रिपोर्ट
| जनस्वास्थ्य
उपेक्षित छन् समाज सुहाउँदा डाक्टर
विशेषज्ञहरू हत्पत्ति उपलब्ध नहुने जिल्लाका
अस्पतालहरूमा औषधि–उपचारदेखि चिरफारसम्म गरेर ती क्षेत्रमा आवश्यक
सबै किसिमको स्वास्थ्य सेवा पुर्याइरहेका एमडीजीपी डाक्टरहरू उल्टै
उपेक्षित छन्।
•
विवेकराज मौर्य
 |
| चन्द्रशेखर कार्की |
नेपालका जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरूमा हरेक
रोगका विशेषज्ञ 'एमडी' (मेडिकल डक्टरेट) चिकित्सक उपलब्ध छैनन् र निकट
भविष्यमा हुनसक्ने अवस्था पनि छैन। त्यसैले नेपालका जिल्ला अस्पताल
र स्वास्थ्य केन्द्रका लागि सबै प्रकारका रोग र उपचारबारे जानकारी
राख्ने 'एमडीजीपी' (मेडिकल डक्टरेट इन जनरल प्राक्टिस) चिकित्सक उपयुक्त
मानिएका छन्।
शहरी क्षेत्रमा चिकित्सकहरू धेरै हुने भएकाले बिरामीलाई
विभिन्न रोगका लागि छुट्टाछुट्टै विशेषज्ञको उपचार सेवा उपलब्ध हुन्छ,
तर दुर्गम तथा ग्रामीण क्षेत्रमा त्यस्तो अवसर विरलै प्राप्त हुन्छ।
त्यस्ता क्षेत्रका वासिन्दालाई स्वास्थ्य सेवा पुर्याउन सक्ने एमडीजीपी
चिकित्सकहरू नै हुन्, जसले सबै खालका रोगको उपचार र शल्यक्रिया गर्न
जानेका हुन्छन्। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन
संस्थानको तीनवर्षे माष्टर्स डिग्री एमडीजीपी गरेका, दाङको महेन्द्र
अस्पतालमा कार्यरत डा. प्रबोध रेग्मी भन्छन्, “एउटा बिरामीमा विभिन्नखाले
समस्या हुन्छन्। एउटा 'स्पेशलिष्ट' ले प्रायः आफ्नो विषयमा मात्रै
हेर्ने गर्छ। त्यसैले सामान्यतया सबै विषय हेर्ने भएकाले एमडीजीपी
लोकप्रिय भएका हुन्।” अहिले बर्दिया, सुर्खेत, बाग्लुङ, दाङ, पाँचथरलगायत
चारदर्जन जति जिल्लामा एमडीजीपी चिकित्सकहरूको सेवा उपलब्ध छ।
एम्बीबीएस् (ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी)
गरेका चिकित्सकमा सीमित दक्षता हुने भएकाले तिनले सबै किसिमका रोगको
उपचार गर्न सक्दैनन्। त्यसैगरी कुनै एक विधामा 'स्पेसलाइजेशन' गरेका
एमडी चिकित्सक पनि सबै रोगको उपचार गर्न उत्तिकै सिपालु हँुदैनन्।
यो अवस्थालाई ध्यानमा राखेर विकास गरिएको एमडीजीपी कार्यक्रम अन्तर्गत
एम्बीबीएस् गरिसकेका चिकित्सकलाई बालरोग, प्रसूति, शल्यक्रिया, औषधिलगायत
जनस्वास्थ्यसँग सरोकार राख्ने सबै विषयमा पढाउने गरिन्छ। नेपालको ग्रामीण
परिवेशमा आवश्यक प्रमुख स्वास्थ्य सेवा पनि यिनै हुन्। नेपालका विभिन्न
स्थानमा कार्यरत एमडीजीपीका बारेमा अध्ययन गरिरहेका डा. भूषण न्यौपाने
भन्छन्, “एमडीजीपी चिकित्सकहरूलाई रोगहरूबारे गहिराइमा थाहा नभए पनि
उपचारको लागि आवश्यक जानकारी हुन्छ। र, यो नेपालका लागि उपयुक्त पनि
छ।”
नेपालमा ८०–९० जना एमडीजीपी डाक्टरहरू छन्। तिनमध्ये
आधाजसो उपत्यका बाहिर कार्यरत छन्, जसमध्ये एक डा. प्रबोध रेग्मी भन्छन्,
“हाम्रो पाठ्यक्रम मेडिकल केयर, सर्जिकल केयर र इमर्जेन्सी उपचारका
विषयमा केन्द्रित भएकाले एमडीजीपी गरेका डाक्टरहरूलाई 'सिङ्गल डाक्टर
विथ मल्टिपल स्किल' का रूपमा लिन सकिन्छ।” नेपालको ग्रामीण स्वास्थ्य
सेवामा सहयोग पुर्याउँदै आएको संस्था निक साइमन इन्ष्टिच्युटका कार्यकारी
निर्देशक मार्क जिम्मरम्यान पनि नेपालमा विद्यमान स्वास्थ्य स्थिति
र समस्यालाई हेर्ने हो भने एमडीजीपी विशेषज्ञको भूमिका नै बढी देख्छन्।
आवश्यक तर उपेक्षित
विकसित मुलुकहरूको तुलनामा नेपालमा जनसङ्ख्याको अनुपातमा चिकित्सकहरूको
सङ्ख्या निकै थोरै छ– १८ हजारका लागि १ जना। तर अत्यधिक चिकित्सक रहेका
इटली र ग्रीसमा २५० जनाका लागि १ चिकित्सक छन्। यिनै चिकित्सक पनि
ठूला शहरबजारमा केन्द्रित भएकाले ग्रामीण क्षेत्रको जनसङ्ख्या र डाक्टरको
अनुपात झन् कहालीलाग्दो छ।
विश्वको जनस्वास्थ्य सेवालाई सरल र सहज बनाउन सन् १९७८
मा तत्कालीन सोभियत संघको अल्माअटा शहरमा भएको प्राथमिक स्वास्थ्य
उपचारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले स्थानीय चिकित्सकहरूलाई सामाजिक
र प्राविधिक तालिम दिएर एमडीजीपी शिक्षातर्फ उन्मूख गराउनुपर्ने प्रस्ताव
पारित गरेको थियो। नेपालमा पनि देशको भौगोलिक, सामाजिक र आर्थिक स्थितिलाई
ध्यानमा राखेर सन् १९८१ देखि नै एमडीजीपीको खाँचो महसूस गरिएको थियो।
यसअनुरुप, स्वास्थ्य मन्त्रालय र क्यानडाको क्यालगरी विश्वविद्यालयको
संयुक्त प्रयासमा त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन
संस्थान, काठमाडौँमा एमडीजीपीको अध्यापन शुरु गरियो। हाल त्रिविलगायत
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुर, लगनखेलस्थित
पाटन अस्पतालमा गरेर तीन ठाउँमा यसको अध्यापन हुनेगरेको छ।
 |
| उदय जीएम |
पश्चिमी देशमा यस्ता विशेषज्ञहरू 'फेमिली फिजिसियन'
भनेर चिनिन्छन्। सन् १९९४ देखि बेलाबेलामा नेपाल आएर जिल्ला अस्पतालमा
काम गर्दै आएका बेलायती मानवशास्त्री डा. इयान हारपर भन्छन्, “पश्चिमी
मुलुकमा एमडीजीपी चिकित्सकलाई देखाएर रोग निर्क्योल भइसकेपछि मात्र
अन्य विशेषज्ञलाई 'रिफर' गर्ने प्रचलन छ।” शङ्काको भरमा विशेषज्ञ भेट्नुपर्दा
स्रोत र समय दुवै दुरुपयोग हुने हारपरको धारणा छ।
तर, नेपालमा एमडीजीपी चिकित्सकहरूको उपयोगिता जति नै
भएपनि यसतर्फ सरकारी कार्यक्रमहरू एकदमै उदासीन रहेको सम्बन्धित चिकित्सकहरू
बताउँछन्। एमडीजीपी अध्यापनले निरन्तरता पाइरहे पनि यस विषयका विज्ञहरूको
भविष्य अन्योलमा रहेकाले यस्तो कोर्समा आकर्षित हुने डाक्टरहरूको सङ्ख्या
पनि घट्दै जान थालेको छ। लोकप्रिय हुँदाहुँदै पनि किन यस्तो भयो त?
सधैँ जिल्लामा रहने हुनाले आफूहरू अवसरबाट वञ्चित, उपेक्षित, उचित
प्रोत्साहन र स्रोतसाधनको अभावमा काम गर्नुपर्ने अवस्थामा रहेको चिकित्सक
बताउँछन्। डा. प्रबोध रेग्मी भन्छन्, “जिल्ला, अञ्चल, क्षेत्र र केन्द्र
कुनै ठाउँमा एमडीजीपीलाई पर्याप्त दरबन्दी दिइँदैन, यसो भएपछि बढुवाको
सम्भावना पनि रहँदैन। त्यसैले हामी पछाडि परेका छौँ।” यसलाई स्वीकार
गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता, अर्जुनबहादुर सिंह भन्छन्,
“हाम्रो परिवेशमा एमडीजीपी एकदमै आवश्यक छ। तर, जिल्लामा सीमित स्रोतसाधन
हुने भएकोले उनीहरूलाई काम गर्न कठिनाइ भइरहेको छ।” प्रवक्ता सिंह
यस वर्षदेखि जिल्ला अस्पतालहरूमा पर्याप्त मात्रामा साधनस्रोत पुर्याउन
प्रयास गरिने बताउँछन्।
राजधानीको अनुपातमा जिल्ला सदरमुकाम र ग्रामीण क्षेत्रमा
रहेका चिकित्सकहरूलाई व्यक्तिगत काम गर्ने अवसर पनि थोरै नै हुन्छ।
त्यसैले उनीहरूलाई जिल्लामा बसेर काम गर्ने उत्साह हुँदैन। सन् १९९४
मा ताप्लेजुङमा काम गरेको अनुभवका आधारमा डा. हारपर सल्लाह दिन्छन्,
“ग्रामीण भेगमा रहेका चिकित्सकहरूलाई उच्च शिक्षा तथा तालिमका लागि
प्राथमिकता दिनुपर्छ र तिनले गर्न खोज्ने कामलाई सरकारले सक्दो सहयोग
र प्रोत्साहन दिनु जरुरी छ।” नेपालमा कार्यरत स्वास्थ्य अनुसन्धानकर्ता
डा. ज्याक हेय्ज थप्छन्, “साधारणतया नेपालको ग्रामीण भेगमा खटाइने
डाक्टरहरूलाई सजाय दिन पठाइए जस्तो व्यवहार गरिन्छ। जबकि भौतिक सामग्री
तथा अन्य सुविधा थप गरेको खण्डमा तिनीहरू सम्मानित भएको अनुभूति गर्ने
थिए।”
भुक्तभोगी डाक्टरहरू एमडीजीपीलाई प्रभावकारी गराउन अध्ययन,
अनुसन्धानको सुविधा, व्यक्तित्व विकासको अवसर हुनुपर्ने बताउँछन्।
साथै जिल्लादेखि केन्द्रसम्म पद वा दरबन्दीको सिर्जना, एमपीएच (मास्टर्स
अफ पब्लिक हेल्थ) गराएर महाशाखा, विभाग वा मन्त्रालयमा प्रशासकीय भूमिका
दिन सकिने व्यवस्था पनि गर्नुपर्छ भन्ने उनीहरूको धारणा छ।
आवश्यक सहयोग र अवसरको सम्भावना नदिई चिकित्सकहरूले
जिल्ला तथा ग्रामीण भेगमा गएर काम गरुन् भनेर गरिने अपेक्षा गलत हो।
डा. भूषण न्यौपाने भन्छन्, “कतिपय परिस्थितिमा चिकित्सक एक्लो परिरहेको
हुन्छ। अहेव वा अनमीले गर्नुपर्ने काम पनि ऊ आफैँ गरिरहेको हुन्छ।”
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने त्यस्तो सरसल्लाह र परामर्शको
लागि यसै वर्षदेखि 'इ–मेडिसिन' को थालनी गर्ने गृहकार्य भइरहेको बताएका
छन्।
यतिका समस्या भएपनि भारत र पाकिस्तान जस्ता चिकित्साशास्त्र
अध्ययनमा यो क्षेत्रका अग्रणी मानिने मुलुकले पनि एमडीजीपीमा नेपालबाट
पाठ सिक्न खोजिरहेको विशेषज्ञहरूको भनाइ छ। डा. ज्याक हेय्ज भन्छन्,
“एमडीजीपीको शिक्षा र उपयोगितामा नेपालले दक्षिण एशियामै राम्रो उदाहरण
प्रस्तुत गर्न सफल भएको छ। तर, यसमा अरू धेरै काम गर्न बाँकी नै छ।”
साथमा उदय जीएम, घोराही
प्रेरणादायी सेवा
तेह्र वर्षअघि रूसबाट पढेर आउनेवित्तिकै गाउँतिर काम गर्न गएका डा.
गुणराज लोहनी गुल्मी, जाजरकोट, खोटाङ चहार्दै दुई वर्षदेखि प्रमुख
जिल्ला स्वास्थ्य अधिकृतको रूपमा पाँचथरमा छन्। तनहुँको चिसापानीमा
४४ वर्षअघि जन्मेका लोहनीले 'जेनरल प्राक्टिस' मा 'एमडीजीपी' गरेका
छन्। उनी 'स्टेथेस्कोप' मात्र भिर्दैनन्, छुरी चलाएर चिरफार पनि गर्छन्।
फिदिम अस्पतालमा गएको वर्ष मात्रै उनले औषधोपचारबाहेक डेढ सय भन्दा
बढी विरामीको अपरेशन गरे। पित्तको अपेन्डिक्स झिकेका, हर्निया टालेका
र कम्तीमा ५० आमाहरूको गर्भबाट 'अपरेशन' गरेर बच्चालाई जन्म दिएका
छन्।
डा. लोहनीको जोशले गाउँका उपस्वास्थ्य चौकीदेखि जिल्ला
अस्पतालसम्म उत्साहको वातावरण देखिन्छ। होस्टेमा हैँसे गर्ने समुदायहरू
छँदैछन्। यसैको परिणाम हो– अस्पताल र स्वास्थ्य चौकीहरूमा इमर्जेन्सी
उपकरण, औषधि र स्वास्थ्यकर्मीको अभाव हुँदैन। डा. लोहनी भन्छन्, “खट्नु
चाहिँ पर्छ, अन्यत्र पनि यस्तो गर्न त्यति गाह्रो छैन।” अहिले फिदिम
अस्पतालमा डाक्टर छन्, राम्रो अपरेशन थिएटर छ, इमर्जेन्सी सेवा पाइन्छ
भन्ने चर्चा आसपासका जिल्लाहरूमा पनि फैलिएको छ। ताप्लेजुङ र तेह्रथुमका
अस्पताल तथा स्वास्थ्य केन्द्रहरूबाट 'रिफर' गरिएका बिरामी फिदिम अस्पताल
आउँछन्।
उसै पनि दुर्गम क्षेत्र र गाउँघर जान नचाहने चिकित्सकहरूलाई
पछिल्लो दशकमा द्वन्द्वले झन् राजधानी वा जिल्ला सदरमुकाम नछाड्ने
बहाना थपिदिएको थियो। तर डा. लोहनी भने सदरमुकाममै थन्किएर बसेनन्।
उनले पाँचथरका ४० वटै गाविस पैदल छिचोलेका छन्। उनी भन्छन्, “कामै
नगर्नेहरूका लागि द्वन्द्व एउटा सजिलो बहाना थियो। तर मैले दोहोरो
भिडन्तमा परेका धेरै घाइते नेपालीहरूको उपचार गर्ने मौका पाएँ, चाहे
ती सेना हुन् वा माओवादी।” गाउँघर र दुर्गम जिल्ला चहार्ने यस्ता डाक्टरका
समस्या पनि आफ्नै खालका छन्। बोकेदारी सुम्सुम्याउँदै उनी थप्छन्,
“परिवारलाई छाडेर दुर्गम ठाउँमा बस्न गाह्रो हुन्छ नै। परिवारसँग वर्षको
दुई पटक मात्रै भेट हुन्छ। यसबाहेक छोराछोरीको पढाइको समस्याले पनि
पिरोल्छ।”
जिल्ला–जिल्लामा डाक्टर खटाउने र त्यहाँ उनीहरूलाई पूरै
समय बस्ने सिस्टम बसाल्ने हो भने राजधानीमा मात्र ५–६ हजार डाक्टर
थुप्रिने स्थिति बदल्न सकिन्छ भन्ने डा. लोहनीको विश्वास छ। यस्तो
'सिस्टम' को व्याख्या गर्दै उनी भन्छन्, “भर्खरै डाक्टरी पढेर आएको
व्यक्तिलाई आफ्नो सीप विकास गर्ने इच्छा हुन्छ। यसका लागि उसले सरकारबाट
'हामी तिमीलाई बिर्सिँदैनौँ' भन्ने आश्वासन मात्र चाहन्छ। कहिले–कहिले
कुन–कुन जिल्ला जानुपर्छ, जिल्लामा कति वर्ष काम गरेपछि उच्च शिक्षा
पढ्न जान पाइन्छ भन्ने मात्र सुनिश्चित हुनुपर्छ।”
डा. लोहनीको विचारमा, 'एमडीजीपी' गरेका डाक्टरको सेवालाई
संस्थागत गर्दै जिल्ला–जिल्लामा पुर्याउन सके त्यो नेपालको भूगोल,
अर्थतन्त्र र सामाजिक परिवेशमा अत्यन्तै उपयोगी हुन्छ। उनको कथन छ,
“ठूलाठूला अपरेशन र केही दिन कुरेर गर्न सकिने उपचारका लागि त बिरामीलाई
अन्त पठाउन सकिन्छ, तर दुर्गम ठाउँ हुन्छ, इमर्जेन्सी केस आउँछ र बिरामीको
ज्यान जोगाउन तुरुन्तै अपरेशन गर्नुपर्ने हुन्छ। त्यसैले जिल्लामा
बस्ने डाक्टर 'अलराउन्डर' हुनुपर्छ। हाम्रो जस्तो साधन–स्रोतको कमी
भएको मुलुकमा जिल्लामा एउटा जनरल प्राक्टिसनर र एउटा एमबीबीएस डाक्टर
भए पुग्छ।” यसका लागि उनले आफ्नै पहलमा धरानको बीपी कोइराला स्वास्थ्य
प्रतिष्ठानसँग मिलेर तीनमहिने 'एमडीजीपी इन्टर्नसिप' कार्यक्रम पनि
शुरु गरेका छन्।
•
शृङ्खला शर्मा
|