हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक | परिचय

संविधानसभाः देश–विदेशको अनुभव

किताबः संविधानसभाः देश–विदेशको अनुभव
लेखकः काशीराज दाहाल
प्रकाशक निरन्तर प्रकाशन, काठमाडौँ, २०६३
पृष्ठः २००+, मूल्यः रु.१७५

नेपालमा अहिले संविधानसभा के हो, यसका स्थापित पद्धति के के हुन्छन्, यसमा जनताको प्रतिनिधित्व कसरी हुन्छ भन्नेबारे ठूलो जिज्ञासा छाएको छ। काशीराज दाहालको संविधानसभा र संवैधानिक विकास ले यही जिज्ञासालाई शान्त पार्ने प्रयास गरेको छ।

किताबमा संविधानसभा अपनाएका विश्वका ४० देशमध्ये नेपालको अहिलेको अवस्थासँग मिल्दाजुल्दा वाह्य अनुभवहरूलाई केलाउने प्रयास गरिएको छ। लोकतान्त्रिक क्रान्ति सम्पन्न भएर पनि राजनीतिक मुद्दाहरू टुङ्गो नलागेकाले संविधानसभाले काम गर्न नसकेका उदाहरणहरू छन्। संविधानसभाबाट बनेका संविधानमध्ये कतिले उल्टै निरङ्कुशतालाई जन्माएका उदाहरणहरू पनि छन्। संविधानसभाले नयाँ संविधान तर्जुमा नगरुञ्जेलसम्मको लागि अन्तरिम संविधानको व्यवस्था, संविधानसभा र यसको निर्वाचन पद्धति तथा भावी संविधानमा हुनसक्ने राजतन्त्रात्मक वा गणतन्त्रात्मक, संघात्मक, एकात्मक वा अर्धसंघात्मक, अध्यक्षात्मक, संसदीय वा मिश्रित राज्यसंरचनाको स्वरुपबारे पनि अन्य देशका सान्दर्भिक पक्षहरूको चर्चा गरिएको छ। राजतन्त्र हटाइएका, एकचोटि हटाएर पुनःस्थापित गरिएकादेखि राजतन्त्रात्मक संरचना भएका ४५ देशमध्ये कुन–कुन देशमा कस्तो–कस्तो स्वरुपका राजतन्त्र छन् भन्ने विवरणहरू समेत छन्। पछिल्लो समय चर्चामा आएको रूसमा जारशाहीको अन्त्य, अक्टोबर क्रान्ति र संविधानसभाको विफलताको दृष्टान्त पनि छ।

नेपालको अहिलेको अवस्थासँग मिल्ने र नेपालले यो प्रक्रियामा जाँदा आगामी दिनहरूमा सिक्न सक्ने धेरै कुरा किताबमा छन्। २००७ सालमा घोषणा भएको 'विधानसभा' कसरी तुहियो भन्ने आफ्नै देशको ऐतिहासिक सन्दर्भबाट सिक्न सकिने कुराहरू पनि प्रशस्तै छन्। २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले संविधानसभाको चुनाव गर्ने कि संसदको भन्ने कुरा उठाएका, बीपी कोइरालाले २००७ सालको शाही घोषणाविपरीत भनेर त्यसविरुद्ध रिट हालेका, प्रम आचार्यले आमचुनाव संविधानसभाकै निमित्त हुनुपर्छ भन्ने कुनै प्रचलित कानून नभएको भन्ने जवाफ दिएका र सर्वोच्च अदालतले रिट खारेज गरेको अनि २०१४ सालमा विधान मस्यौदा समिति गठन गरेर २०१५ सालको संविधान जारी गरिएको प्रसङ्गहरू रोचक छन्।

संविधानसभाको सफलताका निमित्त उपयुक्त अन्तरिम व्यवस्थापन, समावेशी मान्यताअनुरुप संविधानसभाको गठन र स्पष्ट गन्तव्यको मार्गचित्र हुनुपर्ने लेखकको सुझाव छ।


नारी विद्रोहको उद्घघोष

किताबः वल्लीको डायरी
लेखिकाः मनीषा गौचन
प्रकाशकः दीपज्योति महिला समूह, ललितपुर, २०६३
पृष्ठः १३९+१६; मूल्यः रु.१५०

युवा लेखिका मनीषा गौचनको उपन्यास 'वल्लीको डायरी' ले विदेशमा अलि राम्रो जागिर खाने, बन्द व्यापार वा अरू कुनै काम–धन्दा गर्ने पुरुषहरूका श्रीमती, आमा–बाबु नेपालमा कसरी बाँचिरहेका छन् र त्यो पैसाको कसरी सदुपयोग–दुरुपयोग भइरहेको छ भन्ने कुरामा प्रकाश पारेको छ। धनसम्पत्तिको मात्र मुख हेरेर एउटा धनी युवकसँग विवाह गर्न पुगेकी उपन्यासकी प्रमुख नायिका वल्ली र ऊ जस्तै युवतीहरूको माध्यमबाट पाठकहरूले नेपाली समाजमा भित्रभित्रै गुम्सिरहेको यो समस्याबारे थाहा पाउँछन्।

बिहे गरेको केही महिनापछि नै बूढीआमा (सासू) को हेरचाह गर्न छोडिदिएर अमेरिका फर्किएको वल्लीको लोग्ने आमा विरामी हुँदा र मर्दासमेत आएन। आफैँ र समाजसँग कठोर सङ्घर्ष गर्दै बाँचेकी वल्लीले शहरमा आफ्नो जस्तै अवस्थाका अरू युवतीहरू पनि भट्छे,जसमध्ये धेरै तास खेलेर, चुरोट, रक्सी–बियर पिएर र कोही–कोही त परपुरुषसँग रमाएर समेत जिन्दगी बिताइरहेका हुन्छन्। यस्तो सङ्गत पनि ठीक नलागेर लोग्नेको खोजीमा अमेरिका नै पुगेकी वल्लीले उसलाई पुरुष–वेश्याको रूपमा आफूलाई बेचेर पैसा कमाइरहेको भेट्छे।

यो रहस्योद्घाटनपछि सम्पन्न लोग्ने र घर त्यागेर आफ्नो जीवनको बाटो आफैँ कोर्ने दृढ निश्चयका साथ नेपाल फर्किएकी वल्लीले पुरुषप्रधान समाजलाई चुनौती दिएकी छ। उपन्यासले नारीहरूमाथि परम्परादेखि चल्दैआएको थिचोमिचोविरुद्ध विद्रोहको उद्घोष गरेको छ, जसलाई साथ दिने पुरुषपात्र र तिनका कथाहरू पनि किताबमा छन्।

बद्री पौड्याल


प्राप्त कृति

सम्झनाको ऐनाका तस्बिरहरू
(आत्मसंस्मरण)
लेखकः खगेन्द्र सङ्ग्रौला
प्रकाशकः मूल्याङ्कन प्रकाशन गृह प्रा.लि. काठमाडौँ, २०६२
पृष्ठः १५०, मूल्यः रु.७५



विज्ञापनको मान्छे
(कविता–सङ्ग्रह)
कविः हेमराज पौडेल 'हिमकर'
प्रकाशकः मकालु बुक्स एण्ड स्टेशनर्स, काठमाडौँ, २०६२
पृष्ठः १५२, मूल्यः रु.६०


अञ्जान अप्सरालाई रविको–पत्र
(लघु–उपन्यास)
लेखकः गोविन्द नेपाली
'दीनदुःखी'
प्रकाशकः वुनदेवी नेपाली, २०६३
पृष्ठः ६२, मूल्यः रु.३०


स्वस्थ जीवन
(शरीर–संरचनाको जानकारीसहित स्वस्थ रहने उपायहरूको सँगालो)
लेखकः डा. लक्ष्मीनारायण प्रसाद
प्रकाशकः राजेशप्रसाद श्रीवास्तव, काठमाडौँ, २०६२
पृष्ठः १११+, मूल्यः रु.१००

राइफलको नालबाट जीवन नियाल्दा
(संस्मरणात्मक उपन्यास)
उपन्यासकारः गणेश राई
प्रकाशकः सृजनशील साहित्य समाज, हङकङ, २०६२
पृष्ठः १५३+, मूल्यः रु.९५
केस्रा–केस्रा
(कविता–सङ्ग्रह)
कवयित्रीः सङ्गीता गुरुङ
प्रकाशकः महालक्ष्मी घले/सुनिता गुरुङ, काठमाडौँ, २०६२
पृष्ठः ७९+, मूल्यः रु.१००