विज्ञान–विचार
कुहिरो र धूइरो; पारिजात र शिरीष
जसले कुहिरो भएर बरी र मलाई प्रत्यक्ष, शिवराजलाई
अप्रत्यक्ष रूपले बेरेको छ, शायद त्यो कहिल्यै फाट्दैन र हामी कहिल्यै
एउटा पर्दा उघारेर एक–अर्कालाई हेर्न सक्तैनौँ।
– शिरीषको फूल बाट
•
डा. तीर्थबहादुर श्रेष्ठ
 |
| नीलो शिरीष (ज्याकाराण्डा)ः ब्राजिलको रैथाने
फूल। |
| तस्बिरहरू डा. तीर्थबहादुर श्रेष्ठ |
दशैँ र तिहारको आगमनसँगै
काठमाडौँ उपत्यकामा कुहिरो लाग्न थाल्छ। जब बादल आकाशमा नउडी जमिनलाई
चुम्बन गर्नतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी कुहिरो भन्दछौँ।
रातमा जमिन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो
गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो
पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँ। कुहिरो बाक्लो
भयो भने त्यसलाई हुस्सु भन्दछौँ। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट
हुँदैनन्। सडक र हवाई यातायातमा समेत अवरोध पुग्छ। पुसमाघतिर रातको
तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको
वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ।
खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन्।
तर, वातावरण अधिक प्रदूषित छ भने तुषारो पर्न सक्दैन। कुहिरोले नै
आफ्नो राज जमाउँछ। यता आएर काठमाडौँको कुहिरो कुहिरो रहेन। धूवाँ र
धूलोले लादिएको हुनाले यो 'धूइरो' संज्ञा पाउन लायक भएको छ। नेपाली
बृहत् शब्दकोश अनुसार चारैतिरबाट एकैठाउँमा जम्मा हुने क्रियालाई धूइरो
भनिँदो रहेछ। वर्तमान काठमाडौँको नियति पनि धूइरो नै हो। यस लेखमा
चाहिँ धूइरो भन्नाले धूँवा र धूलोसहितको कुहिरोलाई प्रस्ट्याउन खोजिएको
हो। सन् १९५० को दशकमा बेलायतीहरूले कुहिरो ९ायन० लाई स्मग ९क्कयन०
भने। यसको कारण, कुहिरोमा धूवाँ ९क्कयपभ० मिसिनु नै थियो। हामीले पनि
बँदेल र सुँगुरको ठिमाहालाई बङ्गुर भन्नेजस्तै अब राजधानी उपत्यकाको
हिउँदे कुहिरोलाई 'धूइरो' नामकरण किन नगर्ने?
 |
| नेपाली रैथाने (माइमोसा)ः शिरीष। |
बिहानीको हावा खान निस्कनेहरू सबै धूइरोबाट सावधान हुनुपर्ला।
त्यो स्वस्थकर नभई हानिकारक हुन्छ– आँखा र फोक्सोका लागि। दमखोकीका
रोगीहरू त धूइरोबाट टाढा हुनु नै जाती हुन्छ। आजकलको धूइरो दिनपर दिन
विशाक्त हुँदैछ, त्यसबाट दमखोकी मात्र नभई क्यान्सरजस्ता अनेकौँ रोगको
कारण पनि यही धूइरो बन्न सक्छ। प्रत्येक दिनझैँ यहाँका सडकमा टायर
बल्न थालेको छ। हाम्रो युवापुस्ताको आक्रोश होस् वा लोकनेताहरूको प्यास–
ट्रकका ट्रक टायर खरानी भइसक्दा पनि शान्त भएको छैन। बलेको टायरबाट
उत्कर्ष हुने धूँवामा डाइअक्सिन एवं 'पाहज' (PAHs) लगायत अनेकौँ विशाक्त
रसायन मौजूद हुने हुनाले विशेष नियन्त्रित भट्टीमा समेत बाल्न निषेध
छ– अमेरिका र अन्य देशमा। टायरको धूँवाले क्यान्सर रोग निम्त्याउने,
यौनशक्ति क्षीण हुने र शारीरिक विकासमा बाधा पुग्ने वैज्ञानिक तथ्यहरू
इन्टरनेट भरी व्याप्त छन्। विद्यार्थी एवं युवाहरूमा यो चेतना प्रवाह
नहुनु चिन्ताको विषय हो। उनीहरूलाई यस्तो आत्मघाती कार्यमा लगाउनु
निश्चय पनि धूइरो दिमागकै उपज हुनुपर्छ।
काठमाडौँको कुहिरोसँग इन्द्रजात्राको प्रसङ्ग जोड्ने
चलन छ। आफ्नी आमाको निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौँ
आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले
पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौँ।
त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको
बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन्। त्यही कुहिरोले
गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै
छ। यसैगरी पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ।
यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि
भन्ने चलन छ। वैज्ञानिक क्षेत्रमा पनि यस बिरुवाको जातीय नाम निक्टान्थस
(Nyctanthus) अर्थात् निशा–पुष्प हो। यो जाई परिवारको वनस्पति हो,
तर यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ।
पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ
र चाँदी जस्तै सेतो हुन्छ। फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो
पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित
भएका शास्त्रोक्तिहरू भेटिन्छन्; तर पारिजातको दुखान्तकथा पनि कम मार्मिक
छैन। पारिजातक एक राजपुत्री थिइन्। तिनको अगाध प्रेम सूर्यसँग कायम
हुन्छ। पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन्। प्रेमपीडामा पारिजातले
आत्महत्या गर्छिन्। दाहसंस्कार हुन्छ। त्यहाँको खरानीबाट एउटा वनस्पति
पैदा हुन्छ। त्यही हो, पारिजात। रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्,
तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन्। शायद सूर्यलाई तिरस्कार
गर्छन् यी फूलहरू। अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको
बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ। बोटबाट फूल टिप्न
हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ। यस वनस्पतिको प्रजातीय
नाम आर्वोटि्रस्टिस ९बचदयचतचष्कतष्क० ले पनि दुःखित वृक्ष भन्ने नै
अर्थ जनाउँछ। पारिजातको पूरा नाम निक्टान्थस आर्वोटि्रस्टिस ९ल्थअतबलतजगक
बचदयचतचष्कतष्क० को अर्थ लगाउन थाल्यौँ भने 'रातमा फुल्ने दुःखित वृक्ष'
भन्ने कुरा खुल्न आउँछ। ग्रीक भाषाको शाब्दिक संयोजनले यही भन्छ।
पारिजात नेपाली साहित्यको एक स्रष्टाको नाम पनि हो।
एक सफल साहित्यकारका रूपमा स्थापित विष्णुकुमारी बाइबाले आफ्नो साहित्यिक
नामका लागि किन र कसरी पारिजातलाई चयन गरिन्, त्यो मेरो वशको विषय
भएन, तर पारिजात भनेपछि नेपाली वाङ्मयमा शिरीषको फूल यत्तिकै टाँसिएर
आउँछ। त्यही शिरीषको फूलबारे केही अन्योल हटाउने जमर्कोमा लाग्न चाहन्छु।
 |
 |
| साहित्यकार पारिजात र पारिजातको फूल। |
हिमाली खण्डमा पाइने शिरीष– खयर, बबुल तथा लज्जावती
वर्गमा पर्ने माइमोसा Minosa जातिको वनस्पति हो। नेपालका तराई भावर,
चूरे, भित्रीमधेश र उष्ण पहाडी क्षेत्रमा ७/८ प्रजातिका शिरीष भेटिन्छन्।
यसको वृक्ष मझौलादेखि निकै अग्लो (१०–१५ मिटर पनि) हुन सक्छ। शिरीषका
पात मुलायम र उन्यूका पातझैँ असङ्ख्य स–साना पातहरूको संयुक्त पुञ्जमा
सजिएको हुन्छ। फूल भने रेशमका अनगिन्ती धागोका पुञ्जहरू मिलेर हाँगाभरी
लटरम्म हुन्छ। यी फूलको रङ जातअनुसार, गुलावी, प्याजी, फिका पहेँलो
वा हल्का नीलो पनि हुन्छ; तर गाढा नीलो फूल भने कुनै पनि नेपाली रैथाने
शिरीषमा फुल्दैन। टिप्नासाथ ओइलाएर जाने हुनाले शिरीषको फूल अति संवेदनशील
वस्तुको प्रतीक मानिन्छ। अरू देव पूजामा प्रतिष्ठित भएपनि गणेशजीलाई
यो फूल चल्दैन। दशैँ–तिहारको बेलादेखि शिरीषका पात झर्न थाल्छन् र
फलहरू भने लामा–लामा चेप्टा कोसाका रूपमा रूखैमा पछिसम्म झुण्डी बस्दछन्।
रूखैबाट टिपेको कोसामा राम्रो बीउ हुन्छ। कुनै शिरीषको बीउ सय वर्ष
पनि बाँच्न सक्छ। वसन्तको आगमनसँगै वृक्षभरी पात झाङ्गिने र गर्मीयाममा
निकै भरपर्दो छहारी दिने भएकोले चियावारीमा शिरीष रोप्ने चलन छ। कोसेवाली
भएकोले शिरीषले हावाको नाइट्रोजन खिँची माटोलाई मलिलो बनाउन सहयोग
पनि गर्छ। यो ज्यादै गुनिलो वनस्पति हो। यही वनस्पतिको नाममा एक लोकप्रिय
उपन्यास सिर्जना हुनु निश्चय नै शोभायमान विषय हो। उपन्यासको शिरीषबारे
पनि केही खोजीनिती र चर्चा हुनु आवश्यक छ। अब त्यतैतिर लागौँ पनि।
उपन्यासकी स्रष्टा पारिजात दार्जीलिङको एक चियावगानकी
छोरी हुन्। निश्चय नै उनको वाल्यावस्थालाई चियावगानका शिरीषका वृक्षले
छहारी दिएको हुनुपर्छ। झापा, इलाम र दार्जीलिङका चियावगानमा फुल्ने
शिरीष र पारिजातको उपन्यासमा फुल्ने काठमाडौँ विशालनगरको शिरीष एकै
जातका हुन् वा भिन्दै भन्ने प्रश्न धेरै दिनदेखि उब्जँदै बिलाउने गर्दैछ
मेरो मनमा। हुन त शङ्कर लामिछानेले किताबको भूमिकामा लेखिसकेका छन्,
“र मचाहिँ शिरीषको फूल नै नचिनेको मान्छे। किताब पढुन्जेल मेरा आँखामा
ज्याकाराण्डा आइरह्यो– पछि थाहा पाएँ अङ्ग्रेजीमा यसलाई Mimisa sirissa
भन्दा रहेछन्। यो फूल पत्याइनसक्नु किसिमले राम्रो फुल्छ रे!” त्यसो
हो भने यो चियाबारीकै शिरीष हो? त्यसमा फुल्ने फूल रेशम धागोको डल्लो
जस्तो झुप्पोमा फुल्दछ। यो प्याजी रंगको वा गुलावी रंगको हुन्छ। पारिजातले
धेरै पल्ट वर्णन गरे जस्तो नीलो भने हुँदैन। ठाउँठाउँमा उनी लेख्छिन्,
“र ठीक त्यही याम जहिले यी रूखहरूले आफूलाई नीलै बनाएर फुलाउँदछन्...
एक चोक्टा हरियो चौर नीला शिरीषका फूलहरूले झण्डै छोपिएको... नीलो
फूल र एउटी स्वास्नीमान्छे मेरो आँखाबाट ओझेल भइसकेका थिए... फेरि
शिरीषका नीला फूलहरू क्रमशः झर्न लागेका थिए...” यो वर्णनका आधारमा
त्यो उपन्यासको शिरीषको फूल चियावारीको शिरीष नभई काठमाडौँ बगैँचाको
ज्याकाराण्डा (Jacaranda) सँग बढी मिल्न आउँछ। यसको पात शिरीषको पातसँग
धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया
(j.mimosifolia)राखिएको छ। अर्थात् शिरीष पाते ज्याकाराण्डा, वनस्पति
दक्षिण अमेरिका विशेषतः ब्राजिलको रैथाने भएतापनि यसको अति आकर्षक
र नीलो फूल र त्यो पनि अत्यधिक मात्रामा रूखै छोपिने गरी फुल्ने भएकोले
उष्ण क्षेत्रमा पर्ने विश्वका अधिक शहर बगैँचामा यसले स्थान पाएको
छ। वर्तमान काठमाडौँको सडक र बगैँचा चैतको उग्र घाम र वैशाखको खडेरीले
तात्दा ज्याकाराण्डा वौलाएर फुल्छ। रूखै ढकमक्क नीलो हुने मात्र हैन
झरेका फूलहरूले रूखको फेदी पनि नीलै हुन्छ। पारिजातको उपन्यासले यही
ज्याकाराण्डालाई नीलो शिरीषका रूपमा प्रस्तुत गरेको छ। ज्याकाराण्डालाई
शिरीष नाम दिने श्रेय यस अर्थमा पारिजातलाई नै जानुपर्दछ। काठमाडौँका
मालीहरूले भने ज्याकाराण्डालाई “चखुँचा स्वाँ” अर्थात् भँगेरी फूल
भन्ने नाम दिएका थिए। हुनपनि ज्याकाराण्डाको झरेको फूल हातमा राखेर
हेर्दा भँगेराको आकृति निर्माण हुन्छ। तर, पारिजातको प्रचारले आज थुप्रै
नेपालीहरू ज्याकाराण्डालाई शिरीष ठान्न थालेका छन्। काठमाडौँको सडकछेउलाई
ज्याकाराण्डा शिरीषले ढाकेको धेरै वर्ष भएको छैन। पचास वर्ष पहिलेको
काठमाडौँ शहरमा यी शिरीष यसरी फुलेको मलाई सम्झना छैन। त्रिचन्द्र
कलेजमा वनस्पतिशास्त्र पढ्दा घण्टाघर अगाडि मसला र काँगियोका वृक्ष
थिए, आजको जस्तो शिरीष थिएन। त्यसैले शङ्कर लामिछानेले २०२२ सालमा
पनि शिरीषको फूलबारे अनभिज्ञता प्रकट गरे। त्यसबेलाको काठमाडौँका राणादरबार
र क्याम्पहरूमा भने अनेकौँ आयातित फूल बिरुवा हुने गरेको तथ्य भेट्टाइन्छ।
“उसको घर शिरीषका रूखहरूले घेरेको क्याम्प भित्र रहेछ” भन्नु चियावारीको
सेरोफेरोमा आफ्नो बाल्यावस्था बिताउँदाको शिरीषको सम्झना नै शिरीषका
फूल थिए वा नीलो ज्याकाराण्डामा नै उनले आफ्नो शिरीषका फूल भेट्टाइन्–
त्यो अतितको कुहिरोमा बेरिएको छ। मेरो र पारिजातको जन्म वर्ष एकै रहेछ
वि.सं.१९९४। वि.स. २०५० वैशाख ४ मा उहाँको स्वर्गारोहण भएको रहेछ।
तसर्थ शिरीषको फूलको रहस्य खोल्न हामी पर्दा उघारेर एक–अर्कालाई हेर्न
सक्तैनौँ। श्रद्धाको एक अँजुली भने अवश्य दिन सकिन्छ।
|