हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

कृष्ण-राधा पुनर्मिलन


मीन बज्राचार्य

राजधानीमा नबसेर पनि ठेलीका ठेली साहित्यिक कृति, त्यो पनि अव्वल श्रेणीका, लेख्ने थोरै कलमवाजमध्ये अगाडि नै आउँछ कृष्ण धरावासीको नाम। “दिनदिनै पाठक, प्रशंसक बढिरहेका छन्। आफ्नै गाउँठाउँले मेरो लेखनलाई ऊर्जा दिइरहेको छ भने म किन केन्द्र ताकूँ?” झापा–शनिश्चरेका धरावासीको यो अठोटले फेरि एकचोटि स्याव्वासी र स्वागत पाएको छ उनको बाह्रौँ कृति 'राधा' (उपन्यास) सार्वजनिक भएलगत्तै। कृषि विकास ब्याङ्क (बिर्तामोड) को जागिर र घरायसी दायित्व भ्याउँदा–भ्याउँदै उनले जे जति लेखेका छन्, धेरै समवयी–समकालीनका लागि त्यो इर्ष्याको विषय हुन सक्छ। प्रयोगमा त उनी झनै अघि छन्। महाभारतकालीन समाज र राधा–कृष्णको प्रेमगाथाको विनिर्माण (पुनर्लेखन) मा देखिएको उनको क्षमता समेत आरिसलाग्दो छ। पुराणलाई मानवीकृत गरिएको 'राधा' र यसको प्रस्तुतिले समालोचकहरूबाट स्वागत पाएपछि उत्साहित हुँदै धरावासी भन्छन्, “चुनौतीपूर्ण कामले आनन्द दिँदोरहेछ। तर, सजिलो रहेनछ भगवानलाई मान्छे बनाउने काम।” पुराणमा राधा–कृष्णको पुनर्मिलन नदेखिए पनि उपन्यासमा द्वापरकी नायिका राधा र कलियुगका लेखक कृष्णको भावनात्मक मिलनको सुन्दर उदाहरण भेट्न सकिन्छ।

“साहित्य मेरो रमाउने ठाउँ हो” भन्दै धरावासीले लेखनलाई नियमित कर्म बनाएको अढाई दशक नाघिसकेको छ। कविता, निबन्ध, कथा, समालोचना हुँदै अहिले उपन्यासमा रमाइरहेका धरावासीको अर्को विशेषता हो– सबै विधामा सँगसँगै कलम चलाउन सक्नु। विगतका 'बालक हराएको सूचना', 'नारीभित्र त्यस्तो के छ हजुर', 'उमेशजङ्ग सिजापतिको आलु' जस्ता सङ्ग्रहमार्फत् समकालीन निबन्धमा ठूलै तरङ्ग ल्याएका धरावासीले मोफसलमा बस्दा पनि साहित्यिक मूल–प्रवाहबाट ठगिएको कहिल्यै ठानेनन्। बरु दार्जीलिङबाट इन्द्रबहादुर राईहरूले शुरु गरेको 'लीला–लेखन' अभियानलाई झापा बसी–बसी अगुवाई र मलजल गरे। र, यस्तै सक्रियताका कारण थुप्रै संस्था, समुदायबाट सम्मानित, पुरस्कृत भए। उनी दोहोर्‍याउँछन्, “मोफसलमा बसेर पनि यति धेरै माया पाइन्छ भने म किन राजधानी बसूँ?” हुन पनि कृष्णका लागि झापा र काठमाडौँमा के भिन्नता, दुवै एउटै धरा (पृथ्वी) न हुन्!

मोफसलका सीमा, बाध्यताहरूबाट मुक्त, वितरागी भने उनी होइनन्। तर, यसलाई 'इस्यु' बनाउन उनी रुचाउन्नन्। चुपचाप लेखिरहन्छन्। पत्रकारिताको पृष्ठभूमिले समेत उनको लेखनलाई नयाँ धार दिएको छ। परिणामस्वरुप करीब डेढ दर्जन कृतिका पाण्डुलिपि तयार भइसकेका छन्। मूड र विषयविशेषमा नअल्झने, लेखनलाई गणितजस्तै विज्ञानसम्मत तरिकाले उपयोग गर्न रुचाउने ४५ वर्षीय धरावासीले साहित्यमा लागेर के पाए? उनी भन्छन्, “सुनाम।” 'कृष्ण धरावासी' पाँचथर–अमरपुरमा जन्मिएका कृष्णप्रसाद भट्टराईलाई उदाहरणीय व्यक्तित्व बनाउने त्यस्तै सुनाम बनिसकेको छ।