पुस्तक | परिचय
जेल डायरीको अर्को भाग
किताबः फेरि सुन्दरीजल
(जेल डायरी २०३३–३४)
लेखकः विश्वेश्वरप्रसाद कोइराला
प्रकाशकः जगदम्बा प्रकाशन, ललितपुर, २०६३
पृष्ठः १७५, मूल्यः रु.२००
नेपाली राजनीतिक एवं साहित्यिक व्यक्तित्व बीपी कोइरालाले
२०१७ सालको 'कु' पछि करीब आठ वर्ष सुन्दरीजल जेलमा, त्यसपछिका झण्डै
आठ वर्ष भारत निर्वासनमा र २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा लिएर
आएपछि केही वर्ष फेरि सुन्दरीजल जेलमा बिताए। यही जेल बसाइँमा उनले
अङ्ग्रेजीमा लेखेका डायरीको नेपाली अनुवाद हो– फेरि सुन्दरीजल। तत्कालीन
सत्तासँग राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला, गणेशमान सिंहलगायत
काङ्ग्रेसका निर्वासित नेता–कार्यकर्ताको स्वदेशफिर्तीबारे प्रशस्त
बहस, विश्लेषण भएको छ। यो नीतिका प्रणेता बीपीले नै लेखेको यो डायरी
पनि सो घटनाको आवश्यकता र सान्दर्भिकताबारे जान्न–बुझ्न महत्त्वपूर्ण
सामग्री बनेको छ।
तत्कालीन सत्ताविरुद्ध हतियार उठाएको दलका नेताहरू एक
हिसाबले आत्मसमर्पण गर्दै फर्कनुका पछाडि मुलुक भित्रभन्दा बाहिरको
परिस्थिति बढी जिम्मेवार देखिन्छ। सन् १९७१ मा तत्कालीन पूर्वी पाकिस्तानलाई
बङ्गलादेश बनाउन ठूलो हात रहेको र त्यसलगत्तै सन् १९७५ मा सिक्किमलाई
आफूमा विलय गराएको भारतमा त्यस बखत इन्दिरा गान्धी आपतकाल लगाएर शासन
गर्दै थिइन्। उता बीपीको इन्दिरा विरोधी राजनेताहरू जेपी, लोहिया आदिसँग
हिमचिम थियो। यस अवस्थामा भारतमा काम गर्न अप्ठेरो हुने र नेपालको
स्वतन्त्रता पनि गुम्नसक्ने देखेर बीपीले जोखिमपूर्ण भएपनि अत्यावश्यक
ठानी राष्ट्रिय मेलमिलापको निर्णय लिएका थिए।
गणेशराज शर्माले भूमिकामा भनेझैँ डायरीमा 'मानवीय आवेग,
उद्विग्नता, उत्तेजना र उदासी अवलोकन र अनुभूत' गर्न सकिन्छ। जेलमा
बित्ने निस्सार दिनहरूबारे बीपीको टिप्पणी मन छुने छ– 'मैले दिन बिताएको
होइन कि दिनले नै मलाई बितायो– अचल ढुङ्गामाथि नदीको पानी बगेजस्तै'
(पृ. १३२)। जेलमा हुने हरेक कुरा र झिनामसिना घटनाहरूलाई पनि मिहिन
पाराले र शासक/सत्ताको नियत या उद्देश्यसँग जोडेर हेरिएको छ– 'यहाँ
हरेक कुरा रहस्यमय छ'। यदाकदा उनी ईश्वरको स्मरण पनि गरिरहेका हुन्छन्!
डायरीको नेपाली अनुवादमा सुशील शर्माले 'बीपीलाई जीवन्त
राखेको' भन्ने कमल दीक्षितको प्रकाशकीय टिप्पणीमा सम्मति जनाउन सकिन्छ।
बीपी शब्दलाई अनावश्यक रूपमा खर्चंदैनथे, उनी शब्दहरूसँग खेल्थे। बीपीको
विशद शब्द भण्डार र सुन्दर वाक्य संरचनालाई जीवन्त राख्न अनुवादकले
गरेका प्रयत्न, गाह्रा साँघुराबारे अनुवादकको टिप्पणी पढ्न नपाइनु
खट्कने कुरा हो। प्रकाशकले हिमाल खबरपत्रिका मा पहिले नै छापिइसकेका
डायरीका पानाहरूलाई पुस्तकाकार दिँदा खासै मेहनत नगरेको देखिन्छ। पत्रिकामा
प्रत्येक अङ्कमा जीएम भनेको गणेशमान हो भनेर कोष्ठमा उल्लेख गर्न जरुरी
थियो होला, तर पुस्तकमा थिएन। फेरि अन्य व्यक्तिहरूका हकमा त्यसो गरिएको
छैन– पृष्ठ १४३ मा निरु भनेर कोष्ठमा निरञ्जन लेखिएको छ, जबकि अर्को
स्थान (पृ. १६३) मा नीरु (दीर्घ) लेखिएको र स्त्री लिंगीय क्रियापदको
प्रयोग गरिएको छ। अरू सामान्य त्रुटि पनि भेटिन्छन्– पृष्ठ ९० मा डाक्टर
बस्नेत धेरै औषधि दिनेमा गनिन्छन् भने पृष्ठ ११३ मा धेरै नदिनेमा दरिन्छन्,
पृष्ठ ५८ मा गौँथली र भँगेराको गुँडमा अन्योल देखिन्छ।
अर्को खट्किएको कुरा आदरार्थीको प्रयोग पनि हो। अङ्ग्रेजीमा
'तँ', 'तिमी' र 'तपार्इँ' नहुने भएकाले अनुवादको क्रममा वाक्यको भाव
अनुसार निर्णय गर्नुपर्दछ। किताबमा कहिले 'आइजीपी आयो' (पृ. १५३) लेखिएको
हुन्छ त कहिले 'आइजीपी आए' (पृ. १५४)। त्यस्तै 'अञ्चलाधीशले भन्छन्',
तर 'मेजरले वा गिरीले भन्छ' भएको छ। आशा गरौँ, आउँदो संस्करणमा डायरीमा
प्रयुक्त नामहरूको संक्षिप्त रुप, अनुवादकको टिप्पणी, अनुक्रमणिका
थपिनुका साथै छोटामोटा तथ्यगत त्रुटि सच्चिएर आउनेछन्।
डायरीमा बीपीको परिवारप्रतिको लगाव, चिन्ता, इत्यादि
प्रशंसनीय छ तर आफ्ना कार्यकर्ता र निर्वासन गतिविधिबारे मौनता त्यति
नै अपाच्य पनि। परिवारलगायत वकिलसम्म भेट्न नदिई बाहिरी विश्वबाट एक्ल्याएर
राखेको र शारीरिक रूपमा पनि तन्दुरुस्त नरहेको बन्दीको मनस्थितिले
धेरै कुरा लेखेन भनेर गुनासो गर्न नमिल्ला। तथापि, भन्नै पर्छ, बीपीको
कलमबाट धेरै लेखिन सक्थ्यो, लेखिनुपर्थ्यो, लेखिन सकेन। समग्रमा, उनका
अन्य पुस्तकको तुलनामा फेरि सुन्दरीजल आशानुरुप खरो उत्रन सकेको छैन।
•
रमेश पराजुली
प्राप्त
कृति
 |
समानान्तर सडक
(नाटक)
नाटककारः गोपाल पराजुली
प्रकाशकः रत्न पुस्तक भण्डार काठमाडौँ, २०६३
पृष्ठः १०७+, मूल्यः रु.९५
|
 |
गाउँको रङ फेरिएको छ
(कविता–सङ्ग्रह)
कविः अशोक सुवेदी
प्रकाशकः शारदा सुवेदी 'वर्षा'/ विकास आचार्य,
२०६२
पृष्ठः ७४, मूल्यः रु.३०
|
 |
वन–वनस्पति
(काव्य, पद्यमा जीवनोपयोगी वनस्पतिहरूको बयान)
कविः नारायणदत्त शास्त्री
प्रकाशकः सत्येन्द्रराज भट्टराई/ सम्पदा भट्टराई,
२०६२
पृष्ठः ६५, मूल्यः रु.१००
|
|
सुस्तामा भारतीय अतिक्रमणको वास्तविकता
(लेख–सँगालो)
सम्पादकः फणीन्द्र नेपाल
प्रकाशकः सीमा सरोकार नागरिक समिति/राष्ट्रिय
सरोकार समाज, २०६२
पृष्ठः ९७+, मूल्यः रु.१००
|
|
भीरै–भीर, रङ्गै–रङ्ग
(कविता–सङ्ग्रह)
कविः चन्द्रवीर तुम्बापो
प्रकाशकः रङ्ग साहित्य फाँटका लागि देवराज, माया,
अइन्द्रकुमारी र शान्तिला, काठमाडौँ, २०६३
पृष्ठः ४९+, मूल्यः रु.८०
|
|
सगरमाथाभन्दा माथि
(उपन्यास)
उपन्यासकारः हिरण्य भोजपुरे
प्रकाशकः भोजपुरे परिवार, काठमाडौँ, २०६२
पृष्ठः ११४+, मूल्यः रु.९९
|
|