जनता
काममा पनि गम्भीर
 |
| शब्द/तस्बिरः भोजराज तिमिल्सिना |
नामः गम्भीरबहादुर
गुरुङ,
उमेरः ३७ वर्ष,
पेशाः सरकारी सेवा,
पदः पियन।
कर्तव्यनिष्ठ कर्मचारीका रूपमा उनी सबैका प्रिय थिए तर कुनै दिन निजामती
पुरस्कार पाइएला भनेर उनले सोचेकै थिएनन्। 'उच्च मनोबलपूर्वक पदीय
दायित्व सम्पन्न गरेबापत' २२ भदौमा रु.५० हजारसहितको निजामती सेवा
पुरस्कार पाएपछि उनी अरू परिपक्व देखिएका छन्। भन्न थालेका छन्, “इमान्दार
भए सम्मान समेत पाइँदो रहेछ।” कार्यालय आउँदा–जाँदा थुप्रै थुप्रै
बधाई पाइरहेको, धेरैले 'भोज ख्वाउने' आग्रह गरेको तर त्यो रकम मास्नुहुन्न
भनेर ब्याङ्कमा राखेको बताउँछन् उनी। तीन वर्षअघि वैवाहिक जीवन शुरु
गरेका उनी भन्छन्, “भोलिपर्सि बिरामी हुँदा वा बच्चाहरू भएपछि के गर्ने?
जागिरको पैसा बचाउन सकिन्न, यो त मास्नुहुन्न।”
 |
मासिक तलब तीन हजार नौ सय ६० रुपैयाँ कोठाभाडा, लत्ताकपडा
र खाद्यान्नमा सकिने भएकाले जोहो गर्न कठिन भएको अनुभव गरिरहेका गुरुङ
संयोगले सरकारी सेवामा लागेका थिए। १३ वर्षको उमेरमा गाउँ (दोलखा,
लाँकुरी–७) मा आएका पर्यटकको झोला बोकेर धरान हुँदै जनकपुर पुगेका
थिए उनी। पाटीमा सुतेको बेला झोला, पैसा चोरी भएपछि भौँतारिँदै गर्दा
भेटिएका प्रमोदनारायण झाले उनलाई घरमा लगे, काममा लगाए र 'केटो ठीकै
रहेछ' भन्दै भदौ, २०४६ मा सरकारी सेवामा लगाइदिए। सार्वजनिक निर्माण
शाखा नेपालगञ्जबाट काम थालेका गुरुङ अहिले शहरी विकास तथा भवन निर्माण
विभागको डिभिजन कार्यालय, काभ्रेमा कार्यरत छन्।
सामान्य लेखपढ गर्न जानेका गुरुङलाई ठूलो मान्छे बन्ने इच्छा छैन,
उनीसँग जागिरइतर अन्य सपना पनि छैनन्। उनी भनिरहन्छन्, “जागिर खाएपछि
पदअनुसारको जिम्मेवारी पालन गर्नैपर्छ, इमान्दार हुनैपर्छ।” यस्तै
दृढताले उनलाई अरूभन्दा पृथक् बनाएको छ। हाकिमको कृपाले जागिर खाएको
कुरा लुकाउन नचाहने गुरुङको मूल विशेषता हो नम्र बोली, व्यवहार। ठीक
समयमा कार्यालय आउने–जाने अनि अह्राएको काम खुरुखुरु गर्ने कर्मचारीका
रूपमा समेत प्रशंसित छन् उनी। गुरुङ नहुँदा कार्यालय नै सुनसान हुने
अनुभव सुनाउँदै कार्यालय प्रमुख रवि शाह भन्छन्, “मन्त्रालयबाट दुई
जना पुरस्कृत भएकोमा एक जना हाम्रै पियन परे। हामीलाई गर्व लागेको
छ।”
|