हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

एक वर्षको भयो मेरो मोबाइल

निजी लगानीको नेपालको पहिलो सेलुलर मोबाइल सेवा प्रदायक स्पाइस नेपालले सञ्चालनको एक वर्ष पूरा गरेको छ। मेरो मोबाइल ब्राण्डमा काठमाडौँबाट शुरु भएको स्पाइसको सेवा हाल विराटनगर, वीरगञ्ज, हेटौँडा, नारायणघाट, भैरहवा, पोखरालगायतका शहरहरूमा विस्तार भइसकेको छ। करीब दुई लाख ग्राहक रहेको स्पाइसले वार्षिकोत्सवकै उपलक्ष्यमा नेपालमा पहिलो पटक एमएमएस (मल्टिमिडिया सर्भिस) र 'पर्सनलाइज्ड रिङ ब्याक टोन' सेवा शुरु गरेको छ। मोबाइलबाटै इन्टरनेट, भ्वाइस मेल, एसएमएस जस्ता सेवाहरू प्रदान गर्दै आएको स्पाइसको सेवामा एटीडी कल र मुलुकभित्रको रोमिङ शुल्क नलाग्ने जनाइएको छ।

मुलुक भित्रको राजनीतिक अस्थिरता तथा नेपाल टेलिकम र सरकारले आवश्यक सहयोग नगरेका कारण ग्राहक विस्तारको लक्ष्य ६० प्रतिशत मात्र हासिल भएको गुनासो कम्पनीको छ। कम्पनीको तर्फबाट गैर आवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतोले भने, “हामीलाई विशेष होइन निष्पक्ष सहयोग चाहिएको हो तर सरकारले त्यति पनि गरेन।”

नेपाल टेलिकमले 'इण्टर कनेक्सन' शुल्क महँगो गरेका कारण आफ्नो सेवा विस्तारमा असर परेको तथा सरकारले 'अप्टिकल फाइबर'मा पहुँच नदिएपछि थप सेवाहरू दिन नसकेको दाबी स्पाइसको छ। महतो भन्छन्, “प्रतिस्पर्धाबाट डराएको टेलिकमले हाम्रो सेवा विस्तारमा कृत्रिम अप्ठेराहरू लादेको छ।”

रु.७ अर्बभन्दा बढी लगानीको भनिएको स्पाइसमा कजाखास्तानको भाइजर समूहको ६० र गैरआवासीय नेपालीहरूको ४० प्रतिशत शेयर रहेको छ।


नयाँ प्याकमा फुच्चे र चोकोफन

एसियन थाई फुड्सले आफ्नो उत्पादन फुच्चे तयारी चाउचाउलाई नयाँ स्वरुप दिएको छ। कम्पनीका अनुसार चाउचाउमा भएका भिटामिन तथा खनिजको सुरक्षा तथा ताजापनका लागि उपभोक्ता मूल्य रु.५ रहेको फुच्चे लाई नयाँ प्याकमा ल्याइएको हो।

उता सुजल फुड्सले पनि आफ्नो उत्पादन चोकोफन वेफरलाई नयाँ रुप दिएको छ। बालबालिकाहरूमा लक्षित उपभोक्ता मूल्य रु. ५ रहेको चोकोफन को आवरणलाई समयसापेक्ष र आकर्षक बनाइएको कम्पनीको भनाइ छ।


जोली को 'स्क्र्याच अफर'

दशैँ र तिहारको अवसर पारेर गोर्खा ब्रुअरीले आफ्नो उत्पादन जोली का लागि 'जोली गेट लक्की' नामक बिक्री प्रवर्द्धन योजना शुरु गरेको छ। योजना अन्तर्गत प्रत्येक जोली को खरीदसँग पाइने कुपन कोट्याउँदा फिलिप्स ३२ इञ्चको टेलिभिजन, आइपोड, मोबाइल सेट, सुनका सिक्कालगायतका उपहारहरू जित्न सकिन्छ। यसबाहेक पाँच वटा कुपनको सट्टा एक बोतल जोली सित्तैँमा दिने पनि कम्पनीले जनाएको छ।


पिटर इङ्गल्याण्ड को उपहार योजना

अन्तर्राष्ट्रिय ब्राण्डको पहिरन पिटर इङ्गल्याण्ड ले दशैँ तिहारको अवसर पारेर नेपाली बजारका ग्राहकहरूका लागि उपहार योजना ल्याएको छ। योजना अनुसार सो ब्राण्डका प्रत्येक पहिरनको खरीदमा एउटा हातेघडी उपहार राखिएको छ।


नेपालमा पहिलो 'वाटर किङ्डम'

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ 'एक्जोटिक रिसोर्ट एण्ड वाटर किङ्डम' ले धादिङको घाटबेसीमा मुलुककै पहिलो 'वाटर किङ्डम' नामक मनोरञ्जनस्थल सञ्चालनमा ल्याएको छ। झण्डै ७० रोपनीमा फैलिएको 'वाटर किङ्डम'मा मनोरञ्जनका लागि पानीको छहरा, पानीसहितको घुमाउरो चिप्लेटी, स्वीमिङ पुलका साथै रेस्टुरेन्ट, पिकनिकस्थल लगायतका सुविधाहरू राखिएको छ। प्रवेश शुल्क रु.२५० रहेको यस जलविहारमा बालबालिका, जेष्ठ नागरिक तथा समूहमा आउनेहरूलाई विशेष छूटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।


सेभ्रोले को नयाँ गाडी

जेनरल मोटर्सको अधिकृत बिक्रेता विजय मोटर्सले सेभ्रोले ब्राण्डका पेट्रोलबाट चल्ने दुई नयाँ मोडलहरू १६०० सिसीको सेभ्रोले एसआरभी कार र डिजल टर्बो इञ्जिन सहितको टभिरा एमयूभी गाडीहरू भित्र्याएको छ। इटालियन डिजाइनमा आधारित सेभ्रोले एसआरभी कारलाई पहिलो पटक एसियाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

एअर कण्डिशन, एअर ब्याग, अडियो सिस्टम सुविधा रहेको टभिरा मा १० जनासम्म अट्छन्। सुविधा अनुसार सेभ्रोले एसआरभी र टभिरा को मूल्य क्रमशः रु.२४.६ लाखदेखि रु.२६.२ लाख तथा रु.२२.२ लाखदेखि रु.३१.७ लाख राखिएको छ।


सीजी को डीभीडी

सीजी ब्राण्डमा स्वदेशमै टेलिभिजन उत्पादन शुरु गरेको चौधरी समूहले डीभीडी प्लेयरको पनि उत्पादन शुरु गरेको छ। डीभीडी, डीभीसीडी, भीसीडी, सीडी, एमपीथ्री, फोटो सीडी फरम्याटलगायतका डिस्कहरू चलाउन सकिने दुई मोडलमा उपलब्ध यस प्लेयरमा एक वर्षको वारेण्टी दिइएको कम्पनीले जनाएको छ। दशैँको उपलक्ष्यमा कम्पनीले
आफ्नो उत्पादन सिजी टीभीको प्रत्येक खरीदमा एउटा हातेघडी उपहार राखेको छ।


टि्रसा टुथपेष्ट बजारमा

स्थानीय बजारमा टूथब्रस र हेयर ब्रस उपलब्ध गराउँदै आएको स्वीस कम्पनी ट्रीसा ले आफ्नो अर्को उत्पादन टूथपेस्ट ल्याएको छ। स्वीस विश्वविद्यालयको सहयोगमा ६ वर्षको अनुसन्धानपछि यी टूथपेष्ट ल्याइएको कम्पनीले जनाएको छ। विभिन्न पाँच प्रकारमा ७५ ग्रामको प्याकमा उपलब्ध टूथपेष्टको थोक मूल्य रु.१३० रहेको छ।


स्टार क्रूजमा मिनु

'दशैँ तिहारको उमङ्ग, सोनी र स्टार क्रूजको सँग' भन्ने नाराका साथ सोनी को अधिकृत बिक्रेता नेपा हिमा ट्रेड लिङ्कले शुरु गरेको उपहार योजनाको पहिलो भाग्यशाली विजेता भएकी छिन् काठमाडौँकी मिनु सिंह। उनले स्टार क्रूज नामक जहाजमा सिङ्गापुरसहित दक्षिण पूर्वी एसियाका केही मुलुकको भ्रमण गर्ने टिकट जितिन्। कात्तिक आधा–आधीसम्म चल्ने यस योजनाअन्तर्गत थप तीन वटा भ्रमणको उपहार बाँकी नै रहेको कम्पनीले जनाएको छ।