हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | नेपालीपनः यता र उता

पहिचान त नेपाली राम्रो

नेपालभित्रका नेपालीले कल्पनै नगरेको अल्पसङ्ख्यक, बाह्य जातिको पीडा भोगिरहेका भारतीय नेपालीहरू भन्छन्, “देश जातजातिका आधारमा विखण्डित नहोस्। नेपालले त्यस्तो कहिल्यै भोग्नु नपरोस्।”

पेशल पोख्रेल, पूर्वोत्तर भारतबाट फर्केर

नीलम घिमिरे

यता, नेपालमा 'नेपाली जान्दिनँ' भनेर गर्व गर्नेहरूको बिग्बिगी छ। विश्वब्रह्माण्डका सबै कुराको ज्ञाता ठान्नेहरू पनि नेपाली साहित्य भन्नासाथ नाक खुम्च्याउँछन् वा 'म त पढ्दिनँ' भनेर पन्छिदिन्छन्।

उता, असम–मेघालयतिरका नेपालीहरू नेपाली माध्यममा पढ्न नपाउँदा नपाउँदै पनि नेपाली भाषा–साहित्यमा अत्यन्त चाख राख्छन्। लेख्छन्, सुनाउँछन् र छापिदिने, बेचिदिने संस्था नहुँदा नहुँदै पनि किताब निकाल्छन्। अनि, आफ्नो भाषाका लागि केही गरेँ भनेर सन्तोष मान्छन्। स्याटलाइटमार्फत् भर्खरै पुग्न थालेका नेपाली टेलिभिजन च्यानलका कार्यक्रम प्रस्तोताहरूको 'नेपाङ्लिस' सुन्दा उनीहरूको चित्त दुख्छ। भन्छन्, “यस्तै गर्दै जाने हो भने कहाँ रहन्छ नेपाली भाषा?”

यताको पछिल्लो पुस्तालाई नेपाली भाषामा के कस्ता किताब निस्कँदैछन्, कहाँ पाइन्छन् र भाषा–साहित्यमा तिनको के कति महत्त्व छ भन्नेबारे न जानकारी छ न त चासो नै। नेपाली भाषामाथि चिन्तनमनन गर्ने काम केही संस्था, प्रतिष्ठान वा विश्वविद्यालयको नेपाली विभागमा सीमित भएको छ। अन्य राष्ट्रिय भाषाहरू त झन् भर्खरै बामे सरिरहेका छन्।

उता, असमतिर मौका मिल्नासाथ भाषाका गोष्ठीहरू गरिन्छन्। मेघालयको सिलङमा २५ भदौमा 'गोर्खा स्कूलहरूमा नेपाली भाषालाई कसरी लोकप्रिय बनाउने?' विषयमा बृहत् संगोष्ठी भयो। असममा नेपाली पठनपाठनका थप उपायहरू खोज्न नेपाली प्राज्ञिक परिषद खुलेको छ। उताका नेपालीहरू सानोतिनो जमघट हुनासाथ भाषाको कुरा गर्छन्। र, बृहत् पुस्तकालय र प्रकाशन संस्था कसरी खोल्न सकिन्छ भनेर उपाय खोजिरहन्छन्।

पेशल पोख्रेल

यताका नेपालीहरू महाकवि देवकोटालाई समेत यदाकदा मात्रै सम्झन्छन्। सांस्कृतिक संघ, देवकोटा पुस्तकालय जस्ता केही संघसंस्थाहरूको ठेक्का जस्तै भएको छ देवकोटालाई सम्झने काम। कवि शिरोमणि लेखनाथ पौड्यालको सम्झना नेपाली शिक्षा परिषदको परिसरभित्र खुम्चिने गरेको छ। भानुभक्त '२९ असार' मा सीमित छन्। अझ पछिल्लो पुस्तामा यस्ता विभूतिमाथि गर्व गर्ने चेतनासमेत मर्दै गएको छ।

उता, भारतीय नेपाली समाजमा भने भानुजयन्तीलाई जातीय एकताको प्रतीक र भानुको सालिकलाई नेपाली जातिको विजयस्तम्भजत्तिकै मान्ने गरिएको छ। नेपाली स्कूल र बस्ती–बस्तीमा भानुभक्तका सालिक देख्न सकिन्छ। दार्जीलिङका साहित्यकार इन्द्रबहादुर राई भन्छन्, “भानुको सालिक कुनै ठाउँमा ठडिनु त्यो ठाउँ जितेर विजय–स्तम्भ गाडे बराबर हो नेपाली जातिका लागि।”

यता, ढाकाटोपीलाई शहरिया नमान्ने प्रवृत्ति हुर्किदैछ। दौरासुरुवाल 'घाँडो पोशाक' भएको छ। संसदमा समेत दौरासुरुवाल लगाएका प्रतिनिधिहरू अपवादका रूपमा मात्रै देखिन थालेका छन्। दौरासुरुवाल, गुन्यूँचोली होटल–रेष्टुरेन्टका नर्तक, नृत्यङ्गना वा कतै कतै वेटर, वेट्रेसको पोशाक भएको छ।

उता, सिलङका प्रोफेसर गोपीनारायण प्रधान (हे.तस्बिर) असहज हुँदाहुँदै पनि हरसमय दौरासुरुवाल लगाउँछन्, आफूलाई नेपाली देखाउन। आदिवासीहरूको राज्य मेघालयमा 'अजनजाति' मानिने नेपाली समुदायभित्र यो रहर किन? “अस्तित्वका लागि। यहाँ हाम्रो अस्मिताको प्रश्न छ। जातीय चिनारी नै हराउला कि भन्ने त्रास छ,” नेपालबाट पुगेका जोकोहीलाई आफ्नो छट्पटी सुनाउँदै उनी भन्छन्, “तपाईहरूसँग त आफ्नो माटो छ नि!'

यता, दशैँतिहारलाई 'हाम्रो चाड हैन' भन्दै आफूलाई पृथक् जाति, समुदाय देखाउने होडबाजी शुरु भएको छ। बृहत्तर 'नेपाली पहिचान' लाई जातीय पहिचानतिर खुम्च्याइने प्रयास हुन थालेको छ। समग्र नेपालीको उन्नतिभन्दा जातको, वर्गको उन्नतिका कुरा बढी हुने गरेका छन्। माओवादीले आफ्नो विद्रोहलाई छिटो सफल पार्नका लागि रोपेको जातीय राज्य/शासनको अवधारणारुपी बीउले सिङ्गासिङ्गै समुदायहरूबीच आशङ्का र विद्वेष बढाउन सक्ने डरलाग्दा सङ्केतहरू पनि यदाकदा देखिन थालेका छन्। नेवार राज्य, तामाङ प्रदेश, तमुवान, मगरात, लिम्बूवान, थारूवान, कोचिला राज्य जस्ता सपनाहरूको बिक्रीले समाजमा नमीठो भ्रम र अन्योल बढाउन मद्दत पुर्‍याएको देखिन्छ।

तर उता प्रवासका नेपालीहरू नेपालका यस्ता कुरा सुन्दा झस्कन्छन्। पृथक्–पृथक् समाजमा, अलग–अलग जातीय चिनारी हुँदाहुँदै पनि उनीहरू आफूलाई 'नेपाली' का रूपमै चिनाउन रुचाउँछन्। जातिको साझा परिचयका रूपमा नेपाली भाषालाई उभ्याउँदा गर्वको अनुभव गर्छन्। प्रवासको नेपाली साहित्यलाई राई, गुरुङ, तामाङ, मगर, लिम्बूलगायतका जनजातिहरूले बाहुन, क्षेत्री, नेवार जत्तिकै मलजल गरेका छन्। दार्जीलिङ, सिक्किमतिरका साहित्यकारहरूको सूची हेर्दा यो कुरा आफैँ स्पष्ट हुन्छ।


पेशल पोख्रेल
१८ भदौमा गुवाहाटीको सुब्बा भवनमा आयोजित अन्तरक्रियामा सहभागी असमका नेपाली।

थुप्रै जाति–उपजातिको संस्कृति मिलेर बनेको नेपाली संस्कृतिलाई पनि प्रवासी नेपालीहरू त्यसरी नै साझा अनि जातीय संस्कृतिका रूपमा उभ्याउँछन्। साहित्य, संस्कृतिको कुरा आउनासाथ नेपाल सम्झनु उनीहरूको विशेषता र बाध्यता दुवै बनेको छ। यद्यपि, उनीहरूलाई दुःख–पीर पर्दासमेत नेपालले बोलिदिँदैन। विगतमा मेघालय, असमबाट हजारौँ नेपाली लखेटिँदा नेपाल प्रतिक्रियाविहीन बस्यो। तैपनि, पितृभूमिप्रति उनीहरूको विशेष स्नेह देखिन्छ। नेपालले केही नगरे पनि 'नेपाल र नेपाली' शब्दले उनीहरूमा एकप्रकारको आडभरोसा जगाइदिन्छ। त्यसको एउटै कारण हो, नेपाली पहिचानको मोह। यो पहिचानले नै नेपाली जातिको शिर ठडिने कुरामा उनीहरू ढुक्क छन्। भर्खरै 'माटो बोल्दो हो' शीर्षकको उपन्यास लेखिसिध्याएका सिलङका साहित्यकार विक्रमवीर थापा भन्छन्, “हामी जहाँ बस्यौँ, त्यहीँको माटोमा हाम्रो पसिना बगेको छ। र, त्यसकै मलजल गर्न चाहन्छौँ। तर भाषा, संस्कृति भनेको साझा डोरो हो। यसैले बाँधेको छ उताका, यताका सबैतिरका नेपालीलाई। त्यो हाम्रो चिनारी हो। यसलाई कसै गरी पनि भत्कन दिनुहुँदैन।”

गुवाहाटीका लेखक लीलबहादुर क्षत्री त्यस्तै एउटा प्रतीक मानिन्छन् हिजोआज। उनको 'बसाइँ' उपन्यास धेरै अघि नेपालबाट छापियो। त्यसको कथामाथि नेपालमा फिल्म पनि बन्यो। त्यो फिल्म विविध भाषाभाषीको श्रेणीमा अस्कर अवार्डका लागि पठाइएको समाचार गुवाहाटीका छ, सात असमिया पत्रिकामा एकैपल्ट निस्कियो। 'असमको गौरव' भन्दै लेखक क्षत्रीले प्रशस्तै बधाई पाए। क्षत्रीले 'धन्य मेरो भाषा' भन्दै मनमनै नेपाल सम्झिए।

यसरी पितृभूमि र आफ्नै माटोसँग टाढिएका अधिकांश नेपालीलाई पटक–पटक नेपाल सम्झनैपर्ने हुन्छः कहिले खुसीमा त कहिले दुःखमा। प्रवासमा नेपाली जातिको गाँसबास खोसिँदा नेपाल सम्झनेहरूको सङ्ख्या जति छ, नेपालमा दुःख पीर पर्दा मन दुखाउनेहरू पनि उत्तिकै छन्। असमको नेपाली समुदायका सर्वमान्य व्यक्तित्व विष्णुलाल उपाध्याय भन्छन्, “नेपाल बलियो भए हामीलाई पनि सजिलो हुन्छ, नेपाल हेपिए हामी पनि हेपिन्छौँ।” उता, “भारतीय नेपालीको दुःखपिराउमा नेपालले बोलिदेओस्, सीधै मिल्दैन भने राष्ट्रसंघमार्फत् आग्रह गरिदेओस् अनि नेपाली भाषी भारतीयहरू सुरक्षित रहनेछन्” भन्छन् गोपीनारायण प्रधान। नेपालले पूर्वोत्तर भारतका नेपाली साहित्यकारहरूलाई नसम्झिएको, त्यता पुग्ने नेपाली प्रतिनिधिमण्डलले पनि बोलाउँछौँ भनेर आश्वासन मात्रै दिने गुनासो पनि कतिपयसँग छ। उनीहरू भन्छन्, “यताका लेखकका लागि एउटा पुरस्कार राखिदिए के बिग्रन्थ्यो?”

नेपालप्रति यस्ता थुप्रै सद्भाव र अपेक्षाहरू छन् भारतीय नेपालीका। 'नेपाली' शब्दकै कारण उनीहरूले 'तिमीहरू नेपालका हैनौ?' भन्ने प्रश्न र त्यस्तै व्यवहारसमेत बारम्बार व्यहोर्नुपर्छ। त्यसैले 'गोर्खा' भनिन रुचाउनेहरूको एउटा वर्ग छ। उनीहरू भन्छन्, “भारतमा हामी छुट्टै पहिचान चाहन्छौँ।” अर्काथरीको तर्क छ, “गोर्खा भन्दा कृत्रिमता लाग्छ। नेपाली नै प्यारो छ हाम्रा लागि। अमेरिका, बेलायत, भारत जहाँ बसे पनि नेपाली।” त्यसैले 'भारतीय नेपाली' को प्रचलन अहिले व्यापक बनेको छ। यही चिनारीमार्फत् थप सङ्गठित हुने प्रयासमा देखिन्छन् उनीहरू। नेपालभित्रका नेपालीहरूले कल्पनै नगरेको अल्पसङ्ख्यकको पीडा उनीहरूले भोगिसकेका छन्। जनजाति/आदिवासीका आधारमा गठित 'ट्राइवल स्टेट' मा अल्पसङ्ख्यक वा अन्य जातिको बसोबास र जीविका कति कठिन हुन्छ भन्ने कुरा पनि उनीहरूले प्रत्यक्ष अनुभव गरिसकेका छन्। गुवाहाटीको सुब्बा भवन, तेजपुर–चाँदवारीको प्रसाद सिंह सुब्बा चिन्तन मञ्च र सिलङको बुद्धभानुसरस्वती कलेज परिसरमा हिमाल प्रतिनिधिसँगको साक्षात्कारमा अधिकांशको भनाइ थियो, “नेपालले यस्तो भोग्नु नपरोस्। देश जातजातिका आधारमा विखण्डित नहोस्। धर्म निरपेक्षताको दुरुपयोग नहोस्। नेपाली जातिको साझा संस्कृति/पहिचानलाई 'फलानो जात, फलानो क्षेत्र' को भन्ने सङ्कीर्णता अरू नझाङ्गियोस्।”

भाषा र भावना
पूर्वोत्तर भारतका सबै राज्यहरूमा नेपालीहरूलाई घच्घच्याउने, एकताबद्ध गर्ने र जातीय पहिचानका लागि प्रेरित गर्ने साझा माध्यम बनेका छन् नेपाली भाषा, नेपाली साहित्य र नेपाली संस्कृति। अझ कतिपय ठाउँमा नेपाली भाषा स्थानीयस्तरको 'लिङ्गुवा फ्रान्का' (सम्पर्क भाषा) नै बनेको छ। सिलङका बसस्ट्याण्ड र तरकारी बजारहरूमा खासी, गारो, बङ्गालीहरूले समेत नेपाली बोलिरहेको सुन्न सकिन्छ। भर्खरै हीरक जयन्ती मनाएको अपर सिलङस्थित गोर्खा हाइस्कूलमा पढिरहेका खासी, मिजो, गारो केटाकेटीका लागि मातृभाषा जत्तिकै सहज बनिसकेको छ नेपाली।

पेशल पोख्रेल
गुवाहाटीस्थित नेपाली मन्दिर परिसरमा गोर्खा पाठशाला र भानु अतिथिशाला पनि छन्।

चाडपर्वका बेला नेपालमा भन्दा बढी उल्लसित हुने, सांस्कृतिक पर्वहरूलाई जातीय उत्सवका रूपमा धुमधामसँग मनाउने प्रचलन भारतीय नेपाली समुदायको साझा चिनारी भइसकेका छन्। जस्तो; असम, मेघालय र पश्चिम बङ्गालका प्रमुख नेपाली बस्तीहरूमा फूलपाती शोभायात्राको तयारी यतिखेर अन्तिम चरणमा पुगेको छ। सिलगढीमा भानुभक्त समितिको पहलमा १३ असोजमा हुने बृहत् शोभायात्रामा जलपाइगुडीका नेपाली गाउँहरूबाट समेत झाँकीहरू ल्याइने कार्यक्रम बनेको छ। दौरासुरुवाल र ढाका टोपी, पञ्चैबाजा, ढिकी जाँतो, मादल, ढोलक, च्याबु्रङ, ढ्याङ्ग्रो, धामीझाँक्री, सँगिनी, बालनजस्ता नेपाली पहिचानसँग जोडिएका सांस्कृतिक झाँकीहरू एकै ठाउँ प्रस्तुत हुनु यहाँको फूलपाती शोभायात्राको मूल विशेषता हो– त्यसमा हिन्दु, बौद्ध, क्रिश्चियन, मुस्लिम सबै जाति, धर्म र वर्गका नेपालीहरूको समान उत्साह र सहभागिता। 'यो त फलानोको चाड' भन्ने सङ्कीर्णता त्यहाँ देखिँदैन। स्थानीय विधायक (एमएलए) तथा पश्चिम बङ्गालका नगर विकास मन्त्री अशोक भट्टाचार्य सिलगढीमै छन् भने उनी फूलपाती उत्सवमा सहभागी भएर ढाका टोपीको उपहार लिन छुटाउँदैनन्।

सिलगढीको तेञ्जिङ नोर्गे पथ (पुरानो हिलकार्ट रोड) मा शोभायात्राको प्रतीक्षा भइरहेको बेला असमको शोणितपुर–माझगाउँमा चारदिने दशैं कार्यक्रमका लागि रिहर्सल भइरहेको छ। 'पिठ्युँमा डोको निधार नाम्लो नारीका गहना, न्याउली रानी गाउँछिन् गीत बसेर वनैमा' बोलको गीतमा नृत्य–अभ्यास गरिरहेका स्थानीय चेलीहरू दशमीका दिन गाउँकै हरि मन्दिरमा आयोजना हुने 'ज्वाइँ स्पेशल' प्रतियोगिता हेर्न अहिल्यैदेखि अधैर्य छन्। टीका थाप्न ससुराली आएका ज्वाइँहरूलाई आ–आफ्नो प्रतिभा देखाउन लगाउने योजना बनाएका छन् आयोजकहरूले। नेपालीहरूको दह्रो उपस्थिति रहेका हरेक गाउँटोलमा हुँदैछन् यस्ता कार्यक्रम। नेपाल अनि दार्जीलिङतिर दशैँ मान्ने, नमान्ने विवाद शुरु भएकोमा दुःख लागेको बताउँछन् उनीहरू। असम–तेजपुर–चाँदबारीमा भेटिएका नेपालीहरू भन्दैथिए, “दशैँ माने 'सेड्युल्ड कास्ट'को दर्जा पाइँदैन भन्दै दार्जीलिङबाट केही दाजुभाइहरू आएका थिए तर हाम्रा तामाङ दाजुहरूले 'दशैँमा टीका नलगाई, खसी नकाटी कहाँ हुन्छ? हामी संस्कृति छोड्न सक्तैनौँ' भन्दै फर्काइदिए।”

भाषा मान्यता दिवस (२० अगष्ट), दुर्गा मल्लको बलिदान दिवस (२५ अगष्ट) जस्ता सन्दर्भहरूसमेत उत्तरपूर्वी भारतका नेपालीहरूलाई एकत्रित गर्ने अवसर बन्ने गरेका छन्। भाषाका मामलामा भारतीय नेपालीका 'फादर फिगर' जत्तिकै मानिन्छन् भानुभक्त। पूर्वोत्तरका अन्य भाषाका साहित्यकारहरूलाई समेत भानुभक्तबारे राम्ररी थाहा छ। भानुकृत रामायणलाई असमियामा अनुवाद गरिसकेकी प्रा. गीता उपाध्याय भन्छिन्, “भानु जयन्तीमा आउने बङ्गाली, असमिया अतिथिहरूले भानुभक्तका बारेमा हामी जत्तिकै व्याख्या गर्न सक्छन्। त्यतिखेर हामीलाई नेपालका ती विभूतिमाथि गर्व लाग्छ।”

दार्जीलिङ, सिलगढीतिर मनाइने अगमसिंह गिरी जयन्ती र असम–मेघालयतिर मनाइने हरिभक्त कटुवाल जयन्तीले स्थानीयता र आफ्नोपनको सम्मान देखाउँछन्। असमका साहित्यकारहरू नेपालबाट कुनै साहित्यानुरागी पुगे ठेलीका ठेली पुस्तकहरू उपहार दिन्छन् र फुलबुट्टे गम्छा ओढाएर 'सम्वर्द्धना' अर्थात् सम्मान गर्छन्। साहित्य–सिर्जनाका लागि सिक्किम–दार्जीलिङमा जस्तो पर्याप्त पाठक र प्रकाशन संस्था नभएको बताउँदै नेपाली प्राज्ञिक परिषद गुवाहाटीका सभापति पीताम्बर गुरुङ भन्छन्, “हामीले असमिया पढेर, असमी वातावरणमा हुर्किएर पनि मातृभाषामा यति धेरै लेखिरहका छौँ। यसको मूल्याङ्कन हुन सकिरहेको छैन।” तेजपुरका के.बी. कौशिकको आग्रह छ, “हामी सधैँ नै नेपाल सम्झन्छौँ। तर उताका साहित्यकार त के, कृतिसमेत यता आउँदैनन्। हाम्राबारेमा खोजीनिती पनि हुँदैन। लीलबहादुर क्षत्रीपछि यत्रो जमात साहित्यमा हुँदाहुँदै पनि हामीलाई दन्त्यकथाका पात्र मात्र बनाइनुहुन्न।”

नभन्दै, असम–मेघालयमा भइरहेका साहित्यिक गतिविधि र प्रकाशनहरूको फेहरिस्त निकै लामो छ (हे. पृ.६०) साहित्यिक मासिक 'हाम्रो ध्वनि' ३८ वर्षदेखि निरन्तर निस्किरहेको छ। मेघालयको 'मादल' पनि नियमित हुने क्रममा छ। यो क्षेत्रबाट निस्किने कोसेली, देशवार्ता, खुकुरी जस्ता साप्ताहिकहरूमा मात्र नभएर सिलगढी बाट निस्कने सुनचरी, हिमालय दर्पण, हाम्रो पहाड दैनिकहरूमा समेत साहित्यिक सामग्रीको अंश उल्लेख्य पाइन्छ। पूर्वोत्तर नेपाली समुदायमा भारतीय एकेडेमी पुरस्कार विजेता नेपालीहरूको निकै मानमनितो छ। सिक्किम सरकारले यी सबैलाई रु. १००० का दरले मासिक पेन्सन दिने गरेको छ। र, त्यहाँको निर्वाण प्रकाशनले अन्य राज्यका राम्रा नेपाली कृति खोजी खोजी छापिदिने गरेको छ। सिलङका पत्रकार हेम जोशी भन्छन्, “साहित्यिक सक्रियता र प्रोत्साहनका निम्ति सिक्किम नेपाली समुदायमा गर्विलो उदाहरण बनेको छ।”

तर, नेपाली भाषा–सम्वर्द्धनका लागि पूर्वोत्तरका राज्यहरूमा सिक्किम–दार्जीलिङमा जस्तो वातावरण छैन। फाट्टफुट्ट भेटिने गोर्खा पाठशालाहरूमा समेत सबै तहमा नेपाली पढ्न पाइन्न। पर्याप्त पाठ्यक्रम पनि छैन। माध्यमिक तहमा एमआइएल (मेजर इण्डियन ल्याङवेज) का रूपमा कतै कतै नेपाली पढ्न पाउने व्यवस्था छ। केही कलेजहरूमा 'इलेक्टिभ सव्जेक्ट' का रूपमा नेपाली छान्न सकिन्छ। नेपाली विषयमा स्नातकोत्तर गर्न चाहनेहरूलाई भने नर्थ बङ्गाल युनिभर्सिटी वा काठमाडौँ नआई सुख छैन। यो परिस्थितिमा असम मेघालयका नेपालीहरूले कलेजमा एक विषय पढेरै भएपनि भाषिक ज्ञान तिखारिरहेका छन्। गुवाहाटीका बुद्धिजीवी डी.बी. छेत्री भन्छन्, “भाषाले संवैधानिक मान्यता पाएपछि सिभिल सर्भिस काउन्सिलमा पनि नेपाली भाषाले स्थान पाउनुपर्थ्यो। तर, दुःखको कुरा असममा अहिलेसम्म त्यसरी जाँच दिन पाइएको छैन।” सरकारले दिने सुविधा लिन नसकिरहेको, पूर्वोत्तरमा भनेजस्तो नेपाली पुस्तकालय समेत नभएको बताउँदै लीलबहादुर क्षत्री भन्छन्, “यहाँको साहित्यबारे केही खोज्नुपर्‍यो भने काठमाडौँको मदन पुरस्कार पुस्तकालय जानुपर्छ। यसरी हाम्रो भावना मात्र हैन, व्यवहारसमेत जोडिएको छ नेपालसँग।”

नेपालसँगको यो अन्तरसम्बन्धको मूल कारण चाहिँ उही हो– संसारभर जहाँ बसे पनि बिर्सनै नसकिने नेपाली पहिचान।