अनुभव
धनी देशमा खेताला हुँदा
•
प्रज्ज्वलराज चापागाइँ
मिर्मिरे बिहानीमा बसबाट
फुत्त झर्दा त क्षितिज छिचोल्ने फाँटमा पो पुगिएछ। चार–पाँचसय हेक्टरको
गरामा पङ्क्तिबद्ध उभिएका रहेछन् कपासका बोटहरू। गराका चारैतिर मोटरबाटो
अनि ठूला–ठूला कुलाहरू। बिहानीको सिरसिरेमा धीत मरुञ्जेल हेर्न पाएको
थिइनँ, जर्ज कराउँछ, “कोदालो समात अनि तीन ड्याङ्ग पछाडि उभ।” एलेन,
अलवर्ट, एडम, सेप्तो, रिचर्ड, फियोना, मार्गरेट, माइकल, मिया, डेभिड,
जान्डो, एलेक्स, लेसली र मीनसँगै म पनि हत्तपत्त कोदालो समाउँछु। अनि
जर्जले भने झैँ उभिन्छु। जर्जकी प्रियसी कोलेन कराउँछे, “कपास गोड्न
थाल।” झण्डै ३० जनाको समूह ड्याङ्गको छेउछाउमा उमि्रएका बिरुवा गोड्न
थाल्छन्।
अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा पर्ने मोरी क्षेत्रमा
(हाम्रो देशको तराईका दश जिल्ला जतिकै क्षेत्र ओगटेको) टन्नै कपास
खेती हुँदोरहेछ। अन्तर्राष्ट्रिय मजदुर सम्मेलन जतिकै जमघट। को छैनन्
यहाँ? अष्ट्रेलियाली, चिनियाँ, नेपाली, भारतीय, भियतनामी, कम्बोडियाली,
फिलिपिनो, मलेसियाली, फिजी, हल्याण्डेली, न्युजिल्याण्डेली र स्पेन्यालीलगायत
भेला भएका छन्।
पाँच थरीका मानिसहरू हुँदारहेछन् कपास गोड्ने। पहिलोमा
विश्वविद्यालयको वार्षिक विदा (तीनमहिने) मा काम गरेर पैसा कमाउन चाहने
गरीब देशका विदेशी विद्यार्थीहरू। दोस्रोमा यूरोपबाट आएका झोले पर्यटक,
जो इन्टरनेटमै त्यो काम गर्ने निधो गरेर आफ्नो देश छोड्दा रहेछन्।
तेस्रोथरी चाहिँ स्थानीय तरुनातन्नेरीहरू; एलेन, अल्वर्ट, फियोना र
डेभिड जस्ता। तिनको एकैखाले भनाइ थियो, “क्रिसमसमा प्रेमी–प्रेमिकालाई
उपहार दिन पैसा जम्मा गर्न आएको। कति बाउ–आमासँग माग्ने? उमेरले गर्दा
पनि अब त पैसा माग्न लाज लाग्छ।” चौथोमा सेवा निवृत्त भइसकेका बूढाबूढीहरू
(५०–६०) पर्दा रहेछन्। बुढौलीको फुर्मासी खर्च बटुल्नलाई कस्सिँदारहेछन्
उनीहरू। जर्ज र कोलेन भन्थे, “के गर्ने! यो उमेरमा अरू काम पाइँदैन।
यसबाटै भएपनि पैसा जुटाउनै पर्यो।” जर्ज र कोलेनको मिलन पनि दश वर्षअघि
त्यही कपास खेतमा भएको रहेछ, जुन तिनकालागी दोश्रो विवाह गर्ने थलो
बन्यो। पाचाँैमा, अधबैंसे स्थानीयहरू रुवाको बोट गोड्न तम्सिँदारहेछन्।
मार्गरेट, माइकल, लेसली र मियाका शब्दमा, “अरू काम गर्ने सीप छैन,
त्यसैले यो दुईमहिना (डिसेम्बर–जनवरी) काम गर्छौं।”
यी कपासका ड्याङमा उम्रने अरू सबै झारलाई रासायनिक औषधिबाट
मार्न सकिएपनि एकखालको झार मार्ने कुनै विषादि बनि नसकेका कारण धेरै
मानिसहरूले यो काम पाएका रहेछन्। झण्डै एकहप्ता वितेपछि मैले, आकासमा
स–साना जहाजहरू उडेको देखेँ। घरि परपरसम्म लान्छन्, कहिले तल झार्छन्,
कहिले माथि पुर्याएको देख्दा, लाग्यो नजिकै कुनै पाइलट कोर्स पढाइहुने
स्कूल वा विश्वविद्यालय होला। तर रिचर्डले भन्यो, “किसानहरु आफ्ना
डेकोटा जहाजबाट कपास खेतमा मल छर्दैछन्।”
'द यूनिभर्सिटी अफ क्विन्सल्याण्ड' विदा भएको मौका छोपेर
म पनि पैसा कमाउन मोरी पुगेको थिएँ। त्यहाँका स्कूल र विश्वविद्यालयका
भित्ताभरि विज्ञापन देखिन्थ्यो― के तपाईँ विदाका बेलामा कपास गोड्न
चाहनुहुन्छ? यस्ता विज्ञापन र साथीहरूको लहैलहैमा म पनि डलर जोड्ने
आशक्तिमा पुगेको थिएँ, कपास गोड्न। मोरी अष्ट्रेलियाको एउटा सानो 'कन्ट्री
टाउन' खासै धेरै चहलपहल छैन। नयाँ मानिसहरू कि 'न्याचुरल स्पा वाथ'
(प्राकृतिक तातोपानीमा नुहाउन) लिन कि मजदुरी गर्न त्यहाँ पुग्दारहेछन्।
खेतालाको दिनचर्या वर्णन गर्न लायकको छ। नाडी घडी हेर्छु,
बिहानको साढे तीन बजेको छ। हत्त न पत्त दाँत माझ्छु र भोक नलागेको
पेटमा स्याण्डविच कोच्छु। “लौ! ढिलो भो। छिटो गरौँ नत्र बस छुट्छ।
जर्जले फेरि भोलिदेखि काममा बोलाउँदैन,” एडम (इण्डोनेसियाली) कामको
चिन्ता गर्दै भन्छ। हतारहतार दिउँसोको 'लन्च'; बट्टामा कोचेर झोलामा
हाल्छु। काम गर्दा लाउने सूतीको पञ्जा र बाँसको चोयाले बुनेको टोपी
बोकेर कुद्छु बसस्टपतिर। अँध्यारै छ, झिसमिसे पनि भन्न नमिल्ने। सेप्तो,
अलवर्ट, एलेन, मिया, स्कट, रिचर्ड र पोलेनहरू पनि थुप्रिन्छन् बस कुर्न।
जर्जले मिनीबस ल्याएर घ्याच्च रोक्छ।
विभिन्न देशका अस्थायी खेतालाहरूले भरिएको बस हुँइकिन्छ
नब्बे–सय किलोमिटरको गतिमा। बिहानीको मिरमिरेमा बसको हेडलाइटको चर्को
उज्यालो हेर्न जङ्गलबाट निस्किएका कङ्गारुहरू बसका अगाडि ट्वाँ...
परेर तेर्सिन्छन्। एक दुईपटक त जर्जले जोगाउन धेरै कोशिश गर्यो तर
तेस्रो पटकचाहिँ उसको केही लागेन। जोगाउँदा जोगाउँदै एउटालाई बसले
दनक दिइहाल्यो। “मासु खान त्यो कङ्गारु लान सकिन्न?” मैले सोधेँ, तर
जर्ज राँकियो, “हुँदैन मित्र, सरकारले सजाय दिन्छ। वातावरण संरक्षकहरू
आएर त्यो मरेको कङ्गारुलाई लान्छन्” जर्जको रूखो जवाफ सुन्दा नसोधेको
भए हुन्थ्यो जस्तो लाग्यो। कचमचिएको अपुरो निन्द्रा पुर्याउन सुत्ने
प्रयास गर्छु। खेतमा पुग्न अझै एक घण्टा बाँकी छ। यसरी बिहान साढे
तीन वा चार बजे उठेर दिनको दुईबजेसम्मको टन्टलापुर घाममा (३८ देखि
४५ सेन्टिग्रेड सम्म) जोतिनु पर्यो केवल अष्ट्रेलियाली डलरको लागि।
सनक्रिमलाइकन काममा डटियो पैसा कमाउन र विदालाई सार्थक बनाउन।
तीन–चारसय हेक्टरका बडाबडा गराहरूमा भएको वैज्ञानिक
खेती देख्दा आफ्नो देशको खेती प्रणाली सम्झन्छु। हजारौँ हेक्टर जमिन,
डेकोटा जहाज, गोडा–बिसेक ट्रयाक्टरहरू, इन्धन सञ्चित गर्ने ट्याङ्करहरू,
औषधिमुलो छर्ने उपकरणहरूका मालिक हुँदारहेछन् अष्ट्रेलियाली किसानहरू।
उद्योग नै बनेको छ कृषि, अष्ट्रेलियामा। कहाँ, वर्षभरि दुःख गरेर पनि
खान नपुग्ने, झुत्रेझाम्रे, गोडा पट्पटी फुटेका नेपाली किसान कहाँका
अष्ट्रेलियाली किसान दाँज्नै नसकिने।
अष्ट्रेलियाको कपास खेतमा येनकेन ६ हप्ता काम गरियो,
खेताला भएर। ७ हप्तापछि 'द यूनिभर्सिटी अफ क्विन्सल्याण्ड' को पत्रकारिता
विभाग प्रमुख जोन हेनिङ्गहामसँग भेट भयो। उनको प्रश्न थियो, “प्रज्ज्वल
कता गएका थियौ? अलि कालो देखियौ नि!” मैले जवाफ दिएँ, “मोरी, कपास
गोड्न।”
“कति समय त्यहाँ काम गर्यौ?” जोनको अर्को प्रश्न थियो।
मैले झण्डै ६ हप्ता काम गरेको बताएँ। हेनिङ्गहाम प्रश्नमाथि प्रश्न
थप्छन्, “तिमीले एक घण्टाको कति पाउँथ्यौ?” मैले भने, “मैले एकघण्टाको
झण्डै १२ अष्ट्रेलियाली डलर प्राप्त गरेँ।” बुढौलीले भुसुक्कै फुलिसकेका
खल्वाटे जोनको टाउको र निधार खुम्चिन्छ अनि सोध्छन्, “के अझै मानिसहरू
नै यो काम गर्दैछन्? मैले त सोचेको थिएँ प्रविधिले यति विकास गरिसक्यो
कि, या त मेसिनले या रासायनिक पदार्थले त्यो झारलाई मार्छ।”
एकछिन अकमक्क भएर जोनले भने “बुझ्यौ मैले ३० वर्षअघि
यो काम गरेको थिएँ। त्यतिबेला ट्रकले खेतालाहरूलाई ओसार्थ्यो। घण्टाको
८७ सेन्ट मात्रै दिन्थ्यो। तर कामचाहिँ पक्का मजदुरी हो साह्रै गाह्रो
थियो। विद्यार्थी हुँदा पैसाको अभाव थियो र विदामा काम गर्न गएको थिएँ।”
म अचम्म मान्छु। सञ्चारमाध्यमको अनुसन्धानकर्ताको रूपमा अन्तर्राष्ट्रियस्तरमै
ख्याति कमाएका डा. हेनिङ्गहाममा स्मृतिलाई कोट्याउँदा अलिकति पनि पीडा
वा हीनताबोध देखिन्न। उनको व्यवहारले भनिरहेको थियो, “गरेर खान केही
हुँदैन। कामको प्रकृतिकै भरमा मानिसलाई भेदभाव गर्नुहुँदैन।”
|