देश | समाचार
नागरिकता पाउने आश
 |
| सन्नु (बायाँ) र एकता नेपाली। |
प्रतिनिधिसभाले १६
जेठमा आमाको नामबाट समेत नागरिकता दिने घोषणा गरेपछि नेपालमै जन्मे–हुर्केर
पनि 'नेपाली' हुन नपाएका वादीहरू अब नागरिकता पाउने आशले खुशी भएका
छन्। नेपालगञ्जकी सन्नु नेपाली भन्छिन्, “यत्तिको खुशी कहिल्यै भएकी
थिइनँ। अब नेपाली भएर बाँच्न पाइने दिन आए जस्तो छ।” सन्नुकी आमा गीता
थप्छिन्, “अब बाबुको टुङ्गो नभएर नागरिकता नपाएका छोराछोरीहरूका अगाडि
हामीले नाजवाफ हुनुपर्ने अवस्था रहेन।” केन्द्रीय वादी महिला समन्वय
समितिकी संयोजक सगुनी नेपाली भन्छिन्, “नागरिकता नपाएकाहरू बल्ल मान्छे
भएर बाँच्न पाउने भए।”
हुन त एक वर्षअघि सर्वोच्च अदालतले पनि 'बाबुको ठेगान
नभएको' जनाएर वादीका छोराछोरीलाई नागरिकता दिने फैसला गरेको थियो।
तर, वादी समुदायले न्यायालयबाट समेत अपहेलित भएको ठानेर त्यस फैसलालाई
अस्वीकार गर्यो। सो समुदायमा कार्यरत गैरसरकारी संस्था सेफका अध्यक्ष
सुकलाल नेपाली भन्छन्, “न्यायालयले पीडामाथि पीडा थप्ने काम मात्रै
गर्यो।” वादी महिला मञ्जु नेपालीको अनुभव थियो, “त्यो नागरिकताले
काम दिए पनि सबैले नराम्रो दृष्टिले हेर्ने, आमा त त्यस्ती रहिछे छोरी
कस्ती होली भन्दै दुर्व्यवहार गर्ने गर्दथे।”
देहव्यापारलाई 'पुर्ख्यौली पेशा' बनाएका आमाहरूबाट जन्मेका
वादीका सन्तानहरूले बाबुको पहिचान नभएको कारण वर्षौँदेखि नागरिकता,
जन्मदर्ता, विद्यालय भर्ना नपाउनेजस्ता थुपै्र समस्या भोगिरहेका थिए।
शिक्षा कार्यालय बाँकेबाट शिशु स्याहार केन्द्र–शिक्षिकाको तालिम पूरा
गरेकी १९ वर्षीया सन्नु नेपालीलाई नियुुक्ति लिन जाँदा शिक्षा अधिकृतले
नागरिकता खोई भनी फर्काइदिएका थिए। नागरिकताको सिफारिस लिन जाँदा मेयर
रमेश अर्यालले बाबु थाहा नभई हुँदैन भन्ने जवाफ दिए। गैरसरकारी संंस्था
सेफले पछि नागरिकता दिलाउने सिफारिस गरेपछि मात्र उनी शिक्षिका भइन्,
तर आठ महिना बितिसक्दा पनि तलब/भत्ता पाएकी छैनन्। गतवर्ष १० कक्षा
पास भएपछि प्रहरीमा भर्ती हुन मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र
पुगेकी सुधा नेपालीको नागरिकता चाहिन्छ भनेर आवेदन नै दर्ता गरिएन।
सरकारी निकायमा मात्र होइन, कतिपय गैरसरकारी संस्थामा पनि यस्तै समस्या
छ। प्रवीणता प्रमाणपत्र पढेका कमल नेपालीले एउटा गैससमा काम गर्न आवेदन
गरे। योग्यता थियो, तर नागरिकता नभएकोले काम पाएनन्। यसबाट निक्कै
दुःखित कमल भन्छन्, “अब त पढ्नै मन लाग्न छाड्यो। कामै गर्न नपाउने
भएपछि वादीका छोराछोरीले किन पढ्ने?”
तर, अहिले वादीका सन्तानहरूको अवस्था हिजोको जस्तो छैन।
शिक्षामा क्रमशः बढ्दै गएको पहुँचले तिनको आत्मविश्वास बढेको छ। सेफका
अनुसार, यो समुदायबाट अहिलेसम्म ७५ जनाले एसएलसी उत्तीर्ण गरेका, १६
जना स्नातक र ४४ जना प्रमाणपत्र तहमा अध्ययन गरिरहेका छन्। तर नागरिकताको
अभावमा योग्यता भएपनि काम पाउँदैन थिए। प्लस टुमा पढ्दै गरेकी एकता
नेपाली भन्छिन्, “केही गर्छु भन्यो, नागरिकता हुँदैन। अनि पहिलो पाइलामै
जाँगर मर्छ।”
देशभर २४ जिल्लामा बसोबास गर्ने भनिएका वादीहरूको वास्तविक
सङ्ख्या उपलब्ध छैन। सेफले दाङ, बाँके, बर्दिया, कैलाली र सुर्खेत
पाँच जिल्लाका वादी युवायुवती र बालबालिकाहरूको सङ्ख्या ६२७६ रहेको
जनाएको छ, जसमध्ये २३८ केटा तथा २११ केटी देहव्यापारको क्रममा जन्मेका
खुलेको छ।
ढिलाइ र चिन्ता
संसदले आमाको नामबाट नागरिकता वितरण गर्ने घोषणा गरेकै दिन महिला,
बालबालिका तथा समाज कल्याण राज्यमन्त्री उर्मिला अर्यालले दुई–तीन
दिनमै यसको कानून बन्ने बताएकी थिइन्। तर, अहिले साढेतीन महिना बितिसक्दा
पनि घोषणामा उल्लिखित कुराले कानूनी रुप नपाएको देख्दा उनीहरूको चिन्ता
बढेको छ। एकता नेपाली भन्छिन्, “किन ढिलो भएको हो, दिनेभए चाँडो दिनुपर्थ्यो।”
सन्नु नेपालीको आशङ्का छ, “कतै फेरि नदिने चाल त होइन।” वादी महिला
समन्वय समितिकी अध्यक्ष सगुनी नेपाली भन्छिन्, “घोषणा भएपछि नियम–कानून
त छिटो बनाउनु पर्यो नि! होइन भने हाम्रो खुसी एकछिनलाई मात्र हुने
भो।”
कानूनी व्यवस्था गर्नमा भएको ढिलाइ विरुद्ध वादी समुदाय
राज्यलाई दबाब दिने तयारीमा छ। वादीहरू बसोबास गर्ने मध्य र सुदूरपश्चिमका
गाउँगाउँमा यससम्बन्धमा छलफल हुनथालेको छ। “सरकारले तत्काल कानून बनाएर
वादीका छोराछोरीको अभिभावकत्व संरक्षण गर्नुपर्छ”, सेफका अध्यक्ष सुकलाल
नेपाली भन्छन्, “ढिलाइविरुद्ध हामी जिल्लामा छलफल सिध्याएर काठमाडौँमा
सातदल र सरकारका प्रतिनिधिसँग छलफल गर्छौँ, नभए दबाबका लागि आन्दोलन
गर्छौँ।”
•
रामेश्वर बोहरा, नेपालगन्ज
थुनामा भनेको मान्छे
खाल्डोमा
प्रहरीले
पुस, २०६० मा बनेपाबाट गिरफ्तार गरेको र गृहमन्त्रालयले
नौ महिनापछि पनि थुनामै रहेको भनेको काभ्रे जिल्लाको फूलवारी गाविस–८,
लकाइनेका ३५ वर्षीय हरि बोलखेको शव समातिएको साढे दुई वर्षपछि यही
असारमा खाल्डोमा गाडिएको अवस्थामा फेला पर्यो। लासजाँचलगायतको कानूनी
प्रक्रियापछि २८ भदौमा परिवारले शव पाएको छ।
राष्ट्रिय मानवअधिकार आयोगले बेपत्ताको
सूचीमा रहेका बोलखेलाई सैनिक हिरासतमा रहेकै अवस्थामा ४ फागुन २०६०
मा मारेर गाडिएको आशङ्कामा खोजी शुरु गरेको र २१ असार २०६३ मा शव फेला
पारेको थियो। त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका डा.
हरिहर वस्ती, डा. प्रमोदकुमार श्रेष्ठ र डा. प्रकाशमान सिं डङ्गोलको
टोलीले २९ साउन ०६३ मा आयोगलाई दिएको प्रतिवेदनमा शव हरि बोलखेकै भएको
प्रमाणित गर्यो।
काठमाडौँमा रहँदै आएका बोलखेलाई क्रिश्चियन
धर्म प्रचारका लागि जिल्ला गएको बेला माओवादीको आशङ्कामा प्रहरीले
पक्राउ गरेर केही समय तारेखमा राखी सेनाको जिम्मा लगाएको थियो। कानुनअनुसार,
प्रहरीले गिरफ्तार गरेको व्यक्तिलाई सेनालाई बुझाउने होइन, बरु सेनाले
समातेको व्यक्तिलाई समेत प्रहरीलाई बुझाउनुपर्छ। गृह मन्त्रालयले बेपत्ता
पारिएका मानिसहरूको स्थिति सार्वजनिक गर्ने क्रममा २५ असोज २०६१ मा
प्रकाशित गरेको १२६ जनाको सूचीमा हरि बोलखेलाई '८ वैशाख ०६१ मा छुटेको
र मासिक तारेखमा नआएकाले पुनः समाती थुनामा राखिएको' उल्लेख गरेको
थियो।
राष्ट्रिय मानवअधिकार आयोगले बोलखेलाई
सैनिक हिरासतमा रहेको अवस्थामा सर्चटोलीसँगै लगेर मारिएको र चलाल गणेशस्थान
गाविस–१, मुलखोला मसानघाटनजिकै राजकुमार तामाङको पाखोमा गाडेको भन्ने
जानकारीको आधारमा खोजी गरेको थियो। मृतकसँगै सेनाले सर्चटोलीमा 'बाटो
देखाउन' लगेका रामप्रसाद सुवाल र राजन परियारले लप्टन बाबुराम थापाले
कामीडाँडाबाट तालढुङ्गा र ढुंखर्क हुँदै फर्किने बेलामा सल्लाको फेदमा
लगेर बोलखेलाई गोली हानी मारेको आशङ्का गरेका छन्। लप्टन थापाले सुवाललाई
पटक–पटक 'तेरो साथीलाई खाना खुवाउन जान्छस्' भनी धम्क्याएकाले पनि
बोलखेलाई सेनाले त्यहीँ मारेको हुनसक्ने उनीहरूको दाबी छ। बोलखेको
शव पनौती–ढुंखर्क कच्ची सडकभन्दा ५० मिटरमाथि एउटा निजी वनको सल्लाको
फेदमा तीन फिट गहिरो खाडल खनी तेर्सो पारेर गाडेको अवस्थामा भेटिएको
थियो।
“छोरालाई मारिसकेको रहेछ, हामीलाई मर्योे
भनिदिएको भए यत्रो खोजखबर गर्नु पर्थेन। गृह मन्त्रालयले पनि थुनामा
छ भनेर ढाँट्यो”, मृतकका बाबु विष्णुप्रसाद बोलखे भन्छन्। उनले छोरा
मारिइसकेपछि पनि सैनिकहरू उसलाई खोज्न आएको भन्दै घरमा आएर मोही खाएर
फर्किएको बताए। हरिलाई खोज्ने क्रममा उनका भाइ प्रेमप्रसाद बन्दीगृहहरू
धाउँदा–धाउँदा थाकेर अदालत पुगेका थिए। बेपत्ता बोलखेको अवस्थाबारे
परिवारले जानकारी माग्दा स्थानीय प्रशासनले 'थाहा छैन' भनेर टार्ने
गरेको थियो। १७ चैत ०६० मा बोलखेकी पत्नी ज्ञानदेवी श्रीमान्लाई मुक्त
गरिपाउँ्क भन्ने निवेदन लिएर सेनाको धुलिखेल गुल्ममा जाँदा उल्टै थर्काएको
बताउँछिन्। हरिका १३ वर्ष मुनिका चार छोरा–छोरी छन्। बोलखे परिवारले
हरिको हत्याका दोषीमाथि कार्वाहीको माग गरेको छ। हरिलाई समातेको अघिल्लो
दिन प्रहरीले उनका दाजु रामप्रसादलाई पनि समातेको थियो। रामप्रसाद
प्रहरीको निर्मम शारीरिक यातनाका कारण अहिले सजिलोसँग हिँड्न पनि सक्दैनन्,
शरीरभरी खतैखत छन्।
यता, ६ मङ्सिर ०६० देखि बेपत्ताको सूचीमा
रहेका काभ्रेकै ठूलोपर्सेल गाविस–५ का ३० वर्षीय गणेशप्रसाद मैनालीलाई
सेनाले बारा जिल्लाको कोल्ची जङ्गलमा भिडन्तका क्रममा मृत्यु भएको
जानकारी दिएको मानवअधिकार आयोगले जनाएको छ। काभ्रेको बेपत्ता सूचीमा
रहेका अरू १५ जनाको स्थिति अझै अज्ञात छ।
•
भोजराज तिमल्सिना, काभ्रे
रिसाल
र धरावासी पुरस्कृत
 |
 |
| मीन बज्राचार्य |
मदन पुरस्कार
गुठीको २९ भदौमा बसेको बैठकले रु.२ लाख राशीका २०६२ सालको 'जगदम्बाश्री
पुरस्कार' वरिष्ठ पत्रकार भैरव रिसाललाई र 'मदन पुरस्कार' साहित्यकार
कृष्ण धरावासीलाई दिने निर्णय गरेको छ।
पाँच दशकदेखि नेपाली छापामा लेख्दै रविगत एक दशकदेखि
रेडियोमा बोल्दै आएका पत्रकार रिसालले आफूले जगदम्बाश्री पुरस्कार
पाउने अनुमान नै नगरेको बताए। “साहित्यमा लागेका र किताब लेख्नेले
मात्रै यो पुरस्कार भेट्छन् भन्ने लागेको थियो, मेरो नाम घोषणा हुँदा
अप्रत्याशित लाग्यो”, उनले भने। राससमा लामो समय काम गरेका भैरव रिसालले
रेडियो सगरमाथामा 'कुरोकन्थो' र 'उहिले बाजेका पालामा' जस्ता कार्यक्रम
चलाएर दक्षिण एशियामै रेडियो वार्ता (कमेन्ट्री) को नयाँ परम्परा बसाल्न
योगदान गरेका छन्।
रिसालले पुरस्कारको राशी सामाजिक काममा खर्च गर्ने भएका छन्। यसको
केही अंश हुम्लाका दुई जनालाई अनमी र पत्रकारिता पढाउने काम गरिरहेको
'स्वास्थ्य र चेतनाका लागि हुम्ला गुठी' लाई सहयोग गर्ने रिसालले बताए।
उनी भन्छन्, “हुम्लामा स्वास्थ्य र चेतनाका लागि गुठी स्थापना गरेपनि
एक लाख रुपैयाँ राख्न गाह्रो भइरहेको थियो, पुरस्कार पाएर सजिलो भयो।”
हुम्लाका प्रत्येक घरमा सौर्य बिजुली पुर्याउने 'हुम्लामा उज्यालो'
अभियानमा लागेका रिसाल अहिले चेपाङलाई रेडियो सेट उपलब्ध गराउने र
७५ वटै जिल्लामा सामुदायिक रेडियो स्टेशन पुर्याउने अभियानमा पनि
सक्रिय छन्।
साढेदुई दशकदेखि साहित्यमा सक्रिय झापाका कृष्ण धरावासीले
लीला लेखनमा आधारित पछिल्लो कृति राधा का लागि मदन पुरस्कारप्राप्त
गरेका हुन्। उपन्यासमा उनले नौलो प्रयोग गरेर महाभारतकालीन समाज र
राधा–कृष्णको पे्रमगाथालाई पुनर्लेखन गरेका छन्। कविता, कथा, निबन्ध,
समालोचना र उपन्यासमा कलम चलाउँदै आएका धरावासीले हिमाल सँग भने “गाउँमा
बसेर लेख्दा पनि राम्रो लेखियो भने मूल्याङ्कन हँुदोरहेछ।”
•
अनुशील
जारी छ माओवादी चेतावनी
माओवादीहरूले धनकुटाका
एमाले कार्यकर्ताहरूलाई राजनीतिक गतिविधि नगर्न चेतावनी दिएका छन्।
छिन्ताङ र आँखीसल्लाका एमाले जिल्ला कमिटी सदस्य रुपलाल राई र मनोज
राई तथा छिन्ताङ गाउँ कमिटी सचिव महावीर राई र नेपाल उत्पीडित जातीय
मुक्ति समाजका जिल्ला सदस्य सूर्य विकले यस्तो चेतावनी पाएका हुन्।
माओवादीका ३ नम्बर एरिया सेक्रेटरी संजयले उनीहरूलाई पत्र नै लेखेर
राजनीतिक कार्यक्रम सञ्चालन गरे कार्वाही गरिने बताएका छन्।
चेतावनीपछि गाउँस्तरमा एमाले–माओवादी तिक्तता बढेको
छ। आफ्ना कार्यकर्ताबीच बढेको दूरी घटाउन दुवै दलका जिल्ला नेतृत्वबीच
पटक– पटक वार्ता भएपनि धम्क्याउने क्रम रोकिएको छैन। वार्तामा पटक–पटक
घटना दोहोरिन नदिने प्रतिबद्धता आएपनि माओवादी कार्यकर्ताहरू सच्चिन
नसकेको आरोप एमाले नेतृत्वको छ। माओवादीका धनकुटा जिल्ला सेक्रेटरी
मिक्सो भने एमालेका कार्यकर्तामाथि भइरहेको व्यवहार सच्याउन आफ्ना
कार्यकर्ताहरूलाई निर्देशन गरिसकिएको बताउँछन्।
यसैबीच प्रशिक्षणका नाममा माओवादीहरूले ७ भदौमा धनकुटाको
सरस्वती उच्च माविमा अध्ययनरत १३ विद्यार्थीको अपहरण गरेका छन्। अपहरणलगत्तै
आठ जनालाई तिनका अभिभावकले छुटाएर लैजान सफल भएका र बाँकी पाँच जना
अझै माओवादी कब्जामै रहेका मानवअधिकारवादी संस्था हुसाडेक नेपालले
जनाएको छ। जिल्ला सेक्रेटरी मिक्सो भने विद्यार्थीहरूलाई अपहरण नगरिएको
बरु कार्यक्रममा लैजान नदिई हस्तक्षेप गरिएको बताउँछन्। कार्यक्रममा
नआएको आरोपमा माओवादीले बूढीमोरङ–४ का पूर्व भारतीय सैनिक ६६ वर्षीय
शेरबहादुर लिम्बूलाई पनि अपहरण गरेर तीन दिनपछि छाडेका थिए।
•
सिद्धराज राई, धनकुटा
मालपोतमै बास
गएको १४ भदौदेखि जिल्ला मालपोत कार्यालयमा अनिश्चित
तालाबन्दी गर्दै धर्नामा बसेका दाङका झण्डै ६ हजार भूमिहीन, मुक्त
कमैया, सुकुुम्वासी र मोही किसानहरूको बास कार्यालय परिसरमै भइरहेको
छ।
आन्दोलनकारीहरूले एक परिवारलाई एक लालपुर्जा, महिला
र पुरुषको संयुक्त स्वामित्व, चार बिघाको हदबन्दी, हदबन्दीभन्दा बढी
जग्गा भूमिहीनहरूलाई वितरण, हाल बस्दै आएको जग्गा स्वतः आफ्नो नाममा
दर्ता, मुक्त कमैयाहरूलाई कम्तीमा १० कठ्ठा जग्गा लगायतका १४ सूत्रीय
माग राखेका छन्। जिल्ला प्रशासन कार्यालयका एक अधिकारी भन्छन्, “केन्द्रीय
तहबाटै निर्णय हुनुपर्ने विषय भएकोले मन्त्रालयमा पत्र लेखेका छौँ।”
धर्ना र तालाबन्दीबाट मालपोत कार्यालयको काम त ठप्प
भएको छ नै, धर्नामा बस्नेहरू बिरामी पर्न पनि थालेका छन्। महेन्द्र
अस्पताल, दाङका डा. प्रबोध रेग्मीका अनुसार, उनीहरूमा ज्वरो आउने,
मूर्छा पर्ने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ। उनीहरू खाद्य
अभावबाट पनि गुज्रन थालेका छन्। जिल्ला भूमि अधिकार मञ्च दाङकी संयोजक
शान्ता चौधरी भन्छिन्, “तैपनि, हाम्रो आवाज सरकारले सुनेकै छैन।”
•
उदय जीएम, दाङ
खरो मिजास, उदार प्रतिभा
“पहिले लेख्नू,
सुधार्नू, चित्तबुझ्दो गरी साफी गर्नू र त्यत्तिकै कतै थन्क्याएर राख्नू,
पकाउनू। चार महिनापछि आफैँले हेर्दा काम नलाग्ने, पत्रु लेखिएछ भन्ने
थाहा हुन्छर सुधारसहित त्योभन्दा राम्रो लेखेेर मात्र छाप्न दिनू!”
सिकारु लेखकहरूलाई लेख्ने कला सिकाउने क्रममा उनले भन्ने गरेका कुरा
हुन् यी।
“मलाई 'दाह्री नम्बर दुई' ले फोन गर्यो, 'पू.क.ज.'
र 'रामनामी' आजभोलि कता गए? 'भँगेरे' लाई एकचोटि मलाई भेट््न भनिदेऊ
है!” अधिकांश साहित्यकर्मीहरूका निम्ति उनले यस्तै उपनाम खडा गर्ने
गरेका थिएर तिनै उपनाममा कुराकानी हुन्थे उनका।
'टुँडिखेलमा काग करायो। मान्छे हरायो, मान्छे हरायो'
२०२२ सालमा 'भीमसेनपाती' सङ्ग्रहमा उनले 'मान्छे हराएको' जुन सङ्केत
गरेर कविता लेखेका थिए, तीन महिनाअघिसम्म पनि त्यसैलाई सम्झेर उनी
भन्दैथिए– “भाइ! साँच्चै मान्छे हराएको हरायै छ!” त्यसमाथि उनले थपेका
थिए, “अब त समाजमा पढाइ–लेखाइ गर्नेहरूको सङ्ख्या ठूलो भइसक्यो, तर
किताब पढ्न, पढेर टिप्पणी/छलफल गर्न तिनीहरू किन तयार हुँदैनन्? यो
के भएको हो हाम्रो समाजमा?” म मरेपछि मेरो लासको प्रदर्शनी र व्यापार
दुवैथोक हुन नदिनू है!– केही हप्ताअघि उनले सम्झाएका थिए।
'भूतको भिनाजु' अर्थात् वरिष्ठ हास्यव्यङ्ग्य साहित्यकार
वासुदेव शर्मा लुइँटेलको ९० वर्ष प्रवेशको दुई दिनपछि २५ भदौमा निधन
भयो। उनी छैनन्, अब उनका सिर्जना र स्मृतिहरू मात्र बाँकी छन्। यो
स्मृतिमा प्रायः सबै खेमाका साहित्यकारहरू सामेल छन्। किनभने सबै विचारका
स्रष्टाहरूलाई भेटौँ–भेटौँ लाग्ने थिए उनी।
वि.सं. १९९७ मा 'शारदा'मा 'आमा' कविता लेखेर लेखन–यात्रा
थालेका वासुदेव शर्मा लुइँटेलले २००६ मा 'भूत छैन' भनेर आफ्नो सिर्जनामा
उद्घोष गरेदेखि नै आफूलाई 'भूतको भिनाजु' भनेर चिनाउन थालेका हुन्।
अनेकथरी नामहरूमा लेख्ने, थोरै लेख्ने तर तौलेर लेख्ने बानी भएका उनले
'भूत छैन' पछि २०२२ मा 'चिठी चपेटा', २०२४ मा 'भीमसेनपाती', २०२८ मा
'जय नेपाल', २०४३ मा '.... बाट', २०४६ मा '... बाटको बाँकी' र सोही
साल 'काकाका कुरा', 'कुराउनी' अनि २०५२ मा 'व्यक्तिगत चिठी', २०५६
मा 'सोहरसाहर' लगायतका मौलिक कृतिहरू छाडेर गएका छन्। हास्यव्यङ्ग्य
कविता, निबन्ध र संस्मरणात्मक निबन्ध उनका मूल विधा हुन्। २०२३ सालमा
उनले स्थापना गरेको 'कौवा प्रकाशन' ले नेपाली हास्यव्यङ्ग्य क्षेत्रका
अधिकांश स्थापित स्रष्टालाई बाहिर ल्याउने काम गर्यो।
सङ्ग्रह प्रकाशन, भैरव प्रकाशन, हाम्रो प्रकाशन, ढुङ्गाअड्डा
प्रकाशन, नयाँ नैकाप भञ्ज्याङ्ग प्रकाशन, तेत्तीसपुतली प्रकाशन लगायतका
नाममा उनले धेरै साहित्यकारका जीवनी, रचना र स्मृति प्रकाशित गरिदिएका
छन्। भैरव–वासुदेव छात्रवृत्तिदेखि हास्यव्यङ्ग्य क्षेत्रको सबैभन्दा
बढी रकम–राशीको वासुदेव लुइँटेल पुरस्कारसम्मका संस्थापक उनले निरन्तर
हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धनमा आफूलाई समर्पित गरे।
सन् १९९९ देखि नेपाली भाषा प्रकाशिनी समितिका जागिरे
'पण्डित' उनी २००४ पछि गोरखापत्र का पनि 'पण्डित' भए। काठमाडौँका जे.पी.,
कान्ति–ईश्वरी, रात्रि पाठशाला जस्ता स्कूलमा शिक्षण कार्य पनि गर्दै
गए। तीन दशकभन्दा बढी जगदम्बा प्रकाशन, जगदम्बा प्रेस र मदन पुरस्कार
गुठीमा प्रमुख व्यवस्थापक सम्म रहेर काम गरेका उनले जीवनको अन्तिम
समयसम्मै क्रियाशील जीवन बिताए।
सिर्जना र व्यवहार दुवैमा वासुदेव लुइँटेलले एउटा खरो मिजासका सुधारवादी,
उदारवादी प्रतिभा हुनुको भूमिका निर्वाह गरे। उनको यही उदारवादले गर्दा
नै होला, व्यक्तिगत रूपमा पनि उनी नहुनुको शून्यता अनुभव गर्ने व्यक्तिहरू
धेरै छन्।
•
हरिगोविन्द लुइँटेल
|