स्थलगत
हिमाली पैसा अर्थात् यार्सागुम्बा
हिमाली जिल्लाका घाँसे–मैदान र पाखाहरूमा यार्सागुम्बा
खोज्न जानेहरूको ओइरोले देखाउँछ– थुप्रै गाउँलेको निम्ति अर्थोपार्जनको
आकर्षक स्रोत बनिरहेको छ यो 'जीवन–बुटी'।
•
सुशील ज्ञवाली बझाङ–कालापानीमा, तस्बिर पनि

कालापानी पाटनमा यार्सागुम्बा खोज्दै बझाङ्गीहरू। |
करीब १२
हजार बझाङ्गीहरू यतिखेर हिमाली पाटनहरूमा यार्सागुम्बा (आधा वनस्पति,
आधा जीवका रूपमा भेटिने जडीबुटी) सङ्कलनमा व्यस्त छन्। दार्चुलासम्म
फैलिएको बझाङको सुर्मा क्षेत्रको उच्च पाटन (घाँसेमैदान, पाखा) मा
बझाङ, दार्चुला र बैतडीका करीब १० हजार सङ्कलकहरू पुगेको अनुमान छ
भने बझाङकै काँडा क्षेत्रमा काँडा, दाँतोला, मष्टा, भातेखोला, रीलु,
मेलबिसौला, कैलाश, कोटदेवल, सुनीकोट र धमेना गाविसका करीब २७ सय र
हुम्लाका तीन सय सङ्कलकहरू यो मूल्यवान् जडीबुटीको पछि लागेका छन्।
विविध जडीबुटी र विषालु फूलहरूले भरिएका घाँसे फाँटहरूमा पुगेका सङ्कलकहरूलाई
विषालु गन्ध र चिसोले प्रशस्तै सताउँछ। कतिपयलाई लेक लाग्छ, रिँगटा
चल्छ। तर, वर्षभरिका लागि हातमुखको जोहो गर्ने बाध्यताका कारण उनीहरू
यो अभियानबाट हत्तपत्त पन्छिदैनन्। वर्षादमा प्लास्टिक ओढेर भुइँमा
घोप्टिएरै भएपनि उनीहरू हिमाली घाँस ओल्टाइपल्टाई गरिरहेका भेटिन्छन्।
थुप्रै स्कुले बालकहरू आफ्ना अभिभावकहरूका साथ यार्सागुम्बा सङ्कलनका
लागि पाटनहरूमा पुगेकाले काँडा क्षेत्रका सम्पूर्ण विद्यालयहरू अहिले
बन्द छन्।
जेठको पहिलो साताबाट शुरु भएको यो वर्षको यार्सागुम्बा
सङ्कलनको काम असारभरि जारी रहने सम्भावना छ। सङ्कलनका लागि वर्षायाम
उपयुक्त समय हो। स्थानीय सङ्कलक डम्बरबहादुर सिंहका अनुसार जति बढी
पानी पर्यो, यार्सागुम्बा उति नै बढी भेटिने सम्भावना रहन्छ। दुई
महिनासम्म दुःखपूर्वक बस्दा एक सङ्कलकले करीब एक हजार यार्सागुम्बा
सङ्कलन गर्न सक्छन्, तर लेकमा धेरै दिन बस्न नसक्नेहरू तीनचार सय बुटीमै
चित्त बुझाएर फर्कन्छन्। यो क्षेत्रमा यार्सागुम्बा सङ्कलनबाट हुने
आम्दानी अन्य उपायबाट आउनेभन्दा आकर्षक भएकाले सङ्कलकहरूको सङ्ख्या
हरेक वर्ष बढिरहेको छ। भारत गएर ६ महिना मजदुरी गर्दा हुने कमाइ एक
सिजन यार्सागुम्बा टिपेरै गर्न सकिने कैलाश गाविसका सङ्कलक जवती सिंहको
अनुभव छ।

कालापानी पाटनमा करीब पाँच सय सङ्कलकहरू
यस्तै पालमा रात बिताउँछन्। |
यार्सागुम्बा सङ्कलकहरू पाल टाँगेर सिजनभरि पाटनहरूमै
बस्छन्। खानेकुरा, अन्नपातको जोहो शुरुमै गरिन्छ। कालापानी पाटन क्षेत्रमा
मात्रै ६०–७० पालहरूमा करीब पाँच सय सङ्कलकहरू बसिरहेका छन्। उनीहरू
दिनभरि जम्मा गरेको यार्सागुम्बा साँझ दाँत माझ्ने ब्रसले सफा गर्छन्
र जतनसाथ थन्क्याउँछन्। केहीले एउटा पालमा बस्ने सबैको बुटी एकैठाउँ
जम्मा गरी सामूहिक हिसाब गर्छन्।
यसरी सङ्कलित यार्सागुम्बा सिजन सकिएपछि स्थानीय एजेन्ट
लगाएर व्यापारीले गाउँ–गाउँबाट उठाउने गरेका छन्। प्रायः सङ्कलकहरूले
व्यापारीहरूबाट अघिल्लो वर्ष वा सिजनअगावै पेश्कीस्वरूप रकम, चामल
र लत्ता–कपडा लिइसकेका हुनाले पनि व्यापारीले तोकेको मूल्यमा यार्सागुम्बा
बुझाउनुपर्ने उनीहरूको बाध्यता छ। गत वर्ष बझाङी सङ्कलकहरूले प्रति
केजी (एक केजीमा करीब चार हजार यार्सागुम्बा अटाउँछन्) रु.१ लाख ३५
हजारसम्ममा यार्सागुम्बा बेचेका थिए भने डोल्पाका सङ्कलकहरूले प्रति
केजी रु.२ लाखसम्म पाए। गत वर्ष सङ्कलकहरूले २५ रुपैयाँ प्रतिगोटाका
दरले बेचेको यो बुटीको यो वर्षको मूल्य निर्धारण भइसकेको छैन। सङ्कलकहरूले
यस पटकको मूल्य प्रतिगोटा रु.३५ भन्दा बढी हुने अनुमान गरेका छन्।

सङ्कलित यार्सागुम्बालाई जतनसाथ थन्क्याउँछन्
|
सङ्कलकबाट किनेको यार्सागुम्बा व्यापारीहरूले हिमाली
बाटो हुँदै तिब्बतको सीमावर्ती बजार ाक्लाकोट पुर्याउने गरेका छन्।
त्यहाँ तिब्बतीहरूलाई यार्सागुम्बाको कारोबार गर्न छुट भए पनि नेपालीहरूले
सोझै बेच्न पाउँदैनन्। यार्सागुम्बासहित कुनै नेपाली भेटिएमा मूल्यको
२५ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ। नेपालभित्रै पनि माओवादीलाई
निश्चित शुल्क बुझाउनुपर्ने बाध्यतामा छन् व्यापारीहरू। गत वर्ष प्रतिकेजी
२७ हजार रुपैयाँका दरले माओवादीले बझाङको काँडा क्षेत्रबाट मात्रै
रु.१७ लाख उठाएको र अझै पनि उधारो शुल्क उठाउँदै हिँडेको सङ्कलकहरू
बताउँछन्। तिब्बतसँगको व्यापारमा विविध समस्या भएकाले व्यापारीहरू
राजस्व तिरेरै काठमाडौँमार्फत् व्यापार गर्न इच्छुक रहेको तर यसका
लागि आवश्यक व्यवस्था मिलिनसकेको स्थानीय व्यापारी रामबहादुर बोहराको
भनाइ छ।
हिमाली भेकको जडीबुटी व्यवस्थापन र संरक्षणमा समेत काम
गर्दै आएको संस्था एन्साबले दुई वर्ष पहिले गरेको अनुमान अनुसार नेपालमा
बर्सेनि २० क्विन्टल यार्सागुम्बाको कारोबार हुने गरेको छ। हाल डोल्पा,
जुम्ला, मुगु, दार्चुला, बझाङसँगै हुम्ला, गोरखा, लमजुङ र रसुवामा
पनि यार्सागुम्बा सङ्कलन हुन थालेको छ। माघ २०५८ अघि अवैध मानिने यार्सागुम्बा
सङ्कलन तथा बेचबिखनलाई सरकारले २० हजार रुपैयाँ प्रति किलो राजस्व
तोकेर वैधता प्रदान गरेको थियो। त्यो शुल्क अहिले रु.१० हजारमा झारिएको
छ। यो बाहेक दिगो व्यवस्थापन र सङ्कलकको हितमा हुने गरी अन्य काम भएको
देखिँदैन। संस्थागत ढङ्गले यार्सागुम्बाको व्यापार–प्रवर्द्धन गर्न
सके यसबाट राम्रै राजस्व उठ्ने स्थिति छ।

|