आत्मकथन
'आफ्नै मर्जी' फर्की हेर्दा
•
सुलोचना मानन्धर
२०५७ माघको
हिमाल मा आफ्नै मर्जी स्तम्भमा 'म सुनको चुरा लगाउँदिनँ नि!' शीर्षकमा
एउटा मर्जी जाहेर गरेकी थिएँ। मर्जी लेखेको तीन–चार वर्षपछिको कुरो,
एउटा सामाजिक कार्यका सिलसिलामा काठमाडौँका वृद्धाश्रमको अवलोकन गर्नुपर्ने
जिम्मा आइपर्यो। त्यसै क्रममा मैले पहिले चिन्न नभ्याइसकेको एक जना
सशक्त पाठक एवं सक्रिय सामाजिक कार्यकर्ता पनि सहयात्रीका रूपमा आफूसँगै
रहेछन्, पुडासैनी थरका पेशाले प्राध्यापक।
भेटघाटपछि आपसी परिचयको क्रममा नै उनले एउटा तीखो प्रश्न
गरे मसँग, “तपाईँ उही सुलोचना मानन्धर होइन आफ्नो मर्जी लेख्ने? मैले
छोटोमा 'हो' भन्ने जवाफ दिएँ। त्यसपछि अर्को प्रश्न गरे, “तपाईँको
गलामा लगाएको सिक्री के सुनकै होइन त?” मैले पुनः छोटोमा जवाफ दिएँ
'हो' भनेर।
“... उसो भए त्यो सिक्री तुरुन्तै फुकाल्नु पर्यो,
तपाईँले त्यो लगाएको सुहाएन।” अरूले कति बुझे बुझेनन् उनका कुराले
म एकछिनसम्म जिल्लै परेँ।
म जिल्ल परेको चाल पाएर होला मित्रले फेरि प्रस्ट रूपमा
भन्न थाले, “तपाईँ आफ्नो मर्जीमा सुनको चुरा लगाउँदिनँ भनेर लेख्ने
तर गलामा भने सुनको सिक्री लगाएर हिँड्ने? तपाईँको लेखलाई हामी गाउँ–गाउँ
पुर्याउँदै उदाहरण बनाउँदै हिँड्ने, तपाईँ भने अझै सुनको सिक्री लगाउने?”
झट्ट यस्तो खालको टिप्पणी सुन्दा मएकछिनसम्म साँच्चै अक्मकाएँ। के
भनुँ र के गर्नु भयो। फेरि पनि सहज र इमान्दार भएर नै जवाफ दिएँ, “सुनको
चुरो पो त लगाउँदिनँ भनेको, मैले यो सुनको सिक्री भन्दा सिक्रीमा झुण्डिएको
सानो मुगाको गणेशको लकेट, मेरी हजुरआमाको चिनो भनेर लगाएकी ...” यस्तै
के कारण बताएँ।
साथीलाई मेरो कुरा अझै चित्त बुझेन, “गणेश लगाउनु छ
भने काँचो धागोमा उनेर लगाउनुस् तर सुनको सिक्री त छोडिदिनोस्...!”
यो भने ठूलै आदेश थियो, मेरानिम्ति। पहिलोपल्ट चिनेको एक पाठकको आदेश।
मैले सुनेँ मात्र, केही जवाफ दिइनँ। तर मनमा लाग्यो, केही हदसम्म साथीको
कुरा ठीकै हो, केही कुरा लेखेपछि व्यवहारमा आफैँबाट पालना गर्न सक्नुपर्छ।
होइन भने मान्छे ढोँगी हुनसक्छ।
टिप्पणी सुनुन्जेल केही अप्ठेरो र केही लाज लागेजस्तो
भएपनि फर्केर हेर्दा त उनका कुरा जायज नै थिए। एउटा पाठकको हैसियतले
उनले ती कुराहरू भन्न पाउनैपर्थ्यो। यसबाट मैले एउटा ठूलै पाठ सिक्ने
मौका पाएँकिनकि समाजमा लेखकहरूको कमी छैन, कुरा सिकाउने गुरुहरूको
पनि कमी छैन तर आफैँले लेखे अनुसार व्यवहारमा अगाडि बढ्न सक्नेहरूको
सङ्ख्या भने ज्यादै न्यून भेटिन्छ। अवश्य नै लेखकले लेख लेखेर मात्रै
पुग्दैन, लेखेका कुरा व्यवहारमा लागू गर्न सक्नुपर्छ।
यो टिप्पणी सुनेर घर पुग्दा साथीको कुरा ठीक लागे पनि
मैले आफ्नो गलामा रहेको सिक्रीलाई हुत्याएर फ्याँक्न भने अझै सकेकी
थिइनँ। यद्यपि, मनमा त्यो सानो सुनको सिक्री पनि गह्रौँ लागेर फलामको
सिक्री लगाए सरी भारी हुन थालिसकेको थियो। तर, सुनकै लोभले हो कि,
रहरले वा हजुरआमाको चिनोस्वरुप मैले त्यो सिक्रीलाई चट्टै छोड्न सकिरहेकी
थिइनँ।
मैले लगाउने गरेको सुनको सिक्रीको तौल एक तोला पनि पुग्दैनथ्यो।
हाम्रो बिहे भएको दशौँ वर्षमा आफ्नै कमाइको बचेखुचेको अलिकति पैसाले
किनेकी थिएँ, कसैले दिएको उपहार थिएन।
चीनमा पाँच वर्ष विद्यार्थी जीवन बिताएर फर्कंदा हामी
(सरोज र म) साँच्चै गरीब थियौँ, खालीहात नै फर्केका थियौँ। चीनमा बस्दा
पैसाकै खाँचोले लेखियो। त्यहाँ बस्दा केही असल विदेशी मित्रहरू जम्मा
गर्यौँ। तीमध्येकै केही साथीहरूको सहयोग र सल्लाहले मलाई विभिन्न
देशका पत्रपत्रिकाका निम्ति लेख्ने अवसर पाएर त्यसैबाट केही दाम पनि
प्राप्त भयो।
देश फर्कने क्रममा हङकङ बजारमा पुग्दा कुनै योजना बिना
नै एउटा गहना पसलमा पसियो र आफूसँग भएको पैसाले जति भ्याउँछ त्यतिको
एउटा मसिनो सिक्री लिइयो। म पनि स्वास्नीमान्छे नै थिएँ। अलिकति भए
पनि गहनाले छोयो मलाई।
लेखकहरूले नै 'लेखेर के पो हुन्छ' भनेको पनि सुनेकी
छु। तर लेखेपछि व्यक्तिगत कुराहरू पनि सार्वजनिक भएर लेखकप्रति पाठकको
अधिकार जम्दोरहेछ। लेखकले होश पुर्याउनुपर्ने कुरा पनि यही रहेछ–
लेखेका कुरा आफैँद्वारा पूरा गर्न सकिन्छ कि सकिँदैन?
एकपल्ट एउटा पुरस्कार र सम्मान समारोह भइरहेको थियो।
त्यहाँ सरोज र मेरो उपस्थिति थियो। सरोज त्यो दिन त्यस समारोहमा सम्मानित
हुनेहरूमध्येकै एक थिए भने म एकजना साधारण दर्शक थिएँ। सरोजले त्यो
दिन सम्मान पाउनुको कारण थियो– उनले केही वर्षयता गरीब बिरामीहरूका
निम्ति भनी बनाएको 'सर्जिकल च्यारिटी फण्ड।'
सरोज एकजना डाक्टरको हैसियतले केही गरीब बिरामीहरूलाई
सकेजति सहयोग गर्थे। कहिलेकाहीँ निःशुल्क या आवश्यक परे आफ्नै खल्तीबाट
पनि उपचार खर्च जुटाउँथे। आफ्नै नाममा हस्पिटलबाट ऋण लिएर पनि बेलाबेलामा
यस्तो काम गरिरहन्थे। पछि एउटा निश्चित कोष बनाउन भनेर महिनामा पाँच
हजार छुट्याएर काम चलाउन थाले। केही विदेशी मित्रहरूले पनि कोषमा अलि–अलि
पैसा थपिदिए। कति बिरामीहरू सहयोग पाएर कृतज्ञ पनि भए भने कतिलाई आफूले
सहयोग पाएकै कुरा पनि थाहा हुँदैनथ्यो। एउटा संयोगले यस फण्डबाट सहयोग
पाउने मध्येका एकजना बिरामी अङ्गुरबाबा जोशीको नजिकको मान्छे परेछन्
र यसको खोजिनिती भयो। त्यस्तो काम गरेबापत वर्षको स्व. बलराम जोशी
स्मृति सम्मानका निम्ति डा. सरोजलाई छानिएको थियो। शुरुमा सरोज मानेनन्
तर पछि एउटा सामाजिक कामको कदर भएको कुरालाई सहज रूपमा लिनुपर्छ भनी
स्वीकारे। त्यसैले त्यो समारोहमा हामी पुगेका थियौँ।
पुरस्कृत र सम्मानितहरूबाट मन्तव्य दिने पालो आयो। सोचेकै
थिइनँ सरोजले त ज्यादै भावुक हुँदै भने, “... हुनसक्छ च्यारिटी फण्डको
पैसा सानी छोरीको चकलेट किन्ने पैसा या श्रीमतीको गहना किन्ने पैसा...
तर मेरी श्रीमतीले गहना नै लगाउँदिनन्।” यस्तो कुरा मञ्चबाट सुन्दा
मेरो आँखा आफसेआफ रसायो, एकछिन सरोजको कुराले वातावरण स्तब्ध जस्तो
पनि भयो।
तर रमाइलो र अप्ठेरो कुरो त्यतिबेलासम्म त्यो सानो सिक्री
फलामजस्तो लागे पनि अझै आफ्नै घाँटीमा झुण्डिरहेकै थियो। मलाई कहाँ
लुकाउँ लुकाउँ भयो। चिनेकाहरूले मेरो अनुहार हेर्न थाले, मलाई यतिबेला
भने साँच्चै लाजको अनुभूति भयो। मेरो श्रीमान्ले मलाई कति गहिरोसँग
बुझेका रहेछन् भन्ने कुरामा पनि म ज्यादै प्रभावित भएँ, एउटा आनन्द,
लाज वा अरू संवेदनाहरू एकै ठाउँमा मिसिएको क्षण थियो त्यो।
समारोहबाट घर पुगेपछि मैले प्रण नै गरेँ– 'अब म साँच्चै नै सुनका गहनाहरू
लगाउने छैन।' मेरो गलामा रहेको सुन नामको सिक्रीलाई बिस्तारै मेरो
शरीरबाट अलग्याइदिएँ। म पुनः स्वतन्त्र भएँ। मेरो स्वतन्त्रता भन्दा
सुनका बस्तुहरू मेरा निम्ति कहिल्यै ठूलो र प्रिय हुन सक्तैनन् अब!
|