हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सन्दर्भ | दशैँ

सबै चाडपर्व सबैका

रघु पन्त

भर्खरै झरीको अन्त्यपछि लोभलाग्दो हरियालीलाई सुमसुम्याउँदै देखापर्ने बिहान। पारिला सूर्यका किरण, लहलहाउँदो धानका फाँट र तिनका माथि अनि नीलो आकाशमुन्तिर उडिरहेका रङ्गीविरङ्गी चङ्गाहरू। विभिन्न देवी र कालीका मन्दिरमा दर्शनार्थीहरूको भीड र टड्कारै देखिने दशैँको चटारो। विगतमा देखिने यस्ता दृश्यहरू र तुरुन्तै अनुभूत गर्न सकिने परिवेश उपत्यकाको फैलँदो शहरीकरणसँगै कताकता हराइसकेको छ।

तर पनि दशैँ, दशैँ नै हो। यो खुरुक्क नेपालीका घरआँगनमा आउँछ र आफ्नो उपस्थिति जनाउँछ।

दशैँले विविधताको अनुभव गराउँछ। यसलाई उपत्यकाका नेवारहरूले आफ्नै मौलिकतामा आधारित भएर मनाउँछन् भने बाहुन, क्षेत्रीले आफ्नै तालमा, मगर, गुरुङ, राई, लिम्बू र विभिन्न जातिहरूले आ–आफ्नै ढङ्गले मनाउँछन्। दशैँलाई हिन्दूहरूको मात्र चाडको रूपमा व्याख्या गर्ने सङ्कीर्ण तरिका मलाई पटक्कै चित्त बुझ्दैन। नेपालमा दशैँलाई हिन्दू, बौद्धलगायत अन्य धर्मावलम्बीहरूले आ–आफ्नै तरिकाले मनाउँदै आएका छन्। दशैँलाई नेपालमा सबैले एकै तरिकाले मनाउँदै आएका छैनन् र एकै तरिकाले मनाउनुपर्छ भन्नु पनि हुँदैन। जातीय विविधता भएको नेपालमा त्यसै अनुसार नै दशैँ मनाइन्छ भने झन् राम्रो। विविधतामा एकता स्वयंमा एउटा विशिष्टपन हो।

बाबु–आमाको हातको रातो टीका, कानमा सिउरेको जमरा र आफूले मान्नुपर्ने आफन्तहरूको आशीर्वादको सम्झनाले दशैँको आसपासमा विदेशमा बस्ने नेपालीहरूलाई खूब चिमोट्न थाल्छ। त्यसैले ती राई हुन् या बाहुन, गुरुङ हुन् या क्षेत्री, नेवार हुन् या लिम्बू, जुनसुकै जात, थर र वर्गका भए पनि विदेशमा छन् भने आफ्नो गाउँघरलाई सम्झेर हुरुक्क हुन्छन्। दशैँले नेपालीहरूलाई जोड्छ आपसमा– विदेशमा मैले यही देखेको छु। भारतमा होस्, अरबमा होस्, कोरियामा होस् या अष्ट्रेलिया वा युरोपमा। नेपालीहरू जुट्छन्, आफन्त सम्झन्छन्, देशमा विताएको दशैँ सम्झन्छन्, देश सम्झन्छन् र भावुक हुन्छन्। कोही गीत गाउँछन्, कोही कविता सुनाउँछन् त कोही त्यसै त्यसै आफन्त, दशैँ र देश सम्झेर आँसु चुहाउँछन्।

प्रत्येक नेपालीसँग मनको एउटा कुनाभित्र दशैँसँग जोडिएका स्मृतिहरू हुन्छन्। मनको सागरभित्र त्यो कुन गहिराई भित्र कहाँ कहाँ लुकेको हुन्छ थाहा हुँदैन तर बेलाबेलामा त्यो भुमरी बनेर देखापर्छ। स्मृतिको गहिराइदेखि एकैपल्ट छाल झैँ उर्लेर आउँछ र निथ्रुक्क पारेर भिजाएर जान्छ।

किशोरावस्थामा आफूले बिताएका दशैँका दिनहरू सम्झँदा कस्तो कस्तो लाग्छ। धेरै रमाइला स्मृतिहरू फर्की आउँछन्। लट्टाइ बोकेर धानका खेतहरूमा चङ्गा उडाउँदै दौडेको एउटा फुच्चे केटो र पाकेको धानबाली बिगारिदियो भनेर उसलाई गाली गर्दै लखेटिरहेकी एउटी बूढी ज्यापूनी आमाको धमिलो दृश्य मेरो आँखामा आउँछ। ओहो त्यो फुच्चे मै त हुँ नि! तर अघिपछि मलाई माया गर्ने तर धान चङ्गाले झारिदियो भनेर गाली गर्दै लखेट्ने ती बूढी छिमेकी किसान आमै उहिल्यै बितिसकिन्। मैले चङ्गा उडाउने र दशैँताका पहेँलै भएर धान झुल्ने खेतमा अहिले छाँट नमिलेका अनगिन्ती घरहरू उमि्रसके।

लामो नर्कट बोकेर म आफ्ना दौँतरीहरूसँग असिनपसिन हुँदै काट्टिएका चङ्गाहरू लुट्न कुद्थेँ। एउटा चङ्गा हात पर्‍यो भने संसार पाएजस्तो लाग्थ्यो। रूखमा अड्केका चङ्गाहरू पनि नर्कटले तानेर वा रूखै चढेर लिन्थ्यौँ तर ती अधिकांश रूखहरू अब छैनन्।
उपत्यका पहिलेजस्तो छैन। ललितपुर, काठमाडौँ र भक्तपुर पहिलेजस्तो छैन। निरन्तर बढ्दो वस्ती र अनियन्त्रित शहरीकरणले उपत्यकाको मौलिकतालाई छोप्दै लगेको छ। त्यसैले उपत्यकाको दशैँको रंग पनि पहिलेजस्तो छैन। यसको रुप फेरिएको छ, स्वाद फेरिएको छ र झन् विविधतायुक्त भएको छ। यो विविधतालाई हामीले सहज र स्वाभाविक रूपमा स्वीकार्नुपर्छ।

उपत्यकाको दशैँको रंगमा थप रंगहरू थपिएका छन् र यो झन्झन् विविधतायुक्त भएको छ। उपत्यकाको दशैँमा अब जनजातिहरूको रंग र स्वाद समेत मिसिन थालेको छ र यसले दशैँलाई झन् सुन्दर बनाएको छ। रिंगरोड बाहिरका वस्तीहरूमा बढ्दै गएको मगर, गुरुङ, राई, लिम्बूलगायत विभिन्न जातिको बढ्दो उपस्थितिले उपत्यकाको संस्कृतिमा देशको पूर्वी पहाडको सुगन्ध र पश्चिम नेपालको मौलिकता समेत थप्दै लगेको छ।

अब टुँडिखेलमा विभिन्न चाडपर्वमा लहरै बसेर भोज खाइरहेका नेवारहरू मात्र होइन साकेला पर्व मनाएर नाचिरहेका किराँतीहरू पनि देख्न पाइन्छ। उँधौली र उँभौली मनाउँदै झ्याम्टा बजाएर टँुडिखेलमा नाचिरहेका राई, लिम्बू नरनारीहरूको लर्कन देख्दा देशले बल्ल राजधानीमा प्रवेश गरेजस्तो लाग्छ। ल्होसार मनाइरहेका विभिन्न जनजातिको रौनक पनि अब उपत्यकामा अनुभव गर्न सकिन्छ। यी सबैको उपस्थितिले उपत्यकाको दशैँलाई पनि प्रभावित पारेको छ र यी प्रभावहरूलाई दशैँले सहज रूपमा ग्रहण गर्दै जानुपर्छ।
हाम्रो संस्कृति कुनै जातिविशेषको, धर्मविशेषको मात्र होइन, हामी सबैको, सम्पूर्ण नेपालीको हुनुपर्छ। त्यसैले साकेलामा सबै नेपालीले नाच्नुपर्छ, ल्होसारमा सबै नेपाली हाँस्नुपर्छ, छठ पर्वमा सबैले खुसी हुनुपर्छ र दशैँमा सबै नेपालीले रमाउन पाउनुपर्छ।

मेरो घर नजिकैको एउटा मगर परिवारको सम्झना अझै मेरो मनमा ताजा छ। उनकी दुइटी छोरीमध्ये ठूलीलाई म दिदी भन्थेँ र सानीसँग म सानोमा खेल्थेँ। दशैँ राम्रोसँग मनाउन खूब ध्यान दिने त्यो परिवार म सानो छँदै बसाइँ सर्‍यो। दशैँमा छोरीहरूलाई आफ्नो सानो घर काँचो इँटले सिँगार्न सिकाइरहेका त्यो घरका मुलीको सम्झना ताजै छ। आफ्नी श्रीमतीको अत्यधिक रक्सी खाने बानीले दिक्क भएर उनी बसाइँ नै सरे। दशैँमा रम्न तिनले पनि सिकाएका थिए मलाई!

दशैँलाई राजनीतिले ग्रहण लगाउन खोज्छ बेलाबेला। कोही बहिष्कार भन्छन् दशैँलाई त कोही हिन्दूहरूको मात्र भन्छन्। वास्तवमा दशैँ न हिन्दूहरूको मात्र हो न यसलाई बहिष्कार गरेर नै केही हात लाग्छ। हामी क्रिसमस र इद समेत सबैले मिलेर मनाउनुपर्ने युगमा छौँ भने दशैँलाई बहिष्कार गर्नुको के अर्थ छ?

त्यसैले आउनुहोस् टीका थापौँ, आफूभन्दा मान्यजन जुन जात र वर्गका भए पनि तिनसँग आशिष मागौँ, कानमा जमरा सिउरौँ। सद्भाव, आपसी विश्वास, सहमति र साझापनको विस्तार गरौँ। दशैँ आखिर सद्भावको पर्व पनि त हो नि!