रमझम
छिरिङको दोहोरो रुप
छिरिङ लामा,
मोडेल
तिब्बती मूलकी नेपाली
चेली छिरिङ डोल्कर लामाका धेरै साथी 'आनी' बनेका छन् । उनका मामा शेरा
सानैदेखि दक्षिण भारतको एउटा गुम्बामा छन् । तर, उनी भने चलचित्रमा
मात्र आनी बनेर मुक्तिनाथको गुम्बामा बसेकी छन् । युवा निर्देशक छिरिङ
रितारको नेपाली र तिब्बती भाषामा बनेको चलचित्र कर्मा मा 'आनी कर्मा'
बनेर देखिएकी छिरिङ वास्तविक जीवनमा आनी बन्न चाहन्नन् । उनी भन्छिन्,
"अभिनय मात्र गरेको, आनी बन्नलाई त कडा प्रतिबद्धता चाहिन्छ,
म त्यसरी बस्न सक्दिनँ ।"
चलचित्रकी आनी कर्मा र यथार्थ जीवनकी छिरिङ लामाका बीच
आकाश जमिनको फरक छ । राजधानीको रमझमपूर्ण वातावरणमा हुर्किएकी छिरिङको
कहिले साथीहरूसँग डान्स पार्टीमा नाचेर त कहिले घरैमा अङ्ग्रेजी चलचित्र
हेरेर मस्ती गर्ने बानी छ । भन्छिन्, "कर्मामा अभिनय गरेपछि आनीहरूलाई
नजिकैबाट बुझन पाएँ । उनीहरू त्यहीँ डुबिरहेका र रमाइरहेका छन् । म
उनीहरूजस्तो भएर रमाउन सक्दिनँ र उनीहरू पनि मजस्तो भएर रमाउन सक्दैनन्
।" चलचित्र छायाङ्कन गर्दा गुम्बामा बसेकी छिरिङ गुम्बा बाहिरको
संसारमा हुर्किएकीले सधैँ गुम्बाको वास आफूलाई कठिन लाग्ने बताउँछिन्
। "सानैदेखि आनी बनेकाहरूलाई गुम्बा शहरको राम्रो स्कूलको होस्टल
जस्तै लाग्छ होला नि", उनी भन्छिन् । त्यसो त आनीहरूलाई पनि उनले
गीत-सङ्गीत मन पराउने, चलचित्र हर्ेर्ने कुरामा सामान्य मान्छेसरह
नै उत्सुक पाएकी थिइन् ।
स्वयम्भू, छाउनीकी छिरिङले दुइ वर्षघि स्टुडियो सेभेनको
अङ्गे्रजी नाटक फायर रेजर बाट अभिनय शुरु गरेकी हुन् । त्यसपछि गुड
पर्सन अप सेच वान, ड्रागन र टोवा साङ्मो -तिब्बतेली नाटक) मा अभिनय
गरिन् । बुबा शम्भुकुमार लामा रङ्गकर्मी नै भएका र स्टुडियो सेभेनमा
सानैदेखि सविना लेहमेनका अङ्ग्रेजी नाटक हेर्दै आएकीले उनी अभिनयतर्फआकषिर्त
भएकी हुन् । स्क्रिप्ट राम्रो भए अरू चलचित्रमा पनि काम गर्ने, नत्र
नाटकमै निरन्तर लागिरहने उनको इच्छा छ ।
अङ्ग्रेजी नाटक गुड पर्सन अप सेच वान मा सेण्टे नामकी
वेश्याको प्रमुख भूमिका निर्वाह गरेकी छिरिङको अनुभवमा चलचित्र र नाटकमा
धेरै अन्तर छ । भन्छिन्, "नाटकमा कहिलेकाहीँ ओभर एक्टिङ पनि गर्नुपर्छ,
तर चलचित्रमा रियल नै हुन्छ ।" आनी कर्मा र वेश्या सेण्टेको दुइ
अत्यन्त फरक भूमिकामा उत्तिकै सशक्त छिरिङलाई कर्माको भूमिका बढी मन
परेको छ । पात्रका रूपमा आनी र सेण्टे तथा यथार्थमा आफूलाई राखेर सोच्दा
तीन अलग धार पाएकी छिरिङ भन्छिन्, "अभिनय गर्दा म डुबेर गर्छुचाहे
त्यो वेश्या होस् या आनी । तर मेरो जस्तो सहज देख्दिनँ उनीहरूको जीवन
!"
तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटी पार्लर
•
अनुशील श्रेष्ठ
रिपोर्ट
'अश्लीलता' यस्तो बन्देज!
कतारका सडकमा थोरै विदेशीबाहेक बुर्का
नलगाएका कतारी महिला देख्न पाइँदैन। यहाँको सरकारले पत्रपत्रिका, चलचित्र
र इण्टरनेट साइटका अर्धनग्न वा नग्न तस्बिर र दृश्यमाथि पूरै बन्देज
लगाएको छ।
•
डम्बरकृष्ण श्रेष्ठ, दोहामा

तस्वीरहरूः डम्बरकृष्ण श्रेष्ठ |
कतारको राजधानी दोहाको नेशनलस्थित टाइम्स भिजन
भिडियो पार्लरमा भित्ता भरी हिन्दी चलचित्रका पोष्टर टाँगिएका छन्,
तर तिनमा देखिने नायिकाहरूका लुगाले नछोपिएका भागमा कालो पोतेर। खुट्टा,
छाती, नितम्ब र कतिपय तस्बिरका अनुहारमा समेत कालो पोतिएका छन्। कतारमा
रहेका झण्डै दुइ दर्जन साना, ठूला भिडियो पार्लर र त्यत्तिकै सङ्ख्यामा
रहेका विदेशी पत्रपत्रिका आयात गर्ने पसलहरूले सरकारी सेन्सरसीपबाट
पास नभई कुनै सामग्री बजारमा बेच्न पाउँदैनन्।
दोहाको नेपाली पत्रपत्रिका पसल 'हाम्रो नेपाल
एभरेष्ट बुक शप' मा बेच्न राखिएका नेपाली र हिन्दी पत्रिकाका धेरै
तस्बिरमा कालो पोतिएको देखिन्छ। पसल–सञ्चालक हरि चौलागाईँ नेपालबाट
आउने साप्ताहिक, विमोचन, सत्यकथा, तथ्यकथा जस्ता पत्रिकामा बढी सेन्सर
हुने र कतिपय नेपाली नायिका र मोडलहरूका तस्बिरमा कालो पोतिने गरेको
बताउँछन्। भन्छन्, “कान्तिपुर पब्लिकेशन्सको साप्ताहिक हरेक पटक कहीँ
न कहीँ कालो पोतिएरै आउँछ, अलि नग्न पोज भएका मोडल र नायिकाको तस्बिर
भएका ब्लो अप पेजले पाठकसम्म पुग्नै पाउँदैनन्।” रसरङ्ग जस्ता यौन
साहित्यप्रधान पत्रपत्रिका त बेच्नै पाइँदैन। नेपाल–भारतका अधिकांश
पत्रपत्रिकाहरूको अधिकृत एजेण्ट दोहास्थित राघवन लाइब्रेरी हो।
 |
विगत १० वर्षदेेखि दोहाको टाइम्स भिजन भिडियो
पार्लरमा कार्यरत अशोक श्रेष्ठ कतारमा हिन्दी र नेपाली चलचित्रको माग
ठूलो भएपनि पार्लरमा पोष्टर राखेर चलचित्रका सीडी चक्का बेच्न गाह्रो
हुने बताउँछन्। अधिकांश हिन्दी चलचित्रका पोष्टरहरू कालो पोतेर मात्रै
टाँस्न पाइने बताउँदै उनी भन्छन्, “नेपाल र भारतमा खुल्ला रूपमा टाँसिने
पोष्टर र हेर्न पाइने चलचित्र यहाँ कानुन विपरीत हुन्छन्। पसलमा नायिकाका
अर्धनग्न तस्बिर राख्न पाइँदैन।”
डेढ लाख नेपाली र त्यत्तिकै सङ्ख्यामा भारतीय,
पाकिस्तानीहरू रहेका कतारमा हिन्दी र नेपाली चलचित्रको माग निक्कै
छ। तर यस्ता चलचित्रका आधिकारिक रूपमा ल्याइने रिल, टेप वा सीडीहरू
सेन्सरबाट पास हुन निकै गाह्रो हुने हुनाले यो माग लुकीछिपी ल्याइएका
पाइरेटेड सीडीहरूले पूरा गर्छन्, जसको व्यापार यहाँ निकै ठूलो छ। दोहाको
माछापुच्छ्रे इलेक्ट्रोनिक्सले नेपाली चलचित्रका सीडी र म्युजिक भिडियोहरू
बटुलेर आफैँले नयाँ कलेक्सन बनाई बेच्ने गरेको छ। नेपालका चलचित्र
हलमा प्रदर्शन भइरहेको बेला भिडिओमा खिचिएका नयाँ–नयाँ चलचित्रहरू
पनि सीडीमा किनेर हेर्न पाइन्छ। नेपालबाट लुकी, चोरी जाने चलचित्र
र म्युजिक भिडियोका कपीहरू १५ रियाल (रु.३००) सम्ममा बिक्री हुन्छन्।
अनधिकृत रूपमा बेचिने यस्ता सीडीको कतार सरकारले खासै खोजीनिती पनि
गर्दैन।
 |
अर्कोतिर, कतार सरकारले इण्टरनेटका नग्न साइट
र तस्बिरहरूलाई पनि देशभर खोल्न नसकिने गरी बन्देज लगाएको छ। तर चौबीसै
घण्टा अश्लील चलचित्र प्रसारण हुने स्याटलाइटको स्पाइस च्यानल आउने
डिस भने घर–घरका छतमा देख्न पाइन्छ। कडा सेन्सरसीप भए पनि टेलिभिजन
च्यानलमा आउने अश्लील दृश्य सरकारले रोक्न सकेको देखिँदैन। एक भिडियो
पार्लरका सञ्चालक भन्छन्, “सरकारले विदेशी च्यानल हेर्न चाहिँ आँखा
चिम्लिदिए जस्तो देखिन्छ।”
कट्टर मुश्लिम राष्ट्र कतारका शहरबजारमा थोरै
विदेशी बाहेक बुर्का नलगाएका कतारी महिला देख्न पाइँदैन। ठूला व्यापारिक
केन्द्र र डिपार्टमेण्टल स्टोरमा देखिने नवयुवतीहरूको अनुहार पनि प्रायः
बुर्का भित्रै लुकेको हुन्छ।
रिपोर्ट
जीवनको रङ्गमञ्चमा आशा
नाटक 'मिलारुपा'मा आशाको अभिनय। |
आशा मगरातीको
पेशा मात्रै होइन अभिनय, रुचि पनि हो। त्यसैले बितेको १६ वर्ष लामो
अभिनय यात्रामा उनले अनेक भूमिका गरेकी छन्। नाट्यकर्मी सुनिल पोखरेल
निर्देशित श्रद्धालु वेश्या, निर्देशक बी.एस. राणाको बसन्ती र स्टुडियो
सेभेनको सेतो बाघ, मिलारुपा, महाभारत, पञ्चतन्त्र र बाबुराजा आशाले
अभिनय गरेका केही नाटकका नाम हुन्। पछिल्लो समयमा उनले अनुप बरालको
नाटक खुमा र नविन सुब्बाको टेलिशृङ्खला दलन मा निभाएको भूमिका निक्कै
कठिन थिए। तर, आशाका लागि नियतिले वैशाखको तेस्रो साता जुराएको भूमिका
अहिले सम्मकै सबैभन्दा कठिन र चुनौतीपूर्ण बन्यो।
सिङ्गो मुलुक लोकतन्त्र प्राप्तिको लडाइँमा होमिँदा
भएको बन्दका कारण आफ्नी ६० वर्षीया आमा चौथीमायाले उपचार नपाएको कुरा
भने उनलाई पत्तै भएन। बेलबारी, मोरङमा बस्ने आमा चौथीमाया मुटु रोगी
थिइन्, उपचारका लागि धरानस्थित घोपा क्याम्प गइरहनुपर्ने। १९ दिन लामो
बन्दमा अस्पताल लैजान काठमाडौँबाट छोरी घर पुग्नुअघि नै चौथीमायाको
मृत्यु भयो। '१२ छोरा १३ नाति, बूढाको धोक्रो काँधै माथि' भनेजस्तै
थियो ६ सन्तान भएका आशाका बाबुआमाको स्थिति।
जीवनको यो यथार्थ 'नाटक' भने आशाको लागि जुझारु
भएर लड्ने चुनौती रहेछ। उनका तीन दाजुहरू थिए। तर, आमाको आशौच बार्ने
कोही भएन। नजिकको नातेदार खोज्न थालिएपछि आशा आफैँ आमाको मुखमा दागबत्ती।
दिन अघि सरिन्। महिला कलाकारको सबैभन्दा महत्त्वपूर्ण वस्तु कपाल खौरिन
समेत उनी हिच्किचाइनन्।

दिपक रौनियर |
“मेरी आमाको किरिया गर्न अरू मान्छे खोजिँदा मलाई
साह्रै चित्त दुख्यो”, भन्छिन्, “आखिर मलाई जन्माउन–हुर्काउन पनि आमाले
उत्ति नै दुःख गरेकी छिन् भने मैले किन किरिया गर्न नहुने?” जेठीआमा
पट्टीका छोराहरूले आफ्नो आमाबुबा दुवै जिउँदै हुँदा आशौच बार्न नमिल्ने
भनेर कान्छीआमा चौथीमायाको किरिया गर्न मानेनन्। छोरीले किरिया गर्न
हुने नहुने विषयमा पनि निक्कै ठूलो विवादपछि आशाले आशौच बार्ने अनुमति
पाइन्।
युनाइटेड एकेडेमी जावलाखेलकी नाट्य प्रशिक्षक
आशालाई हरेक मान्छेको आफ्नो परिचय हुनुपर्छ भन्ने लाग्छ। अभिनयमा डेढ
दशक बिताएकी उनको चाहना नाटक निर्देशकको रूपमा परिचय बनाउने हो।
उनको निर्देशनको नाटक पहिलो पटक प्रज्ञा प्रतिष्ठानद्वारा
आयोजित 'राष्ट्रिय नाटक महोत्सव २०६३' मा ११ असारमा प्रदर्शन भएको
थियो। देवताकी आमा, निजगढका तपस्वी राम बम्जनको आमाको परिस्थिति उतारिएको
यथार्थवादी नाटक हो। यो नाटकबाट आशाको निर्देशन क्षमता आशलाग्दो देखिएको
छ।
•
दीपक रौनियार
कला
पौभाःमा लोक

मीन बज्रचार्य |
४५ वर्षअघि
पाटनमा जन्मेका लोक चित्रकारले परम्परालाई निरन्तरता दिन बुबाबाटै
चित्रकला सिकेका हुन्। लोकका बुबा हरि चित्रकार धार्मिक चित्र बनाउँथे।
भन्छन्, “पेन्टिङ बनाउने र सिक्ने घरकै वातावरणमा हुर्कँदा म पौभाः
चित्रकलामा थाहै नपाई तानिएछु।”
परिवारमा उनीभन्दा अघि पौभाः चित्र बनाउने
अरू थिएनन्। चिनेजानेकाहरूले धेरै देवताका चित्रहरू मात्रै बनाउने
गरेकाले जहाँ पनि धार्मिक चित्रहरू देखेर उनलाई मान्छे वा प्रकृतिको
चित्र बनाउन कहिल्यै मन लागेन। उनको मन पौभातिरै गयो।
'पौभाः' भन्नाले नेपालको मौलिक परम्परागत
चित्रकला भन्ने बुझिन्छ। कपडामा लेखिने यो पौभाः चित्रकलामा देवीदेवताका
चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्रहरू बनाउने गरिन्छ।
धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाहरूको अध्ययन गरी तिनलाई प्रतीकको
रूपमा विभिन्न मुद्रा, आशन तथा प्रतिमा लक्षण मिलाई पौभाःमा उतारिन्छ।
स्व–अभ्यासले नै पौभाः बनाउन जानेका लोक यसले आध्यात्मिक शिक्षा दिने
बताउँछन्। पौभाः चित्रकलाका विषय धेरै हुन्छन्। यो महायान र बज्रयान
दर्शनबाट पनि प्रभावित छ। यसैगरी शाक्त, शैव र वैष्णव पनि पौभाः चित्रकलामा
उतारिन्छ।
उनले बनाएका थुप्रै पौभाः कला फिनल्यान्ड,
जर्मनी, पाकिस्तानमा र जापानका सङ्ग्रहालयसम्म पुगेका छन्। तीनपटक
एकल प्रदर्शनी गरिसकेका उनले फिनल्यान्ड, जापान र अमेरिकाका केही कलेजहरूमा
पौभाः चित्रकला सिकाउने अवसर पाएका छन्। उनको पहिलो पौभाः चित्रमा
बीचमा भैरव राखिएको अष्टमात्रिका थियो जसमा आठजना देवीहरू अङ्कित थिए।
भन्छन्, “घोडेजात्राको एकदिन अगाडि हुने नरदेवीको नृत्यमा देवीहरू
नाचेको देख्दा प्रभावित भएर त्यो पौभाः चित्र बनाएको थिएँ।”
उनी पौभाः चित्रकलामा लागेको तीन दशक
नाघिसक्यो। यो अवधिमा उनले बौद्ध, शाक्त, शैव, वैष्णव धर्मका दर्जनौँ
पौभा चित्रहरू बनाएका छन्। एउटा पौभाःचित्र बनाउन कम्तीमा एक हप्तादेखि
तीन वर्षसम्म लागेको छ। अहिले उनी करुणामयको ठूलो पौभाःचित्र बनाउँदैछन्।
भन्छन्, “यो तयार हुन तीन–चार वर्ष लाग्छ।”
धार्मिक आस्थाबाट आरम्भ भएको पौभाः अहिले
आधुनिक र उत्तरआधुनिक चित्रकलाको दाँजोमा चर्चामा नआए पनि यसको महत्त्व
घटेको छैन। खर्चिलो र बढी समय लाग्ने भएकाले यसमा लाग्नेहरू थोरै छन्।
व्यक्तिगत तवरबाहेक यो कला सिकाउने ठाउँ नेपालमा छैन। ललितकला क्याम्पस
र नाफाले पनि यसतर्फ ध्यान दिनसकेको छैन। “यसो भएमा सर्जकसँगै सीप
मरेर जानेछ।” लोक भन्छन्, “त्यसैले मैले पाटनढोकामा 'सिमि्रक एटलिएर'
स्टुडियो खोलेर सिकाउन शुरु गरेको छु।”
•
कृष्ण शाह यात्री
नयाँ
सिर्जना
विविध
आनीको मन्त्र
फूलको आँखामा फूलै संसार गीतबाट लोकप्रिय बनेकी गायिका
आनी छोइङ डोल्मा बौद्ध मन्त्र लिएर प्रस्तुत भएकी छिन्। यसअघि विदेशीहरूमाझ
ठमेल, बौद्धमा मात्र बज्दै आएको बौद्ध मन्त्रहरू उनको इनर पीस अल्बममा
समेटिएको छ। अल्बमबारे जानकारी दिन १२ असारमा आयोजित पत्रकार सम्मेलनमा
आनीले मन्त्र गाउँदा आफूले खुला र अनन्त महसूस गर्ने गरेको बताइन्।
भन्छिन्, “शब्द र सङ्गीतलाई पछ्याउँदा बाँधिए झैँ लाग्थ्यो, मन्त्र
गाउँदा भने कुनै अवरोधले छेक्दैन।” १७ असारमा आनी मन्त्रहरूका साथ
एकल कार्यक्रममा प्रज्ञा भवनमा प्रस्तुत हुँदैछिन्।
राष्ट्रिय गानबारे अन्तरक्रिया

अनुशील |
राजधानीको बानेश्वर क्याम्पसका विद्यार्थीले थालेको
राष्ट्रिय गान सङ्कलन अभियानका क्रममा ६ असारमा हिमालय होटलमा सञ्चारकर्मी
तथा प्रकाशक बीच अन्तरक्रिया भयो। यसअघि राजनीतिक पार्टीका नेता तथा
साहित्यकारमाझ अन्तरक्रिया गरिएको र राष्ट्रिय गानका निम्ति उपयुक्त
गीति कविताको राष्ट्रिय प्रतियोगिता अभियान सञ्चालन गरिने सो क्याम्पसले
जनाएको छ। स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर क्याम्पसका सभापति
नविना लामा राष्ट्रले नयाँ राष्ट्रिय गान खोजिरहेको अवस्थामा एक व्यक्ति
र संस्थाको मात्र स्तुतिगान नहोस् भनेर आफूहरू यसबारे छलफल अभियानमा
लागेको बताउँछिन्।
विराटनगरमा डान्स
पार्टी
१० असारको साँझ विराटनगर पोक्यामन पार्क
गर्मी र युवा नृत्यले तातेको थियो। 'युथ समर डान्स पार्टी' मा भेला
भएका जोडीहरू उत्तेजक रूपमा प्रस्तुत भए। गर्मीमा निथ्रुक्क भिझ्दै
हातमा बियरका क्यान र बोतलका साथै चुरोट बोकेका युवायुवतीहरू चार घण्टा
सङ्गीतसँगै झुमे। डान्स पार्टीकै लागि सय वटा फरक सङ्गीत र धुनका गीतको
कलेक्सन गरिएको थियो। राजनीति र ब्यापारमा संलग्न मात्रै हैन सुरक्षाकर्मी
पनि डान्समा सहभागी थिए। मनोरञ्जनकै लागि भनेर पार्टीको आयोजना गरिएको
आयोजक मध्येका सचिन पोख्रेलले बताए।
•
कमल, विराटनगर
मञ्चमा अम्लारीफुङ
किराँती समाजमा अम्लारीफुङ अर्थात् सुनाखरी
फूललाई प्रेमको प्रतीकको रूपमा प्रेमीकालाई दिने चलनलाई जिवन्त पार्ने
उद्देश्यले अम्लारीफुङ नामक गीति नाटक काठमाडौँमा प्रदर्शन गरियो।
नाटकमा लिम्बू युवायुवतीले प्रेम गरी विवाह गरेको विषयलाई प्रस्तुत
गरिएको छ। तेज यक्सोको निर्देशनको गीति नाटकमा मित्र लिङदेन, यासेली
याङहाङ, सिर्जना पन्दाकको मुख्य भूमिका छ। अम्लारीफुङ को कथा प्रेम
पन्दा, मुन्धुम प्रस्तुति रैप्रसाद चोङवाङ, लेखन लय यासेली योङहाङ
र सङ्गीत अशोक राईको हो।
•
सिद्धराज
चलेनन् मैथिली चलचित्र
साँस्कृतिक दृष्टिले सम्पन्न र भाषा एवं जनसङ्ख्याका
दृष्टिले देशकै दोस्रो ठूलो मिथिला क्षेत्रलाई चलचित्र निर्माणमा भने
मैथिली भन्दा कमै बोलिने भोजपुरी र थारू भाषाले उछिनेको छ। अरू भाषाका
चलचित्र सफल भइरहेको बेला दोस्रो ठूलो भाषा मैथिलीमा बनेका चलचित्रले
भने सफलता पाउन सकेका छैनन्।
चार वर्षअघि निर्माण भएको ममता चलचित्रपछि मैथिली फिल्म
अहिलेसम्म एउटा पनि बनेको छैन। कलाकार मुरलीधरले झण्डै एकदशक अघि निर्माण
गरेको चलचित्र सस्ता जिनगी महँगा सेनुर को व्यापारिक सफलतालाई मैथिली
फिल्म उद्योगमा भजाउने क्रम अहिले पनि जारी छ। भारतमा निर्माण भएको
उक्त चलचित्रले मैथिलीहरूमा अहिलेसम्म सर्वाधिक व्यापार गरेको छ।
प्राविधिक, कलाकार र स्त्रि्कप्टको कमी नभए पनि मैथिली
चलचित्र क्षेत्रले आशालाग्दो प्रगति गर्न सकेको छैन। आधा दर्जन मैथिली
चलचित्रको निर्देशन गरेका गोपाल पाठक भन्छन्, “मैथिली चलचित्रले पर्याप्त
दर्शक नपाउनु र कतिपय भोजपुरी चलचित्रले पस्कने अर्धनग्न दृश्यको प्रतिस्पर्धामा
मैथिलीलाई ढाल्न नसक्नु मुख्य कारण हो।” तर, पाठकले भने जस्तै ग्ल्यामर
पस्केर मैथिली चलचित्र उद्योगलाई दीर्घजीवी बनाउन नसकिने तर्क गर्नेहरू
पनि छन्। मैथिली चलचित्रका नायक रुपेश सिंहले मैथिली फिल्मले निरन्तरता
नपाउनुको प्रमुख बाधक लगानीकर्ताको अभाव रहेको बताउँदै भन्छन्, “लगानी
नउठ्ने भएकोले मैथिली फिल्म क्षेत्र नफस्टाएको हो।”
हिन्दी र नेपाली फिल्मको मार खेपिरहेको मैथिली चलचित्र
क्षेत्र अहिले निर्माण भइरहेका भोजपुरी र थारू भाषाका चलचित्रसँग पनि
प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुगेको छ। गीतकार अशोक दत्त अब
मैथिली चलचित्रको लागि फेरि बजार खोज्नुपर्ने स्थिति आएको बताउँछन्।
भोजपुरी र हिन्दी चलचित्र हप्तौँ चल्ने जनकपुरका सिनेमा
घरमा मैथिलीले पनि व्यापार गर्ने सम्भावना भएपनि लगानी डुब्ने डरले
जोखिम उठाउन कोही तयार छैनन्। नेपालमा मैथली चलचित्रको निर्माण ठप्प
रहेको बेला सीमापारि बिहारमा भने अभिजीत सिंहको निर्देशनमा भारतकै
पहिलो सिनेस्कोप मैथली चलचित्र दुलरुवा बाबु निर्माण भइरहेको छ।
•
अजित तिवारी, जनकपुर
|