हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | नेपालीपनः यता र उता

चिठीले जुराइदिएको मित्रता

कमल दीक्षित

परापूर्वकालमा (कथित कलिगत वर्ष ३६७६ मा) नेपालखाल्डोका एकजना राजा (भक्तपुरका नरेन्द्रदेव) एकजना तान्त्रिक (कान्तिपुरका बन्धु आचार्य), कर्कोटक नाग र एकजना किसान (ललितपुरका ललित ज्यापू) ले संयुक्त रूपमा आसामयात्रा गरेका थिए, यद्यपि, त्यसबेला त्यस क्षेत्रको नाम आसाम थिएन, कामरुपीठ थियो। ती चारजनाको यात्रा सोद्देश्य थियो। मत्स्येन्द्रनाथलाई लिएर आउन भनी उनीहरू त्यता लागेका थिए। उनीहरू कुन बाटो, कति दिन लगाएर त्यहाँ कैले पुगे र कसरी फर्के त्यसको कुनै लेखाजोखा छैन, तर दुई–तीन पटकको असफलतापछि बल्लबल्ल उनीहरू मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याउन सफल भए भन्ने चाहिँ देखिन्छ। भमराका रूपमा एउटा सुवर्णकलशमा थुनेर उनीहरूले मत्स्येन्द्रनाथलाई यहाँ ल्याइपुर्‍याए। नेपाल (उपत्यका) मा नागासन जमाई बसेका गोरखनाथयोगी आफ्ना अग्रज गुरु मत्स्येन्द्रनाथ आएको देखी आसनबाट उठे, अनि त्यहाँ बाँधिएका नागहरू फुत्के। त्यति भएपछि नेपालमा रोकिएको वर्षा फुक्का भयो र खडेरी टर्‍यो। यो कथ्य कति इतिहास हो थाहा छैन, तर पुराण चाहिँ होयो। अनि लिच्छविकालदेखि यस उपत्यकामा चल्दै आएको मत्स्येन्द्रनाथको जात्रा र मत्स्येन्द्रनाथका मन्दिरहरू पनि पक्कै वास्तविक हुन्।

अब अतीतबाट उफ्रेर वर्तमानमा आऊँ भने, मैले आफू आसाम पुगेको विवरण दिनुपर्नेछ। सीमा जोडिएका दार्जीलिङ पुग्नुभन्दा पनि पैले मैले आसामयात्रा गरेको हुँ (सन् १९५०) २००७ सालमा। यो कुरा ऐले किन उठाउनु पर्‍यो भने हिमाल ले पूर्वोत्तर भारतका बारेमा चासो लिएको थाहा पाएपछि मैले पनि आफूभित्र खोजिपसेँ– मेरो सम्बन्ध आसामतिर कैले जोडियो भनेर। करीब पचास वर्षको निरन्तर पत्राचार (पत्रमित्रता) यसको कडी रहेछ। गौहाटीका लीलबहादुर छेत्री र सी.बी. गुरुङ, मोतीलाल छेत्री, डिगबोईका अग्निबहादुर छेत्री, हरिभक्त कटुवाल, शिलाङका मणिसिंह थापादेखि कृष्णप्रसाद ज्ञवाली, गोपीनारायण प्रधान हुँदै नागाल्याण्डका हरिप्रसाद गोर्खाराई अनि मिजोरमको लक्ष्मी 'मीनू'सँग सम्म भएका पत्राचारले मेरो यो चासोलाई मलजल गरेको हो।

भनूँः भारतको सुदूरपूर्वी राज्य नागाल्याण्डबाट एकजना नेपाली साहित्यिक, रोहित गौतमले मलाई ४७ बुँदाको एउटा प्रश्नावली पठाए २०६२ साल (सन् २००५ सेप्टेम्बर) मा। अचम्म लाग्यो। नागाल्याण्डमा बस्ने यी तन्नेरीलाई नेपालको कमल दीक्षितमाथि त्यति चासो किन लाग्यो? म अलि दिन त्यसै बसेँ। तर गौतमजीले मलाई फोनै गरेर ताकिता गरे। अनि मैले जे–जे हुन्छ लेखेर उनको प्रश्नका उत्तर पठाएँ। पछि त्यो समग्र छापियो– गुवाहाटीबाट प्रकाशित हुने पत्रिका “हाम्रो ध्वनि” (नोभेम्बर २००५) मा।

यसरी रोहित गौतमले मात्र होइन, भारतका पूर्वी राज्यहरूमा बसोबास गर्ने निकैजना नेपालीले मलाई भन्छन्– तपाईंलाई यताहुँदो धेरैले चिन्छन्। तर त्यो 'चिन्छन्' भित्र देखादेख बोलचाल पर्दैन, केवल कमल दीक्षित भन्ने नामसँग परिचित छन् उनीहरू। र, त्यसको मुख्य श्रेय २०१२ सालमा छापिएको उसबेलाको गौहाटीको एउटा विद्यार्थीको किताबले पाउँछ। लीलबहादुर छेत्री भन्ने एउटा कसैले नचिनेको 'केटा'को किताब त्यतिबेला कसैले नामसम्म नसुनेको नेपालको एउटा 'लाइब्रेरी' ले छापिदियो– मदन पुरस्कार पुस्तकालयले। त्यो पुस्तकालयको 'हर्ताकर्ता' भएको म, त्यसै चर्चित हुनपुगेँ असमतिर। त्यो चर्चा सेलाएन। ऐलेसम्म पनि त्यसको 'डिभिडेन्ड' खाँदैछु म। असमतिर मात्र होइन दार्जीलिङ डुवर्स भेकमा पनि कमल दीक्षित चिनिन्छ। २०२० सालतिर हो, मदन मेमोरियल गर्ल्स स्कूल (हालको मदनस्मारक मावि) की शिक्षिका कुमारी विष्णु वाइबा स्कूलको विदामा आफ्नो घर गइन्– दार्जीलिङ। फर्केर आएपछि उनले मलाई भनिन्, “दीक्षितजी, तपाईंलाई हाम्रो उतातिर धेरैले चिन्दा रहेछन्। धेरैले मलाई तपाईंबारेमा सोधे। मैले उहाँ हाम्रो स्कूलका सेक्रेटरी हुनुहुन्छ भन्दा उनीहरूले अचम्म माने इत्यादि।” पछिकी प्रख्यात् 'पारिजात', कुमारी विष्णु वाइबा, त्यसपछि मसँग अलि नजिकिएकी थिइन्। नत्रभने, उनका लागि म एकजना 'स्कूल सेक्रेटरी'भन्दा बढी केही थिइनँ!

यसरी म पूर्वोत्तर भारतमा चिनिनुमा मेरो आफ्नो खुबी केही थिएन भनिहालेँ, थियो भने त्यो मेरो चिठी लेख्ने कलमको देन थियो। स्कूलमा पढ्ने बेलादेखि लागेको 'पेन फ्रेण्ड' (पत्रमित्रता) को चस्काले मलाई पछि पनि छाडेन। मैले चिठीहरू लेख्न छाडिनँ। खास गरेर कवि लेखकहरूको ठेगाना पायो कि म चिठी लेखिहाल्थेँ। अनि आएको चिठीको पहुँच पठाइहाल्नुलाई मैले आफ्नो कर्तव्य जस्तो मानेको थिएँ। नेपालका लागि यो अलि नौलो कुरा भएछ। आफूले लेखेको चिठीको जवाफ नेपाल, अर्थात् काठमाडौँ खाल्डोबाट पाउने आश गर्दा रहेनछन्– बाहिरका नेपालीहरू। त्यसमा 'अपवाद' हुनपुगेछ यो क.दी.। असमबाट मैले एउटा 'पदक' पाएको छु। त्यतातिरका नेपालीहरूबीच पत्र आदानप्रदान अथवा कुराकानीका सिलसिलामा भनिँदोरहेछ– 'नेपालबाट चिठीको जवाफ या पठाएका किताब/पत्रपत्रिकाको पहुँच दिने एकै जना मात्र छन्– कमल दीक्षित।' यस्ता कुरा सुन्दा म निकै फुर्किएको छु कैयौँ पटक।

सबभन्दा पहिले म असम, त्यसबेलाको आसाम पुगेको हुँ गौहाटीमा। मेरो आमाको भाकल रहेछ, कामाक्षा भगवती मन्दिरमा र कलकत्ताबाट डेकोटा हवाईजहाज चढी हामी गौहाटीको एयरपोर्टमा ओर्लेका थियौँ– मेरा बाबा आमा र म हामी तीन जना। त्यो सन् १९५० थियो भनेर माथि नै भनिसकियो। गौहाटी त्यसबेलासम्म एउटा गाउँले बस्ती जस्तो मात्र थियो। कामाक्षा मन्दिरसम्म जाने मोटर बाटो पनि बनेको थिएन। मन्दिरको तल पहाडको फेदीबाट हिँडेरै उक्लेका थियौँ हामी। बस्ने प्रबन्ध पनि राम्रो थिएन गौहाटीमा। नाम मात्रको होटल थियो एउटा, त्यसैमा दुई रात काटेर हामी कलकत्ता फर्केका थियौँ। त्यसबेला त्यहाँ हामीले नेपाली कोही भेटेनौँ– 'लालमोहरिया नेपाली पण्डा' बाहेक।

्यसपछि म गौहाटी पुगेँ सिलगढीबाट रेल चढेर, सन् १९७० मा। यो भ्रमण रानी जगदम्बाको 'तीर्थयात्रा' थियो। त्यसैले यात्रा कामाख्या दर्शनमै सीमित रह्यो। तर यसपटक भने गौहाटी वरिपरिका ४०/५० जना नेपालीहरूसँग भेट भयो। मदन पुरस्कारले गर्दा रानी जगदम्बाको नाम चलिसकेको रहेछ त्यतातिर। अनि यात्रासाहित्यका लेखकका नाताले मेरा पिताजीलाई अनि, 'बसाइँ' का प्रकाशकका हिसाबले मलाई पनि असमहुँदो धेरैले चिनिसकेका रहेछन्। त्यही सबै हुँदा गौहाटी रेल्वे स्टेशनको माथ्लोतलाका कोठा, त्यहाँको कौसी भरी भएका थिए असमिया नेपालीहरू। त्यसबखत फोटो पनि खिच्न भ्याएको थिएँ मैले। त्यो फोटो 'नेपाली' त्रैमासिकको पूर्णाङ्क ४७ मा पनि छापिएको थियो मेरा पिताजी केदारमणि आ. दीक्षितको 'कामाक्षा र दार्जीलिङ यात्रा' भन्ने लेखमा।

त्यसपछि त निकै पटक पुगिसकेँ म गौहाटी (अचेलको गुवाहाटी)। त्यहाँबाट माथि शिलाङसम्म गएको छु। तर यसभन्दा अगाडि भने कतै पुग्न पाएको छैन। भए पनि, यति धेरै असमिया, नेपालीहरूसँग चिठीपत्र हुन्छ मेरो म आफू नपुगेको जस्तो लाग्दैन। दिब्रुगढ, डिगबोइ, जोरहाट, इम्फाल, मणिपुर इत्यादि सबै नाम मलाई रैथाने जस्ता लाग्छन्! यो पूर्वोत्तर भारततिरको मेरो मोह उब्जाइदिने काम भने मुख्यतः बनारसबाट प्रकाशित हुने 'उदय' र 'युगवाणी' पत्रिकाले गरेका हुन्। अझ केटाकेटीमै पढ्न पाएको 'गोर्खा संसार', 'तरुण गोर्खा' लाई पनि सम्झनुपर्छ मैले यहाँ। ती पत्रपत्रिकाहरूमा कथा, कविता, निबन्धहरू लेख्ने निकै नामका पछाडि भारतको पूर्वोत्तरका शहर या गाउँहरूको उल्लेख हुने हुनाले ती नामहरूसँग पनि आत्मीयता गाँसिएको थियो मेरो। आसामको बिहाली, तेजपुर, बूढी गाउँ जस्ता नाउँहरू उसैबेलादेखि मेरा मनमा ओखलढुङ्गा, रामेछाप या पाल्पा पोखरा जस्तै हुनपुगेका थिए। भीष्मप्रसाद उपाध्याय, महानन्द सापकोटा, जगन्नाथ गुरागाइँ, फलाना मेजर या सुवेदारहरूका नाम पनि आफन्त झैँ लाग्न थालेका थिए मलाई।

१ असोज, २०६३


टोपीको पहिचान

विनोद खन्नासग चन्द्रकिशोर

राजधानी जाँदा लगाउनुपर्ने ठानेर २०४३ सालमा पहिलो पटक मैले दौरा–सुरुवाल सिलाएको थिएँ। आफूसँग कोट थिएन, त्यसैले काठमाडौँ बसाइँका क्रममा साथीको कोट र आफ्ना दौरा–सुरुवाल लगाएर फोटो खिचियो।

त्यसको १७ वर्षपछि २०६० साउनमा भारतीय जनसञ्चार संस्थानमा 'विकास पत्रकारिता' पढ्ने अवसर पाएपछि दोस्रो पटक म फेरि दौरा–सुरुवालको बन्दोवस्तमा लागेँ। पुरानो छोटो भइसकेको थियो, नयाँ सिलाउन पैसा चाहिने। एक साथीसँग दौरा सुरुवाल र टोपी पैँचो मागेर दिल्लीतिर लागेँ।

नेपालमा आफ्नो परिचय मोफसल, तराई, मधेश र वीरगञ्जसँग जोडिने भएपनि दिल्लीमा म नेपाली भएर चिनिन चाहन्थेँ। त्यसैले मागेर भएपनि 'नेपाली पोशाक' जुटाउनुथियो मैले। हामीले व्यवहारमा नेपालभित्र नेपाली भनेर चिनाउने मौका विरलै पाउँछौँ।

नयाँदिल्लीमा म प्रायः नेपाली टोपी लगाउँथे, वेलाबखत दौरा–सुरुवाल पनि। एकदिन होटल 'मौर्य शेराटन'मा भारतीय विदेश सचिवले 'रिसेप्सन' आयोजना गरेका थिए। त्यहाँ विभिन्न देशका दिल्लीस्थित राजदूतहरू पनि आमन्त्रित थिए। तत्कालीन नेपाली राजदूत भेषबहादुर थापा नेपाल फर्किसकेका कारण कूटनीतिज्ञ प्रदीप खतिवडाले त्यो कार्यभार सम्हाल्नुभएको थियो। खानपिन र गफगाफ भइरहेको थियो। मैले नेपाली टोपी लगाएको हुनाले, प्रदीप सर मेरै छेउमै हुँदाहुँदै पनि तीन/चार जना राजदूतले मलाई नेपाली राजदूत सम्झेर हात मिलाउन पुगे।

त्यस्तै भारतीय जनसञ्चार संस्थानको एक कार्यक्रममा तत्कालीन भारतीय विदेश सहायक मन्त्री तथा अभिनेता विनोद खन्ना आएका थिए। चिया खाने क्रममा म उनको छेउमा पुगेको के थिएँ, उनले भनिहाले, “तपाइँ नेपाली पत्रकार हो? नेपाल प्यारो देश हो।”

आफूले परिचय नदिइकन परिचित भइहाल्नुको कारण शिरको नेपाली टोपी थियो। टोपीले नेपाल चिनाइरहेको थियो। मलाई पहिचान प्रदान गरेको थियो, सम्मान दिएको थियो। नयाँ दिल्ली बसाइमा मैले के अनुभव गरेँ भने त्यहाँ कतै नेपालीमा कुराकानी गर्दै वा नेपाली टोपी लाएर हिँड्दा–डुल्दा नेपालीहरूसँग तुरुन्तै चिनजान र आत्मीय सम्बन्ध हुन्थ्यो।

जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्ययनरत नेपाली मधेशी छात्र अमरेश सिंह लगायतकाहरू टोपी लगाएकोमा मलाई जिस्क्याउँथे। मेरो भनाइ हुन्थ्यो, “नेपाल भित्र म पनि प्रश्न गर्न सक्छु, दौरा–सुरुवाल र टोपी राष्ट्रिय पोशाक हुन सक्दछ कि सक्दैन भनेर। यसले समग्र नेपालीको प्रतिनिधित्व गर्न सक्छ कि सक्दैन भनेर। तर, जबसम्म नेपालभित्र यस प्रश्नको छिनोफानो हुन्न तबसम्म मुलुक बाहिर मलाई त यही टोपीले चिनाउँछ न कि मेरो धोतीले।”

अमरेश सिंहजीहरूले जिस्क्याउनुका पछाडि एउटा तीतो पक्ष लुकेको छ। नेपाल एकीकरणसँगै विजेतावर्गले भाषा, भेष, पहिचान र संस्कृति माथि आफ्नो पन थोपरे। एउटा लामो कालखण्डको अभ्यासले गर्दा विजेताहरूकै भाषा र भेष राष्ट्रिय पहिचान भयो।

नेपाली भाषीहरू, जहाँ पुगून् र जुनसुकै राष्ट्रका नागरिक भएर बसून्, त्यहाँ मादल बजेकै हुन्छ, गुन्द्रुक र सिन्कीको अचार बनेकै हुन्छ, सेल पाकेकै हुन्छ। नेपाल बाहिर नेपालीहरू दशँै, तिहार वा यस्तै अन्य नेपाली चाडपर्वहरू बढी उत्साह र धुमधामले मनाउने गर्छन्। दिल्ली बसाइका क्रममा मेरो पनि दशैँ रमाइलो रह्यो। जेनयूका प्राध्यापक महेन्द्र पी. लामाले आयोजना गर्नुभएको दशैँ भोजमा हामी जेनयू परिसरमा रहेका नेपालीहरू भेला भएर अबेर रातिसम्म रमाइलो गरेर नेपाल सम्झियौँ। यस्ता रमझम सबैमा मलाई नेपाली बनाएको थियो मेरो टोपीले।

चन्द्रकिशोर, वीरगञ्जबाट