रमझम
खुश्बूको सौन्दर्य
खुश्बू ओली (१६) उमेरले सानी भए पनि प्रौढका झैँ कुरा
गर्छिन्। कुरा गर्दै जाँदा उनीभन्दा सुन्दर लाग्छन् उनका अन्तरमनका
विचार। १४ भदौमा काठमाडाँै जेसिसले आयोजना गरेको किशोरी सुन्दरी प्रतियोगिता
मिस टीन नेपाल २००६ को उपाधि जितेपछि उनले हिमाल सँग भनिन् “म धेरै
राम्री हैन ठिक्कैकी छु जस्तो लाग्छ।”
प्रतियोगितामा भाग लिनुको कारण? खुश्बू भन्छिन्, “आफ्नो
परिचय बनाउन र अनुभवका लागि।” उपाधिसँगै अहिले पाइरहेको मिडिया एक्सपोजरले
परिचय बन्दै गएको महसूस गरेकी उनको विचारमा शरीरको बाहिरी सौन्दर्यलाई
मात्र सुन्दरता मान्न सकिन्न। भन्छिन्, “बाहिरी रुप मात्र हैन, दिमागी
सौन्दर्यले सुन्दरताको मापन गरिनुपर्छ।” आफूमा रहेको आत्मविश्वासका
कारण चर्को प्रतिस्पर्धा भएपनि सफल भएको उनी बताउँछिन्। सौन्दर्य–कसीको
यस्तो स्वाद उनलेे यसअघि दश वर्षको उमेरमै पनि चाखिसकेकी थिइन्। जेसिसले
नै गरेको लिटिल लेडी २००० को उपाधि जितेकी खुश्बूको अबको लक्ष्य छ
मिस नेपालको ताज पनि पहिरिने। लाजिम्पाटको जेभियर्स एकेडेमीमा एघार
पढ्दै गरेकी उनी भन्छिन्, “प्लस टु सकेर मात्रै मिस नेपालमा भाग लिन्छु।”
दलितका विषयमा कार्यपत्र प्रस्तुत गर्न भारत र बङ्गलादेशसम्म
पुगेकी उनी दलित शब्दले दलितहरूलाई होच्याएकोले यो शब्द नै हटाउनुपर्ने
र हरेकले आफू र आफ्नै घरबाट प्रयास गरे छुवाछूत हटेर जाने बताउँछिन्।
अहिले महिला समानता र विश्व आतङ्कवादका बारेमा समेत स्वअध्ययन गरिरहेकी
खुश्बूको विचारमा महिलामाथि महिलाबाटै हुने विभेद नहटेसम्म समानता
सम्भव छैन। पढेलेखेका र जान्नेसुन्ने महिलाहरूबाटै पिछडिएका महिलामाथि
भेदभाव हुने गरेको उनको ठहर छ। भन्छिन्, “महिलाका लागि ३३ प्रतिशत
छुट्याउने अधिकार पुरुषलाई छैन। आधा आकाश ढाक्ने महिला र पुरुषबीच
जुन समानता छ त्यो व्यवहारमा लागू भए हुन्छ।”
कीर्तिपुर निवासी खुश्बू उपाधि जितेपछि पनि ग्ल्यामर–मोडलिङको
क्षेत्रमा भने नलाग्ने बताउँछिन्। व्यावसायिक र्याम्प मोडलिङ नगरे
पनि विज्ञापन र म्युजिक भिडियोमा भने काम गर्ने उनको इच्छा छ। पौडी
र नृत्यकी शौखिन खुश्बूले विद्यालय पढ्दैदेखि वक्तृत्वकलामा पुरस्कारहरू
जित्दै आएकी छन्। बोलिरहन र अनुसन्धानमूलक कार्यपत्र लेख्न रुचाउने
उनलाई टिभी एङ्कर बनेर सबैको अगाडि आफ्नो आवाज र अनुहार पुर्याउने
चाहना पनि छ। एमबीए पढेर व्यापार व्यवसायमा जम्ने सपना सँगालेकी उनको
पहिलो प्राथमिकता भने अहिलेलाई पढाइ नै हो। इलेक्ट्रोनिक्सको व्यापार
गर्ने परिवारकी कान्छी छोरी खुश्बू भन्छिन्, “भविष्यमा म 'बिजनेश टाइकुन'
भएर आउँछु जस्तो लाग्छ।”
मोडल: खुश्बू ओली
तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटिपार्लर, बागबजार
•
अनुशील
रिपोर्ट
अबका प्रज्ञा–प्रतिष्ठान
साहित्य, कला र नाट्य क्षेत्रमा तीन वटा प्रज्ञा
प्रतिष्ठानको अवधारणा सार्वजनिक भएपछि स्रष्टाहरूमा उत्साह जागेको
छ। तर विगतका उदाहरणहरूलाई हेर्दा ढुक्क हुने अवस्था भने छैन।
 |
| तस्बिरहरूः किरण पाण्डे |
| नेपाल प्रज्ञा–प्रतिष्ठान। |
कलाकार, साहित्यकार, सङ्गीतकर्मी तथा नाट्यकर्मीहरूले
उठाउँदै आएका छुट्टाछुट्टै विधाका एकेडेमीको माग अब चाँडै पूरा हुने
सङ्केत देखा परेको छ। जनआन्दोलन–२ को बलमा बनेको सरकारले स्रष्टा र
कलाकारको मागलाई सम्मान गर्दै गत जेठमा साहित्यकार वैरागी काइलाको
संयोजनमा रामेश श्रेष्ठ, निनु चापागाई, सुनील पोखरेल, सुधा त्रिपाठी,
किरण मानन्धर, विष्णु प्रभात, हरिहर शर्मालगायतको 'सुझाव सिफारिस समिति'
गठन गरेको थियो।
समितिले भाषासाहित्य, ललितकला र सङ्गीत–नाट्य एकेडेमीको
आवश्यकता र अवधारणा सहितको सुझाव सिफारिस गरेपछि पछिल्लो समयमा प्रस्तावित
प्रज्ञा–प्रतिष्ठानको ऐन बनाउनका निम्ति अहिले ६ सदस्यीय कार्यदल सक्रिय
छ। समितिका सदस्य कलाकार किरण मानन्धर भन्छन्, “सकेसम्म दशैँ अगाडि
नै तीनै
वटा प्रतिष्ठानको घोषणा होस् भन्ने चाहना छ।”
कला, साहित्य र सङ्गीत–नाट्य एकेडेमीको माग नयाँ होइन।
यस बारेमा विगतका दिनमा व्यापक कुरा उठेपछि २०४७ र २०५२ सालमा सरकारले
सुझाव समिति समेत बनाएको थियो। तर समितिका सुझावहरूलाई थान्को लगाउँदै
तत्कालीन सरकारले एउटै प्रज्ञा–प्रतिष्ठानभित्र सबैलाई गाभेर लैजाने
सोच अनुरुप नै काम गर्दै आयो। त्यसैले अहिलेको समितिको सुझाव अनुरुप
तीन वटा एकेडेमी तत्कालै बनिहाल्ने कुरामा पनि स्रष्टाहरू पूर्ण विश्वस्त
छैनन्। अहिले राष्ट्रका धेरै मुद्दाहरू समाधान हुन बाँकी नै छन्। दिनैपिच्छे
नयाँ राजनीतिक घटनाक्रम देखिँदैछ। यसको असर अब बन्ने प्रज्ञा–प्रतिष्ठानमा
पनि नपर्ला भन्न सकिन्न। सङ्गीतकर्मी रामेश श्रेष्ठ भन्छन्, “लामोे
सङ्घर्षपश्चात् अहिले तीन वटा एकेडेमी बन्न लाग्दैछन्। तर अहिलेको
सङ्क्रमणकालीन समयमा राज्य पक्षको व्यवहार देख्दा छुट्टाछुट्टै एकेडेमीकोे
मुद्दा ओझेलमा पर्दैन भन्ने कुरामा विश्वस्त भइहाल्न सकिन्न।” रामेशको
विचारमा अहिलेको वार्ता सफल भएपछि र संविधानसभाको चुनावपछि मात्र प्रज्ञा–प्रतिष्ठान
स्थापना होला।
 |
| निर्माणाधीन राष्ट्रिय नाचघर। |
२०१४ सालमा भाषा–साहित्यको विकास र सम्बर्द्धन गर्ने
उद्देश्यले स्थापना भएको प्रज्ञा–प्रतिष्ठान आरम्भदेखि नै पुस्तक प्रकाशन
र गोष्ठी–सेमिनारमा बढी केन्द्रित रहँदै आएको देखिन्छ। राजधानीकेन्द्रित
योजनाहरू, प्राज्ञहरूको भत्ता र सुविधा, नवीन र दीर्घकालीन सोचको अभाव
जस्ता कुरामा साहित्यकारबाट नै विरोधका स्वरहरू सुनिए पनि प्रतिष्ठानमा
परिवर्तन आउन सकेन।
२०२७ सालमा प्रज्ञा–प्रतिष्ठानमा सुविधासम्पन्न नाट्यशाला बनेपछि यहाँ
नाट्य–सङ्गीतको गतिविधि पनि हुन थालेको हो। यसै क्रममा प्रतिष्ठानले
थुप्रै कलाकारहरू करारमा नियुक्त गर्यो। तीस र चालीसको दशकमा प्रज्ञा–प्रतिष्ठान
मोफसलका नाट्य समूहहरूलाई रङ्गकर्म गर्न प्रोत्साहन र सहयोग गर्नुको
सट्टा धेरैजसो समय प्रतिष्ठानकै प्राज्ञहरूद्वारा लिखित नाटकहरू मञ्चन
गर्नमा क्रियाशील रह्यो। प्रतिष्ठानका सङ्गीत–नाट्य विभागका एक पूर्व
प्राज्ञ भन्छन्, “एकेडेमी आफैँ काम गर्ने नभई अरूका निम्ति काम गर्न
सक्ने सहज वातावरण बनाउने गरिमामय संस्था हुनुपर्ने हो जुन कहिल्यै
बन्न सकेन।”
प्रज्ञा–प्रतिष्ठानले ललितकलाको विधालाई समेट्न नसकेपछि
२०२२ सालमा नेपाल ललितकला संस्था (नाफा) को स्थापना भएको हो। नाफाको
आरम्भको कार्यबाट उत्साहित कलाकारहरू यसलाई छुट्टै एकेडेमीको स्वरुप
दिइनुपर्ने कुुरामा जोड दिन थाले। तर २०३० सालमा 'प्रज्ञा–प्रतिष्ठान
अध्यादेश' जारी भएपछि प्रतिष्ठानमा भाषा–साहित्यसँगै कला, संस्कृति
र विज्ञानलाई पनि समावेश गरियो। अनि, २०३४ सालमा 'नाफा'लाई समेत प्रज्ञा–प्रतिष्ठानमा
गाभियो र 'नाफा' प्रतिष्ठानको कलाकौशल विभागमा परिणत भयो। कलाकारहरूले
यो छुट्टै स्वायत्त ललितकला एकेडेमी हुनुपर्छ भन्ने माग भने राखिरहे।
कलाकार मदन चित्रकार भन्छन्, “छुट्टै ललितकला एकेडेमीको अभावमा आजसम्म
'ललितकला' को व्यवस्थापन गर्न राज्यले जिम्मेवारी दिएका व्यक्ति वा
निकाय एउटा दूरगामी दिशाबोधको खाका कोर्न समेत समर्थ भएका छैनन्।”
२०४६ सालको जनआन्दोलन सफल भएपछि उसबेलै पनि कलाकार र
साहित्यकारले तत्काल तीन वटा एकेडेमी चाहिन्छ भनेर अभियान चलाएका थिए।
अभियानको प्रभाव स्वरुप अन्तरिम सरकारलेे 'सम्भाव्यता अध्ययन आयोग'
गठन गर्यो। आयोगले अधिराज्यका विभिन्न स्थानसम्म पुगेर तीन वटा एकेडेमीको
आवश्यकता सहितको रिपोर्ट प्रधानमन्त्रीलाई बुझायो तर कार्यान्वयन गरिएन।
त्यसपछि जननिर्वाचित सरकार आएपछि प्रतिनिधिसभा सांसदहरूले बृहत् छलफल
गरेर एउटा संसदीय समिति बनाए। त्यसमा नरहरि आचार्य, जगदीश समशेरलगायतले
विधेयक निर्माणको दायित्व पाएका थिए। तर उनीहरूले त्यो बेला तीन वटा
एकेडेमीको आवश्यकता महसूस गरेनन् र भौतिक कठिनाई भन्दै एउटै एकेडेमी
राख्ने निर्णय गरे।
 |
| कृष्ण शाह यात्री |
सदनबाट विधेयक पारित भएपछि ललित कला, सङ्गीत–नाट्य,
भाषा–साहित्य, संस्कृति र इतिहासबाट २/२ जना प्राज्ञ राख्नुपर्ने प्रावधान
तोकियो। २०४७ पछिको प्राज्ञ सदस्यमा यो प्रावधान लागू भएपछि यसपछि
बनेका दुई वटा प्राज्ञ समूहमा भाषा–साहित्य क्षेत्रकाहरूकै बोलवाला
देखियो। २०५२ सालमा मोदनाथ प्रश्रित शिक्षा मन्त्रीहुँदा तीन वटा एकेडेमीको
लागि रामेश, रायन, अम्बर गुरुङ्ग लगायतका व्यक्तिहरूको अर्को सुझाव
समिति गठन भयो तर त्यो समितिको सुझाव पनि कार्यान्वयन हुन सकेन।
लोकतन्त्रको स्थापनापश्चात् अहिले धेरै साहित्यकार तथा
कलाकारको अपेक्षा चाँडै तीन वटा एकेडेमी बनोस् भन्ने रहेको देखिन्छ।
विगतका दिनहरूमा सुझाव समिति बन्दै र थन्किँदै गरेको भएतापनि यो पटक
काम हुने कुरामा 'वर्तमान कार्यदल' आश्वस्त देखिन्छ। कार्यदलका सदस्य
हरिहर शर्मा भन्छन्, “तीन वटा एकेडेमीको आवश्यकता निकै छ र अहिले एकेडेमीको
स्वरुप र कार्य–योजनाका साथै ऐन बनाउने जस्ता कार्यहरू द्रुतगतिमा
भइरहेकोले छिट्टै बन्नेछ जस्तो लाग्छ। ”
तीन प्रज्ञा–प्रतिष्ठानका निम्ति नाफा भवनलाई ललितकला
एकेडेमी, सांस्कृतिक संस्थानलाई सङ्गीत–नाट्य एकेडेमी र हालको प्रज्ञा–प्रतिष्ठानको
भवनलाइै भाषा–साहित्य एकेडेमीको मुख्यालयका रुपमा लिने गरिएको छ। पछिल्लो
सुझाव समितिले कुन एकेडेमी कहाँ हुनुपर्छ भन्ने सुझाव दिएको छैन। तर
पनि सांस्कृतिक संस्थानका कलाकार/कर्मचारीले संस्थानलाई सङ्गीत–नाट्य
एकेडेमीमा गाभेर संस्थानको अस्तित्व मास्न लागिएको भनी विरोध जनाएका
छन्।
विज्ञहरूका विचारमा अब बन्ने प्रज्ञा–प्रतिष्ठानले राजधानीमा
मात्र कार्यकेन्द्रित नगरी मोफसलको कला, संस्कृतिलाई उठाउने, नीतिनिर्माण
गर्ने, सम्बर्द्धन एवं प्रबर्द्धन गर्ने, बजेटको व्यवस्था गर्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय
क्षेत्रमा कार्य–संयोजन गर्ने जस्ता धेरै काम गर्नुपर्ने देखिन्छ।
यसको विस्तार राजधानी बाहिर समेत हुनुपर्छ। रामेशकै शब्द सापटी लिने
हो भने, “अबको एकेडेमी जनताको हितका निम्ति बन्नुपर्छ। सीमित वर्ग
र क्षेत्रको लागि मात्र बन्नुहुँदैन।”
तस्बिरमा दशवर्षे द्वन्द्व
 |
| परिकल्पनाकार कुन्द दीक्षित र पुस्तकको आवरण। |
नेपालको दशवर्षे द्वन्द्वका कथा–व्यथाहरू अहिले पनि युद्धमा छोराछोरी
गुमाएका बाबुआमाका आँसुमा देखिन्छन्, कतै बाबु–आमा गुमाएका टुहुराहरूका
आँखामा त कतै विधवाका मलीन मुहारहरूमा समेत आलै भेटिन्छन्। यस्तै यथार्थ
चित्रहरूलाई लडाइँमा जनताः नेपालका युद्धका चित्रहरू २०५२– २०६३ नामक
पुस्तकमा समेटिएको छ।
पुस्तकको आवरण र छानिएका तस्बिरहरूलाई २७ भदौमा सार्वजनिक गर्दै परिकल्पनाकार
कुन्द दीक्षितले भने “यो पुस्तक तीन भाषामा छ, अङ्ग्रेजी, नेपाली र
अर्को तस्बिरको भाषा।” पुस्तकले वितेका दश वर्षको द्वन्द्वको कथा बोलेको
उनले बताए।
नेपा–लयद्वारा प्रकाशित यस पुस्तकमा ११३ फोटोग्राफरहरूले खिचेका २
हजार ५६१ तस्बिरहरूमध्ये नेपालको दश वर्षको युद्ध झल्काउने १८० उत्कृष्ट
तस्बिरहरू सङ्गृहीत छन्। द्वन्द्वग्रस्त क्षेत्रका नेपाली पत्रकार,
विदेशी पत्रकार, फोटोपत्रकारहरूका तस्बिर पुस्तकमा अटाएका छन्। तस्बिरको
छनौट दीक्षितसहित अन्तर्राष्ट्रि्रयस्तरमै कहलिएका फोटोग्राफर शाहीदुल
अलाम र पत्रकार श्याम टेकवानीको तीन सदस्यीय समितिले गरेको थियो। सार्वजनिक
रूपमा आह्वान गरेर सङ्कलन गरिएका तस्बिरहरू उत्कृष्टताका आधारमा छनौट
गरिएको हो। पुस्तकले दशवर्षे जनयुद्ध र यसले पारेको प्रभाव तथा प्रमुख
घटनाक्रमहरूलाई संवेदनशील बनाउने गरी ताजा गराउँछ।
लेखक तथा छनौट समितिका सदस्य कुन्द दीक्षित “२०५२ देखि २०६३ को अवधिमा
नेपाली जनतालाई युद्धले ग्रस्त पार्यो। माओवादीले यसलाई 'जनयुद्ध'
भनेका छन्। यो नाम अमिल्दो भयो भन्न पनि मिल्दैन” भन्दै आफ्नो भूमिकामा
लेख्छन् “किनभने यसले जनतालाई नै मार्यो र जनताकै पीडा बढायो।” पाटनस्थित
यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पुस्तकका बारे बोल्दै उनले भने,
“दश वर्षको अवधिमा सबैले आफ्ना स्वार्थका लागि ढाँटेका छन्, झूट बोलेका
छन् तर तस्बिरले भने ढाँट्दैन, यसमा सबै यथार्थ छर्लङ्ग देखिएको छ।”
२१८ पृष्ठको पुस्तकको आवरणमा कैलाली, मोतिपुरस्थित प्रहरीचौकीको भ्वाङ
परेको पर्खालबाट चिहाउँदै गरेका बालकहरूको तस्बिर राखिएको छ। “पुस्तक
दुई महिनाभित्र बजारमा उपलब्ध हुनेछ”, पुस्तक प्रकाशक नेपा–लयका टोली
नेता किरणकृष्ण श्रेष्ठ भन्छन्, “हामीलाई विश्वास छ यसले शान्तिलाई
स्थायित्व दिन सघाउने छ। देशमा शान्ति छाओस् र भावी दिनमा यस्तो पुस्तक
कहिल्यै निकाल्न नपरोस्।”
•
डम्बरकृष्ण
सङ्गीत
नवीन के भट्टराईको
छैन जून किन जून जस्तो... रामकृष्ण ढकालकोे थाहा छैन कुन
मोडमा... र मोहन भुषालको हात बाँधी पछ्यौरी बीच... बोलको गीतबाट चर्चामा
आएका गीतकार विजय शिवाकोटी आफूलाई प्रेमको धोकाले नभई जीवनको आरोह
अवरोहले गीतकार बनाएको बताउँछन्। २०४३ सालदेखि गीत लेख्न थालेका उनको
अनुभवमा गीत लेखनबाट पैसा खर्च गरेर नपाउने आत्मसन्तुष्टि पाइन्छ।
अमेरिकामा कम्प्युटर इञ्जिनियरिङ पढेका र पेशाले शिक्षक
विजय आधुनिक, पप गीत लेखनमा उत्तिकै सशक्त देखिन्छन्। २०४५ सालमा डिजायर
नामक अल्बम निकालेका विजय गायक पनि हुन्। तिम्रो आँखामा म बस्न चाहन्छु...
उनको स्वरको गीत श्रोताले राम्रै रुचाएका छन्। तर पनि गायकभन्दा उनी
गीतकारको परिचयमै बढी जमेका छन्। आफूले लेखेका सात सयमध्ये ८० गीत
रेकर्ड भइसकेको बताउने विजयको मोडहरूमा नामक अल्बम समेत निस्किसकेको
छ। उनका गीतहरू दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, ओमविक्रम विष्ट, ईश्वर
अमात्य आदि गायकहरूको आवाजमा समेत गुञ्जिएका छन्। आफूलाई सौखिन गीतकार
भन्न रुचाउने उनी अल्बम निकाल्नु रहरको उपज भएको बताउँछन्। नारायणगोपालको
स्वरमा गीत रेकर्ड गराउने रहर भने पूरा नभएकोमा भने उनी सदैव थक्थक्
मानिरहन्छन्।
विविध
[चलचित्र]
मुन्नाको गान्धीगिरी
 |
सञ्जय दत्तको प्रमुख भूमिका रहेको हास्यप्रधान हिन्दी
चलचित्र लगे रहो मुन्नाभाइ ले पुनः एक पटक देखाएको छ– हिंसाभन्दा शान्ति
र अहिंसाको ठूलो महत्त्व छ। चलचित्रको सफल पक्ष महात्मा गान्धीको अहिंसावादी
विचारलाई आजका युवा पुस्ताले बुझ्ने शैलीमा सशक्त रूपमा प्रस्तुत गर्नु
पनि हो। चलचित्रमा दादागिरी गर्दै हिँड्ने मुन्नाभाइले गान्धीको विचार
पढेर गान्धीगिरी गर्न थालेपछि हिंसा बिना नै समस्याहरू हल हुन थालेको
देखाइएको छ। गान्धीका बारेमा अन्जान वा जान्नै नचाहने नयाँ पुस्तामा
यो चलचित्रले उनको क्रेज ह्वात्तै बढाइदिएको छ। मुन्नाभाइ एमबीबीएस
को भाग–२ का रूपमा आएको हो यो चलचित्र जसमा दर्शकलाई हँसाउने नौला
शैली प्रयोग गरिएको छ। छोरा–छोरीबाट अपहेलित वृद्धहरूको मार्मिक कथालाई
समेत यसले समेटेको छ। विधुविनोद चोपडाको लगानीमा राजकुमार हिरानीले
निर्देशन गरेको चलचित्रमा सञ्जय दत्त (मुन्नाभाइ), अरशद वारसी (सर्किट),
विद्या वालन (जानवी), बमन इरानी (लक्की)को अभिनय प्रशंसनीय छ। महात्मा
गान्धी बनेका दिलीप प्रभाकर दर्शकको दिमागमा छाउन सफल छन्। प्रदर्शनको
दुईसाता नबित्दै यसले पाएको सफलताले लगे रहो... समसामयिक सिनेमाहरूको
श्रेणीमा उम्दा भएको पुष्टि गर्छ।
[महोत्सव]
राजधानीमा अष्ट्रेलियन चलचित्र
अष्ट्रेलियन राजदूतावास तथा अष्ट्रेलियन फिल्म कमिसनको
संयुक्त आयोजनामा बर्सेनि आयोजना हुने अष्ट्रेलियन चलचित्र महोत्सव
यस पटक भदौको तेस्रो साता राजधानीमा सम्पन्न भयो।
प्रदर्शनीमा फ्लटिङ लाइफ, लभ सेरण्डे, रेडियन्स, ला
स्पायनोला, लुकिङ फर अलिब्राण्डी र चिल्ड्रेन्स अफ द रिभुलेशन जस्ता
चलचित्रहरू प्रदर्शन गरिएका थिए। रसियन कल्चर सेण्टरमा प्रदर्शन गरिएका
यी चलचित्रहरू विशेषगरी नारीप्रधान थिए र तिनमा उत्कृष्ट व्यङ्यको
प्रयोग देख्न सकिन्थ्यो। प्रदर्शनीका क्रममा हरेक दिन अष्ट्रेलियन
राजदूत ग्रेम लाडेले चलचित्रका बारेमा जानकारी दिनुभएको थियो।
अष्ट्रेलियन सामाजिक संरचना नेपालसँग नमिले पनि चलचित्रका
कथा दर्शकले आफ्नोपनसँग दाँज्न मिल्ने किसिमका थिए। ला स्पायनोला चलचित्रमा
देखाइएको एक पुरुषले राम्री युवतीका लागि आफ्नी गर्भवती श्रीमती र
किशोरी छोरीलाई छाडेर जाने परिदृश्य नेपाली समाजमा पनि देखिने गर्छन्।
महोत्सवमा सबैभन्दा बढी रुचाइएको चलचित्र रेडियन्स को कथाका पात्रहरू
पनि हाम्रो समाजमा यदाकदा देखापर्ने खालका छन्। रमाइलो व्यङ्ग्यका
साथ प्रस्तुत यस चलचित्रमा तीन दिदीबहिनीको वषार्ँै पछिको पुनर्मिलन
देखाइएको छ। नेपाली समाजलाई सहजै नपच्ने दृश्य भएका केही चलचित्रहरू
नराखिएका भए महोत्सवले सबै उमेरका दर्शकलाई अझ आकर्षित गर्नेथियो।
• प्रेरणा
[प्रदर्शनी]
कला सङ्ग्रहालय
कलाकार रामनन्द जोशीको ६८ औँ जन्मजयन्तीका अवसरमा राजधानीको
पार्क ग्यालरीमा आरएन जोशी अ रेट्रोस्पेटिभ शीर्षकको चित्रकला प्रदर्शनीसँगै
२६ भदौमा आरएन जोशी चित्रकला सङ्ग्रहालयको उद्घाटन भारतीय राजदूत शिवशङ्कर
मुखर्जीले गर्नुभयो। सङ्ग्रहालय र प्रदर्शनीमा जोशीले विद्यार्थी जीवन
तथा जापान भ्रमणका क्रममा बनाएका साथै तन्त्र विद्या सम्बन्धी ९१ चित्र
तथा पोष्टरहरू राखेका छन्। प्रदर्शनी ९ असोजसम्म चल्नेछ। कलाकार जोशीको
२०४५ सालमा निधन भएको थियो।
एकैठाउँ चित्र, नाटक र कविता
 |
पाटनको सिंह आर्ट ग्यालरीमा १६–२६ भदौमा कलाकारद्वय
देवेन्द्र थुम्केली र उमेश श्रेष्ठद्वारा सिर्जित 'रियालिटिजः दि अदर्स
पर्सपेक्टिभ' शीर्षकको चित्रकला प्रदर्शनी भिन्न रूपमा सम्पन्न भएको
छ। थुम्केलीको रूखको शृङ्खला र श्रेष्ठको जनजीवनको बिम्बमाथि बनाइएका
पेन्टिङलाई हेरेर १० कविहरूले कविता सिर्जना र वाचन गर्नुका साथै आयोजक
ज्योतिपुञ्ज साइन थियटरका रङ्गकर्मीहरूले पेन्टिङमा आधारित सङ्केत
नाटक अनुभूति २००६ मञ्चन समेत गरेका थिए। प्रदर्शनीमा राखिएका पेन्टिङबाट
उठेको रकमको तीस प्रतिशत बहिराहरूको हितमा खर्च गरिने छ। प्रदर्शनीको
शुभारम्भ वरिष्ठ मूर्तिकार कालु कुमाले र फिनल्यान्डका राजदूत पाउली
मुस्टोनेनको उपस्थितिमा थियो।
[सौन्दर्य]
दाँतलाई शृङ्गार
 |
अनुहार, कपाल, आँखादेखि शरीरका विभिन्न अङ्गहरूको स्याहार
गरेर बाहिरी सौन्दर्य बढाउने होडसँगै अहिले दाँतको शृङ्गार गर्नेहरू
पनि बढ्न थालेका छन्। मुहारको आकर्षण बढाउन दाँतमा हीरा राखेकी नेपाल
सुन्दरी सुगारिका केसीले २५ भदौमा बानेश्वरमा सञ्चालन हुँदै आएको डेण्टल
मेडिसिनको दोस्रो वार्षिकोत्सवको केक काटिन्। स्थापनाको एक वर्ष पूरा
गरेको अवसरमा डेण्टल मेडिसिनले एक कार्यक्रम गर्दै दाँत स्याहारका
सबै किसिमका सेवाहरू प्रदान गरिदै आएको जानकारी दिएको थियो। सो क्लिनिकका
अनुसार पूर्व मिस नेपाल उषा खड्गी, गायिका प्राश्ना शाक्य, जुना प्रसाई,
गायक प्रनिल, भरत सिटौलासहित हालसम्म दुई सय जतिले पन्ध्र सयदेखि पाँच
हजारसम्ममा लगाइने दाँतमा हीरा (स्माइल जेम्स) राखेका छन्।
[वृत्तचित्र]
प्रशंसनीय थालनी
 |
जनआन्दोलन २०६२/६३ का शहीदका तस्बिर/परिचय र तिनका
परिवारको अनुभूति समेटेर क्याट्स आइ मिडियाले निर्माण गरेको वृत्तचित्र
अ ट्रयाजेडी फर द लिवर्टी (स्वतन्त्रताका लागि वियोग) सङ्ग्रहणीय दस्तावेज
बन्न पुगेको छ। अञ्जना बुढाथोकी र सुवास थापाको लगानी र निर्देशनमा
बनेको यस वृत्तचित्रको गत साता गुरुकुलमा प्रदर्शन गरियो। चार महिना
लगाएर सिकारु युवाहरूको सक्रियतामा बनेको वृत्तचित्र निर्माणलाई अभिलेखको
हिसाबले राम्रो मान्न सकिन्छ। वृत्तचित्रलाई सबै शहीदबारे जानकारी
थपेर अझ परिस्कृत गर्न भने आवश्यक देखिन्छ। २००७ र २०४६ सालका जन आन्दोलनका
शहीदहरूबारे पर्याप्त अभिलेख पाउन गाह्रो परेको अवस्थामा यो वृत्तचित्र
निर्माणलाई राम्रो कामको थालनी मान्न सकिन्छ।
|