रिपोर्ट
| माओवादी मजदुर युनियन
जबर्जस्तीको सहारा
आफ्नो सङ्गठन विस्तारका क्रममा माओवादी मजदुरहरू
उद्योगपति र अरू मजदुर युनियनसम्बद्ध कार्यकर्ता तथा कामदारलाई जबरजस्ती
गर्ने, धम्क्याउन र कुटपिट गर्ने मात्रै होइन, अपहरणसमेत गरिरहेका
छन्।
•
डम्बरकृष्ण श्रेष्ठ
 |
| ३० भदौमा माओवादी मजदुरद्वारा पिटिएका ललितपुर,
हात्तीवनस्थित नेपाल डेरीका सञ्चालक ७४ वर्षीय हेरम्ब राजभण्डारी।
|
माओवादी निकट
अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) अहिले आफ्नो सङ्गठन
विस्तारमा जुटेको छ। पर्यटन, गलैंचा, यातायात, उद्योग, कलकारखाना,
होटल, निर्माणलगायतका क्षेत्रमा अहिले माओवादी मजदुर सङ्गठन आफ्नो
प्रभाव विस्तार गर्न कस्सिएको छ। सरकारसँग शान्ति वार्ता भइरहेको अवस्थामा
माओवादी भातृ सङ्गठनको क्रियाकलापले ट्रेड युनियन क्षेत्र अस्तव्यस्त
बन्न पुगेको छ। अपहरण, ज्यान मार्ने धम्की र जबरजस्ती राजिनामाका घटना
दिनहुँ भइरहेका छन्। माओवादी मजदुर सङ्गठनका अध्यक्ष शालिकराम जमरकट्टेल
यसलाई आफ्नो सङ्गठन विस्तारबाट आत्तिएर 'विरोधीले चलाएको हल्ला' भन्छन्
(हे.अन्तर्वार्ता)। तर, एकपछि अर्को घटना देख्दा माओवादीले श्रम क्षेत्रलाई
तहसनहस पार्न खोजेको आभास हुन्छ।
३० भदौमा आफ्नो मजदुर सङ्गठन विस्तार गर्न नदिएको आरोपमा
माओवादी मजदुर कार्यकर्ता रमेश पन्तको नेतृत्वमा दुई वटा माइक्रोबसमा
गएको समूहले ललितपुर, हात्तीवनस्थित नेपाल डेरीका सञ्चालक ७४ वर्षीय
हेरम्ब राजभण्डारी र उनका छोरा अरनिकोलाई कुटपीट गरे (हे. तस्बिर)।
कुटपीटबाट घाइते हेरम्ब राजभण्डारी अझै पनि असुरक्षाका कारण आफ्नो
घरमा बस्न सकेका छैनन्। महाबौद्धस्थित आफ्नै कार्यालय कोठामा बस्दै
आएका राजभण्डारी घटनाका बारेमा केही बोल्न चाहँदैनन्। उनी यति मात्रै
भन्छन्, “सरकारले सुरक्षा दिन सकेन, शान्तिसुरक्षाको व्यवस्था हुनु
पर्यो।”
हायात रिजेन्सीमा माओवादीले युनियन खोल्दा नसोधी इकाई
उपकमिटी अध्यक्षमा राखेका शालिकराम सापकोटाले पछि राजिनामा दिएर एमाले
निकट अखिल नेपाल स्वतन्त्र मजदुर युनियन (जिफण्ट) को इकाइ खोल्न खोज्दा
उनी माओवादीको तारो बने। १९ र २० भदौमा उनलाई काम गरिरहेकै अवस्थाबाट
समातेर माइक्रोबसमा राखी कुपण्डोलस्थित माओवादी सम्पर्क कार्यालयमा
लगियो र माओवादीको विरुद्धमा नलाग्न धम्की दिइयो। सापकोटा भन्छन्,
“पहिलो दिन मलाई माइक्रोबसमा आएको समूहले हायातबाट जबरजस्ती कुपण्डोलमा
शालिकराम जमरकट्टेलकहाँ पुर्याएर चार घण्टापछि छाडे। तर, भोलिपल्ट
फेरि समातेर माओवादी युनियनविरुद्ध लागे श्रमशिविरमा लैजाने धम्की
दिए।”
 |
“अपहरण गरेर लगेपछि मलाई २४ घण्टाभित्र बसेको ठाउँ नछाडे बोरामा
हालेर खाल्डोमा पुर्ने धम्की दिए।”
श्रीदास योञ्जन |
ट्रेड युनियन काङ्ग्रेससम्बद्ध नेपाल गलैंचा मजदुर संघका
ललितपुर जिल्ला अध्यक्ष श्रीदास योञ्जनलाई १३ भदौ बिहान भैँसेपाटीबाट
समातेर '२४ घण्टाभित्र ठाउँ छाड्न' भनियो। उनले तुरुन्त ठाउँ छाड्न
नसक्दा माओवादी ट्रेड युनियनका कार्यकर्ता र योञ्जनको समूहबीच झडप
नै भयो। अहिले पनि उनी भैँसेपाटीस्थित आफ्नो डेरामा परिवार भेट्न जान
सकेका छैनन्। त्यसैगरी २५ भदौ बेलुकी नेपाल यातायात स्वतन्त्र मजदुर
सङ्गठन, पृथ्वी राजमार्ग इकाईका सल्लाहकार रामकुमार आचार्यलाई सुराकी
गरेको भनेर पक्राउ गरी हेटौँडा पुर्याइयो। भोलिपल्ट उनलाई माओवादीको
मकवानपुर जिल्ला सेक्रेटरी राजु नेपाल (विकास) ले पत्रकार र मानव अधिकारवादीको
जिम्मा लगाएर छाडे।
'नियम कानून मान्दैनौँ'
माथिका घटना राजधानीमा भएका पछिल्लो तीनसाताका केही प्रतिनिधि
घटना मात्रै हुन्। वैशाखयता देशभर यस्ता सयौँ घटना भएको विवरण ट्रेड
युनियन क्षेत्रमा कार्यरत संघसंस्थासँग छन्। नेपाल ट्रेड युनियन महासंघ
(जिफण्ट), नेपाल ट्रेड युनियन काङ्ग्रेस (एनटीयुसी) र नेपाल प्रजातान्त्रिक
ट्रेड युनियन महासंघ (डिकोण्ट) ले १ असोजमा संयुक्त विज्ञप्ति जारी
गरेर माओवादीको नाङ्गो हस्तक्षेप र आतङ्कपूर्ण गतिविधि बन्द गर्न आह्वान
गर्दै सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेका छन्।
तर, माओवादी मजदुर सङ्गठनलाई यसको वास्ता छैन। उनीहरू
हाकाहाकी वर्तमान श्रम कानून आफूलाई मान्य नभएको बताउँछन्। त्यसैले
सङ्गठन बनाउन जबरजस्ती उद्योग, प्रतिष्ठान र होटलहरूमा प्रवेश गर्छन्।
प्रचलित नियम अनुसार कुनै पनि संस्थामा मजदुर युनियनले सङ्गठन खोल्न
सम्पूर्ण मजदुर सङ्ख्याको २५ प्रतिशतलाई सदस्य बनाउनुपर्छ। आफ्ना माग
राख्न ५० प्रतिशत र हड्ताल गर्न ६० प्रतिशत मजदुरको समर्थन चाहिन्छ।
तर उनीहरूबाट हदैसम्म जोरजुलुम हुने गरेको मजदुर नेताहरू बताउँछन्।
नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष शेखर आचार्य
भन्छन्, “हाम्रा युनियनका पदाधिकारीलाई हटाउने, राख्ने काम हाम्रो
हो तर उनीहरू राजिनामा गर भन्छन्। उनीहरूको अराजकता र ज्यादती दिनहुँ
बढिरहेको छ। अब हामी हाम्रो युनियन र कामदारको सुरक्षाका लागि प्रतिरोध
गर्न बाध्य हुनेछौँ।” उनले माओवादी ट्रेड युनियनबाट भइरहेको अराजकता
र ज्यादतीबारे प्रधानमन्त्री र गृह मन्त्रीलाई समेत जानकारी गराइसकेको
बताए।
कतिसम्म गरिन्छ भने, २६ भदौमा ट्रेड युनियन काङ्ग्रेसको
नेपाल विद्युत् तथा ऊर्जा श्रमिक संघका केन्द्रीय सदस्य सूर्यजीत लामालाई
नारायणस्थानबाट भक्तपुर बोलाइयो। त्यहाँ पुगेपछि काभ्रे जान भनियो।
काभ्रे पुगेपछि उनलाई 'हाम्रो विरुद्ध धेरै बोल्ने हैन, हामी जे पनि
गर्न सक्छौँ' भनेर छाडियो। २८ भदौमा नेपाली सेनाले हतियार भित्र्याउन
लागेको भनेर विरोधमा उत्रिन नमान्ने क्यसिनो अन्नाका ट्रेड युनियन
काङ्ग्रेस र जिफण्टको संयुक्त युनियनका अध्यक्ष रामकृष्ण पाण्डेलाई
ज्यान मार्ने धम्की दिइयो।
एमाले निकट अखिल नेपाल स्वतन्त्र मजदुर युनियन (जिफण्ट)
का उपाध्यक्ष विष्णु रिमाल माओवादीहरू खुल्ला राजनीतिक प्रतिस्पर्धामा
आउनुको साटो अराजक रूपमा प्रस्तुत भएको बताउँछन्। रिमाल भन्छन्, “उनीहरू
जसरी पनि प्रवेश गर्न खोजेका छन्, सङ्गठन खोल्न जसले पनि पाउँछ तर
माओवादीको यो तरिका ठीक भएन।” ट्रेड युनियन क्षेत्रमा माओवादीले गरिरहेको
व्यवहार शिष्ट र व्यावहारिक नभई अराजक भएको बताउने रिमाल थप्छन्, “युनियन
र उद्योगपति माओवादीले भनेजस्तो बाघ र बाख्रा हैनन्, चुम्बकको उत्तरी
र दक्षिणी ध्रुव जस्तै हुन्। उनीहरूबीच द्वन्द्व र मिलाप दुवै हुन्छ।”
राजधानीमा माओवादी मजदुर युनियनको गतिविधि 'लडाकु शैली'
को हुन्छ। 'प्रचण्डपथ जिन्दावाद' लेखिएको 'टि–सर्ट' र टोपी लगाएको
समूह जुनसुकै बेला जहीँ पनि एक्कासी पुग्न सक्छ। नेपाल स्वतन्त्र होटल
मजदुर युनियनका केन्द्रीय महासचिव प्रल्हाद ओली भन्छन्, “पर्यटकहरूको
भीड हुने तारे होटलमा अप्रत्याशित रूपमा प्रवेश गर्दा पर्यटन क्षेत्रलाई
कस्तो असर पर्न सक्छ भन्ने कुरामा ध्यान दिएको पाइँदैन।”
नेपाल गलैचा मजदुर संघका केन्द्रीय अध्यक्ष युवराज लामा
उनीहरूबाट अपहरण गर्ने, मार्ने बाहेकको धम्की नै नआउने गरेको बताउँछन्।
लामा भन्छन्, “अब त मरे पनि प्रतिरोध गरेरै मर्ने। राजा ज्ञानेन्द्रको
तानाशाही खेप्यौँ भने अब प्रचण्डको तानाशाहीको पनि प्रतिरोध गर्छाँ।”
लामाका भनाइमा, भक्तपुरको भेनिस कार्पेटका आफ्नो जिल्ला सचिव रामबहादुर
योञ्जनलाई धम्की आएको र ममता कार्पेटमा जबरजस्ती नाम राखेर माओवादीले
युनियन बनाएका छन्। उनीसँग यस्तो लामो सूची छ। नेपाल स्वतन्त्र मजदुर
सङ्गठनका महासचिव विदुर कार्कीका अनुसार पोखरा क्षेत्रमा मजदुरहरूको
साथमा रहेको जिफण्टको कार्ड च्यातेर मजदुर मोर्चाको कार्ड जबरजस्ती
भिडाइएको छ। रु.५ चन्दा मागेर सदस्यता रसिद भिडाई जबरजस्ती सदस्य बनाइएको
छ। एक मजदुरका भनाइमा, माओवादी मजदुर युनियनका गतिविधिबाट क्यासिनो
नेपाल, क्यासिनो अन्ना, सोल्टी, हायात, मल्ल, एभरेष्ट, याक एण्ड यति,
लगायतका ठूला होटलहरू आतङ्कित नै छन्।
तर माओवादी मजदुर नेता जमरकट्टेल आफूहरू नियम–कानून
अनुसार नभई आफ्नै ढङ्गले सङ्गठन विस्तार गरिरहेको स्वीकार्छन्। अपहरण,
धम्की, जबरजस्ती राजिनामा जस्ता कुरा आफूहरूले नगरेको उनको दाबी छ।
राजधानीका पछिल्ला गतिविधिबारे उनको आफ्नै स्पष्टीकरण छ। उनी भन्छन्,
हायातको शालिकराम एमालेको मान्छे भएर आफूहरूको सब–इकाई कमिटीमा अध्यक्ष
बसेर घुसपैठ गरी जिफण्ट अन्तर्गतको संस्था बनाउन खोजेपछि कार्वाही
गरिएको हो। त्यस्तै हेटौँडा पुर्याएका रामकुमार आचार्यलाई आफूहरूले
अपहरण गरेको नभई लेनदेन विवादमा अरूले हेटौँडा पुर्याएको अवस्थामा
त्यहाँबाट पार्टीले कब्जामा लिएको उनको भनाइ छ। नेपाल डेरीका राजभण्डारी
बाबु–छोराले भने माओवादीको युनियन बनाउन नदिने, युनियनमा लाग्दिनँ
भनेर मजदुरलाई कागज गराउने र पिट्ने काम गरेको थाहा पाएर आफ्ना साथीहरू
जाँदा उहाँहरूले मजदुरलाई कुटेको बताए।
माओवादी युनियनले नेपालका उद्योग व्यवसायहरूलाई तीन
भागमा बाँडेर कामदारहरूको रु.१० हजार, ७ हजार र ५ हजार मासिक तलब तोकेका
छन्। कतिपय ठाउँमा युनियनले आफ्नै माग र श्रेणी भन्दा तल झरेर सम्झौता
गरेको पनि छ। माओवादीले सूर्य नेपालमा रु.११०, डाबरमा रु.१३०, कोकाकोलामा
रु.१२५, हेटौँडाका उद्योग र इलामका चिया बगानमा रु.९५ दैनिक ज्यालामा
सहमति जनाएको छ। यद्यपि अध्यक्ष जमरकट्टेल श्रेणी निर्धारण असारको
केन्द्रीय समिति बैठकले गरेको र कम ज्यालाको सम्झौता त्यसअघि नै भएको
बताउँछन्।
'हामी अहिलेका नियम–कानून मान्दैनौँ'
शालिकराम जमरकट्टेल,
अध्यक्ष, माओवादी मजदुर युनियन
अरू ट्रेड युनियनका पदाधिकारीहरूलाई
जबरजस्ती राजिनामा गर्न लगाउने, कुटपीट र अपहरण गर्ने काम गरिरहनुभएको
चर्चा छ नि?
अपहरण भन्ने कुरा सरासर झुट कुरा हो। कुनै पनि उद्योगपति र मजदुरलाई
अपहरण गरिएको छैन। यो हल्ला अलि बढी जिफण्टले चलाइरहेको छ। तपाईँले
एउटा पनि मान्छेलाई जबरजस्ती राजिनामा गराएको ल्याउनुभयो भने हामी
कार्वाही भोग्न तयार छौँ। कुनै पनि ट्रेड युनियनका मान्छेलाई राजिनामा
गराइएको छैन।
डर–त्रासले आतङ्कित भएर
यस्तो तथ्य बाहिर नआएको हो कि?
यसमा सत्यता छैन। हतियार छ, शक्ति छ, लडाइँ लडेको छ र त वार्ता पनि
भइरहेको छ। हतियारको त्रास हैन, यो त जनताको वास्तविक शक्ति हो। एमाले
धराशायी हुँदैछ र त्यसैले आतङ्कित भएर आरोप लगाइरहेका छन्।
तपाईँहरू हामीलाई नियम
कानूनले छुँदैन भन्दै उद्योग, होटलमा गएर आफ्नो सङ्गठन बनाउँदै हिँडिरहनुभएको
छ रे!
एकदम ठीक कुरा हो, हामी अहिलेको नियम–कानून मान्दैनौँ। पूँजीपतिले
मजदुरलाई कार्वाही गर्न केही प्रक्रिया पुर्याउनु नपर्ने अनि मजदुरले
युनियन बनाउन पूँजीपतिको सिफारिस लिनुपर्ने? २०५५ सालदेखि नै यो श्रम
ऐन र युनियनलाई बहिष्कार गरेका हौँ। हामी मजदुर जम्मा पार्छौँ, युनियन
बनाउँछौँ र आफ्ना माग पूरा गराउँछौँ। दर्ता र आधिकारिक भन्ने कुरा
मजदुर जसको पक्षमा हुन्छ, त्यही हुन्छ।
'फिल्मी शैलीमा' तारे
होटलहरूमा गएर आतङ्कित पार्नु हुँदोरहेछ।
काङ्ग्रेस, एमालेले कार्यक्रम राख्दा 'फिल्मी शैली' नहुने, हामीले
राख्दा हुने? राजनीतिक हिसाबले हामीलाई जान नदिन चलाएको हल्ला हो।
व्यवसायीहरूले पनि त
तपाइँहरूको कार्यशैलीको विरोध गरेका छन् नि?
नेपालका व्यवसायीहरू जुन शासन आए पनि दिपावली गर्छन् र पाउमा पर्छन्।
हुँदाहुँदा अहिले उनीहरू हाम्रा नेताका पछि लागेका छन्। वीरगञ्ज भेला
हेर्नुस्– कारण देखाउँछन् चन्दा आतङ्क, तर ब्याङ्कले कस्न लाग्यो भनेर
कालो सूची हटाउन छट्पटिएका हुन्।
|