| •
ऋतुराज |
 |
ऋतुविचार
दशैँ
बहिष्कार
पोहोर घरको
टालटुले काम सकेर त्यसमा रङ पोत्ने काम थाल्दा दशैँ झ्याम्मै आइसकेको
थियो। ठूलो पीर पर्यो। रङ पोत्ने काम अधूरै रहला र दशैँका बेला घरको
रुप गाईजात्रे होला भन्ने डर थियो। दशैँ लागिसकेपछि कसले पो काम गरिरहन्छ
र! थालेको काम पूरा होस् नहोस् बीचमै छाडेर ज्याला छेराएर हिँड्छन्
दशैँ मनाउन नेपाली कामदारहरू।
तर क्या उदेक, महानवमीको दिनमा पनि रङ पोत्न हाजिर थिए
सिन्धुपाल्चोकका लामाभाइ। बुझ्दा थाहा भो प्रभुको मण्डलीमा लागेर केही
वर्षअघिदेखि नै तिनले दशैँ मनाउन छाडिसकेका रहेछन्। उनी त 'बडा दिन'
को चाड मनाउने पो भएका रहेछन्। ढुक्क भयो काम अधुरो नरहने भयो भनेर।
साँच्चि नै रहेन पनि। तिनले टीकाको दिन पनि भनेनन्। भन्ने कुरा पनि
आएन।
पहिलेपहिले दशैँका बेला काठमाडौँका धेरै इलाका 'भुताहा
बजार' मा परिणत हुन्थे― पसलहरू बन्द रहन्थे, रेस्टुराँहरूमा 'क्लोज्ड'
लेखिएका साइनबोर्ड झुन्डिन्थे, ट्याक्सीहरू दुर्लभ हुन्थे, बसहरू एकादुका
मात्र चल्थे। कुनै 'काउ–ब्वाय' फिल्मको मानव गतिविधिविहीन नगरजस्ता
देखिन्थे काठमाडौँका इलाका टोलहरू। सामानहरू पहिले नै किनेर जोहो गर्नुपर्थ्यो।
किनभने अर्थोक त के एउटा कोल्ड ड्रिङ्क पनि भनेका बेला किन्न नपाइने
सम्भावना रहन्थ्यो।
तर पोहोर साल प्रभु येशुका अनुयायी लामाभाइ त काममा
आए आए मध्य दशैँमा पनि केही कुराको पनि दुःख भएन।
हाम्रो टोलको तमु स्टोर दशैँमा एकै दिन पनि बन्द भएन।
टीकाको दिनमा समेत पूरा खुलै थियो। भाटभटेनी डिपार्टमेन्टल स्टोरको
लघुरुप त्यस पसलमा हरेक थोक पाइन्थ्यो। छिमेकमा रहेको आलेको पसलबाट
डी.डी.सी. दूधको दैनिक आपूर्ति पनि टुटेन। अलिक मास्तिर चुरा पसलमा
पसल्नी खातुनका हातबाट गृहिणीहरूले नयाँ चुरा फेर्न र शृङ्गारको सामान
किन्न पाइरहे। सोलुका शेर्पाले चलाएको मोमो पसलबाट पनि कुनै ग्राहकले
निराश हुनुपरेन। दैनिक नेपाली खबरकागतहरू त दशैँमा केही दिन छापिँदैनन्।
तैपनि किराँती पत्रिका पसल खुलै रह्यो र टाइम्स अफ इन्डिया को ग्राहककपी
पनि त्यहाँबाट मिलिरह्यो। मिथिलावासी पानवालाको पान पसल अरू दिन बरु
केही छिटै बन्द हुन्थ्यो, दशैँमा भने राति अबेरसम्म खुलै हुन्थ्यो।
अनि नेपालका मङ्गोलवादी नेता गोपाल गुरुङका 'मङ्गोल बन्धु' हरूले चलाएका
ट्याक्सी र बसको पनि कुनै कमी थिएन।
निकै फरक आएको छ अचेल। दशैँमा पनि जीवन अघिपछि झैँ चल्न
थालेको छ।
केही समुदाय आफ्नै कारणले दशैँ मनाउँदैन थिए। यता आएर
दशैँलाई बहिष्कार गर्ने लहर पनि जोडिएको छ। दशैँ बहिष्कारका कारण हो
या नयाँ 'वर्क कल्चर' का कारण हो त्यो त भन्न सकिएन तर फरक भने निकै
आएको छ। दशैँमा पहिलेपहिले जस्तो असुविस्ता व्यहोर्नुपर्ने अवस्था
छैन। असुविस्ताको मात्रा घट्दो छ। यसो हुनुमा मूल कारण दशैँ बहिष्कार
हो भने म त भन्छु धेरैभन्दा धेरैले त्यसो गरून्। पूजा नगरून्, टीका
नलाउन्, बिदा नमानुन्, पसल खोलुन्, कामधन्दा नरोकुन्, कारोबार चालू
राखुन्। त्यो राम्रो कुरा हो।
दशैँ बहिष्कार गर्नेे पनि खुसी, दशैँ मान्नेले पनि आनन्दसँग
कुनै असुविस्ताबिना दशैँ मनाउन पाउँछन्। त्यही त हो नि लोकतन्त्र भनेको!
कि कसो?
झलकदाइका विचार
झलक थापाको नाम पोखरासित त्यसरी नै जोडिएको छ जसरी मासुसँग
नङ जोडिएको हुन्छ। पोखरा उपत्यका, त्यसका प्रत्येक खोला, बगर, साँघु,
थुम्का–थुम्की, ताल–तलैया, फूल–बिरुवा, कान्ला–फाँट, गोरेटा–चौतारा,
मठ–मन्दिर चरा–चुरुङ्गी र त्यहाँका मानव आत्मालाई पनि बिछट्टै माया
गर्ने सुकोमल हृदय भएका एक जना स्वप्नदर्शी व्यक्तिको नाम हो झलक थापा।
केही वर्षअघि पोखराले सम्मान गरेको पोखराका नवरत्नमध्ये एक रत्नको
नाम हो झलक थापा।
झलक थापा नामका ती पोखरेली रत्नका केही उम्दा विचार
पढ्न पाइएको थियो अस्ति न को 'कान्तिपुर' मा। त्यस लेखमा उहाँका केही
सुझाव र सल्लाह छन् हामी सबैलाई। उहाँ भन्नुहुन्छ महिनामा एउटा हिमाल
चिनौँ, सातामा एउटा चरा चिनौँ, सातामा एउटा बोटबिरुवा चिनौँ, महिनामा
एउटा जनावर चिनौँ, महिनामा एकथरी माछा चिनौँ, पुतली चिनौँ, सुनगाभा
चिनौँ। अनि चिन्छौँ हामी हाम्रो देश, हाम्रो समाज। अनि जगेर्ना गर्न
सक्छौँ हामी प्रकृतिको। कति राम्रा र मर्मस्पर्शी छन् उहाँका यी सुझाव
र सल्लाह। यी सङ्ला विचार उहाँको सङ्लो हृदयबाट सोझै आएका हुन्। झलक
थापाको अगाध प्रकृतिप्रेम झल्किन्छ यी विचारमा।
त्यसै गरी अनाथ, असहाय र अशक्त मानिसलाई भेट्ने अनि
सृजनाको आहालमा चुर्लुम्म डुबेका सर्जकहरूलाई चिन्ने सुझाव पनि छ उहाँको।
त्यसो भएमा हामी मानवजीवनको गरिमालाई बुझ्न सक्छौँ। त्यस सुझावमा उहाँको
मानवप्रेम झल्कन्छ।
उहाँका त्यति राम्रा विचार पढ्दा झलकदाइले एउटा कुरा
अझ थपिदिए हुन्थ्यो जस्तो लाग्यो।
उहाँले लेखिदिए हुन्थ्यो प्रत्येक साता एक जना नेतालाई
चिनौँ। उसको असली हैसियत, उसको नालायकीपन, उसका बगमफुसे गफ, उसको पदलोलुपता,
उसको लालच, उसको निकम्मापन, उसको पाखण्ड चिनौँ। उसले लगाएका मखुन्डालाई
एक–एक गरेर उदाङ्ग पाराँै। यसो गरेमा नीर रङ पखालिएको स्यालझैँ उसको
सक्कली रुप देखिने थियो। यसप्रकार वर्ष दिनमा पचास जनाको असली अनुहार
उदाङ्गिने थियो र अर्को पाँच वर्षमा निकम्मा नेताहरूको एक पत्र उक्किएर
जाने थियो। उहाँले लेखिदिए हुन्थ्यो सातामा एक
जना भ्रष्टचारीलाई चिनौँ। उसका दुष्कर्मको पर्दाफास
गराँै। सभ्य र सुकिला भेषमा हाम्रै वरिपरि हाम्रै सामुन्ने घुमिहिँड्ने
भँडुवाहरूको सङ्ख्या घट्ने थियो। आखिर यिनीहरूको उछित्तो नखेलाई न
समाजलाई ठीक ठाउँमा राख्न सकिन्छ न प्रकृतिलाई नै जोगाउन सकिन्छ।
झलकदाइ, तपाईंका कुरा त लाग्छन्। यस विषयमा पनि तपाईंले केही भनिदिनुहुन्थ्यो
कि?
|