पुस्तक | परिचय
समाजवादी आँखामा पुँजीवाद
किताबः पुँजीवाद र नेपाल
कथाकारः चैतन्य मिश्र
सम्पादकः राजेन्द्र महर्जन
प्रकाशकः मूल्याङ्कन प्रकाशन, काठमाडौँ, २०६२
पृष्ठः २७२, मूल्यः रु.२२५
पुँजीवादी अर्थशास्त्र र राजनीतिलाई समाजशास्त्रीय
आँखाले हेर्दा कस्तो देखिएला? जवाफ बन्न सक्छ– चैतन्य मिश्रको पुँजीवाद
र नेपाल। पुँजीवादका विभिन्न आयामहरूमा केन्द्रित यो सङ्ग्रहमा लेखकले
'साम्राज्यवाद', 'उपभोक्तावाद' जस्ता 'वाद' हरूलाई समेत पुँजीवादकै
परिणामका रुपमा प्रस्तुत गरेका छन्। नेपाली समाजको चरित्र अर्ध–सामन्ती
र अर्ध–औपनिवेशिक मात्र हैन, पुँजीवादी भइसकेको निर्क्योलमार्फत लेखकले
पुँजीवादसम्वद्ध थुप्रै रुढ मान्यताहरूलाई चिर्न खोजेका छन्।
तीन खण्डमा विभाजित छ पुस्तक। पुँजीवादका विशेषता
अनि आरोह–अवरोहहरूमा केन्द्रित पहिलो खण्डमा मिश्रको एउटा आलेख 'नाशवान्
पुँजीवादको विशिष्टता' माथि भएको बौद्धिक अन्तर्क्रियालाई समेटेर सम्पादक/प्रकाशकले
पुस्तकमा नयाँ प्रयोग गर्न खोजेका छन्। दोस्रो र तेस्रो खण्डमा साम्राज्यवाद,
नेपाली सभ्यता र संस्कृतिमा यसको प्रभाव अनि यसको विश्वव्यापी विस्तारका
पृष्ठभूमि र परिणतिहरूको समालोचना भेट्न सकिन्छ। सबै आलेख विचार–प्रधान
छन्। कतिपय लेखले पुँजीवादसम्बन्धी अनुत्तरित प्रश्नहरूलाई महत्त्वका
साथ उठाएका छन्, बौद्धिक निरुपणका निम्ति। पहिलो खण्डलाई केही बोझिलो
ठान्ने आम पाठकहरूले दोस्रो र तेस्रो खण्डलाई सुरुचिपूर्ण ठान्न सक्छन्।
राजेन्द्र महर्जनको सम्पादकीय र घनश्याम भूसालको
विचारोत्तेजक प्रस्तावना पुस्तकका थप शृङ्गार हुन्। बहस, टिप्पणी,
अन्तर्वार्ता र पुस्तक–समीक्षासम्मका आलेखलाई एकै ठाउँ उभ्याएर कृतिलाई
विचार–सँगालोको रुप दिने प्रयासलाई पनि पुस्तकभित्रको अर्को प्रयोग
मान्न सकिन्छ। १९ वर्षअघि लेखिएको अङ्ग्रेजी लेख 'डिभलपमेन्ट एण्ड
अण्डरडिभलपमेन्ट...' लाई किताबको पूरक सामग्रीका रुपमा परिशिष्टमा
खुम्च्याउनुको सट्टा नयाँ विश्लेषणसहित छुट्टै पुस्तकको रुप दिएको
भए त्यसको अन्तर्वस्तु र सान्दर्भिकतामाथि अन्याय हुने थिएन। तथापि,
नेपालमा विकास भइरहेको, लेखककै शब्दमा 'विशिष्ट चरित्रको पुँजीवाद'
र यसको गतिशीलता बुझ्न पुस्तक उपयोगी छ। पुँजीवाद र विश्वव्यापीकरणको
तुलनात्मक अध्ययनका निम्ति समेत पुस्तकले सन्दर्भ–सामग्री बन्ने हैसियत
राख्छ।
गजलमा सुदूरपश्चिम
किताबः सूर्जे पनि अस्ताउन मात्रै
लेखकः राजेन्द्र थापा
प्रकाशकः सुदूरपश्चिमाञ्चल साहित्य समाज
धनगढी कैलाली, २०६२
पृष्ठः ६८±, मूल्यः रु.५०
सूर्जे पनि अस्ताउन मात्रै आउँछन् हाम्रो
पश्चिममा
सुख पनि आउँदा आउँदै थाकिसक्छन् हाम्रो पश्चिममा
नपुगे नि सपना देख्न पूर्वले पाउँछ नि कमसे कम
देख्नै नपाई सपना सब भासिन्छन् हाम्रो पश्चिममा
सुदूरपश्चिमको पीडाव्यथा बोल्ने यस्ता अभिव्यक्तिको
सङ्ग्रह सूर्जे पनि अस्ताउन मात्रै एक अर्थमा सुदूर पश्चिमको प्रतिविम्ब
पनि हो। यसमा सेती, कालीको सेरोफेरो र अपि, सैपाल हिमालका अन्तरकुन्तरमा
झाङ्गिएका पीडा, व्यथा र वेदनाका लयात्मक संवेगहरू छन्। गीतकार राजेन्द्र
थापाले पृथ्वी सैन्य शिविर, दिपायलमा रहँदा सुदूरपश्चिमलाई जे जसरी
अनुभूत गरे, त्यसको अभिलेख पनि हो– यो गजल सङ्ग्रह।
मुटु पोली सैपाल रुँदा सबै निले गंगाजीले
म नि आँसुले निलिदिन्छु रैवार निल्ने डाँडालाई
केन्द्र र बाँकी नेपालका रैवार (समाचार) स्थानीय
डाँडामा ठोक्किदै फर्किने सुदूरपश्चिमको नियतिको केस्रा–केस्रा केलाएका
छन् गजलकार थापाले। अधिकांश गजलले पाठकलाई सेती, महाकालीकै परिवेशमा
डोर्याउँछन््। केहीमा प्रणय–संवेगका सार्वजनीन झिल्काझिल्कीहरू पनि
अनुभव गर्न सकिन्छ। समग्रमा थापाको तीन दशक लामो गीतियात्राको नयाँ
बिसौनी मान्न सकिन्छ 'सूर्जेलाई...', जहाँ कवि माधव घिमिरेले भनेझैं
ठेट नेपाली शैलीका गजलहरू छताछुल्ल छन्।
जिउमा लाग्या नीलडाम गनिसाध्ये छैन
मनमा लाग्या नीलडाम भनिसाध्ये छैन
गाँठो नै नपारी सियोले जतिसुकै सिलाए नि
सिलाइ त मनको खुल्छ जतिसुकै मिलाए नि
जस्ता सुललित अभिव्यक्तिहरूको आधिक्य रहेको गजल–सङ्ग्रहको
अर्को उल्लेख्य पक्ष के हो भने लेखकले यसमा नेपालभित्रको पश्चिम हैन,
पश्चिमभित्रको नेपाल खोजेका छन् र आग्रह गरेका छन्, “अब पश्चिम पनि
मूलधारमा आउनुपर्छ।” प्रकाशनको चार महिनाभित्रै दोस्रो संस्करणमा आउन
सफल यो कृतिलाई पोहोर साल खुसी फाट्दा (गीतसङ्ग्रह, २०५२) को ख्यातिकै
निरन्तरता भन्दा अन्यथा हुँदैन।
प्राप्त
कृति
 |
फुटबलः परिचय कोश
(फुटबल खेलको नालीबेली)
सङ्कलन/सम्पादकः भीमराना 'जिज्ञासु'
प्रकाशकः रत्नपुस्तक भण्डार काठमाडौँ, २०६३
पृष्ठः २४४177, मूल्यः रु.१७५
|
 |
पच्चीस प्रतिभा (भाग २)
(पच्चीस साहित्यकारको जीवनी–सँगालो)
लेखकः गोपाल पराजुली
प्रकाशकः रत्नपुस्तक भण्डार काठमाडौँ, २०६२
पृष्ठः १११177, मूल्यः रु.६० |
 |
सपनाफूल
(खण्डकाव्य)
कविः आर.बी 'निश्चल'
प्रकाशकः सुमन लोहनी/विष्णु लोहनी, काठमाडौँ,
२०६२
पृष्ठः ४०177, मूल्यः रु.२० |
 |
रगतको शयनकक्षमा
(कविता सङ्ग्रह)
कविः पदम गौतम
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि.
काठमाडौँ, २०६२
पृष्ठः ६४, मूल्यः रु.५० |
 |
अभियुक्त ईश्वर
(ताङ्का विधाको कविता–सङ्ग्रह)
कविः अमर त्यागी
प्रकाशकः कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौँ,
२०६२
पृष्ठः ७८, मूल्यः रु.५५.५५ |
 |
मार्क्सवाद, समाज र साहित्य
(राजनीतिक आलेखहरूको सङ्कलन)
लेखकः शक्ति लम्साल
प्रकाशकः जनदिशा प्रकाशन, काठमाडौँ, २०६१
पृष्ठः २४८177, मूल्यः रु.७५ |
|