जनता
सम्बन्ध–सेतु बंगालीबाबु
अध्ययन–कक्षमा नेपाली
र बङ्गाली भाषाका किताबहरूको चाङ देख्नासाथ अनुमान गर्न सकिन्छ– यी
बङ्गालीबाबु नेपाली पनि पढ्दा रहेछन्। कुरा कोट्याउनासाथ सङ्केत मिल्छ–
हामी जत्तिकै नेपाली बोल्छन्, लेख्छन् पनि। अझ खोतल्न थालेपछि थाहा
हुन्छ– उनले नेपाली साहित्यलाई पूरै पर्गेलेका रहेछन्। नेपाली भाषा,
साहित्य र साहित्यकारका बारेमा बङ्गालीमा आधा दर्जन किताब लेखिसकेका
छन् उनले। अनि, नेपाली कथाहरूको शृङ्खलावद्ध अनुवाद गरिरहेका छन्।
प्रकाशोन्मुख 'पर्वतोवङ्गे नेपाली ओ लेप्चा लोकसंस्कृति' मा दार्जीलिङका
नेपालीहरू बारेको अध्ययनको निचोड समेटेका हरेन घोषलाई भारत–पश्चिम
बंगालको सिलगढीवासी नेपालीहरू 'नेपालीप्रेमी बङ्गालीबाबु' भन्छन्।
 |
| पेशल पोख्रेल |
दार्जीलिङ–तीनधारेमा जन्मिएका घोषले सानैदेखि नेपालीको सङ्गत पाएका
थिए। खर्साङमा पढ्दा शिवकुमार राईले उनलाई नेपाली पढ्न, लेख्न हौस्याए।
घोषले कनीकुथी केही कथाहरू पढे। रुचि बढ्दै गयो। त्यसपछि, रुपनारायण
सिंहको 'कथा नवरत्न' का सामग्रीहरूको बङ्गालीमा अनुवाद गरेको सम्झँदै
घोष भन्छन्, “नेपालीको पनि यति राम्रो साहित्य भनेर बङ्गालीहरू छक्कै
परे।” लगत्तै, बङ्गाली पत्रिकामा नेपाली साहित्यबारे लेख्नु उनको 'पार्टटाइम'
काम बन्न थाल्यो, जुन अद्यापि जारी छ। भानुजयन्तीमा कुनै बङ्गाली पत्रिकामा
भानुसम्बन्धी लेख आयो वा गिरी जयन्तीमा अगमसिंह गिरीसम्बन्धी समीक्षा
निस्कियो भने अनुमान गरे हुन्छ, त्यसका लेखक हरेन घोष नै हुन्।
पछिल्लो समयमा पश्चिमबङ्गालको बङ्गाली र दार्जीलिङ भेगको नेपाली साहित्यका
'सम्बन्ध सेतु' बनिरहेका घोषले लेखेको 'नेपाली भाषा साहित्य ओ संस्कृति'
को पुनःमुद्रण हुनु र बङ्गालीमा भानुभक्तको जीवनी निकै रुचाइनुले समेत
देखाउँछ उनको कलमको कला। सिलगढीबाट प्रकाशित नेपाली दैनिक 'हिमालचुली'
का संस्थापक–संयोजक घोष दार्जीलिङको नेपाली साहित्य सम्मेलन, काल्चिनीको
नेपाली साहित्य समाजबाट सम्मानित भइसकेका छन्। ७३ वर्षीय घोष आजभोलि
पनि नेपाली कार्यक्रमहरूमा विशेष अतिथि बनाइन्छन्। “हजार, पन्ध्र सय
नेपाली हुने यस्ता कार्यक्रममा एक्लो बङ्गाली हुन्छु म। रमाइलो लाग्छ,”
खुसीसाथ सुनाउँछन् उनी। नेपाली साहित्य अन्य साहित्यको तुलनामा कहाँ
छ त? सिलगढी कमर्स कलेजका पूर्व प्रिन्सिपल घोष निर्धक्क भन्छन्, “यसले
तीन सय वर्ष लामो बाङ्ला साहित्यसँग सँगसँगै हिँड्ने क्षमता राख्छ।”
•
पेशल पोख्रेल
|