, तर आराधना गर्न चाहँदैन। तत्काल धर्म, सजिलो मुक्ति र खरीदका लागि उपलब्ध आशिष पाउन लालायित उपभोक्ता–व्यक्ति धर्मगुरु रोज्छ, मठमन्दिर खोज्छ, वास्तु र फेङ्गसुइ मान्छ, तर दुर्गा पाठ, मानस–वाचन वा रामलीला मञ्चनमा उसलाई कुनै रुचि छैन। केही मिनेट वा घण्टा भन्दा बढी समय निकाल्न गाह्रो हुने एउटा यस्तो कामकाजी वर्ग उदाएको छ जसका लागि धार्मिकता भन्नु नै फुर्सदका बेला मन्दिर जानु र बढीमा ध्यानशिविर धाउनु हो। यो वर्ग धर्मनिरपेक्ष बन्न सकेको छैन, तर संस्कृति निरपेक्ष भने भइसकेको छ। 'जनजातिले दशैँ मान्नुहुँदैन', 'तिहार बाहुनवादी चाड हो' वा 'छठ रुढिवादी संस्कार हो' भन्नेहरूमध्येका अधिकांश आधुनिकतावादीहरू टेलिभिजन योगी, रेडियो गुरु तथा इन्टरनेट मसिहाहरूका पछाडि अन्धविश्वासका साथ लाग्न पटक्कै गाह्रो मान्दैनन्।
“दशैँ गए क्रिसमस आउँछ, तिहारको साटो नयाँ वर्ष मनाउँछौँ” भन्नेहरूको तर्कलाई अनुचित भन्न मिल्दैन। उसै पनि केही वर्षयता दशैँतिहार पनि क्रिसमस, नयाँ वर्ष जस्तै उपभोक्ता उत्सवको रूपमा परिवर्तित हुनथालेको छ। तर सामाजिक–सांस्कृतिक चाडबाड, परिवार र समाजका अन्तरसम्बन्धहरू नबुझी पश्चिमा उत्सवहरूको अन्धानुकरणले वितृष्णाजन्य विकृति जन्माउन सक्छ भन्ने जोखिमप्रति सचेत हुन भने जरुरी छ।

मानव–मानसमा दुई मानवीय प्रवृत्तिहरूबीचको प्रतिद्वन्द्विता सभ्यता जत्तिकै पुरानो छ। मानिस औजार बनाउने जन्तु हो। औजारले द्वन्द्व बढाउँछ। बच्चा खेलौनाको लागि झगडा गर्छ, वयस्क खुकुरी, बन्दुक, ल्यापटप वा कलम लिएर नयाँ घर, राम्रो मोटर, अझ राम्रो लुगा वा अरू कुनै 'खेलौना' का लागि सदैव सङ्घर्षशील रहन्छ। त्यति मात्र हुँदो हो त मानवसभ्यता अनन्तयुद्धमा होमिएर उहिल्यै समाप्त भइसक्थ्यो। कुरा के हो भने मानिस औजार बनाउने व्याधा मात्र नभई संस्कृति निर्माण गर्ने सामाजिक प्राणी पनि हो। यी दुईथरी मानवीय प्रवृत्तिबीचको अनुपात खलबलिएका बेला युद्ध लडिन्छन्। सुनको लङ्काले रावणको दम्भ बढायो, राक्षस वंशको विनाश निम्त्यायो। इन्द्रप्रस्थको भव्य महलबाट 'अन्धोको सन्तान अन्धो' व्यङ्ग्य सुनेर दुर्योधन बाहिरिनु नपरेको भए चीरहरण हुने थिएन र महाभारतको कथा बेग्लै हुनेथियो। बन्दुकरुपी 'औजार' ले उपनिवेशवाद फैलायो; अणुबमको औजारले साम्राज्यवाद खडा गरेको छ। मानिसको औजारमोहबाट उत्पन्न जोखिम कम गर्नका लागि दिगो संस्कृति र सामाजिकताका संरचनाहरू बनाउँदै लगे मात्र समन्वयवादी राजनीति विकसित हुने परिस्थिति बन्न सक्दछ। त्यसका लागि परिवार, जाति, सम्प्रदाय र धर्मजस्ता प्राथमिक र पारम्परिक संरचनाको साटो सुस्तरी पेशागत, वर्गीय, सामुदायिक एवं राजनीतिक ऐक्यबद्धताका दोयम संस्थाहरूलाई प्रभावशाली नबनाई सुखै छैन। तर त्यस्तो अवस्था नबन्दासम्म परिवार र चाडबाडको सामाजिक महत्त्व कायम राख्नुको कुनै विकल्प छैन। र, जे कुराको विकल्प छैन, त्यसलाई सहर्ष स्वीकार गर्नु मानवीय स्वभाव हो।