खेलकुद
विश्वकप–२००६
चम्किँदैछन् तन्नेरीहरू

मेसी (अर्जेन्टिना) |
चालु विश्वकपको दोस्रो
चरण अर्थात् 'प्रि–क्वार्टरका खेलहरू सकिँदासम्म तन्नेरी खेलाडीहरूकै
प्रदर्शनमा धेरै टोलीको भाग्य निर्धारण भएको छ। थुप्रै टोलीमा रहेका
'बूढा बाघ'हरू माथिको दर्शकहरूको आकर्षण 'तन्नेरी जोश'हरूतर्फ सरेको
छ।
जापानसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि 'नयाँ पेले'
को नाम पाएका ब्राजिलका युवा स्टार रोबिन्हो (२२) विश्वकपकै एक आकर्षण
बनेका छन् भने फ्रेड (२१) ले अस्ट्रेलियासँगको खेलमा मैदान प्रवेश
गरेको पहिलो मिनेटमै गोल गरेर दर्शकमाझ छाए। उता सर्विया एन्ड मोन्टेनेग्रो
विरुद्धको खेलमा देखाएको खेल कौशलले अर्जेन्टिनाका नियोनेल मेसी (१९)
लाई शुरुका केही खेलपछि नै 'नयाँ म्यारोडोना' भन्न थालिएको छ।
जर्मनीका फरवार्ड लुकास पोडल्स्की (२३) ले दोस्रो चरणमा
स्वीडेनमाथि गरेको दुईसमेत गरी प्रतियोगितामा तीन गोल गरिसकेका छन्।
पहिलो चरणमा टि्रनिडाड एण्ड टोबागोसँग तथा दोस्रो चरणमा इक्वेडरसँगको
खेलमा प्रतिस्पर्धाको दिशा मोड्न सहयोग गर्ने इङ्गल्याण्डका मिडफिल्डर
लेननको प्रभाव बढेको छ। फ्रान्सेली टोलीमा रिभेएरा (२३) प्रभावकारी
देखिए भने स्वीट्जरल्यान्डका फिलिप सेन्डर्सले धेरै दर्शकको मन जिते।
स्वीस मध्यपंक्तिको आधार भने बारनेटा इराक्विल (२१) भएका छन्। टोगोसँगको
खेलमा एक गोलको अवसर सृजना गरेका बारनेटाले आफँैले पनि एक गोल गरे।
घानाका फरवार्ड ज्ञान ओसामाहा (२३) विश्वकपमा गोल गर्ने आफ्नो देशका
पहिलो खेलाडी बने।
तन्नेरी खेलाडी म्याक्सी रोड्रिगुयजको उत्कृष्ट गोलमा
मेक्सीकोलाई पराजित गर्दै अर्जेन्टिना अठारौँ विश्वकप फूटबल प्रतियोगिताको
क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पहिलो चरणमा पनि सर्विया एन्ड मोन्टेनेग्रोविरुद्ध
त्यत्तिकै उत्कृष्ट दुई गोल गरेका रोड्रिगुयजसहित अर्जेन्टिनी टोलीको
प्रदर्शनले पाँच वर्षअगाडिको युथ विश्वकप फूटबल प्रतियोगिताको झझल्को
दिलाएको छ। अर्जेन्टिनी टोलीलाई घरेलु भूमिमा उपाधि दिलाउने क्रममा
मिडफिल्डर रोड्रिगुयजले त्यसबेला चार गोल गरेका थिए। सोही प्रतियोगितामा
११ गोल गरेका जाभिएर साभिएला प्रतियोगिताका शीर्ष गोलकर्ता तथा उत्कृष्ट
खेलाडी भएका थिए। साभिएलासंँगै कार्लोस टेभेजले सन् २००१ मा उपाधि
दिलाउन प्रमुख भूमिका निर्वाह गरेका थिए। विश्वकपमा उत्कृष्ट प्रदर्शन
गर्दै अघि बढेको अर्जेन्टिनी टोली सन् २००१ मा युवा विश्वकप जिताउने
खेलाडीहरूकै बलमा अगाडि बढिरहेको छ। खेलाडीसँगै साथमा युवा फूटबल परियोजनाका
पूर्व निर्देशक तथा युवा टोलीका प्रशिक्षक जोसे पेकरम्यान पनि छन्।

रोबिन्हो (ब्राजिल) |
अर्जेन्टिनासँगै अफ्रिकी राष्ट्र घानाले गरेको प्रदर्शनले
यसपटकको विश्वकपमा सनसनी मच्चाएको छ। पहिलो चरण पार गर्ने क्रममा घानाले
फिफा वरियताक्रममा दोस्रो स्थानमा रहेको चेक गणतन्त्र तथा पाँचाँै
स्थानमा रहेको अमेरिकालाई पराजित गरेको थियो। घानाको टोलीमा तिनै खेलाडीको
बाहुल्यता रहेको थियो जसले पाँच वर्ष अगाडिकै युथ विश्वकपमा सबैको
अनुमानलाई गलत सावित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो। सो समयका
नायकहरू सोलु मोन्टेरी, पापो इमानुएल, ओकु जर्ज र डाए ओएटाङ् जर्मनीमा
सञ्चालित विश्वकपमा राम्रैसँग छाउन सफल भएका छन्।
सन् १९९९ देखि २००३ सम्म युवा विश्वकपमा छाएका खेलाडी
नै यो विश्वकपमा पनि चर्चाको शिखरमा छन्। २००१ को युवा विश्वकपका सफल
खेलाडीको रूपमा परिचित ब्राजिलियन मिडफिल्डर काका (२४) ले चर्चित फुटबलरहरु
रोनाल्डो, रोनाल्डिन्होकै हाराहारीमा सबैको ध्यान आफूतिर खिच्न सफल
भएका छन्। सोही प्रतियोगितामा ६ गोल गरेका आड्रियानो पनि यसपटकको विश्वकपमा
ब्राजिलियन आक्रमणको आधारस्तम्भ बनेका छन्।
सन् २००३ को युथ च्याम्पियनसीपमा विजेता बनेको ब्राजिलले
त्यसबेलाका फरवार्ड फ्रेडलाई मात्र विश्वकप टोलीमा समावेश गर्यो भने
उपविजेता स्पेनले राष्ट्रिय टोलीको संरचनामै परिवर्तन गरेको छ। सन्
१९९९ को युथ विश्वकप विजेता तथा चार वर्षपछि उपविजेता बनेको स्पेनका
सेस्क फाब्रिगास (१९), सर्जियो रामोस (२०), हुवा एन्टेनियो रेयस (२२),
आन्द्रेइ इनेस्टा (२१) तथा फर्नान्डो टेरेस (२२) ले जर्मनी विश्वकपमा
देखाएको स्तरिय खेलले धेरैको मन जितेको छ। सन् २००३ को युवा विश्वकपमा
स्पेनलाई उपविजेता बनाउन यिनीहरूले नै भूमिका खेलेका थिए। यी तन्नेरीहरूको
खेल कौशलले पुराना धेरै खेलाडीलाई छायाँमा पारेको छ।
•
मनोज घिमिरे
सञ्चारकर्मीलाई 'वेभ कप'

किरण पाण्डे |
१० असारको अपरान्ह दशरथ रङ्गशालामा मोडलिङ र साङ्गीतिक
क्षेत्रका 'सेलिब्रेटी' तथा सञ्चारकर्मीहरूले मैत्रीपूर्ण फूटबल खेले।
विश्वकप फूटबल–२००६ ले पूरै वातावरण फूटबलमय भएका बेला हिमाल मिडियाको
तन्नेरी प्रकाशन अङ्ग्रेजी मासिक वेभ ले त्यो जमघट गराएको थियो। रुपन्देहीस्थित
मायादेवी अनाथालयको सहयोगार्थ आयोजित उक्त खेलमा मिडिया टिमले 'सेलिब्रेटी'
लाई ४ विरुद्ध ७ गोलले पराजित गरेका थिए।
उक्त खेलमा कान्तिपुर टिभीका योपेश प्रधानले ह्याटि्रक
गरेका थिए। सोही टिभीका सोनाम लामा, नेपाल एफएमका उत्तम थापा, मेरो
स्पोर्टस् डटकमका पासाङ लामा र सुवेल भण्डारीले १/१ गोल गरी ७ गोल
पुर्याएका थिए। सेलिब्रेटीका तर्फबाट गायक योगेश्वर अमात्यले २, लोक
गायक बद्री पँगेनी र सङ्गीतकर्मी ओज श्रेष्ठले १/१ गोल गरेका थिए।
वेभ किक अफ कप फूटबल टुर्नामेण्ट मा चर्चित मोडल, गायक–गायिका
तथा सङ्गीतकर्मीहरू र छापा तथा विद्युतीय सञ्चारमाध्यमका पत्रकार गरी
पाँच दर्जन जतिको सहभागिता थियो। गायक योगेश्वर अमात्य सेलिब्रेटी
तथा फोटोपत्रकार अनुपप्रकाश मिडिया टीमका क्याप्टेन थिए।
वेभ का सम्पादक आभा एली फोबू 'राम्रो कामको लागि सबैबाट
पाएको सहयोगले फूटबल प्रतियोगिता सफल भएको' बताउँछिन्। युएफओ द क्लोथिङ
स्टोरको प्रायोजन रहेको उक्त खेलको लागि जगदम्बा प्रेस, फुर्सद डटकम,
क्लासिक एफएम, लिटिल मिडिया, रोजमेरी द क्याफे आदिले सहयोग गरेका थिए।
सुटिङः आश गर्ने ठाउँ छ

बदरुद्दीन अन्सारी |
सुटिङको व्यक्तिगत एअर
पेस्तोलमा उपेन्द्र थापाको दशक लामो वर्चस्वलाई दशौँ दक्षिण एसियाली
खेलकुद (साग) को पूर्वसन्ध्यामा मध्यपश्चिमका बदरुद्दीन अन्सारीले
तोडेका छन्।
आगामी २–१२ भदौमा श्रीलङ्कामा हुने उक्त प्रतियोगिताको
खेलाडी छनौटका लागि ९–११ असारमा राजधानीमा राष्ट्रिय खुला सुटिङ प्रतियोगिताको
आयोजना गरिएको थियो। प्रतियोगितामा अन्सारीले ६४१ अङ्क प्राप्त गरी
आफ्नै गृहनगर नेपालगञ्जका उपेन्द्रलाई उछिनेका हुन्। सोही 'इभेन्ट'
मा दोस्रो स्थान हासिल गरेर आश्चर्यजनक नतिजा दिए– लामो समयपछि सुटिङमा
फर्केका सुदूरपश्चिमका उद्धवविक्रम शाहले।
अन्य स्पर्धामा भने खासै अप्रत्याशित नतिजा आएन। महिला
एअर पेस्तोल र व्यक्तिगत एअर राइफलतर्फ साबिक विजेताहरू–नेपाल प्रहरीकी
सरस्वती बानियाँ र पूर्वाञ्चलका असिम यादव नै प्रथम भए। त्यसैगरी व्यक्तिगत
महिला एअर राइफलतर्फ प्रहरीकै फूलमाया क्याप्छाकीले प्रतिस्पर्धीहरूलाई
उछिन्न सफल भइन्। टिम इभेन्ट्सतर्फको पुरुष एअर पेस्तोलमा बदरुद्दीनले
नेतृत्व गरेको मध्यपश्चिम, महिला एअर पेस्तोल र महिला एअर राइफलमा–नेपाल
प्रहरी तथा पुरुष एअर राइफलमा मध्यमाञ्चलले पहिलो स्थान हासिल गरे।
त्यसैगरी प्रतियोगिताको समग्र पदक तालिकामा नेपाल प्रहरी प्रथम र मध्यपश्चिमाञ्चल
र मध्यमाञ्चल क्रमशः दोस्रो र तेस्रो भए।

किरण पाण्डे |
प्रमुख प्रशिक्षक ध्रुव विक्रम शाहका अनुसार, सम्पन्न
राष्ट्रिय प्रतियोगिताका केही रोचक नतिजाहरू र छिट्टै शुरु हुने बन्द
प्रशिक्षणले आगामी सागमा नेपालले पदक प्राप्त गर्ने बलियो सम्भावना
छ। भन्छन्, “स्वर्णभन्दा पनि रजत र कास्यका लागि सबै इभेन्ट्समा हाम्रो
दावेदारी बलियो छ।” यसको बलियो आधार मान्न सकिन्छ, राष्ट्रिय प्रतियोगिताको
लागि केही दिनअघि जर्मनीबाट आएका सुटिङ सामग्री। ५ राइफल र ६ वटा पेस्तोल
भित्रिनुले खेलाडीहरूमा सागका लागि उत्साह त थपेको छ नै, काठमाडौँमा
सम्पन्न आठौँ साफमा ल्याइएका सात वर्ष पुराना बन्दुकहरूलाई समेत विस्थापित
गरेको छ। प्रशिक्षक शाहका अनुसार, सम्पन्न प्रतियोगितामा पहिलो, दोस्रो
र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूलाई नै बन्द प्रशिक्षणका लागि
छनौट गरिएको छ।
दक्षिण एसियाली सुटिङको विगतलाई हेर्दा नेपालको प्रदर्शन
सन्तोषजनक नै मान्नुपर्छ। सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न प्रतियोगितामा
व्यक्तिगत महिला एअर राइफलतर्फ अनिता श्रेष्ठले प्राप्त गरेको स्वर्णसहित
थप एक रजत र एक कास्यपदक प्राप्त गरेर नेपालले ऐतिहासिक सफलता हासिल
गरेको थियो। त्यसपछिका दक्षिण एसियाली खेलकुदका हरेक संस्करण (नवौँ–पाकिस्तानमा
बाहेक) नेपाली टोलीले सुटिङमा रित्तोहात फर्किनु परेको छैन। यसतर्फ
अहिले भइरहेका तयारीलाई हेर्दा नेपालले सुटिङ खेलको आफ्नो सुनौलो इतिहासलाई
फेरि दोहोर्याउने थुप्रै आधार देखिन्छन्।
•
सुरेशराज न्यौपाने
|