चिठी
• अराजकतातर्फ
'हतियार र राजनीतिको लेनदेन'(आवरण, १–१५ असोज) पढेपछि
सात राजनीतिक दल र माओवादीबीचको सम्बन्ध क्रमशः बिग्रँदै गएको हो कि
भन्ने लाग्यो। यदि यस्तो भएको हो भने दल–माओवादी दुवैले आम जनताको
शान्ति, लोकतन्त्रप्रतिको चाहनालाई बुझ्न नसकेकोले यसले देशलाई झनै
अराजकतातर्फ धकेल्ने अनुमान गर्न सकिन्छ।
समीर अधिकारी
झापा
• दण्डहीनताको
अन्त्य
मानवअधिकार हनन् सम्बन्धी रिपोर्ट 'थुनामा भनेको मान्छे
खाल्डोमा' (१–१५ असोज) ले राज्यको उन्मादी चरित्र छर्लङ्ग पारेको छ।
दश वर्षको सशस्त्र द्वन्द्वका बेला सरकारले यस्ता थुप्रै ज्यादतीहरू
गरेको छ। र, अहिले त्यसको पर्दाफास हुँदैछ।
दण्डहीनताको संस्कारको अन्त्य नभएसम्म मानवअधिकारको
रक्षा र संरक्षण हुनसक्दैन। विगतमा भएका मानवअधिकार हनन् सम्बन्धी
कार्यहरूको सर्वदलीय समिति बनाएर छानबिन गरिनुपर्छ। लोकतन्त्र प्राप्तिपछि
बनेको सरकारले बेपत्ता पारिएकाहरूको यथार्थ सार्वजनिक गरेर दण्डहीनताको
अन्त्य भएको सन्देश दिन नसक्नु ठूलो कमजोरी हो। मानवअधिकार हनन् जुन
पक्षबाट भएको भएपनि लोकतान्त्रिक सरकारले त्यसको सत्य/तथ्य पत्ता लगाएर
जनता समक्ष सार्वजनिक गर्न नसक्ने हो भने यो सरकार र शाही सरकारबीच
फरक नै के भो र?
भुमराज तिवारी
बेल्कोट–७ अमारे डेउडी, नुवाकोट
• लोकतन्त्रको
सदुपयोग
लोकतन्त्र वहालीपछि पनि हरक्षेत्रमा देखिएको अस्तव्यस्त,
नारा, जुलुस, धर्ना, ढुङ्गामुढा र आगजनी 'लोकतन्त्रको दुरुपयोग' (१–१५
असोज) ले जनजीवन कष्टकर बन्दै गएको छ। राजधानीलगायतका शहर बजारहरूमा
दिनहुँजसो चक्काजाम, तोडफोड र टायर बाल्ने कार्यले शहरहरू कालाम्मे
हुने गरेका छन्। कतिबेला कहाँबाट कसले जुलुस निकाल्ने हो निश्चित हुँदैन।
यसले प्रायः हरेक दिन जनजीवन प्रभावित भइरहेको छ। आन्दोलन गर्नेहरूले
यसमा विचार पुर्याउनुपर्ने बेला भइसकेको छ।
स–साना विषयमा पनि जुलुस, हड्ताल र बन्दजस्ता कार्य
गर्नाले सरकारको संविधानसभामा पुग्ने सोच अल्मलिएको छ। त्यसैले लोकतन्त्रको
जगेर्ना गर्ने हो भने लोकतन्त्रवादीहरूले जनतालाई सास्ती दिने खालका
यस्ता विरोधका कार्य गर्न छाडेर सकारात्मक ढङ्गले अगाडि बढ्नुपर्छ।
लोकतन्त्रको सदुपयोग होस्।
जनकप्रसाद सापकोटा 'विरही'
रयाले–२, काभ्रे
• यथास्थितिवादमा
आधारित
'जनजातिःराज्य कि पहिचान' (आवरण १६–३१ भदौ) मा कनकमणि
दीक्षित र जेबी पुनले विषयलाई यथास्थितिवादी चश्माले हेरेको देखियो।
आदिवासी जनजातिको हित र राज्य पुनर्संरचनाको कुरालाई लेखकद्वयले राम्ररी
नबुझे जस्तो लाग्यो।
पहिलो त उहाँहरूको विचारले बहसको विषयलाई विषयान्तर
गरेर खिचलो थपेको जस्तो प्रतीत हुन्छ। दोस्रो, जनजातिहरूलाई दलाली,
चाकडी र उपनिवेशवादी प्रवृत्तिबाट मुक्त गराएर स्वाभिमान एवं स्वाधीन
बनाउने कार्यको विरोध गरेको छ। तेस्रो, जातीय समस्यालाई यथास्थितिवादकै
चक्रव्यूहमा गुजुल्ट्याउने प्रयास गरिएको छ। चौथो, अल्पसङ्ख्यक तथा
जनजातिलाई संघीय प्रणाली अन्तर्गत स्वायत्तताको अधिकार दिने कुराको
विरूद्ध छ लेख।
यो कुरा स्पष्ट हुनुपर्छ कि जातीय अग्राधिकार नदिने
हो भने नेपाल सबै जातको फूलबारी बन्न सक्दैन। वर्तमान संरचना भङ्ग
गरी नयाँ संरचना निर्माण गरेर जातीय घनत्वको आधारमा राज्यलाई पुनः
रेखाङ्कित गर्ने कार्य गरिनुपर्छ। नेपालको सन्दर्भमा संघीय राज्य प्रणालीभित्र
जातीय स्वायत्तता र समावेशीकरण नै अहिलेको मूल मुद्दा हुनुपर्छ।
श्यामकुमार बुढामगर
बडाचौर, रोल्पा
• स्पष्ट
कार्यक्रमको खाँचो
'प्रहरी छैन, कानून शून्य' (१६–३१ भदौ) रिपोर्टले राजधानीलगायत
देशको खस्कँदो शान्तिसुरक्षाको चित्रण गरेको छ। अहिले जे कुरा पनि
सडकमै प्रस्तुत गर्ने काम हुन्छ। साथै, प्रहरीले थोरै बल प्रयोग गरेपनि
त्यसको विरोधमा सांसदहरूले चर्को आवाज उठाउनाले प्रहरीको मनोबल घटेको
छ भने प्रदर्शनकारीहरूको चाहिँ बढेको छ। प्रदर्शनकारीले प्रहरीको कठालो
समातेको तस्बिरले पनि यसको पुष्टि गर्दछ। यसले राजधानीको शान्तिसुरक्षा
र ट्राफिक व्यवस्थापन झन् लथालिङ्ग बन्दै गएको देखाउँछ। त्यसैले यसमा
सरकारको स्पष्ट नीति र कार्यक्रमको खाँचो छ।
ओमकार पाण्डे,
बावरे–५, दोलखा
• अरू
पनि उड्छन्!
'पाइलट उड्दैः विमान थन्किँदै' (१–१५ भदौ) ले नेपाल
वायु सेवा निगमको बारेमा स्पष्ट जानकारी दिएको छ। यसै त पहिलेदेखि
नै खस्कँदै गएको निगम अब के होला? जहाँका पाइलटहरू नै धमाधम जागिर
छोडेर विदेश लाग्न थालेपछि। काम र दाम दुवै पाउने भएपछि पाइलट मात्रै
के अन्य कर्मचारीहरू पनि विदेशिनेछन्।
कतै कहीँ कुनै सहारा र पहुँच नभएकाहरू मात्र यता बस्ने
हुन्, सक्ने र सीप भएकाहरू त जाने नै भए। त्यसैले सरकारले समयमै यसतर्फ
सोच्नु जरूरी देखिन्छ।
हृदयप्रसाद श्रेष्ठ,
जोमसोम
• मानिएन
दशैँ यसपटक
दिनदिनै जीवन हारेर
कुन खुशियालीमा
दशैँ मान्नु र खै?
जमरा राखिएन– यसपटक।
घर–खेत बन्धक राखेर
खसीको मासु पनि खाइएन
खसीको झोल पनि पिइएन
नानीहरू रोइरहे मझेरीमा
उनका बलिन्द्रधारा आँशुहरूले पनि मन पगालेन
दशैँमा नानीहरूको आँशु पुछ्न
आखिर, भएका एकहल गोरु पनि
बेचिएन– यसपटक।
–तोया गौतम
|