आवरण | नेपालीपनः यता
र उता
दुःखभित्र सुखको खोजी
नेपालीहरूको बाहुल्य भएका पूर्वोत्तर भारतका
गाउँबस्तीहरूको स्थिति केही आशलाग्दो देखिए पनि छरिएर रहेका नेपालीहरू
स्थानीय आदिवासी र उग्रवादी सङ्गठनहरूबाट बारम्बार निचोरिने गरेका
छन्। उनीहरूको जुुझारुपनले सङ्कटमा पनि उनीहरूलाई टिकाइराखेको छ।
•
पेशल पोख्रेल, गुवाहाटी, भारतमा
 |
| तस्बिरहरूः पेशल पोख्रेल |
| ब्रह्मपुत्रको किनारमा गुवाहाटी शहर। |
'नेपालीले माया
मार्यो बरी लै' धर्मराज थापाले विदेशिएका नेपालीहरूलाई यसो भनिरहँदा
कवि अगमसिंह गिरीको जवाफ थियो, 'नसम्झ आज नेपाली सुखले यहाँ बसेको।'
यस्तै देखिन्छ पूर्वोत्तर भारतको स्थिति। पूर्वोत्तर राज्यहरूमा छरिएर
पुस्तौँपुस्तादेखि बसिरहेका नेपालीहरूमध्ये थोरैले मात्र 'ढुक्कको
जीवन' भेटेका छन्। पश्चिम बङ्गालको न्यूजलपाइगुडी हुँदै असम र छिमेकी
राज्यहरूमा पस्नासाथ नेपाली समुदायहरूले भोगिरहेका सामाजिक असुरक्षा
र भेदभावका अनगिन्ती उदाहरणहरू भेटिन्छन्। नेपालीहरूको बाहुल्य/वर्चस्व
भएका गाउँबस्तीहरूको स्थिति केही आशलाग्दो भएपनि फाट्टफुट्ट छरिएर
रहेका नेपालीहरूले ठूलै कहर काटिरहेका छन्। जातीय र साम्प्रदायिक विद्वेषका
घटनाहरूले उनीहरूलाई जति अत्याउँछन्, स्थानीय उग्रवादी सङ्गठनहरूले
निचोर्ने र पेल्ने क्रम त्योभन्दा कम देखिँदैन। मणिपुरमा बसिरहेका
करीब ८० हजार नेपालीहरू यतिखेर यस्तै चेपुवामा छन्। उनीहरूको दह्रो
उपस्थिति रहेका कालापहाड, तोरीबारी र काङ्लातुम्बीमा समेत अहिले सुविस्ता
छैन। उग्रवादीहरूको धम्की पाएपछि नेपालीहरूले स्थानीय तहको चुनावसमेत
लड्न छाडेका छन्।
अरुणाचल, नागाल्याण्ड र मिजोरममा रहेका करीब ४० हजार
नेपालीहरूको अवस्था समेत सन्तोषजनक नभएको खबर गुवाहाटी र सिलङमा बारम्बार
आइरहन्छ। भारतीय गोर्खा परिसंघ, मेघालय शाखाका मूल सचिव जगन्नाथ कोइराला
भन्छन्, “बरु त्रिपुराबाट आजभोलि कुनै गुनासो आएको छैन।” करीब पाँच
हजार नेपाली रहेको गोर्खा वस्तीका इन्जिनियरहरूले राज्यमा राम्रै ख्याति
कमाएका छन्। त्रिपुरा गोर्खा समिति पनि अहिले निकै सक्रिय छ। ग्रेटर
नागाल्याण्डको माग गरिरहेका कुकीहरूको दबदबा रहेका छिमेकका अन्य राज्यहरू
(नागाल्याण्ड, अरुणाचल) मा भने कतिपय नेपालीहरू 'बसौँ कि हिँडौँ' को
स्थितिमा छन्। त्यहाँको जातीय सङ्ग्रालो बढ्दै गयो र विस्थापित हुनुपर्ने
स्थिति आयो भने उनीहरूले पनि पितृभूमि सम्झनुको विकल्प छैन।
 |
यसअघि, सन् १९७८ देखि ८५ सम्म असमका र १९८७–८८ तिर मेघालयका
हजारौँ नेपालीले थातथलो त्याग्नुपरेको थियो। सन् ७८ मा अल असम स्टुडेण्ड
युनियन (आसु) ले शुरु गरेको 'बहिरागत (अन्य राज्यबाट आएका) धपाऊ' आन्दोलनले
क्रमशः 'विदेशी धपाऊ' अभियानको रुप लिएपछि धेरै नेपालीले असम छोड्नुपर्यो।
सन् १९८५ मा आसु र केन्द्र सरकारबीच भएको 'असम एकर्ड' पछि पनि स्थायी
बसोबासको प्रमाण पुर्याउन नसकेको निहुँमा कतिपय नेपालीले 'क्विट इण्डिया
नोटिस' पाइरहे।
असममा नेपालीहरूको उल्लेख्य बसोबास रहेको बोडो क्षेत्र
(भूटान–असम सीमा नजिकको क्षेत्र) का कतिपय नेपालीहरूले छुट्टै राज्य
र छुट्टै देश मागिरहेका क्रमशः बोडो लिवरेशन टाइगर्स (बीएलटी) र नेशनल
डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्याण्ड (एनडीएफबी) को दबाब र ज्यादती झेल्न
सकेनन्। उनीहरूले डकैती, लुटपाट पनि प्रशस्तै व्यहोर्नुपर्यो। अर्को
सशस्त्र सङ्गठन युनाइटेड लिवरेशन फ्रन्ट अफ असम (उल्फा) का भूमिगत
गतिविधिहरूले पनि नेपालीहरूलाई अत्याइरहे। अहिले असमका प्रायः सबै
उग्रवादी सङ्गठनहरूले युद्धविराम गरेका छन्। बीएलटीले हतियार समर्पण
गरेपछि 'बोडो क्षेत्र स्वायत्त विकास परिषद' गठन भएको छ। बीएलटीसम्बद्ध
हाग्रामीपन्थीले विधानसभाको चुनावमा १२ सिट जितेका छन्। जनसरकार समूह
(पीजीसी) मार्फत् उल्फा र केन्द्र सरकारबीच वार्ता भइरहेको बेला सरकारले
उल्फासँगको युद्धविराम भङ्ग गर्न बाध्य भएको घोषणा गरेको छ। बोडो क्षेत्रमा
समेत पहिलेको तुलनामा धेरै शान्तिको अनुभव गरिँदैछ। भारतीय गोर्खा
परिसंघ, असमका मूल सचिव नित्यानन्द उपाध्याय भन्छन्, “अहिले बीएलटी
र एनडीएफबी दुवै डाँकाविरुद्ध खनिएका छन्। त्यो क्षेत्रमा डकैतीको
त्रास समेत अहिले हटेको छ।”
 |
| कुनै बेला नेपालीहरूको प्रमुख आयस्रोत मानिने दुग्ध व्यवसाय
अहिले गुवाहाटी आसपास सीमित भएको छ। |
तर, असमका धेरै नेपालीले अझै भारतीय पहिचान पाएका छैनन्।
हरेक चुनावमा थुप्रै नेपाली मतदाता शङ्कास्पद भोटर (डी. भोटर) को श्रेणीमा
पर्ने, पारिने गरेका छन्। गैर असमिया जातिको नागरिकता प्रमाणित गर्नका
लागि केन्द्र सरकारले गठन गरेको फरेनर्स टि्रवुनलले 'सन् ७१ अघिदेखिको
बसोबास वा अन्य प्रमाण देखाउनुस्' भन्दै पुनः पत्राचार गर्न थालेपछि
धेरै नेपाली आतङ्कित भएका छन्। गुवाहाटीका समाजसेवी गोपालबहादुर नेपाली
भन्छन्, “हाम्रा मानिस गाउँबस्तीमा बस्थे। एक ठाउँबाट अर्को ठाउँमा
बसाइँ सर्दा पुराना कागजपत्र छोडेर, फ्याँकेर जान्थे। त्यस्तालाई भने
प्रमाण देखाउन समस्या परेको छ।”
विगतमा चारपल्ट असम विधानसभा सदस्य (एमएलए) भइसकेका
स्वतन्त्रता सेनानी विष्णुलाल उपाध्यायकी छोरीलाई समेत 'तिमी विदेशी
हौ' भनेर धम्क्याइएको, 'असम फर असमिज' भन्दै टोलटोलमा आगो लगाइएको,
अर्का स्वतन्त्रता सेनानी भक्तबहादुर प्रधानकी छोरी चन्द्रकला नेवारको
परिवारलाई मानसिक यन्त्रणा दिइएको, बाडो क्षेत्रमा लुटपाट, हत्या,
हिंसा, जोरजबर्जस्तीका घटनाहरूले सन्त्रस्त बनाएपछि त्यहाँका नेपालीहरू
छट्पटाउनु स्वाभाविक पनि थियो। त्यसैले असमभर करीब २० लाख नेपालीको
उल्लेख्य उपस्थिति हुँदाहुँदै पनि कतिपय नेपालीले पितृभूमि आएर पुर्ख्यौली
प्रमाण जुटाउँदै सुटुक्क नेपाली नागरिकता लिएका छन्। छरछिमेकमा हल्ला
भए दुईखुट्टे (एक खुट्टा नेपालमा, अर्को खुट्टा असममा) को आरोप लाग्ने
भएकाले यो विषयमा न कसैले कसैलाई बताउने गरेको छ न त चियोचर्चो नै
हुने गरेको छ। गुवाहाटीका एक पूर्व शिक्षक भन्छन्, “हो, मैले छोराछोरीलाई
नेपालको नागरिकता दिलाइसकेको छु। तेस्रो देश वा युरोप, अमेरिका जान
पनि नेपालबाट सजिलो छ।”
 |
| विश्वनाथ चारआलीको एक नेपाली वस्ती, माझगाउँ। |
यति हुँदाहुँदै पनि, असमिया समाजको अभिन्न अङ्ग बनिसकेका
नेपालीहरूलाई त्यहाँका रैथानेहरूले उपेक्षा गर्ने अवस्था छैन। आसुको
राजनीतिक मोर्चा असम गणपरिषदसँग भने अहिले नेपालीहरूको धेरै तिक्तता
बाँकी छैन। गणपरिषदको भातृ सङ्गठनका रूपमा नेपाली परिषदसमेत खुलेको
छ अहिले। उनीहरूले बङ्गलादेशबाट आएकाहरूलाई मात्र बहिरागत भनिरहेका
छन्। शोणितपुर–सोटिया क्षेत्रबाट निर्वाचित, असम गणपरिषदका युवा एमएलए
पदम हजारिका भन्छन्, “हामीलाई नेपाली समुदायको ठूलो सहयोग छ। असमको
अभिन्न अङ्ग हो यो समुदाय। सांस्कृतिक हिसाबले पनि हामी नजिक छौँ।
'विहु' मा नेपालीले असमियालाई सघाउँछन्, दशैँमा हामी उनीहरूलाई सघाउँछौँ।”
हजारिका दशैँका बेला नेपाली मठ–मन्दिरसमेत पुग्ने गरेका छन्।
अन्तरसम्बन्ध
नेपाली बहुल क्षेत्रहरूमा स्थानीय समुदायसँगको जातीय अन्तरसम्बन्ध
समेत बलियो बन्न थालेको देख्न सकिन्छ। लीलबहादुर क्षत्रीले 'ब्रह्मपुत्रको
छेउछाउ' बाट भारतीय साहित्य एकेडेमी पुरस्कार पाउँदा असमिया संघसंस्थाले
उनको अभिनन्दन गरे। नेपाली र असमियाबीच फाट्टफुट्ट मात्रै हुने बिहेवारीसमेत
अहिले निकै बढेको छ। विश्वनाथ चारआलीको नेपाली गाउँ गोलियामा १२ जना
असमी बुहारी छन्। नेपाली चाडपर्वमा असमिया, बङ्गालीहरू आएर सघाउँछन्।
नेपाली केटाकेटी गएर 'विहु' गाउँछन्। दशैँमा चार दिन, तिहारमा दुई
दिन सार्वजनिक विदा भएको असममा भाइटीका र भानुजयन्तीमा नेपालीहरूका
लागि छुट्टै विदा दिइन्छ। असम सरकारले निकाल्न लागेको 'हिस्ट्री अफ
असमिज नेपलिज' लाई नेपाली समुदायप्रतिकै सम्मान मानेका छन् यहाँका
अगुवाहरूले। अहिले प्रेसमा रहेको त्यो बृहत् पुस्तकमा नेपाली समुदायको
सामाजिक, शैक्षिक, साहित्यिक योगदानलाई समेटिएको छ।
 |
| माथिल्लो सिलङ्गको गोर्खा हाइस्कूलमा गारो, खासी, मिजो र नेपाली
विद्यार्थीहरू सँगसँगै पढिरहेका छन्। |
उता, अगष्टको अन्तिम साता विश्वनाथ चारआलीको पानीभण्डारमा
नेपाली सांस्कृतिक टोली सयपत्री थिएटर स्थापना भएको छ। यसको सञ्चालन
समितिमा असमियाहरू पनि छन्। उदलगुडी, शोणितपुर, नलवारीका कतिपय असमियाले
नेपाली भाषा सिकिसकेका छन्। बलिदान दिवस (२५ अगष्ट) मा छापागुडीमा
आयोजित एक कार्यक्रममा स्थानीय एमएलए थानेश्वर बसुमतारीले नेपालीमै
भाषण गरे। असम गोर्खा सम्मेलनकी सचिव नीरु शर्मा पराजुलीका अनुसार
गुवाहाटीको शङ्करदेव कला क्षेत्रमा नेपाली समुदायबाट असमका धरोहर मान्न
सकिने व्यक्तित्वहरूको प्रतिमा स्थापना गर्ने तयारी भइरहेको छ। असमको
नेपाली समुदायबाट लोकसभा सदस्य बन्ने पहिलो व्यक्ति स्वरुप उपाध्याय
भन्छन्, “तेजपुर क्षेत्रका असमियाहरू उदार मनोवृत्तिका छन्। हाम्रो
आफ्नोपनमा उनीहरूले कहिल्यै हस्तक्षेप गरेका छैनन्। बरु चासो राख्छन्,
सघाउने तत्परता देखाउँछन्।”
अहिले असमका नेपाली समुदायले विभिन्न कलेजमा रहेका १००
भन्दा बढी लेक्चरर–प्रोफेशर, केही उच्च ओहोदाका सरकारी अधिकारी, डाक्टर,
इन्जिनियर, पुलिस जिल्ला अधिकारी र नेपाली साहित्यले गर्व गर्न सक्ने
दर्जनौँ प्रतिभा हुर्काइसकेको छ। शोणितपुरको वर्षाेला समष्टिबाट निर्वाचित
लोकसभा सदस्य मणिकुमार सुब्ब्ाा, असम विधानसभा अध्यक्ष टङ्कबहादुर
राई, एमएलए स्वरुपराज सुब्बा, कार्विआङलाङ स्वायत्त परिषदकी उपाध्यक्ष
शारदा उपाध्यायले राजनीतिमा नेपाली जातिको प्रतिनिधित्व गरिरहेका छन्।
नाववेशा क्षेत्रबाट निर्वाचित एमएलए सुब्बाले असम विधानसभाको इतिहासमै
पहिलोपल्ट नेपालीमा शपथ लिँदा असमका सबै नेपालीले गर्वको अनुभव गरेको
बताउँछन् गुवाहाटी कलेजका प्राध्यापक हेमचन्द्र गौतम।
असमिया नेपालीहरूको पुरानो चिनारीमा ठूलै परिवर्तन आएको
छ। पहिले जताततै भेटिने गौपालक नेपालीहरू यतिखेर गुवाहाटी आसपासमा
सीमित भएका छन्। गुवाहाटी–जोरावाट राजमार्गको ७ माइल, ८ माइल बिसौनीमा
बिहान बेलुकी आजभोलि पनि ग्वाला र दूध उठाउने 'पैकारी' हरूको सानोतिनो
मेला देख्न सकिन्छ। अधिकांश गौपालक अर्काको जग्गा वा म्यादी जग्गामा
प्रति परिवार ३०–४० वटासम्म जर्सी गाई पालेर बसेका छन्। पुराना दूध
व्यवसायी रणबहादुर बरालको दाबी छ, “नेपालीहरूले एक दिन दूध दिएनन्
भने गुवाहाटीमा हाहाकार हुन्छ।”
शिक्षित युवाहरू धेरै जसो शिक्षण पेशामा लागेका छन्।
शोणितपुर क्षेत्रमा नोकरजीवी नेपालीहरूको सङ्ख्या उल्लेख्य छ। बोडो
क्षेत्रमा पर्ने नलवारी, मुसलपुर, सुवनखट्टा, खैरेनी, उत्तरकोशी, आम्टेका,
शान्तिपुरतिरका नेपालीहरूको आर्थिक स्थिति सन्तोषप्रद नभए पनि घरघरमा
देखिने स्नातक युवाहरूसँग जातीय उन्नतिका थुप्रै योजनाहरू छन्। केही
युवाहरूले भने ठूला उद्योग व्यवसायमा हात हालेर अरूलाई पनि त्यतातिर
लाग्न प्रेरित गरिरहेका छन्। विश्वनाथ चालआली क्षेत्रका स्थानीय एमएलएलाई
साझेदार बनाएर नर्थ–ब्याङ्क टी कंपनी सञ्चालन गरिरहेका विकास कश्यप
भन्छन्, “बूढापाकाहरू अझै रुढीवादी छन्। नयाँ पेशामा लाग्न, लगाउन
अझै हिम्मत गरिरहेका छैनन्।” शोणितपुर, निकासी, दरङ्ग, तीनसुकिया,
डिगवोईतिरका गाउँबस्तीमा बाक्लो उपस्थिति देखेपछि सजिलै भन्न सकिन्छ,
यहाँका नेपालीलाई हल्लाउन ठूलै भुइँचालो जानुपर्छ।
 |
| शोणितपुर–सोटिया क्षेत्रका असमिया एमएलए पदम हजारिका नेपाली
समुदायमा गएर दशैँ मनाउँछन्। |
'अजनजाति' को पीडा
छिमेकी राज्य मेघालयमा भने असमको परिवेश पाउन निकै गाह्रो
छ। सन् २००१ को जनगणनाअनुसार, राज्यभरि करीब ७० हजार नेपालीहरू छन्।
तीमध्ये करीब आधा राजधानी सिलङमै थुप्रिएका छन्। यसको मूल कारण हो,
सन् ८७ तिर खासी स्टुडेण्ड युनियनले शुरु गरेको विदेशी धपाउ आन्दोलन।
त्यसको चाप बढ्दै गएपछि स्थानीय आदिवासी खासी, गारो र जयन्तियाको जमिनमा
छाप्रो हालेर खेतीकिसानी गरिरहेका नेपालीहरूमध्ये केही शहरी क्षेत्रमा
आएर शरणार्थी बने, केही नेपाल फर्किए। विद्यार्थीहरूले नचलाएका वा
धपाउन नसकेकाहरूको मनोवल पनि पूर्ववत् रहेन। 'ट्राइवल स्टेट' का नाताले
आदिवासी बाहेक अरूले जमिनको अधिकार नपाउने प्रावधानका कारण त्यहाँ
बसिरहेका नेपालीहरूले आफूलाई स्थायी बासिन्दा भन्न सकिरहेका छैनन्।
सन् ७२ मा मेघालयले छुट्टै राज्यको मान्यता पाउनुअघि नै जग्गाजमिन
जोडिसकेकाहरूलाई भने केही ढुक्क छ। तर, उनीहरूले समेत जमिन बेच्नु
परे आदिवासीलाई नै बेच्नुपर्छ। नेपालीहरूले 'गिफ्टल्याण्ड' का रूपमा
मात्र जमिनको हकभोग गर्न पाउँछन्। राज्यका हर क्षेत्रमा स्थानीय जनजातिलाई
विशेष सुविधा छ। नोकरी, शिक्षामा समेत उनीहरूलाई ८० प्रतिशतको आरक्षण
छ। अल्पसङ्ख्यक जातिका मान्छेहरूले पेन्सन समेत पाउँदैनन्। फलतः शिक्षित
नेपाली युवाहरू अरू राज्य वा नेपालतिर पलायन हुने क्रम तीव्र भएको
छ। “चुपचाप सहनुपर्ने बाध्यतामा छौँ हामी,” सिलङ कलेजका प्रोफेसर नरबहादुर
राई भन्छन्, “पानीमुनि बसेर माछासँग शत्रुता गर्न चाहन्नौँ।” राईका
अनुसार, उनीहरूले गोर्खाली जातिलाई सम्मान पनि गर्छन् तर जब उनीहरूलाई
नै अफ्ठ्यारो पर्छ, 'तिमीहरूलाई अब पुर्याउन सक्तैनौँ' भनिदिन्छन्।
यस्तै कारणहरूले मेघालयमा पनि नोकरीजीवी नेपालीहरूको
सङ्ख्या थोरै छ। युवा वर्गलाई तीर (लाइसेन्सप्राप्त एक प्रकारको जुवा)
ले धानेको छ। केही निजी व्यवसायमा छन्। ट्याक्सी चढ्नासाथ ड्राइभरलाई
'भाइ, नेपाली हो?' भन्ने हो भने अधिकांश जवाफ 'हो' मा आउँछ। सिलङमा
भेटिने भरियाहरूमा भने नेपालबाट गएका मौसमी कामदारको बाहुल्य छ। उनीहरू
दिनको चार पाँच सय रुपैयाँसम्म कमाउँछन्। लाङरिन, बापुङ, दादेनगिरीका
कोइलाखानीमा नेपालबाटै गएका कामदारहरूको अर्को संसार देख्न सकिन्छ।
जसको मेघालयवासी नेपालीहरूसँग कुनै सम्पर्क हुँदैन।
खासी र गारो युवतीसँग बिहे गरेर घरज्वाइँ बस्ने नेपालीहरूको
सङ्ख्या पनि मेघालयमा उल्लेख्य छ। आमाको थर लेख्ने मातृसत्तात्मक समाज
छ त्यहाँ। लोकसभा सदस्य पीआर किण्डियाका हजुरबुबा, मेघालय विकास परिषदका
सदस्य बिन्दु नालङका बाबु नेपाली हुन्। सिलङमा नेपालीहरूको उल्लेख्य
उपस्थितिकै कारण त्यहाँको एउटा विधानसभा क्षेत्रबाट ध्रुवनाथ जोशी
लगातार ६ पटक एमएलए बनेका थिए। अहिले सो क्षेत्र अरूले नै उछिट्याएका
छन्। र, अब त्यहाँका नेपालीहरू पूर्व स्थितिमा फर्कन सक्लान्, नसक्लान्
भन्न गाह्रो छ।
मुक्ति उपाध्यायको सहयोगमा
|