आवरण | नेपालीपनः यता
र उता
आसाममा नेपाली
तेन्जिङ नोर्गेले कुनै दिन भनेथे– “मेरो रगत
र हाड नेपाली माटो र पानीले बनेको हो– म आफूलाई कसरी नेपाली नभनौँ?
तर खाने बाटो र जीविका भारतमा छ, अनि भारतको होइन कसरी भनौँ?” यो भावना
एक्लो तेन्जिङ नोर्गेको नभई सारा प्रवासिएका दाजुभाइको हो।
•
मातृकाप्रसाद कोइराला
चालीस वर्ष अगाडि,
जब मेरा जुँगाका रेखी भर्खरै बस्न थालेका थिए– म आसाम गएको थिएँ पिताजीका
साथ। त्यसबेला हाम्रो परिवार चन्द्रशमशेरको थाङ्ने झोकमा भारत प्रवासिएको
थियो। अवसर थियो गुआहाटी (पाण्डु) मा अखिल भारतीय काङ्ग्रेसको वार्षिक
अधिवेशन, जसमा बाबुछोरा दुवै प्रतिनिधि थियौँ बिहारबाट। किशोरावस्थाको
मीठो सम्झना मेरा मानसमा रङ्गमङ्गिइराखेको थियो। नेपाल बाहेक नेपालीहरूको
सबैभन्दा ठूलो आवास डुल्ने रहरले सधैँ जाउँ जाउँ भनी कुतकुत्याइरहन्थ्यो–
तर जीवनको उचाल–पछारको सङ्घर्षले मौका परेको थिएन।
यसपाला मेरा एक मित्रले, जसको कारोबार ब्रह्मपुत्र उत्तर–दक्षिण
दुवैतिर छ, जाने भए हिँड भनी आग्रह गरेकाले आफ्नै बाहन (मोटर) मा विराटनगरबाट
पुस ६ गते (सम्भवतः २०२४ साल सं.) का दिन दिउँसो हिँड्यौँ। सो रात
र भोलिपल्ट सिलीगुडीको बसाइँ भयो। सिलीगुडीमा मोटरको हेरचार र सफाइ
गराउनुथियो। पर्सिपल्ट बिहानको खाजा खाई त्यताबाट हिँड्यौँ। भारतको
राष्ट्रिय राजमार्ग सङ्ख्या ३१ मा मोटर चिप्लिई दुर्गुदै थियो, दायाँ–बायाँ
पर्थे चियाका बगान र शिरीषका छायाँदार रूखहरू।
बाटामा टिष्टाको नयाँ पुल पर्यो। एक रुपियाँ सिङ्गै
जगात, लाग्दो रहेछ। मनले सम्झ्यो हाम्रा पुर्खाले जोरेक शतकअगाडि मुलुकको
साँध यसै स्रोतलाई बनाएका थिए। मैले मेरा मित्रसँग चर्चा पनि गरेँ,
कुइरेहरूसित टक्कर र सिक्किमेको जाल नपरेको भए यो साँध कायमै पनि रहने
थियो होला। माथिल्लो सेभोकको बाटो २०/२५ कोसको बढी घुमाउरो पर्ने हुँदा
तल्लो जलपाईगुडीकै बाटो लागेका थियौँ। कूचबिहार पुग्न छ कोस जसो बाँकी
हुँदा पछिल्लो पाङ्ग्रो पड्केर फुट्यो।
लञ्चको विशेष आयोजन र स्थानीय गण्यमान्यहरूको भेलाले
पनि अलमल्यायो। ४ बजे साँझ त्यहाँबाट हिँड्यौँ–निधो त गुआहाटी नै पुग्ने
थियो। गोलकगञ्ज पुग्दा घाम अस्ताउन लागेका थिए। विलासीपाडा नपुग्दै
रात झमक्क भयो। विलासीपाडाको बजारबाट निस्केका मात्र थियौँ कि अर्को
चक्काको हावा फुस्क्यो। रातका बीच टालेको टायर लिई जङ्गल र पहाडीबाटो
जान ठीक नठानी फर्की आयौँ र सो ठाउँको डाक बङ्गलामा रात काट्यौँ। मेरा
साथ मेरा सारथि बाहेक मेरी श्रीमती र आसाम लैजाने साथी थिए। रात्रिभोजन
मात्र दुग्धपान भयो।
बिहान ८ बजेतिर त्यहाँबाट हिँडी गुआहाटी प्रायः ११ बजे पुग्यौँ। ४०
वर्ष अगाडि आउँदा ब्रम्हपुत्र नदीलाई पानी जहाजबाट पार गर्नुपर्थ्यो,
अहिले ठूलो पुल निर्माण भएकाले आफ्नै बाहनमा गुडेर पार भइयो। आसामको
विधान सभामुख (स्पीकर) हरेश्वर गोस्वामी मेरा र मेरा साथी दुवैका मित्र
हुन्। निजकै घर गयौँ, तर पूर्व सूचना नहुँदा निज र निजकी श्रीमती दुवै
घरमा रहेनछन्। एक युवक छोरा मात्र रहेछन् तापनि आदर सत्कारमा कुनै
त्रुटि हुन दिएनन्। हरेश्वर राति मात्र आए।
भोलिपल्ट बिहान श्री कामाक्ष्या देवीको दर्शनका लागि
गयौँ। दर्शनपछि बिहानको खाजा खाएर शिलांगका लागि हिँड्यौँ। बाटोमा
पर्ने नंगपुले मलाई हेटौँडाको सम्झना गरायो। अघि शिलांगबाट तल झर्ने
र माथि उक्लने मोटरहरूलाई यहीँ रोकी एकतर्फी बाटो पठाइने गरिन्थ्यो
रे! बडपानी भन्ने ठाउँमा नयाँ घट्टे बिजुलीको मुख्य थलो रहेछ। ठाउँ
बडो रमणीय। बाँध बाँधी पानी रोकेको दहको दृश्य बडो रमणीय लाग्यो, तर
सो रमणीय थलो पल्टनेले ओगटिसकेका रहेछन्। शिलांग बेलैमा पुग्यौँ। शिलांगका
बाटोको बयान मैले धेरै अगाडिदेखि सुनेको थिएँ तर मलाई त आफ्नै त्रिभुवन
राजपथ हरेक दृष्टिबाट गतिलो लाग्यो। तापनि, बाँस, केराका वन, खसिया
बालबालिकाको पहिरन र अनुहार कम आकर्षक थिएन। मधेशबाट हिउँदमा पहाड
उक्लँदा निक्कै जाडो अनुभव भयो।
आसाम भ्रमणमा मेरो उद्देश्य नेपाली बन्धुहरूसित भेटघाट,
निजहरूको दुःखसुख बुझ्नु पनि थियो। विराटनगरबाट आसामसित सम्पर्क भएको
केही सज्जनहरूबाट प्रमुख नेपालीहरूको नाम टिपेर ल्याएको थिएँ। नाम
मात्र थियो ठेगाना थिएन। मैले सोचेको थिएँ– म आसाम पुगुञ्जेल विराटनगरका
सम्पर्ककर्ताले पत्राचार गरी पूर्व सूचना पुर्याइसकेको हुनुपर्छ तर
सो भएको रहेनछ। अर्को गुआहाटी पुग्दा बडादिन (क्रिसमस) को बिदा रहेछ।
१/२ नेपाली प्राध्यापकको नाम मेरो तालिकामा थियो। वरपर बुझ्ने कोशिश
गरेँ, पत्तो लागेन। प्राध्यापक कुन कलेजका सोसम्म खुलेको थिएन। अस्तु,
मनलाई खुम्च्याउन करै लाग्यो।
शिलांगमा जोशी परिवारसित पुरानो परिचय हो तर उहाँहरू
पनि शिलांगबाट अन्यत्र गइसक्नुभएकोले भेट भएन। बडो खल्लो लाग्यो, बाटोमा
हिँड्ने २/४ नेपाली दाजुभाइसित भेटेर हालचाल बुझेँ। म बसेकै घर सभामुख
निवासको पालो पहरामा पनि हाम्रै बाग्लुङ्गे दाजुभाइ रहेछन्। आसामको
पहाडे इलाका आफ्नो बेग्लै राजनीतिक अस्तित्वका लागि दाउ मार्दै रहेछ।
तलका आसामेहरू शिलांग समेत गुम्ने हुनाले छुट्टिन नदिन बल गर्दैछन्।
त्यसैले यहाँको वातावरण गुम्स्याइलो पाएँ, तर यी दुईथरीको तानातानमा
हाम्रा प्रवासी दाजुभाइहरूको गति के हुने?
केही दिन अगाडि यस इलाकामा गोलमाल उठ्दा केही नेपाली परिवारहरूले खेदिनु
परेको समाचार पनि भारतीय पत्रिकाहरूमा निस्के। यहाँ सोही प्रसङ्गमा
एउटा भारतीय पत्रिकाले दिएको टिप्पणी उद्धृत गर्दैछु–
“यसको पछिल्तिर चल्ने राजनीति के छ भने कैयाँै पुस्तादेखि
बसिआएका मानिसहरूलाई बाहिरिया ठहर्याइन्छ, जसले पहाडी प्रदेशको निर्माणपछि
सो प्रदेशलाई छाडिदिनुपर्नेछ। यस आन्दोलनमा सबैभन्दा पहिलो शिकार नेपालबाट
बसाइँ आएकाहरू भएका छन्।”
“आसामका पहाडको जलवायु प्रायः नेपाल जस्तै छ र प्राचीनकालदेखि
नै नेपाल र आसामका बीच पारस्परिक आवागमन छ। आसाम आउने नेपालीहरूमा
अधिकांश गोठ पाल्ने डुलुवा नेपालीहरू छन्। यता ३०/४० वर्षदेखि राणा
प्रशासनका कारण शिक्षित नेपालीहरूको पनि आसामका पहाडी प्रदेशमा आगमन
भयो, जसको सङ्ख्या आसामका पहाडी प्रदेशमा स्वाभाविक रूपबाट बसोबास
गर्ने नेपालीहरूभन्दा कम छ।”
“पहाडी जनताका नेता यी नेपालीहरूलाई विदेशीको संज्ञा
दिन्छन् र बलपूर्वक उनीहरूलाई बेदखल गर्न चाहन्छन्। विदेशी देखाउन
निजहरूलाई विशिष्ट कर तिर्न बाध्य गरिन्छ, यद्यपि, यो कुरा अवैधानिक
हो। पहाडी प्रदेशका केही भागमा आसाम सरकारको समादेश पत्र लागू हुँदैन
र जोर जबर्जस्तीबाट काम लिइन्छ। यी मानिस नेपाल पनि फर्कन सक्तैनन्,
किनभने त्यहाँ पनि आफ्ना वंशको जग्गा मानिसकेका छन्।”
“आसामका सबै गैरआसामीहरूले आफ्ना भाषाका स्कूल स्थापित
गरी आफ्ना स्वार्थका निमित्त बलियो सङ्गठन बनाएर आफ्नो स्थिति सुदृढ
बनाइसकेका छन्। तर नेपालीहरूले यस्तो कुनै कदम उठाएका छैनन्। आफ्ना
प्रवासकालमा एउटा पनि नेपाली स्कूलको माग गरेका छैनन् र पहाडी जनतासित
पूर्णरुपेण तादात्म्य स्थापित गरे, जसका साथ जीवन व्यतित गर्न परिस्थितिले
निजहरूलाई पुर्याएको थियो र ती सबै त्यागको परिणाम के हुनआएको छ भने
निजहरूलाई बलपूर्वक निष्कासित गरिँदैछ। केन्द्रद्वारा आसामका निम्ति
संघीय योजना बनिनुभन्दा अगावै नेपालीहरूलाई सताइएको उदाहरणतर्फ सरकारको
ध्यान आकृष्ट गरिसकिएको थियो, किन्तु योजनामा निजहरूको रक्षापट्टि
कुनै ध्यान राखिएन।”
“शिक्षित नेपालीहरू आफ्नो एक दह्रो सङ्गठन बनाउने दिशामा
प्रयत्नशील छन्, जसबाट भविष्यमा बनाउने योजनाहरूमा निजहरू उपेक्षित
रहन नजाउन्।” (मुक्ता बाट साभार, अगस्त १९६७) यो हो प्रवासी नेपालीहरूका
बारेमा भारतीय कलमबाट गरिएको चित्रण। हालै भएका गुआहाटीका भयङ्कर काण्डमा
नेपालीहरू परे परेनन् विवरण पाइएको छैन। तर यस्ता उठेका डढेलामा पर्ने
छैनन् भन्ने पनि कुन ग्यारेन्टी रह्यो र? प्रश्न छ यस समस्याको समाधान
के? निश्चय नै आसाममा प्रवासिएका २०/२५ लाख नेपाली जम्मैलाई नेपाल
फर्काएर ल्याउन सकिन्न। साथै, उनीहरूमाथि भएको वा हुने अत्याचार वा
उत्पीडनलाई एक करोड नेपालीले टुलुटुलु हेरिरहलान् त? दुःखको कुरो छ
भारतीय पत्रपत्रिकामा यस्ता घटनाको चर्चा र आलोचना हुँदा पनि हाम्रा
नेपालमा आफ्ना पत्रपत्रिकाहरूमा विराटनगर र काठमाडौँका एक दुई पत्रमा
मलुवा ढङ्गको चर्चा मात्र आयो। के हाम्रो कर्तव्य त्यत्तिमै टुङ्गियो?
सीप्रस (साइप्रस) का बासिन्दा भइरहेका ग्रीक र तुर्केली
मूलका प्रवासीहरूको तानातानले ग्रीस र तुर्की दुवै तातेकै हुन्। संयुक्त
राष्ट्रसंघको मध्यस्थता नभएको भए के कसो हुनेथियो। लंका, गुयाना, मारिसस,
टि्रनिडाड, फिजी र अफ्रिकाका विभिन्न देशका भारतीय मूलका बासिन्दाहरूप्रति
भारतले पनि चासो नलिएको होइन। पश्चिमी नेपालका तराई जिल्लामा उखडा
जोत्ने भारतीय मूलका मोहीहरूको कुरा लिएर नै के हालै भारतीय लोकसभामा
प्रश्न उठाइएको होइन? यसै सन्दर्भमा हामीले आफ्ना प्रवासिएका दाजुभाइप्रति
चासो राख्यौँ भने अपराध नै ठहरिएला त? कि हाम्रो हुति हराएर नै चासो
राख्न नसकेका हौँ? यसको उत्तर कसले देला?
यात्रा वर्णन प्रसङ्गमा आफ्ना वंश र रगतको बिल्लीबाठ
देखेर चित्त चहराएछ र अलिकति बरालिन पुगेछु। शिलांगबाट भोलिपल्ट जोरहाटका
निमित्त प्रस्थान गर्यौँ। जोरहाटसम्म पुरानै बाटो फर्की त्यहाँबाट
पूर्व लाग्यौँ, बाटो केही पहाड केही फाँट रमाइलो थियो। प्रोग्राम उसैदिन
नौगाउँ हुँदै जोरहाट पुग्ने थियो। तर नौगाउँ पुग्नुभन्दा १८ मील परै
मोटरको चक्काको हावा फेरि फुस्क्यो। एक टायर कूचबिहार अगावै फुटेकाले
जगेडा थिएन। अतः लाचार भई थन्किने खण्ड आयो। टायर पञ्चर भएका ठाउँमा
केहीबेर अडेपछि हामीले नौगाउँतिर गइरहेको एक मोटरलाई रोकी मेरा साथी
बद्रीबाबु त्यसैमा नौगाउँतर्फ सहायतार्थ हिँड्नुभयो। हामी दुईजना दम्पतीले
सडक किनारमै आसन जमायौँ। गाउँ पनि अलिक परै थियो, तर हाम्रो मोटर सडकमा
थन्किएर अडेको देखेर केही बेर निक्कै मानिस थुप्रिएर आफ्ना कौतुहल
निवृत्त गरी फर्के। एक बङ्गाली ठिटा निकैबेर हामीसित गफ गरेर बसे।
सम्भवतः मेरो बङ्गला बोलीले लठ्ठिएर होला। टोपी सुरुवालको वेशमा बङ्गला
बोली अनौठो नै पनि लाग्यो होला। मैले निजैबाट वरपरको हाल र आसामका
ग्रामीण जीवनका आन्तरिक समस्याहरू बुझ्ने प्रयास गरेँ। निजैबाट थाहा
भयो पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) को मैमनसिंह जिल्लाका निकै
मुसलमान किसानले आसाममा आएर सनपटुवाको खेती बढाएका छन्। ती आसामे मुसलमानहरूबाटै
प्रोत्साहन र प्रश्रय पाएर आएका छन्। साथै, निजबाट यो पनि थाहा भयो
हामी बसेको थलाबाट २/३ कोस पर नेपाली बस्ती छ, तर बाटोमा ठूलो नदी
छ, जसमा पुल छैन, डुङ्गाबाट तर्नुपर्छ, मोटर पुग्ने राम्रो बाटो पनि
छैन। बङ्गालीहरूमाथि नै आसामेहरूको पहिलो आक्रमण भएकोले निजहरू अब
छरिएर बस्ने सट्टा ठाउँठाउँमा झुरुम्ती बस्ती बसाएर रहन थालेका छन्,
इत्यादि।
दुई घण्टाजति कुरेपछि मेरा साथी दुई मोटर र साथै चियापानको
आयोजन समेत गरेर आइपुगे। मोटरको टायर टाल्ने काम आधा घण्टामा सम्पन्न
भयो। अमेरिकन ट्यूबलेस टायर एसियाली जलवायु र सडकमा भरपर्दो हुँदो
रहेनछ भन्ने अनुभव भयो। ८ बजे राति त्यहाँबाट हिँडी ११ बजे राति जोरहाट
पुग्यौँ।
अहिलेसम्म कुनै आसाम प्रवासी नेपालीसित सम्पर्क स्थापित
हुनेसकेको थिएन। जोरहाट शहरमा नेपाली खोजेँ पत्तो लागेन; अनि आसामको
टेलिफोन डाइरेक्टरी पल्टाउन थालेँ। आसामका सारा ग्राहकहरूको टेलिफोनका
नम्बर एकएक हेरेँ। तेजपुरमा एकजना बीपी उपाध्यायको नाम भेटियो। सारा
आसामभरि यही एक नेपाली नामजस्तो लागेर ट्रङ्कल मागेँ। हाम्रा प्रवासी
दाजुभाइहरूको आर्थिक र सामाजिक स्थितिको झल्को यसैबाट पनि पाइन्छ कि
२०/२५ लाखको नेपाली आवादी भएका ठाउँमा टेलिफोन राख्ने वा राख्न सक्ने
केवल दुई व्यक्ति रहेछन्। माथि उल्लिखित बाहेक शिलांगमा जोशीजीको टेलिफोन
छ। उपाध्याय– बङ्गालीको, आसामेको पनि थर हुनसक्तछ। एकपटक सिङ्गापुरमा
मेरा एक पुराना साथी बस्तछन् भन्ने थाहा थियो। गुप्ता नाउँबाट टेलिफोनमा
सम्पर्क गर्न खोज्दा झपाराइ पाएको थिएँ। त्यस्तै पो हुने हो कि भन्ने
आशङ्का पनि थियो। ट्रङ्क लाइन २ दिनपछि मात्र जोरियो। उताबाट “आप किसको
चाहते हैँ?” भन्ने सोधाइले झन् नेपाली होइन कि भन्ने भान पार्यो।
तर मैले श्री विष्णुलाल उपाध्यायसित सम्पर्क गर्न चाहन्छु। म फलानो
हुँ भनी हिन्दीमा परिचय दिएपछि मात्र नेपालीमा “हुन्छ” म उहाँलाई सम्पर्क
गर्न खबर गर्छु भन्ने उत्तर पाउँदा ढुक्क पनि लाग्यो, हर्ष पनि। विष्णुलालजीले
भोलिपल्ट फोनमा कुरा गर्नुभयो र जनवरी ३–४ तारिख (सन् १९६८? सं.) सम्म
जोरहाट पुग्ने वचन दिनुभयो। ४ तारिख बिहान उहाँ र उहाँकी श्रीमती आउनुभयो।
डिगबोईमा प्रान्तीय नेपालीहरूको सम्मेलन रहेछ। त्यसैमा जान आउनुभएको
रहेछ। ७ तारिख डिगबोई आइपुग्न मलाई निमन्त्रण गर्नुभयो।
सोही दिन ४ बजे बेलुकी मेरा सम्मानमा मेरा साथी बद्रीबाबुले
स्थानीय होटलमा एक जलपान गोष्ठी राखेका थिए, जसमा स्थानीय प्रतिष्ठित
व्यक्तिहरू एमएलएहरू, वकिल, चिया कमानका मालिक म्यानेजरहरू, व्यापारीहरूका
अतिरिक्त विधानसभाका सभामुख (स्पीकर) श्री हरेश्वर स्वामी पनि उपस्थित
थिए। आसाम र भारतका आर्थिक र राजनीतिक समस्याहरूका चर्चा उठे। स्वाभाविकतः
नेपाल र भारतको सम्बन्धको चर्चा पनि रह्यो। मैले आसामीको छोरी नेपालीले
बिहा गरेको र काठमाडौँको रानीपोखरी उनैको चिनो हो भन्दा सबै दंग परे।
केही एमएलएहरूले मेरो निवास स्थानमै आई भेटी कुरा गर्ने इच्छा पनि
प्रकट गरे। भोलिपल्ट २/३ जना आए पनि।
गोलाघाटबाट गरम पानी जाने बाटोमा धनसिरी नदीको पुल तर्नासाथ
केही नेपालीहरूको २/४ घरको बस्ती रहेछ। मोटर रोकी केहीबेर उहाँहरूसित
भेटघाट गरी कुराकानी भयो। हामी आउन ढिलो भएकोले धेरैजसो व्यक्ति आफ्ना
काम काममा हिँडिसकेका भए तापनि ३०/४० जनासित कुराकानी भयो। निजहरूको
भनाइबाट अघि जङ्गल हुँदा गोठबाट फाइदा थियो। जङ्गल मासियो। कसैले २/४
पूरा खेत जोरेकोले त्यसैबाट गुजरा छ। खेत नहुने नोकरी मजदूरी गरी जीविका
चलाउँछन्। सो गाउँमा धेरैजसो धनकुटा इलाकाका क्षेत्रीहरू रहेछन्।
 |
आहिलेको शिलाग |
शिवसागर जोरहाटबाट प्रायः ४० मील पूर्व पर्दोरहेछ। यो
स्थान आहोम राजाहरूको राजधानी भएको हुनाले कुनै समय (१५/१६ औँ शताब्दी)
समस्त आसामको केन्द्रस्थल थियो। आसामलाई आसाम संज्ञा दिने यिनै आहोम
राजाहरू हुन्। आसामी भाषामा 'स' अक्षरको उच्चारण छैन, 'स' कि 'ह' कि
'च' मा परिणत हुन्छ। 'सहायता' को उच्चारण 'हहायता' हुन्छ। उतै 'सिटी
बस' 'चिटी बाच्” लेखिन्छ। पहिले त म झुक्किएँ, हुलाक गाडी हो कि भनेर
तर ठाउँ ठाउँमा शहरभरि 'चिठी बाच्' नै दुगुरेको र सरकारी कर्मचारी
कोही नभएको देख्दा मात्र अर्थ लाग्यो।
िवसागर जाने बाटोमा हालै पत्ता लागेका नयाँ पेट्रोलियमका
इनारहरू बाटाभरि भेटिँदै गए। करीब ३०/४० जति इनार यो इलाकामा रहेछन्।
कुनै ड्रिलिङ भइरहेका, कुनै भइरहेका, कुनै भइसकेका देखेँ। आजको युगमा
पेट्रोललाई तरल सुन भन्दछन्। अमेरिकाको क्यालिफोर्नियामा 'आयल डेरिक्स'
देखेका थियौँ, फेरि यहीँ देखियो। अमेरिकाको जस्तो प्रशस्त र प्रबल
त होइन तापनि ठाउँठाउँमा देखिँदा नै पनि अमेरिका सम्झायो।
दुई दिनपछि काजीराँगाको मृगवन (गेम स्याङ्चुअरी) जाने
प्रोग्राम बन्यो। संसारबाट मास्सिँदै गएको एसियाली गैँडा (एक खाग भएको,
अफ्रिकेली गैँडा दुई खागे हुन्छन्) सबैभन्दा बढी अवशेष रहेको ठाउँ
यही हो भन्ने भारतीयहरूको दाबी छ। आसाम सरकारका तर्फबाट यहाँ बस्ने
थरीथरीका बङ्गलाहरू बनाइएका छन् र वन डुल्नलाई हात्ती र अङ्गरक्षकको
व्यवस्था छ। हाम्रा चितौनमा पनि यसै जातका गैँडा प्रशस्त छन्। पहिले
म वन विभागमा छँदाको वन डुलाइमा धेरैपटक गैँडासित जम्काभेट भएको र
त्यसबेला झण्डै झण्डै यो आसामको काजीराँगा क्षेत्रमा भएजत्ति नै (प्रायः
३००) सङ्ख्या थियो। अहिले के कति छ थाहा छैन।
बिहानै उठी नित्य क्रिया सिध्याई, सबै जना तयार भयौँ।
बङ्गलाबाट प्रायः ३ मील पर गएर हात्ती चढ्नुपर्ने व्यवस्था रहेछ। एक
हात्तीमा ३ जना चढ्ने व्यवस्था रहेछ हामीले दुई हात्ती लिएका थियौँ।
हात्तीको पनि छुट्टै पैसा तिर्नुपर्ने रहेछ। प्रायः २ घण्टाको डुलाइमा
३०/३१ गैँडा, २०/२५ अर्ना, ५०/६० गोंद (स्त्राम्प डीयर) ३०/४० जति
लगुना र अरू चराचुरुंगीहरू देख्यौँ। बाघ र चितुवा देखिएनन्। वन अधिकारीलाई
सोध्दा जम्मा बाघ १५/२० मात्रै छन् भन्दा आश्चर्य लाग्यो।
बिहानको अल्पाहारपछि डिगबोईका लागि म, मेरी श्रीमती,
मित्र बद्रीबाबु तथा चियाबगानका मालिक श्री सत्यनारायण टाँटिया निजैका
मोटरमा हिँड्यौँ। मेरो आफ्नो मोटरको टायर बिग्रेकाले जाने अवस्था थिएन।
मोरानहाटनिर ठूलो राजपथ (सं.३१) समाती तीनसुकिया, डिब्रूगढ हुँदै प्रायः
२ बजे दिउँसो डिगबोई पुग्यौँ। डिगबोईमा नेपाली ठाकुरबाडी र नेपाली
माध्यमको एक स्कूल पनि रहेछ। हामी सरासर ठाकुरबाडी नै पुग्यौँ। सोही
ठाउँमा आसाम प्रान्तीय नेपाली सम्मेलन भइरहेको रहेछ जसको नामकरण आसाम
गोर्खा सम्मेलन गरिएको छ। अघि अखिल भारतीय गोरखा लीगभित्रै आसाम शाखा
पनि थियो, पछि आसामका दाजुभाइहरूले आफ्नो छुट्टै संस्था खडा गरेका
रहेछन्। दार्जीलिङ जिल्लाको नै सो गोर्खा लीगमा नेतृत्व भएको र धेरै
कुरामा नीति पनि नमिल्ने हुँदा छुट्टिएको भन्ने थाहा पाएँ। ठाकुरबाडीबाट
हामी श्री धर्मानन्द उपाध्यायका डेरामा गयौँ जहाँ जलपान चिया आदिको
प्रबन्ध थियो। उहाँ र उहाँका परिवारबाट हामीले ठूलो स्नेहपूर्ण स्वागत
र सत्कार पायौँ।
प्रान्तीय गोर्खा सम्मेलन अघिल्लै दिन टुङ्गिने कुरो
रहेछ र मलाई सोही अनुसार आजको लागि डाकिएको रहेछ, तर सो सम्मेलनको
लागि नै सामेल हुन आएको हो कि भन्ने भान आसामेहरूमा पर्न नजाओस् भनेर
नै सो सतर्कतापूर्ण तिथि राखिए तापनि सम्मेलन चलिरहेकै बेलामा पुग्न
गएछु। सम्मेलनको विधिवत् कार्यक्रम २ घण्टाको लागि स्थगित राखी, मेरो
स्वागत समारोहको आयोजना गरियो। स्वागत भाषण, प्रत्युत्तर भाषण आदि
थिए। सभापतित्व आसामका एक मात्र नेपाल विधायक (एमएलए) श्री विष्णुलाल
उपाध्यायले गर्नुभएको थियो। आफ्नो देशभन्दा धेरै टाढा आफ्नै सङ्गीत
र भाषा सुन्न पाउनु कम हर्षको कुरा थिएन। तेजपुर जिल्लापछि डिगबोईमा
नेपालीहरूको निकै ठूलो बस्ती रहेछ। अघि यो शहरमा करीब २५ हजार नेपालीको
बस्ती रहेछ, अहिले घट्दै गई करीब १० हजार हुनआएको त्यहाँका नेपालीबाटै
थाहा पाइयो।
स्वागत समारोह सकिएपछि त्यहाँका नेपाली दाजुभाइहरूको
परिचय प्राप्त गरी सबैबाट हामीकहाँ किन नआउनुभएको भन्ने स्नेहको मीठो
उपहार पाएँ, अर्कोपल्ट आउनेछु भन्ने आश्वासन दिँदा मात्र उहाँहरूलाई
सन्तोष भयो। स्नेह र भावनाले भिजेको बिदाईसाथ साँझपख डिगबोई छोड्यौँ।
राति फेरि लक्वामा नै बास भयो। यो क्षेत्रमा पनि डिगबोईमा जस्तै चारैतिर
तेल र ग्याँस (प्राकृतिक) को भरमार रहेछ। रात्रिमा बलेका ग्याँसले
चारैतिर आगलागी भएको वा डढेलो लागेको भान गराइरहेको थियो।
भोलिपल्ट जोरहाट फर्क्यौँ। उहाँ १/२ दिन विश्राम गरी
कार्यक्रम अनुसार तेजपुरका निमित्त हवाईजहाजबाट हिँड्यौँ। जोरहाटबाट
तेजपुर हवाईजहाजमा २५ मिनेटजति लाग्दोरहेछ। तेजपुर विमानघाटमा केही
नेपाली बन्धु र मेरा मित्रका सम्धी पनि स्वागतको लागि उपस्थित हुनुहुँदोरहेछ।
विमानबाट सोझै सरकिट हाउस गयौँ जहाँ मेरो विश्रामको व्यवस्था थियो।
सरकिट हाउस एकातिर ब्रह्मपुत्रको किनार अर्कातिर कमल पोखरी र पार्कहरूबीच
राम्रो थलोमा रहेछ। त्यहाँ अरू नेपाली बन्धुहरूसित भेट भयो, श्री बीपी
उपाध्याय जससित टेलिफोनमा सम्पर्क भएको थियो– उहाँ श्री भवानीप्रसाद
उपाध्याय घिमिरे हुनुहँुदोरहेछ। उहाँसित पनि भेट भयो। श्री विष्णुलालजी
पनि सरकिट हाउसमै प्रतीक्षामा हुनुहुँदोरहेछ। अरू धेरै स्थानीय नेपाली
तथा अन्य भाषाभाषी प्रमुख नागरिकहरूसित त्यहीँ चियापानका साथ परिचय
भयो।
साँझ श्री हेम बरुआ स्मारक सभागृहमा मेरा निमित्त एक
नागरिक अभिनन्दन समारोहको आयोजना भयो। सभापतिको आसन ग्रहण गर्नुभएको
थियो– असमिया भाषी श्री कमलाप्रसाद अगरवाला; तेजपुर नगरपालिकाका भूतपूर्व
सभापतिले र श्री विष्णुलालजीबाट मेरो छोटकरी परिचय र जीवन घटनाको उल्लेख
भएपछि, दरंग कालेजका प्राचार्य (प्रिन्सिपल) विपिनपाल दासले तेजपुरका
नागरिकका तर्फबाट बोल्नुभयो।
त्यसपछि स्थानीय बयोवृद्ध नेता श्री महादेव शर्माले
आशीर्वादसहित आसामका केही घरेलु कलाका प्रतीकात्मक वस्तुहरू समर्पित
गर्नुभयो। मैले केही बेर अंग्रेजीमा बोलिसकेपछि उपस्थित जनसमूहमा अङ्ग्रेजी
बुझ्नेभन्दा नबुझ्ने नै बढी भएकोले र असमिया उत्था गर्ने व्यवस्था
तत्कालै हुन नसक्दा सभापतिबाट मलाई हिन्दी आउने भए हिन्दीमै बोले सबैभरि
मानिसले बुझ्ने थिए भन्ने आग्रह गर्नुहुँदा तत्पश्चात् हिन्दीमै भाषण
गरेँ। यस सभामा आसामका असमिया, नेपाली, हिन्दी, बङ्गला आदि सबै भाषाभाषीको
भेला थियो। सो स्वागत समारोहको कार्य सम्पन्न भएपछि फेरि सरकिट हाउसमा
सबैथरीका केही प्रतिष्ठित नागरिकहरूको भेला भयो। यो भेला एक प्रकार
साधारण शिष्टाचारको दस्तुरी कार्यक्रम रहित मैत्रीको भेला थियो। प्राचार्य
विपिनपाल दासले मलाई बधाई दिँदै भन्नुभयो तपाईंको यो स्वागत भेला बडो
सफल रह्यो। उहाँले भारतको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त एक उच्चकोटिका
व्यक्ति यस तेजपुरमा आउँदा केही दर्जन मानिस मात्र भेला भएका थिए,
त्यसै ठाउँमा आज हलमा मानिस नअटाई, बाहिर प्राङ्गणसमेत भरिनु कम कुरो
होइन, भन्नुभयो। हाम्रा केही नेपाली बन्धुहरूले पनि कानमा सुस्तरी
“आज हजुरका दुवै भाषाको भाषणले हामी नेपालीहरू पनि अरूहरूका बीच नाक
ठाडो पारी हिँड्ने भयौँ” भन्नुभयो।
श्री भवानीप्रसाद घिमिरेकहाँ रात्रिभोजनको व्यवस्था
थियो। साथी बद्रीबाबु आफ्ना सम्धीकहाँ सभापछि गइसक्नुभएको थियो। सो
भोजमा हामी नेपाली भाषाभाषी मात्र थियौँ। भोजन नानाप्रकारको थियो–
तर त्योभन्दा बढी थियो– आफ्नोपनाको स्नेह। त्यहाँ नेपाली छात्राबासका
विद्यार्थीहरूले आफ्ना छात्राबासमा भोलिपल्ट आउनाका लागि आग्रह गर्नुभयो।
भोलिपल्ट मिचामिच प्रोग्राम थियो तापनि छात्रहरूको आग्रह टार्न नसकी
आउने नै आश्वासन दिएँ। बिहानै ६ बजे तेजपुर नजिकका केही भग्न मन्दिर
हेर्न 'दै पहाडी' भन्ने ठाउँ गएँ। उताबाट छात्राबासमा केही सुनी केही
सुनाई हिँडे, बाटामा एक सज्जनले चिया नख्वाई मान्नु भएन।
लोखरामा प्रायः एक घण्टाको अलमल गरी बिहाली प्रायः ११
बजेतिर पुग्यौँ। बिहाली तेजपुरका नेपालीहरूको मात्र प्रमुख स्थल नभई
सारा आसामकै प्रबुद्ध नेपालीहरूको उद्गम स्थान भने पनि अत्युक्ति नहोला।
बिहालीमा बाहुल्य ब्राह्मणकै रहेछ। श्री छविलालजी घिमिरेका परिवारले
आसाममा धेरै अगाडिदेखि नै प्रतिष्ठा पाइआएको छ। बिहालीका धेरै व्यक्ति
शिक्षित भई ठूलाठूला ओहदामा पुगेका छन्। आसाम विधानसभाका एक मात्र
नेपाली भाषी प्रतिनिधि श्री विष्णुलाल पनि बिहालीकै देन हो र उहाँ
पनि घिमिरेहरूकै भाञ्जा पर्नु हुँदोरहेछ। श्री छविलालजीको एक हाँगो
विराटनगरमा राणाकालमै प्रतिष्ठित भइसकेको र त्यसका सम्मानित प्रतिनिधि
हुनुहुन्छ श्री श्यामप्रसाद घिमिरे।
बिहालीमा श्री छविलालजीको घर नजानु– काशी पुगी विश्वनाथको
दर्शन नगरी फर्केझैँ नै हुनेथियो। अतः हामी उहाँका र अरू वरपरका घरघरमा
शिष्टाचार भेट गर्न गयौँ। भोजनोपरान्त स्थानीय स्कूलका चौरमा एक स्वागतको
आयोजना थियो। सभापतित्व स्थानीय आसामिया श्री साइकियाजीले गर्नुभएको
थियो। यहाँ ९९ प्रतिशत उपस्थित नेपाली दाजुभाइ, दिदीबहिनीकै थियो।
अतः श्री साइकियाजीको भाषण बाहेक अरू जम्मै कार्यक्रम नेपालीमै रह्यो।
सभापछि स्थानीय बालिका विद्यालयका तर्फबाट मेरी श्रीमतीको विशेष स्वागत
र चियापानको आयोजन थियो। सो सक्दा नसक्दा झमक्क साँझ परिहाल्यो। गंभीरीको
कार्यक्रम हुन सकेन। सोझै लखीमपुर जिल्लाको नारायणपुर पुग्यौँ।
भोलिपल्ट उत्तर लखीमपुर शहरमा एक मित्रकहाँ दिवाभोजन
गरी लीलाबारी विमानघाटबाट उडी जोरहाट पुग्यौँ। साथी बद्रीबाबु नारायणपुर
नै रहनुभयो। जोरहाट एक रात बसी भोलिपल्ट सिमसिमे पानीमा घरतिर फर्क्यौँ।
मेरो मोटरले पनि कलकत्ताबाट झिकाइएका दुई नयाँ टायर भिरिसकेको थियो।
बेलुकी ४ बजेतिर गुआहाटी पुग्यौँ। गोस्वामी दम्पतीको रात त्यहीँ बस्ने
आग्रह थियो तर झण्डै एक महिना आसामका लागिसकेकोले घर फर्कन बाटो काट्ने
आकर्षण प्रबलतर थियो, अतः अगाडि लाग्यौँ। गुआहाटीबाट निस्कँदा पाण्डुतिर
एकैछिन बाटो अलमलियो। हिउँदको छोटो दिन साँझ भइसकेको थियो। बत्ती बलिसकेको
थियो– ब्रह्मपुत्रका पुलबाट कामाक्ष माईलाई नमस्कार गरी बिदा लियौँ।
रात नलबारीको डाक बङ्गलामा काट्यौँ। यहाँका चिताइदार पनि चार भञ्ज्याङभित्रकै
नेपाली रहेछन्।
भोलिपल्ट कूचबिहार हुँदै राति सिलगडी बास, त्यसका अर्का
दिन घाम नडुब्दै विराटनगर फर्कंदा बाटामा मोटरले कतै कुनै दुःख दिएन।
आसामको यो एक महिनाजतिको प्रवासले धेरै कुरा सिकायो। हामी नेपालभित्र
बस्ने नेपालीलाई बाहिर बस्ने नेपालीप्रति औँल्यायो।
तेन्जिङ नोर्गेले कुनै दिन भनेथे– “मेरो रगत र हाड नेपाली माटो र पानीले
बनेको हो– म आफूलाई कसरी नेपाली नभनौँ? तर खाने बाटो र जीविका भारतमा
छ, अनि भारतको होइन कसरी भनौँ?” मलाई लाग्छ त्यो भावना एक्लो तेन्जिङ
नोर्गेको होइन अपितु सारा प्रवासिएका दाजुभाइको हो।
•
(२०२४ सालतिर लेखिएको र जनवार्ता नामक पत्रिकामा पहिलोपल्ट
'मेरो आसाम यात्रा' शीर्षकमा छापिएको यो लेख २०४६ सालमा विराटनगरबाट
प्रकाशित 'कोशीको कथा' (लेखकको निबन्ध–सङ्ग्रह पुस्तक) बाट संक्षेपीकृत
रूपमा यहाँ साभार गरिएको हो। सं.)
|