तन्नेरी
साथीसँग यौनका कुरा
तपाईं यौन स्वास्थ्यका बारेमा केही समस्या पर्यो वा
सोध्नु पर्यो भने बाबु–आमा वा शिक्षक–शिक्षिकासँग कुरा गर्न सक्नुहुन्छ?
पक्कै सक्नुहुन्न। तर, कपिलवस्तु र महोत्तरीका केही गाउँका युवाहरू
कुरा गर्ने मात्र होइन, घरमा कण्डम लगिदिने समेत गर्दछन्।
•
शैली बस्नेत

सुरज कुँवर |
| गौशाला, महोत्तरीको युवा मैत्री सेवा केन्द्रमा
छलफल गर्दै साथी शिक्षक एकता के.सी.(बीचमा)। |
तपाईंलाई यौन
स्वास्थ्य सम्बन्धमा केही समस्या परे वा केही सोध्न मन लागे कोसँग
कुरा गर्नुहुन्छ? सकेसम्म त कसैसँग कुरै गर्नुहुन्न। गरिहाले पनि बाबुआमा
वा शिक्षकलाई त पक्कै भन्नुहुन्न। साथीहरूलाई सम्म भन्नुहोला। तर साथीबाट
त्यस्ता प्रश्नको उचित र सही जवाफ नआउन पनि सक्छ।
'एचआईभीबारे खुलेर कुरा गरौँ' भन्ने खालका नारा पुरानो
भइसक्दा पनि युवापुस्तालाई यौन शिक्षा दिने विषयमा योजनाबद्ध काम भएको
छैन। हाल नेपालमा यौनशिक्षा दिने प्रमुख औपचारिक माध्यम विद्यालयस्तरमा
पढाइ हुने 'जनसङ्ख्या तथा स्वास्थ्य' विषय मात्रै हो। तर, यही विषयको
पनि प्रजनन स्वास्थ्यसम्बन्धी पाठ आएपछि धेरै विद्यालयका शिक्षकहरू
कक्षामा खुलेर पढाउँदैनन्। विद्यार्थीहरू पनि यस्तो विषय पढ्न सजिलो
मान्दैनन्। अझै पनि अधिकांश युवाहरू पत्रपत्रिका, चलचित्र, विदेशी
टेलिभिजन र साथीसँग कानेखुसीबाटै 'यौन शिक्षा' पाउँछन्। साथीको समूहभन्दा
बाहिर यौनका कुरा गर्ने हिम्मत धेरैले गर्दैनन्।
यो यथार्थलाई मनन गरेर नेपाल परिवार नियोजन संघले संयुक्त
राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) को सहयोग एवं सरकारी तथा निजी
क्षेत्रको सहकार्यमा कपिलवस्तु र महोत्तरी जिल्लामा 'युवा मैत्री सेवा
नेपाल परियोजना' सञ्चालन गरेकोे छ। परियोजनाका आठ महिना बित्दा कपिलवस्तुका
कृष्णनगर, तौलिहवा र महाराजगञ्ज तथा महोत्तरीका जलेश्वर, बर्दिवास
र गौशालाका युवाहरू यौनका बारेमा खुलेर कुराकानी गर्ने भएका छन्।
परिवार र विद्यालय भन्दा साथीसँग यौनका कुरा गर्न सजिलो
हुने भएकोले १० देखि २४ वर्षका केही युवाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य
सम्बन्धी तालिम दिएर उनीहरूबाट अन्य युवाहरूमा यौन शिक्षा विस्तार
गर्दै लैजाने नीति परियोजनाले लिएको छ। यसका लागि हरेक क्षेत्रबाट
पाँच–पाँच जना युवा–युवतीलाई 'साथी शिक्षक' छनोट गरी तालिम दिइएको
छ। उनीहरू यी क्षेत्रमा स्थापित युवा मैत्री सेवा केन्द्रमा जम्मा
भएर यौन तथा प्रजनन स्वास्थ्य शिक्षाका बारेमा छलफल गर्नुका साथै विभिन्न
चेतनामूलक कार्यक्रम सञ्चालन गर्छन्। विद्यालय जानेहरूका लागि 'इन
स्कूल' र नजानेहरूका लागि 'आउट स्कूल' कार्यक्रममार्फत् यौन, प्रजनन
स्वास्थ्य तथा एचआईभी/एड्ससम्बन्धी जानकारी दिन्छन्। हरेक केन्द्रमा
यौन रोगको परीक्षण र उपचार गरिने नर्सिङ सेवा पनि उपलव्ध छ।
साथी शिक्षक बनेका यी युवालाई यो अभियानमा संलग्न हुन
त्यति सजिलो भने भएको थिएन। गौशालाकी एकता के.सी. भन्छिन्, “गाउँमा
मलाई कस्तो काममा लागेको, बाबुआमाले केही भन्दैनन्भनेर बेइज्जत गरे।”
जलेश्वरकी कविता सिंहलाई आमाले पछि बिक्न (बिहा हुन) गाह्रो हुन्छ
भनेर कार्यक्रममा जान दिइनन्। सुमित कर्णले लाजमर्दो विषयमा काम गरेको
भनेर गाउँलेबाट हेपिएको अनुभव गरेका थिए।
तर, अहिले यीलगायत सबै साथी शिक्षकहरूको गाउँमा इज्जत
बढेको छ। सबैका अगाडि आफूलाई गाली गर्ने व्यक्तिले चार महिनापछि आफ्नी
छोरीलाई समेत सँगै लैजान आग्रह गरेको एकता बताउँछिन्। शुरुमा कार्यक्रममा
जानुपर्दैन भन्ने आमाले नै पछि कवितालाई जान प्रोत्साहित गर्न थालिन्।
कक्षामा सँगै पढ्ने र आफूसरहका साथीले त यौन जिज्ञासा राख्थे नै; ठूला
दाइ, दिदी, काका, काकीसरहका र परिवारकै सदस्यले पनि सोध्न र सहयोग
लिन थाले। शशीकान्त कनैजिया भन्छन्, “यसले धेरै जानेको रहेछ भनेर ठूला
मान्छेहरू पनि सोध्न आउँछन्, इज्जत गर्छन्।”
साथीहरूसँग अन्तरक्रिया गर्न थालेपछि परिवारमा पनि
यौनका कुरा गर्न सहज हँुदै गएको युवाहरूको अनुभव छ। बर्दिवासकी रचना
हमाल भन्छिन्, “पहिला त यौनको केही कुरै हँुदैनथ्यो। अब त चाहिने कुरा
जति घरमा सजिलैसँग हुन्छ, आमासँग त झन् राम्ररी कुरा हुन्छ।” जलेश्वरका
रवि कर्ण युवा मैत्री सेवा केन्द्रमा उपलब्ध हुने कण्डम दाजुहरूलाई
लगिदिन्छन्। घरमा कण्डम देख्दा पनि आमा र दिदीहरूले कुनै आपत्ति नजनाउने
वातावरण बनिसकेको उनी बताउँछन्। सुभद्रा कोइराला भन्छिन्, “पहिले–पहिले
कण्डमको विज्ञापन आउँदा भाउजूले टेलिभिजन नै बन्द गरिदिनुहुन्थ्यो,
अहिले त भाउजूलाई चाहिएको बेलामा मै लगिदिन्छु।”
प्रजनन स्वास्थ्यको पाठ पढाउने बेलामा 'आफैँ पढ्नू'
वा 'पछि पढाउँला' भनेर तर्किने विद्यालयका शिक्षक–शिक्षिकाहरूको प्रवृत्ति
पनि फेरिएको छ। साथी शिक्षक युवाहरूका अनुसार, अहिले विद्यार्थीहरू
पनि खुलेर प्रश्न राख्छन् भने परियोजनाबाट तालिम पाएका शिक्षकहरूले
पनि यौन स्वास्थ्यको पाठ राम्ररी पढाउन थालेका छन्। यसबाहेक, शुक्रबारको
कक्षापछि साथी शिक्षकलगायतका युवाहरूले विद्यालयमा यौन शिक्षाको छुट्टै
कक्षा पनि चलाउन थालेका छन्।
गाउँघरमा सडक नाटक र अन्तरक्रिया कार्यक्रमहरू पनि
हुन्छन्। यसका लागि दिन, समय, ठाउँ तोक्नेदेखि नाटक लेख्ने र कार्यक्रम
व्यवस्थापन गर्नेसम्मका सबै काम युवाले नै गर्छन्। परिवार नियोजन संघका
परियोजना संयोजक दिनेश प्रधान भन्छन्, “हामीले त संयोजन मात्रै गरेका
हौँ, यो युवाहरूकै सम्पूर्ण विकासका लागि उनीहरूकै कार्यक्रम हो।”
यसरी काम गर्दा युवाहरूले परिवार र समाजका साथै आफैँमा
पनि परिवर्तन देख्न थालेका छन्। प्रीति चौधरी भन्छिन्, “पहिले त कतिपय
शब्द उच्चारण गर्न पनि अप्ठ्यारो लाग्दथ्यो, अहिले त कण्डम कसरी प्रयोग
गर्नेदेखि विभिन्न यौनरोग, महिनावारीमा अपनाउनुपर्ने सावधानी जस्ता
कुरा सिकाउन सक्छु।” गौशालाकी मञ्जु शाह थप्छिन्, “पहिला म धेरै लजाउँथेँ,
अहिले नलजाई–नडराई कुरा गर्न सक्छु।” जलेश्वरका सन्तोष पासवान आउट
स्कूल कार्यक्रमका कारण दलित बालबालिकाहरूको विद्यालय भर्ना समेत बढेको
बताउँछन्। महोत्तरीका जनस्वास्थ्य प्रशासक विजय कुमार झा भन्छन्, “स्वास्थ्यका
विषयमा अन्य परियोजनाहरू पनि सञ्चालन भइरहेका छन्, तर स्थानीय युवाको
सक्रियता रहेको यो कार्यक्रम सबैभन्दा प्रभावकारी छ।”
परियोजनाले युवाहरूमा विकास गरेको नेतृत्व क्षमता,
आत्मविश्वास र त्यसको सामाजिक प्रभावबाट उत्प्रेरित परियोजना सञ्चालकहरूले
सन् २००६ जुनसम्मका लागि तय भएको कार्यक्रमलाई डिसेम्बरसम्म बढाएका
छन्। कार्यक्रमको अवधि र कार्यक्षेत्र विस्तार हुनुपर्ने स्थानीय माग
छ। विशेष गरी पिछडिएका गाउँहरू र यौन–व्यवसाय धेरै हुने भारतीय सीमावर्ती
क्षेत्रहरूसम्म यौन रोगबारे जानकारी फैलाउनुपर्ने आवश्यकतामा युवाहरूले
जोड दिएका छन्। कपिलवस्तु र महोत्तरीमा बालविवाह अझै चलनचल्तीमा रहेको
र १५–१६ वर्षमै किशोरीहरू गर्भवती हुनेगरेको वास्तविकता औँल्याउँदै
घरव्यवहारका प्रायःजसो निर्णय अभिभावकले गर्ने भएकाले उनीहरूलाई पनि
लक्षित गरेर केही अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने दिपु भुजेल बताउँछन्।
कपिलवस्तु र महोत्तरीका साथी शिक्षक युवाहरूले उचित
तालिम र वातावरण पाए छोटो समयमै गाउँघरमा परिवर्तन ल्याउन सकिने कुरा
गरेर देखाएका छन्। यौनका कुरा पढेलेखेका शहरियाहरूका लागि समेत असहज
र अप्ठ्यारो विषयको रूपमा रहिरहेको र यौन सचेतनाका लागि राष्ट्रव्यापी
अभियानको खाँचो देखिएको पृष्ठभूमिमा साथी शिक्षकहरूको यो अनुभव अन्य
क्षेत्रका निम्ति पनि उत्प्रेरक बन्न सक्दछ।
|