हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | नेपालीपनः यता र उता

नेपालप्रतिको यो मोह

“यो मेरो देशको माटोले, यो मेरो शरीर बनेको
यो मेरो देशको हावामा, जीवनले श्वास फेरेको
कसरी भुल्नेछ कसैले, चन्दनको वासना चलेको
माटोमा चन्दन–हावामा चन्दन, श्रद्धाले शिरमा चढाको...”

 

तस्बिरहरूः डम्बरकृष्ण श्रेष्ठ
चन्द्रकला नेवार

चन्द्रकला नेवार (६४) ले यो गीत रचना गरेर गाएपछि 'नेपालमै नजन्मेको मान्छेको शरीर कसरी देशको माटोले बन्छ?' भनेर प्रश्न गर्नेहरूलाईउनको जवाफ थियो, “म नेपालमा नजन्मिए पनि बीऊ त नेपालकै हो नि! मेरो अजा (हजुरबा) हरू नेपालकै माटोमा जन्मिएका हुन्, त्यसैले मेरो शरीर नेपाली माटोले बनेको हो।”

चन्द्रकलाका बाबु भक्तबहादुर प्रधान पनि भारतको आसाममै जन्मिए–हुर्किएका हुन्। तर उनमा भएको नेपालीपन, भाषा–साहित्य र संस्कृतिप्रतिको माया आम नेपालीका लागि उदाहरणीय बन्न सक्छ।

नेपालप्रति यस्तै लगाव वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ (६८) मा छ। उनलाई अमेरिकामा बस्दै आएकी छोरी अल्काले “यतै आउनुस् घर बनाउँला, बसौँला” भन्दा छोरीलाई उनको जवाफ थियो, “मेरो कर्मभूमि नेपाल नै हो यसलाई छाडेर कतै जान्नँ।” हुनपनि दार्जीलिङमा जन्मे–हुर्केका गुरुङले झण्डै तीन दशक नेपालमा बिताइसकेका छन्।

तर यहीँ जन्मे–हुर्केका नेपालीहरूमा भने आफ्नोपनप्रतिको लगाव र देशको माया कमै भएको अम्बरको अनुभव छ। “नेपालीहरूमा आफ्नोपन अनि देशको माया हराउँदै गएको छ। नेपाली भएर जन्मिएकोमा पछुतो मान्ने नेपालीहरू पनि छन्”, उनी भन्छन्, “म भारतमा जन्मे–हुर्केको मान्छे तर मलाई कहिल्यै पनि नेपाली भएर जन्मेकोमा दुःख र पछुतो भएन।”

'एउटै जात हुनुपर्छः नेपाली'
राजा महेन्द्रको निम्तो पाएर सन् १९६६ मा नेपाल आएका अम्बर गुरुङले प्रज्ञा–प्रतिष्ठानमा २८ वर्ष जागिर खाए। उनका ब्रिटिश आर्मी बाबु उजिरसिंह गोर्खाबाट दार्जीलिङ गएका थिए। अम्बरले सन् १९६१ मा कलकत्तामा रेकर्ड गराएको अगमसिंह गिरीको नौ लाख तारा उदाए धर्तीका आकाशमा... गीतले उसबेलै नेपालमा उनलाई ख्याति दिलाएको थियो।

भारतमा लामो समयसम्म नेपाली भाषालाई मान्यता नदिँदा नेपालीले आफूलाई अपहेलित ठानेर पनि नेपाललाई बढी माया गरेको उनी बताउँछन्। हुनपनि दार्जीलिङ, सिक्किम, कालेम्पोङ, सिलगुडी जताततै नेपाली भाषा र नेपालीपन झल्कने भानुभक्तका सालिक र स्मारक बने, नेपाली पहिचानका लागि भाषा आन्दोलन चल्यो। उनी भन्छन्, “राष्ट्र भन्दा जातको कुरा ठूलो हुन्छ। त्यसैले भारतमा रहेका नेपालीहरूमा हेर्नुस् ठूलो–सानो, धनी–गरीबको भेदभाव छैन, एक जात छ, त्यो हो नेपाली।” त्यसैले पनि होला दार्जीलिङमै रहँदा पनि गुरुङलाई आफू कहिल्यै भारतीय हुँ जस्तो लागेन। उनी थप्छन्, “यता आएर पनि माया नै पाएको छु, ठूलो कुरा त नेपालको सेवा गर्न पाएको छु। यसैमा गौरव लाग्छ।”

नेपालीहरूमा धनी र गरीब अनि साक्षर र निरक्षर बीच असमानता रहेको उनको तर्क छ। गुरुङका अनुसार पीएचडी, डिग्री हासिल गरेर मात्र हुँदैन, एकअर्कालाई होच्याउने भावना त्याग्न जरुरी छ। सङ्गीतसँगै, लेख–निबन्ध, साहित्यमा पनि कलम चलाउने गुरुङले हालसम्म एक हजार गीतमा सङ्गीत भरेका छन्, चार सय गीत आफैँले लेखेका छन्। धेरै सङ्गीतकार, गायकहरू जन्माएका गुरुङ अझै पनि
सङ्गीत सिर्जना र लेखनमा सक्रिय छन्। उनी भन्छन्, “अझै थुप्रै काम बाँकी छ।”

अम्बर गुरुङ

'दुई सय वर्षदेखिको प्यास मेटेँ'
चन्द्रकला नेवारका पुर्खा दुईसय वर्षअघि भक्तपुरबाट दार्जीलिङ हुँदै आसाम पुगेका थिए। आसामको डिगबोईमा सन् १९४२ मा जन्मिएकी उनी चार दिदीबहिनी र एक भाइमा माहिली हुन्। उनका हजुरबुबा जीतबहादुर र बुबा भक्तबहादुर भारतीय स्वतन्त्रताको आन्दोलनमा सक्रिय भएपनि उनीहरू कहिल्यै भारतीय मानिएनन्। उनी भन्छिन्, “म जन्मेँ हुर्केँ र त्यत्रो वर्ष बसेँ, तर कहिल्यै त्यो देशको हुन सकिनँ। ”

सानोमा उता छँदा उनी आफूलाई भारतीय नै ठान्थिन्। तर जहिले पनि नेपालीभाषी हुनुको पीडा भोग्थिन्, काखा र पाखाको व्यवहार पाउँथिन्, नेपालीहरूलाई 'कान्छा', 'कान्छी' र 'बहादुर' भनिदा बिझाउँथ्यो, र अझै पनि बिझाउँछ। चन्द्रकला भन्छिन्, “भारत देश त हाम्रो भयो तर कहिल्यै माया पाउन सकिएन। अझै पनि हामी भारतीय भन्न सकिरहेका छैनौँ भारतीय नेपाली भन्नु परिरहेछ। बीऊ नेपाली भएकोले हामी जहाँ गए पनि नेपालको नाम हामीसँगै रहन्छ।”

सानोछँदा चन्द्रकलाले हजुरबुबाबाट नेपालको बारेमा सुनेकी थिइन्। नेपाललाई असाध्यै माया गर्ने हजुरबुबाकै कारणले आफूहरू सबै नेपाली भाषा लेख्न–पढ्न जान्ने भएको उनी बताउँछिन्। हुनपनि आसामको विद्यालयमा भर्ना भएका आफ्ना नातिनातिनाहरूले नेपाली भाषा बिर्सन्छन् भनेर हजुरबुबा जीतबहादुरले दार्जीलिङबाट पारसमणि प्रधानका किताबहरू मगाएर घरैमा नेपाली पढाएका थिए।

चन्द्रकलाको नेपालप्रेम त्यतिबेलादेखि नै बढ्यो जतिवेला उनी आसाममा १० कक्षामा पढ्दै थिइन्। उनी सानैदेखि आसामी, बङ्गाली, हिन्दी र नेपाली भाषामा गीतहरू ग्ााउँथिन् र पुरस्कारहरू पनि जित्थिन्। एक दिन दार्जीलिङबाट गएका एकजनाले उनलाई नेपालका चर्चित गायकगायिकाहरूको नाम सोध्दा उनी अक्क न वक्क भइन्। त्यसपछि उनले आफूलाई धिक्कार्दै नेपालबारे जान्न–बुझ्न र पढ्न अनि नेपालबाट आउनेहरूलाई खोजी–खोजी भेट्न थालिन्।

३० वर्षअघि सन् १९७५ मा पहिलो पटक नेपाल टेक्दा उनी दङ्दास त भइन् नै, त्यसपछि आसाम फर्कनै मन लागेन। उनी सम्झिछिन्, “रुँदै–रुँदै बस चढेर गएकी थिएँ।” त्यसैबेला उनले आफ्नो जीवनको अन्तिम घडी नेपालमै बिताउने सोच बनाएकी थिइन्। छोटो नेपाल बसाइमा उनले रेडियो नेपालमा गाएका आऊ न हामी माया गाँसौँ न..., नीला–नीला आँखाबीच... गीत चर्चित बन्न पुग्यो। उनकी आमा कुमारी प्रधानले रचेको र बहिनी भारतीले गाएको मै छोरी सुन्दरी कसरी भरुँ पानी... भन्ने गीत त नेपालमा सदावहार नै रहेको छ।

गोर्खाली भाषा आन्दोलनमा सक्रियताका साथ लागेकी चन्द्रकला भारतभरका नेपालीभाषीहरूमाझ पुगेर नेपाली भाषा र माटोको गाथा सुनाउँथिन्। सन् १९८८ सम्म अखिल भारतीय नेपाली भाषा समितिको उपाध्यक्ष समेत रहेकी उनी पटकपटक सम्मानित पनि भइन्। तर, भारतमा गोर्खाल्याण्डको आन्दोलन चर्किएको बेला नेपाल र नेपाली भाषाप्रति मरिमेट्ने उनलाई आसाममा टिक्न कठिन भयोे। सरकारको आँखाको तारो बनेपछि श्रीमान डा. दिलबहादुर (डी.बी.) श्रेष्ठ, र छोरा–छोरीसहित सन् १९९० मा उनी नेपाल आइन्। नेपाल आउनु तत्कालीन बाध्यता भएपनि अब जन्म–जन्मसम्म नेपाललाई फेरि छाडेर जान नपरोस् भन्छिन् उनी– “दुईसय वर्ष नेपाल बाहिर बस्दा म यो देशप्रतिको मायाको भोको थिएँ, आएपछि त्यो माया पाएँ। आखिर जहाँ जाउँ्क जतिसुकै वर्ष बसुँ, तर म नेपाली नै हुँ नि!”

कथा, कविता, गीत लेखनमा मात्र हैन गायन र सङ्गीत सृजनामा पनि सशक्त छिन् चन्द्रकला। उनका आधा दर्जन साहित्यिक कृति तथा गीति अल्बम निस्किएका छन्। आसामबाट नेपाल आउँदा यहाँ पनि हेलाँ पो गर्लान् कि भन्ने लागेको थियो। आउने बेलामा उताका आफन्त, साथीभाइहरूले उनलाई 'नेपालीले हाम्रो भाग खोस्न आए भन्छन्, जे पर्छ यतै बस्नुस्' पनि भनेका थिए। “तर, मैले यहाँ त्यस्तो पाइनँ। मैले आफ्नो देशको माटोमा बाँच्न पाएको छु। यो भए अरू मलाई केही चाहिँदैन”, चन्द्रकला साहित्यिक लयमा भन्छिन्, “ककटेल र चिकनकरीमा हाँसी–हाँसी बस्नु भन्दा, सिन्की र गुन्द्रुकमा रोई–रोई बाँच्नु वेश।”

सदियौँदेखि नेपालमै रहँदै आएका नेपालीहरूले देशप्रति गर्ने व्यवहार देखेर भने चन्द्रकला कहिलेकाहीँ दुःखी पनि हुन्छिन्। भन्छिन्, “घरकी मुर्गी दाल बराबर भने झैँ यहाँ नेपालीहरूले मातृभूमिको माया नगरे जस्तो लाग्यो।” देशलाई जोगाउने, सम्पन्न बनाउने, विकासको गोरेटोमा लैजाने राजनीति अस्थिर भएकोमा उनी चिन्तित छिन्। आम मानिसहरू पनि पैसा कमाउने, विदेशिने र नेपाल नै नफर्किने होडमा लागेकोमा पनि उनी दुःखी छिन्।

चन्द्रकलाका साहित्यिक रचना र कविताहरूमा देशको मायाले अग्रता पाएको हुन्छ। एक नेपालीले अर्को नेपाली र आफ्नै देशलाई बिर्सने, आफू आफैँ लड्ने प्रवृत्ति देख्दा उनको चित्त कँुडिन्छ। उनी गाउँछिन्ः

“धिक्कार छ है नेपाली जाति, जातिलाई चिन्दैन
जातिको सेवा नै देशको सेवा, यो किन बुझ्दैन?
मयुर प्वाँख कागले लाउँदा, मयुर हुँदैन
काग त सधैँ काग नै हो है, यो किन बुझ्दैन...”

जाति भनेर साम्प्रदायिक नभई समग्र नेपाली जातिको कुरा गरेको बताउने चन्द्रकला हरेक जाति जनजाति, समुदायले आ–आफ्नै जातिको विकास गर्दै लगे देशको उन्नति हुने बताउँछिन्। भन्छिन्, “तर, एकले अर्कालाई नचिन्ने र कदर नगर्ने परिपाटी नेपाल भित्र र बाहिर सबैतिरका नेपालीहरूमा देखँे, जबसम्म नेपालीले नेपाली प्रतिभा चिन्दैन र एकअर्काको कदर गर्दैन तबसम्म प्रगति हँुदैन।” शब्द र सङ्गीतमा देशको माया उन्दै र माटोको सुवास छर्दै उनी गाइरहेकी छिन्ः

“धर्तीमा स्वर्ग जस्तो मेरो प्यारो देश
थरी थरी भाषा बोल्छौँ थरी थरी भेष
उभिएका थुम्का–थुम्का चाँदीका हिमाल
प्रकृतिले सजिएको मेरो प्यारो नेपाल...”

नेपालप्रतिको उनको मोह कति छ भन्ने कुरा उनको विचार, साहित्य, सङ्गीत, गायनबाट पनि झल्कन्छ। उनी अब साहित्य र सङ्गीतमै समर्पित रहने बताउँछिन्। उनी भन्छिन्, “मेरो माटोका लागि अझै धेरै गर्नु छ।”

डम्बरकृष्ण श्रेष्ठ