]
हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

ई–मोडलिङ्को आकर्षण

इन्टरनेटलाई माध्यम बनाएर अहिले नेपालमा फस्टाएको ई–मोडलिङ धेरैको आकर्षण बनिरहेको छ।

अनुशील

साइबर संसार हेमा श्रेष्ठ

६ असोजमा सोल्टी होटलमा भएको लक्स सुपर मोडल कन्टेष्ट २००६ की विजेता सोनु पौडेल यस अघिदेखि नै इन्टरनेटमा छाएकी थिइन्। यसै वर्ष साईवरसंसारडटकम मा तस्बिर राखेर मोडलिङ क्षेत्रमा लागेकी सोनु सुपरमोडल बन्ने चाहना पूरा भएकोमा दङ्ग छिन्।

सोनुसँगै मिस तामाङ २००६ बन्न सफल जेनिसा मोक्तान, मोडल पूजना प्रधान र सेरी (सरिता ढकाल) का ग्ल्यामर पोजका तस्बिरहरू अहिले साईवरसंसार को आकर्षण बनेका छन्।आफ्नै सोखका कारण मोडलिङ र अभिनय क्षेत्रमा आएको बताउने पूजना अनलाइनमा तस्बिर राखेपछि धेरैले चिनेको र यसैबाट विज्ञापन र चलचित्रहरूमा काम गर्ने अवसरहरू पाएको बताउँछिन्।

चार वर्षअघि नै अनलाइनमा आएकी नम्रता अहिलेकी व्यस्त मोडलका रूपमा चिनिन्छिन्। भन्छिन्, “इन्टरनेट फोटो हेरेरै मलाई विज्ञापन र म्युजिक भिडियोहरूमा अफर आएको हो।”

नौ वर्षअघि नेपाली मनोरञ्जनात्मक इन्टरनेट पोर्टल साईवरसंसारडटकम शुरु गर्दा अभिनव कसजु र दीपाङ्कर कसजुले ई–मोडलिङले यो विघ्न लोकप्रिय होला भन्ने सोचेका पनि थिएनन्। फिल्म, सङ्गीत र नेपालबारे जानकारीमूलक साइट शुरु गर्ने क्रममा उनीहरूले हेर्नकालागी भनेर 'राम्री केटीहरू' को तस्बिर राखेका थिए। अभिनव भन्छन्, “साइटको आकर्षणका लागि मात्र भनेर राखिए पनि यसको ग्लामरले व्यावसायिकता नै पायो।” इन्टरनेटमा राखिएको तस्बिरकै आधारमा धेरै मोडलहरू नेपाली ग्ल्यामर क्षेत्रमा छाएका छन्।

साइबर संसार सोनु पौडेल

साईवरसंसार शुरु गरेको तीन वर्षपछि कसजु दाजुभाइले नेपाली सुन्दरीहरूलाई इन्टरनेटको होमपेजमा प्रवेश गराएका थिए। पहाड, वातावरण र जनजीवनका दृश्य मात्र खिचेका उनीहरूलाई शुरुमा मोडलिङ फोटोग्राफीको ज्ञान पनि थिएन। पहिलो पटक नै चर्चित मोडल कोहिनुरको तस्बिर खिचेर इन्टरनेटमा राखेपछि यसको आकर्षण बढ्न थालेको अभिनव बताउँछन्।

भन्छन्, “तस्बिरहरू इन्टरनेटमा राखेको एक हप्तामै नामै नसुनेकाहरू पनि पपुलर हुन थालेपछि यसको क्रेज बढ्दै गयो।” साईवरसंसार मा टीभी एङ्कर शिवानी सिंह थारू, संज्ञा सिंहदेखि नायिका रेखा थापासम्मको तस्बिर देख्न पाइन्छ। मोडल शिशिलिया, बबिता शर्मा, हेमा श्रेष्ठ, सोना श्रेष्ठ आदि मोडलहरू पनि लामो समयदेखि अनलाइनमा छाइरहेका छन्।

ई–मोडलिङको बढ्दो आकर्षणका कारण अहिले साईवरसंसार टीमले मोडलसंसारडटकम समेत शुरु गरेको छ। घरमै बसेर आफ्नो तस्बिर र परिचय राख्न मिल्ने व्यवस्था मिलाइएको यो साइट बच्चादेखि, बूढाबूढी, अधबैँसे सबैलाई मोडलिङमा आकर्षित गर्न शुरु गरिएको अभिनव बताउँछन्।

ई–मोडलिङलाई प्राथमकिता दिएर अहिले नेपालीहरुबाटै एक दर्जन जति वेबसाइटहरू खुलेका छन्। नेपालीजमोडल, महुँनेपाल, डाँफेडटकम आदिसँगै पछिल्लो पटक नेपालप्यासनडटकम शुरु भएको छ। अनलाइनमा तस्बिर राखेपछि मोडलहरूले फेशन शो, विज्ञापन, विभिन्न इभेण्ट, म्युजिक भिडियो र क्याटलग, क्यालेण्डरदेखि एयरलाइन्स, ब्याङ्किङ र पर्यटन व्यवसायमा सहज रूपमा काम पाउने गरेको अनुभव सञ्चालकहरूसँग छ। तर महिला आकर्षणकै कारण हुनसक्छ यस्ता वेबसाइटहरूले पुरुष मोडलिङप्रति भने कमै ध्यान दिएका छन्।

साइबर संसार नम्रता श्रेष्ठ

नग्नता कि फेशन?
अनलाइनमा टू पीस स्वीम सूट र अर्धनग्न अवस्थामा सुन्दरीहरू देख्दा फेशनको नाममा नग्नता पस्किरहेको जस्तो देखिन्छ। अभिनवको अनुभव छ “शुरु–शुरुमा नकारात्मक प्रतिक्रिया धेरै आए, तर अहिले यस्तो कुरा सामान्य भएको छ।”

विदेशी टेलिभिजन च्यानल, पत्रपत्रिका र इन्टरनेटको पहुँच घर–घरमा पुग्दै गएकाले अहिले खुल्लापन बढेको महसूस गरिएको छ। मिस तामाङ जेनिसा मोक्तानको तस्बिर खिच्दा उनका बुबा–आमा साथै गएको उनी बताउँछिन्। स्वीमिङ पुलको एकातिर छोरीको ग्ल्यामर फोटो सेसन भइरहेको बेला अर्कोतर्फ उनका बुबा–आमा बसिरहेका थिए। जेनिसा भन्छिन्, “मान्छेहरूले के सोच्छन् भन्दा पनि मलाई जे ठीक लाग्छ त्यो गर्छु। स्वीमिङ कस्ट्यूम लगाएर मिटिङ हलमा जानु पो उत्ताउलो हो त।”

साइबर संसार जेनिसा मोक्तान

मोडल तथा नायिका पूजना प्रधानको अनुभवमा मोडलिङ नबुझ्नेहरुले मात्र यसलाई नराम्रो भन्ने गरेका हुन्। भन्छिन्, “एक्काइसौँ शताब्दीमा ग्ल्यामर भन्ने कुरा सामान्य भइसक्यो, यो समय अनुसारको फेशन हो, नग्नता हैन। मैले त्यस्तो फोटो खिच्दा यसमा अरूलाई आपत्ति किन?” अनलाइनमा टू पीस पहिरनमा देखिएकी सेरी फोटोग्राफरको अगाडि शुरुमा त्यसरी उभिन असजिलो लागे पनि पछि अभिनय ठानेर सहज भएको बताउँछिन्। भन्छिन्, “कतिले 'भल्गर' भन्लान् तर आफूलाई बेकारमा खिचे जस्तो लाग्दैन।”

नलाइनमा तस्बिर राखेपछि उनलाई विकनी र कण्डमका विज्ञापनहरूका लागि अफर आएको बताइन्। तर, डेढदर्जन म्युजिक भिडियो र उत्तिकै विज्ञापन मोडलिङ गरिसकेकी नम्रता श्रेष्ठ शरीर प्रदर्शन बाहेक अनुहारको भावले पनि ग्ल्यामर दिन सकिने बताउँछिन्।

नलाइनमा साधारण पहिरनमा देखिएकी नम्रता भन्छिन्, “म अरूले जस्तो आफूलाई एक्सपोज गर्न सक्दिनँ। स्वीम सूटमा म फोटो सूट नै गर्दिनँ।” सुपरमोडल घोषित सोनुको भनाइ पनि नम्रताकै जस्तो छ। भन्छिन्, “विकनी लगाएर मैले फोटो खिचेको छैन र खिच्ने चाहना पनि छैन। किनकि समाजले यसलाई सहज रूपमा लिने अवस्था अझै बनेको छैन।”

पोखरा सिटी एलिना गुरुङ

पोखरा पनि कम छैन
पोखरा घुम्न आएकी बेलायत निवासी एलिना गुरुङ पोखरासिटीडटकम का फोटोग्राफर राम गुरुङको नजरमा परिन्। गुरुङले एलिनाको ग्ल्यामर फोटो सेसन गरेपछि राष्ट्रियस्तरका पत्रिकामा समेत उनका रङ्गीन तस्विरे छापिए। त्यसपछि त हमदर्द नामक कम्पनीले उनलाई आफ्नो क्यालेण्डरमा मोडलिङ नै गरायो।

पोखराका मुख्य तीन वेबसाइटहरूको लागि फोटो खिचाउनका लागि मोडलहरूको कमी छैन। व्यावसायिक मात्र हैन, रहरले फोटो खिचाउने पनि थुप्रै छन् यहाँ। पोखरासिटी, लभ्लीपोखरा र पोखरापेजडटकम ले मोडलहरूको फोटो खिचाउने गरेका छन्। पोखराकै तीन उत्साही युवाहरू राम गुरुङ, राजव श्रेष्ठ र सन्दिप शेरचन मिलेर सञ्चालन गरेका पोखरासिटीडटकम बढी चर्चित छ।

पोखरापेज का लागि फोटो सेसन गराएकी तृष्णा गुरुङ न त अहिलेसम्म र्‍याम्पमा उत्रेकी छन्, न त अभिनय नै। “रहर लाग्यो अनि तस्विर खिचाएँ” गुरुङले भनिन्, “व्यावसायिक मोडलिङ गर्ने उद्देश्य छैन।”

साइबर संसार पूजना प्रधान

स्थापना भएको करीब चार वर्षमा पोखरासिटी का लागि झण्डै तीन दर्जन मोडलले तस्विर खिचाएका छन्। तीमध्ये सकिला र एलिना गुरुङका टू पीसमा खिचाइएका तस्विरले बढी चर्चा बटुलेका थिए।

नाम चलेका बबिना, सकिला, एलिना र प्रिया यही उपक्रममा जन्मिएका मोडलहरू हुन्। शरीरका केही भागमा हानिएको 'टाटु' र पोखराको प्राकृतिक सुन्दरताको 'फ्युजन' ले गर्दा उनीहरू कुनै व्यावसायिक मोडलभन्दा कम देखिँदैनन्। तर, तस्बिरमा छाएपनि पोखराको मोडलिङ व्यावसायिक भने छैन। वर्षमा मुश्किलले हुने आधादर्जन फेसन शोमा बिना पारिश्रमिक र्‍याम्पमा उत्रन पाए पनि मोडलले खुसी मान्नुपर्ने अवस्था छ। पोखरापेज डटकम का सुरज श्रेष्ठ भन्छन्, “यहाँ मोडलिङलाई करिअर बनाउनेभन्दा रहर गर्नेहरू बढी छन्।”

 

साथमा त्रिभुवन पौडेल, पोखरा


रिपोर्ट

भविष्य खोज्दै रङ्गकर्ममा

गुरुकुलले दुईवर्षे प्रशिक्षण नै दिएर युवा रङ्गकर्मीहरू जन्माउँदै आएको छ भने अन्य सर्वनाम जस्ता नाट्य संस्थाहरूमा समेत युवाहरूकै बाहुल्य देखिन्छ।

किरण पाण्डे

२०५२ सालमा नुवाकोटबाट काठमाडौँ छिर्दा राजकुमार पुडासैनीका बुबा–आमाले छोराले सरकारी जागिर खाओस् भन्ने चाहेका थिए। नाच–गान र कलाकारितालाई घृणा गर्ने परिवारको छोराको मन भने नजानिँदो किसिमले अभिनय कलातर्फ बढेको थियो। राजधानीमा जागिर खोज्दै हिँड्दा–हिँड्दै कलाकार बन्न पुगेका उनी नाटकमा डुबेपछि परिवारबाट तिरस्कृत जस्तै भए।

तर पनि उनले रङ्गकर्मलाई निरन्तरता दिई नै रहे। बुबा–आमाको धारणा विपरीत उनी नाटक खेल्न थाले। उनी भन्छन्, “गुरुकुलमा आएपछि त आत्मविश्वास बढेको छ, यही क्षेत्रमै लागेर केही गर्न सकिने आश पलाएको छ।”

राजकुमार मात्र हैन, काठमाडाँैकी सरिता गिरी, नवलपरासीका सौगात मल्ल, सल्यानका सुरेश चन्द, हेटौँडाका भोलाराज सापकोटा, लालगढ धनुषाकी अरुणा कार्की, बाराका राजन खतिवडा र मोरङका कमलमणि नेपाल अहिले यसक्षेत्रमा आशलाग्दो प्रतिभा हुन्। देशका अलग–अलग क्षेत्रबाट राजधानी छिरेका यी युवामध्ये कसैले सानैदेखि चलचित्रको नायक बन्ने सपना देखेका थिए। कसैलाई कलाकारिताको माध्यमबाट सबैमाझ चिनिन पाइयोस् भन्ने लाग्थ्यो। चार वर्षअघि आरोहण नाट्य समूहले शुरु गरेको नाट्य प्रशिक्षण केन्द्र गुरुकुलमा विद्यार्थीको रूपमा प्रवेश गरेका उनीहरू अहिले रङ्गकर्ममा रमाइरहेका छन्।

२०५९ सालमा गुरुकुल शुरु हुनुअघि विभिन्न ठाउँका यी आठ युवाहरूले सांस्कृतिक संस्थानमा एकवर्षे प्रशिक्षण लिएका र केही वीरेन्द्र हमालको एम आर्ट थिएटरसँग आबद्ध थिए। युवा सपना र चाहना भएपनि घरपरिवारको जिम्मेवारीका कारण कति त अभिनय मात्र गरेर जीवनयापन गर्न नसकिने निष्कर्षमा पनि पुगेका थिए। तर, रङ्गकर्मप्रतिको लगाव र राम्रो भविष्य देखेर उनीहरू व्यवसाय, काम र राम्रो जागिर समेत छाडेर यता लागे।

गुरुकुलको पहिलो व्याजका यी विद्यार्थी अहिले उम्दा कलाकारको रूपमा छाइरहेका छन्। अग्निको कथा, अ डल्स हाउस, जात सोध्नु जोगीको, बाघ भैरव, आरूका फूलका सपना, तारावाजी लै लै, मायादेवीका सपना लगायतका सफल नाटकहरूमा उनीहरूले अभिनय गरेका छन्। त्यसैगरी दुई सय भन्दा बढी सडक र कचहरी नाटकहरूमा अभिनय गरेका छन्। नेपाल मात्र हैन उनीहरूले युरोपका देशहरूसम्म पुगेर आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। भारत, बङ्गलादेश, पाकिस्तानदेखि नर्वे, डेनमार्क र रूससम्मको कला यात्राले उनीहरूमा परिपक्वता मात्र थपेको छैन, आत्मविश्वास र सीप पनि खारिएको छ। अहिले उनीहरूले प्रत्येकले लाइट, साउण्ड, मञ्च, पहिरन डिजाइन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पनि सम्हालेका छन्।

अनुशील

सात वर्षअघि राजधानी छिरेका सौगात मल्ललाई घरबाट कम्प्युटर सिक्न दबाब थियो तर उनले अभिनय सिके। परासी बजारमा कमेडी नाटक गरेर स्थानीय दर्शक हँसाउने र सानैदेखि नृत्य गरेर उधुम मच्चाउने उनको लगाव नाटक भन्दा चलचित्रतिर बढी थियो। उनी भन्छन्, “फिल्ममा अभिनय गर्न र हिरोले जस्तै फाइट खेल्न मन हुन्थ्यो, तर पछि नाटक बुझ्दै गएपछि यतैतिर मोह बढ्यो।” पन्छी र दाग जस्ता चलचित्रमा छोटो भूमिका समेत गरेका सौगातको चलचित्र मोह हटेको छैन।

गुरुकुलमा आउनुअघि नै सरिता गिरीले सुनिल पोख्रेलसँग आरूका फूलका सपना नाटकमा काम गरिसकेकी थिइन्। नाटकमै लाग्छु भनेर रहर नगरेपनि एम आर्ट थिएटर मा वीरेन्द्र हमालसँग नृत्य सिक्दा–सिक्दै रङ्गकर्मतर्फ आकर्षित भएको उनी बताउँछिन्। उनले २०५६ सालमा पोखरामा सम्पन्न पश्चिमाञ्चल नाटक महोत्सवमा पत्थरको कथा नाटकबाट नवोदित प्रतिभा र २०५७ मा प्रज्ञा भवनमा एकल नाटक म बाट उत्कृष्ट कलाकारको पुरस्कार समेत पाइसकेकी छिन।

सल्यानका सुरेश चन्द २०५३ सालमा राजधानी नछिर्दै कराँतेका राष्ट्रियस्तरका खेलाडी थिए। कराँतेमा ब्ल्याक बेल्ट उनी पढ्न र खेल्नकै लागि राजधानी छिरेका हुन्। सानैदेखि चलचित्रमा अभिनय गर्न मन लागेपनि गाउँका मान्छेले सोच्ने क्षेत्र हैन भनेर कलाकारिताबाट टाढिएका थिए। पछि घट्टेकुलोमा बस्दाका छिमेकी हरिवंश आचार्यको प्रोत्साहन र सहयोगमा नाचघरमा अभिनय प्रशिक्षण लिएपछि उनले जे भो राम्रै भो र वीर गणेशमान जस्ता चलचित्रमा अभिनय गर्ने मौका पाएँ। उनी हुँदाखाँदाको सीटीईभीटीको नायब सुब्बा जागिर छाडेर रङ्गकर्ममा लागेका छन्।

२०५५ सालमा पद्मकन्या क्याम्पसमा पढ्न आएकी धनुषाकी अरुणा कार्की अहिलेकी सक्रिय युवा रङ्गकर्मी हुन्। अरुणाले क्याम्पस पढ्दा विद्यार्थी राजनीतिमा लागेर अखिलबाट स्ववियु उपाध्यक्षमा समेत चुनाव लडेकी थिइन्। धनुषामै हुँदा राजधानीबाट नाटक सिकाउन आएका सुनिल पोख्रेलबाट प्रशिक्षण लिएर सडक नाटकमा सक्रिय भएकी अरुणा रङ्गकर्मबाट नसोचेको कुराहरू प्ााएको बताउँछिन्। उनी भन्छिन्, “गाउँमा हुर्किएकी मैले विदेश जान पाउने सम्भावना थिएन तर रङ्गकर्ममा लागेपछि युरोप पनि पुगेँ।” गाउँमा नाटक गर्दा शुरुमा बुबाले गाली गरे पनि अहिले समाजले नै सम्मान दिन थालेको उनको अनुभव छ।

हेटौँडामा ७ कक्षामा पढ्दैदेखि भोलाराज सापकोटालाई नाटकको नशा लागेको हो। पछि स्थानीय साथीहरूसँग मिलेर उनले नव जीवनज्योति क्लब नै बनाएर नाटक गर्न थाले। हिन्दी चलचित्र हेरेर क्यारिकेचर गरेर सबैलाई हँसाउने उनी २०५० सालमा आफ्नो भविष्य खोज्दै राजधानी छिरेका थिए। अभिनय बाहेक साहित्यमा रुचि राख्ने भोला राम्रो भूमिका पाएमा चलचित्र क्षेत्रमा पनि अभिनय गर्ने बताउँछन्।

२०५३ सालमा राजधानी ताक्नुअघि राजन खतिवडा गाउँमै चाडपर्वमा हुने नाचगानमा रमाउँथे। नाचघरमा नाटक हेर्न जाँदा खेल्न मन लागेपछि उनी यता लागे। दूरसञ्चारमा सहायक टेक्निसियनको जागिर खाएका राजन गुरुकुल आउनुअघि रङ्गकर्ममा नै सक्रिय थिए। तर उनलाई घरको कमजोर आर्थिक अवस्थाका कारण पैसा कमाउन विदेश जानुपर्ने दबाब पटक–पटक आइरहन्थ्यो। गर्जो टार्न उनले व्यापारमा पनि हात हाले। सांस्कृतिक कार्यक्रममा नृत्य गर्दै कतार पनि पुगे। हिजो आजका कुरा टेलिसिरियलको केही भागमा अभिनय गरेका राजन काम गर्नै त विदेश गएनन् तर अहिले रङ्गकर्मको सेट व्यवस्थापन र निर्देशन सम्बन्धी तालिम लिन ४० दिनका लागि नर्वे पुगेका छन्।

किरण पाण्डे
गुरुकुलका दोसो बयाच

कमलमणि नेपाल गाउँमा छँदा नै क्यारिकेचर र फाट्टफुट्ट नाटकमा अभिनय गर्र्थे। बाहुनीबाट विराटनगर आएका बेला आरोहणले गरेको सडक नाटकमा समय कटाउन क्यारिकेचर गरेका कमल अहिले आरोहणकै गुरुकुलका कलाकार हुन्। २०५४ सालमा राजधानी आएपछि कान्तिपुर फाइनान्सको जागिर छाडेर गुरुकुलमा छिरेका कमल भन्छन्, “कलाकार बन्ने चाहना पूरा भएको छ।”

रङ्गकर्मको यो यात्रामा डुबेका यी युवाहरूमा कहिलेकाहीँ आफ्नै भविष्यप्रतिको अन्योल र वितृष्णा पनि आउने गर्छ। सौगातलाई कहिलेकाहीँ आफू यस क्षेत्रमा लागेर घनघोर खण्डहरमा पसे झैँ महसूस हुन्छ। उनी भन्छन्, “सँगैका साथीभाइहरू विदेश गएर पैसा कमाए, घर बनाए। हरेक पटक घर जाँदा परिवारबाट प्रश्न तेर्सिन्छ खोई पैसा कमाएको?” बुबा–आमाको सेनामा छोरा लागोस् भन्ने चाहना विपरीत रङ्गकर्मी बनेका सौगातलाई मात्र हैन प्रायः सबैलाई परिवारका यस्ता प्रश्नले बिझाउँछ। तर, दर्शकबाट पाउने माया अनि अरू काम र पेशाबाट नपाइने आत्मसन्तुष्टिले उनीहरूलाई अरूतिर लाग्नै दिएको छैन।

गुरुकुलका जागिरे कलाकार बनेका उनीहरूमध्ये केही विभिन्न विद्यालयमा अभिनय प्रशिक्षकको रूपमा पनि सक्रिय छन्। सरकारी, गैरसरकारी संस्थाहरूले नाटकलाई सामाजिक चेतनाको माध्यम बनाउने गरेकाले पनि रङ्गकर्मीहरूले काम पाउने गरेका छन्। राजकुमार भन्छन्, “अहिलेको कमाइले सामान्य रूपमा बाँच्न सकिन्छ।” राजन र सरिता कहिलेकाहीँ भविष्य सोचेर निराश हुन खोजे पनि यसक्षेत्रमा आफ्नो भविष्य आफैँले बनाउने भएकाले आत्मविश्वाससँगै आशावादी रहेको बताउँछन्। नेपाली रङ्गकर्मको भविष्य उज्ज्वल रहेकोले ढुक्क भएको बताउने सुरेश भन्छन्, “रङ्गकर्ममा दर्शकको अनुपात बढेको छ र हामी आफैँले यो क्षेत्रको विकास गर्नुपर्छ।”

यसरी दुई वर्षको प्रशिक्षणपछि आठ जना विद्यार्थीहरू कलाकारमा रुपान्तरण भएका छन् भने धरानकी पशुपति राई, बर्दियाकी सरस्वती चौधरी, मोरङका प्रवीण खतिवडा, नुवाकोटका रामहरि ढकाल र काठमाडौँका महेश शाक्य, प्रमिला कट्वाल र समुना केसी गुरुकुलको दोस्रो ब्याजमा प्रशिक्षण लिँदै रङ्गकर्ममा आफ्नो उज्यालो भविष्यको क्षितिज निहाल्दैछन्। अहिले यो सबै गरेर २७ जनाको परिवार छ गुरुकुलसँग।

गुरुकुलका निर्देशक सुनिल पोख्रेल युवा रङ्गकर्मीहरूको कामबाट सन्तुष्ट छन्। उनका अनुसार दुई वर्षको प्रशिक्षणपछि पाँच वर्षसम्म जागिरे कलाकारका रूपमा काम गर्नुपर्ने नियम छ। रङ्गकर्ममा समर्पित युवाहरूको भविष्य राम्रो रहेको बताउँदै पोख्रेल भन्छन्, “हरेकलाई आ–आफ्नो क्षेत्रमा दक्ष बनाउने काम हामी गरिरहेका छौँ।”

अनुशील



रङ्गमञ्चमा युवाधार

किरण पाण्डे
हेमन्त, विनोद, कृष्णजीत, कमल, किशोर, नवराज र आशा (बायाँबाट क्रमशः)।

बालकृष्ण समको नाटक 'मुकुन्द इन्दिरा' (वि.सं. १९९५) बाट शुरु भएको आधुनिक नेपाली रङ्गमञ्च पछिल्लो पुस्ताको धारसम्म आइपुग्दा निश्चित दिशा र गति समात्ने सङ्केत देखिन थालेको छ।

हुन त हरिप्रसाद रिमाल, अशेष मल्ल, हरिहर शर्मा, सरुभक्त, सुनिल पोख्रेल, शकुन्तला शर्मा, निशा शर्मा पोख्रेल देखि वीरेन्द्र हमाल, अनुप बरालहरूसम्म आइपुग्दा नेपाली रङ्गकर्मले निकै फड्को मारिसकेको छ। पचासको दशकलाई अध्ययनशील युवा रङ्गकर्मीहरूको आगमनको दशक मानिन्छ। यो आरम्भताका देखा परेका रङ्गकर्मीहरूको पछिल्लो काम हेर्दा उनीहरू स्थापित रङ्गकर्मीभन्दा कम्ती लाग्दैनन्। स्पष्ट सोच, दह्रो आत्मविश्वास, धैर्य, नयाँपन, अध्ययनमा अभिरुचि यिनमा देखिएको सुखद् पक्ष हो।

भोजपुरका रङ्गकर्मी किशोर अनुरागले विशेषगरी भोजपुर, धनकुटा र सुनसरीलाई आफ्नो रङ्गक्षेत्र बनाउँदै आएका छन्। उनी वर्षमा आधा समय मोफसलमा बस्छन्। मोफलमा रहँदा उनी ग्रामीण क्षेत्रका खेतीकिसानी गरिरहेकाहरूलाई रङ्गकर्म सिकाउँछन्। अहिले काठमाडौँको एक्टर्स स्टुडियोमा प्रशिक्षण लिइरहेका किशोर भन्छन्, “यहाँ सिकेका कुरा गाउँका रङ्गकर्मीहरूलाई बाँड्छु।”

विगत तीन वर्षदेखि नयाँबानेश्वरमा साथसाथ थियटर चलाएर बाल नाटकमा नियमित काम गरिरहेका नवराज बुढाथोकी यो संस्थाबाट सडक तथा स्कूलका बालबालिकाहरूलाई रङ्गमञ्चको प्रशिक्षण दिई नाटक खेलाउँछन्। उनी भन्छन्, “मेरो पहिलो प्रयास रङ्गमञ्चका माध्यमबाट सडक–बालबालिकाहरूलाई पुनःस्थापन तथा सामाजिकीकरण गर्ने हो। दोस्रो रङ्गमञ्चमा नयाँपन र विकास हो।” बाल नाटकमा नै सक्रिय युवा रङ्गकर्मी हेमन्त गौतमले तीन वर्षअघि मित्रपार्कमा बालबालिकाहरूमा पनि रङ्गचेतना विकास होस् भनेर किन्स थियटर स्थापना गरेका छन्। भन्छन्, “आजका बालबालिका नै भोलिको पक्का रङ्गकर्मी वा दर्शकहरू हुन्।” किन्स थियटरमा स्कुले विद्यार्थीहरूबाटै नाटक लेखाउने, अभिनय तथा निर्देशन गर्न लगाउने गरिन्छ।

पचासको दशकदेखि नै सङ्केत नाटक परम्पराको सुरुआत गर्ने ज्योतिपुञ्ज साइन थियटर का रङ्गकर्मी कृष्णजीत राई भन्छन्, “अबको रङ्गमञ्च भनेको नवरङ्गकर्मको समय हो। रङ्गमञ्चमा हुने सबै प्रयोगहरू सफल हुँदैनन् तर प्रयास गर्न भने छाड्नुहुँदैन।” नेशनल स्टुडियोबाट अभिनयमा डिप्लोमा गरेका कृष्णजीतको परिवारमा सबै दाजुभाइ लाहुरे छन् तर उनले कलाकर्म रोजेर यसैमा करिअर बनाउने अठोट गरेका छन्। शुरुका दिनहरूमा रहरले लागेका कृष्णजीत गत वर्ष नारायणगढमा सम्पन्न मध्यमाञ्चलस्तरीय क्षेत्रीय नाटक उत्सवमा सर्वोत्कृष्ट निर्देशक समेत भएका थिए।

धरानकी रङ्गकर्मी आशा मगराती भने फरक विचार राख्छिन्। विगत डेढ दशकदेखि रङ्गमञ्चमा सक्रिय आशा युनाइटेड स्कूल की अभिनय प्रशिक्षक समेत हुन्। उनले स्टुडियो सेभेन, अनाम, डबलीलगायतका विभिन्न नाट्य संस्थाहरूका नाटकमा काम गर्दै आएकी छिन्। पछिल्लो समयमा महिला निर्देशकको रूपमा चर्चामा आएकी आशा अहिले नाटकको महत्त्व बुझ्नेहरू बढेको बताउँछिन्। भन्छिन्, “स्कूलहरूमा पनि अभिनयलाई अतिरिक्त विषयमा राख्न थालिएको छ। संभावनाको खोजी गर्नु पर्दछ। भोलिको बाटो त हाम्रै हो नि!”
सर्लाहीका विनोद श्रेष्ठले बागबजारमा नव–सिर्जना कलाकेन्द्र स्थापना गरी १० जनालाई रोजगारी दिएका छन्। २०५३ सालमा एक्लै काठमाडौँमा आउँदा उनी कला क्षेत्रमा नौला थिए। ६० म्युजिक भिडियोमा मोडलिङ, दर्जनौँ टेलिचलचित्र र नाटकमा अभिनय गरिसकेका विनोद भन्छन्, “यो सबै मेरो मिहिनेत र रङ्गमञ्चको नै देन हो।” उनी गत जेठमा पोखरामा सम्पन्न पश्चिमाञ्चल नाटक उत्सवमा उत्कृष्ट अभिनेताको रूपमा पुरस्कृत भएका थिए। नाटकको व्यवस्थापन कमजोर हुनु, दर्शकको मनोविज्ञान बुझ्न नचाहनु र दर्शकसम्म पुग्न नसक्नुले गर्दा नै अहिले नाटक सीमित दर्शकहरूका लागि मात्र भएको विनोद बताउँछन्।

दाङका कमल गाउँले भने रङ्गमञ्चबारे सरकारीस्तरबाट नीतिगत रूपमा कुनै काम हुन नसकेपनि निजीस्तरबाट युवा रङ्गकर्मीहरूले अहिलेको रङ्गमञ्च धानिरहेको बताउँछन्। छुट्टै सङ्गीत नाट्य एकेडेमीको तत्कालै अपरिहार्यता देख्ने रङ्गकर्मी गाउँले पेशाले वाद्यवादक हुन्। उनी भन्छन्, “रङ्गमञ्च व्यावसायिक हुन नसकेकोले यो महँगो विधा भयो। तर यो छाड्ने कुरा आउँदैन। म मादल र सारङ्गी बजाएर पेट पाल्छु र पनि नाटक छाड्दिनँ।”

यी बाहेक अहिले अमेरिकामा रङ्गमञ्च विषय अध्ययनरत सहदेव पौडेल, फ्रान्समा अध्ययनरत श्रृङ्गऋषि काफ्लेलगायत काठमाडौँमा सक्रिय प्रवीण पूमा, पुष्प आचार्य, राजन उप्रेती लगायतका रङ्गकर्मीहरू पनि आशलाग्दो रूपमा देखिएका छन्।

कृष्ण शाह यात्री