हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

बाँकी नै छ संशय

'छिनोफानोतिर' (आवरण विश्लेषण, हिमाल, १–१५ असार) नेपाली जनताको लागि सुखद् सन्देश हो। तर, माओवादीको सम्भावित सिंहदरबार–प्रवेश आशङ्कारहित हुनसकेको छैन। सिंहदरबारबाट जङ्गल पसेकाहरूले जङ्गलको राजा भइसकेपछि पुनः सिंहदरबारमा नै आँखा लगाउनु कुनै संयोग होइन। उनीहरूको यहाँसम्मको यात्राले नेपाली समाजलाई कहिल्यै नमेटिने गरी डामेको छ।
तैपनि, माओवादीले चुनावको कुरा गर्दै सिंहदरबारतिर आँखा लगाउनु तत्कालका लागि स्वागतयोग्य कुरा हो। तर आँखाको भाका बुझ्न त्यति सजिलो हुँदैन। सिंहदरबारतिर फर्केका आँखा जनतातिर फर्कन बिर्से भने परिणाम आशातीत नहुन पनि सक्छ। जनता चाहन्छन्, “माओवादीहरूले आफ्ना प्रतिबद्धताहरूलाई 'रातभरि करायो दक्षिणा हरायो' जस्तो नबनाउन्।” यतिखेर सानैमा पढेको पण्डितको कहानीको एक पंक्ति याद आइरहेको छ;
ओल्लो दुनो पल्लो दुनो
पैसा राख भन्दै
एउटा आँखा पुस्तकमा
अर्को आँखा गन्दै।
सुन्दर तिवारी 'आवाज', काठमाडौँ

'परिवर्तनको प्रमाण' उत्साहप्रद लाग्यो। ४ जेठको प्रतिनिधिसभाको घोषणा नै हो परिवर्तनको वास्तविक प्रमाण। यो परिवर्तन कागजमा मात्र सीमित हुनुहुँदैन, व्यवहारमा लागू हुनुपर्छ। दलहरू दलीय स्वार्थ र दरबारप्रतिको द्वैधचरित्रबाट मुक्त हुनुपर्छ। दलीय प्रतिस्पर्धामा आउन खोजेको माओवादी पनि हतियारको उन्मादबाट उम्किनैपर्छ। दुवै पक्षमा इमान्दारी र जिम्मेवारीबोध भएमा वार्ता सफल हुने कुरामा शङ्का रहँदैन।

नरेन्द्र पण्डित, जानकी पण्डित
कल्लेरी–५, धादिङ

माओवादी छापामारले बन्दुक भिरेरै गाउँमा हलो जोतिरहेको दृश्य एवं आवरण विश्लेषणबाट देशमा केही परिवर्तन भएको आभास मिल्छ।

जनताको महत्त्वपूर्ण बलिदानबाट प्राप्त जनादेशलाई सबैले संस्थागत गर्नैपर्छ। संसार बदल्नु छ भने प्रारम्भ आफूबाटै गर्नुपर्छ भनेजस्तै हरेक परिवर्तन स्वयं आफूबाट हुनुपर्छ।

भुमराज तिवारी
बेल्कोट–७, अमारे–डेउडी, नुवाकोट


जनघोषणा हो त्यो उद्घोष

'परिवर्तन धमाधम' मा उल्लेख भएझैँ प्रतिनिधिसभाको ऐतिहासिक उद्घोष जनताले चाहेको घोषणा हो। तसर्थ, निडर भई घोषणाका सम्पूर्ण बुँदा कार्यान्वयन गर्नु, गराउनुपर्छ। यदि कतैबाट प्रत्यक्ष/परोक्ष अवरोध वा दबाब सिर्जना गरिएको भए सात दलका नेताहरूले सो कुरा जनतासामु तुरुन्त खुलासा गरी आन्दोलनको जनादेशकै आधारमा पुनः निर्णय लिनुपर्छ। अन्य मुलुकमा जस्तै यहाँको प्रतिनिधिसभाको प्रत्येक बैठक टेलिभिजन/रेडियोमा प्रत्यक्ष प्रसारण गराई सबै सांसदले जनतासामु खरो उत्रने कोशिश गर्नुपर्छ। त्यसो भए भित्र एउटा कुरा, बाहिर अर्को कुरा गर्ने द्वैधचरित्र कसैले देखाउने थिएनन्।

वर्तमान राजाका महावाणी हटाइएका खाली ठाउँ/सार्वजनिक स्थानहरूमा भगवान् बुद्ध वा अन्य महापुरुषका शान्तिका वाणीहरू राखिनुपर्छ। शाहवंशीय राजाहरूमध्ये पृथ्वीनारायण, त्रिभुवन तथा वीरेन्द्रका नामबाट स्थापित कुनै कुरा रहेमा आमजनतालाई प्रतिकूल असर पर्ला जस्तो लाग्दैन किनकि यी राजाले जनताका लागि केही उदारवादी काम समेत गरेका छन्।

राष्ट्रिय गानमा पनि धेरै अल्झिनु ठीक नहोला। 'गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली' को क्षेत्रफलसम्बन्धी केही पङ्ति हटाई वैकल्पिक राष्ट्रिय गानको व्यवस्था गर्दा कसो होला?

डी.बी. शाह,
ललितपुर

हिमाल को निष्कर्षझैँ 'परिवर्तन धमाधम' ले एकैचोटि धेरै भरोसा जगाएको छ। यसबाट मेहनत गरेर खान पाए हुन्थ्यो भन्ने आमजनता प्रशस्तै हौसिएका छन्। 'बुट बजारेर, बन्दुकले थर्काएर खान पल्केका' भन्नेहरूका लागि माओवादीले सहज राजनीतिमा प्रवेशसँगै देखाएको सरल व्यवहारले चोटिलो उत्तर दिएको छ।

विगतका असहज बाटा र अहंवादी सोचलाई मिल्काएर खुल्ला बहुदलीय प्रतिस्पर्धाबाट अघि बढ्ने माओवादीको नयाँ सोचले नवनेपाल निर्माणमा उनीहरूको दायित्व निकै बढी छ भन्ने पुष्टि भएको छ।

राधेश्याम गजुरेल
बेल्कोट–६, तिगाउँ, नुवाकोट


असावधानी!

गताङ्कको हिमाल मा तीन वटा गल्ती छापिएको पाइयो। पहिलो गल्ती बालबालिका जन्मदर्तासम्बन्धी २८ पेजमा प्रकाशित विज्ञापनमा छ। जसमा नेपाल सरकार हुनुपर्नेमा 'श्री ५ को सरकार' भनिएको छ।

दोस्रो गल्ती स्तम्भकार कमल दीक्षितको लेखमा छ। त्यहाँ उहाँले “बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्” बोलको गीतका रचनाकार राष्ट्रकवि माधव घिमिरे हुन् भन्नुभएको रहेछ। तर त्यो गीतका रचनाकार कालीप्रसाद रिजाल हुन्।

तेस्रो गल्ती 'रमझम' खण्डमा प्रकाशित नायिका रेखा थापाको अन्तर्वार्तामा छ। त्यहाँ उनले 'कलेजमा हुँदा पनि साथीहरूलाई यसैगरी सल्लाह दिन्थेँ' भनेर पाठकलाई गुमराहमा पार्न खोजेकी छन्। तर उनको यो दावी विश्वसनीय छैन। थाहा भएअनुसार उनीसँग क्याम्पस पुग्ने शैक्षिक योग्यता छैन।

कल्पना खनाल (भट्टराई)
राजघाट–१, मोरङ


क्षमायाचना

हिमाल खबरपत्रिकाको अघिल्लो अङ्क (१–१५ जेठ) को मैले लेख्ने गरेको स्तम्भ–लेख 'इतिहासमा' मा एउटा भूल भएकाले क्षमा प्रार्थनासहित भूलसुधारका निम्ति आग्रह गर्दछु।

“बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्” भन्ने गीत राष्ट्रकवि माधव घिमिरेले लेखेको भन्ने मैले उल्लेख गरेको भूल रहेछ। वास्तवमा त्यो गीतका रचनाकार कवि कालीप्रसाद रिजाल हुनुहुन्छ, माधव घिमिरे होइन। भूलवश रचनाकारलाई मैले दुःखित तुल्याएँ होला। मेरो क्षमायाचना छ।

कमल दीक्षित
पाटनढोका, ललितपुर


दुर्भावना किन?

'मधेशका नाउँमा साम्प्रदायिक हिंसा' (रिपोर्ट, १–१५ जेठ) पढेपछि जनतान्त्रिक तराई मुक्ति मोर्चा वा पहाडे भगाउ आन्दोलनका अगुवा कट्टरपन्थीहरूलाई केही प्रश्न सोध्न मन लाग्यो। संसारको एउटा कुनाबाट अर्को कुनामा गएर मानिसहरूले व्यापार, व्यवसाय गर्नुका साथै त्यहीँको नागरिक भएर बस्ने गरेको कुरा जयकृष्ण गोइतजीलाई थाहा छ कि छैन? हामीले हाम्रो पुर्खाले आर्जेको भूमिमा एक ठाउँबाट अर्को ठाउँमा जान, बस्न किन नपाउने? आफ्नै देशका दाजुभाइमाथि यस्तो दुर्भावना किन?

प्रशान्त पहाडी
कैलाली बहुमुखी क्याम्पस
धनगढी

नेपालको पूर्वी तराईमा जनतान्त्रिक मुक्ति मोर्चाले मधेशका नाममा फैलाउन थालेको साम्प्रदायिक हिंसा सच्चा देशभक्त नेपाली कसैलाई पनि पच्दैन।

टेकबहादुर गुरुङ
पर्सा, हालः मलेसिया

मधेश र पहाड छुट्याएर आन्दोलनको बीउ रोप्ने तत्वहरूको चलखेल पढ्दा दुःख र चिन्ता दुवै लाग्यो। तराईका तमाम जनता एक भएर विकास–निर्माणमा अग्रसर हुने बेलामा मधेशी र पहाडे भनेर गरिएको विभाजनकारी सम्बोधनले समेत दुःखी बनायो।

मसान्त के.सी.
बुटवल


राजनीतिक रुपान्तरणको केन्द्रबिन्दु

हिमाल को गताङ्क (१६–३१ जेठ) मा प्रा. यज्ञप्रसाद अधिकारीले राजनीतिक दलहरूको पुनर्संरचनाको पूर्वशर्त भनेर देशको राजनीतिक रुपान्तरणको मूल सवालको उठान गरेका छन्। वास्तवमा जनराजनीतिक दृष्टिले दलहरूको क्षमता नेपाली राजनीतिको मूल सवालका रूपमा २०४६ सालदेखि नै टड्कारो रूपमा देखिएको हो। स्वाभाविक रूपमा नै प्रा. अधिकारी दलहरूले आफ्ना कार्यपद्धति, सङ्गठनात्मक संरचना लोकतान्त्रिक बनाउँछन् कि बनाउँदैनन् भन्दै नेताका चरित्र र व्यवहारसम्म पुगेका छन्। उनले शायद स्थानाभावले क्षमता र चरित्रलाई भने पर्गेल्न भ्याएनन्।

हाम्रा, खासगरी ठूला दलहरूमा पार्टी र नेतृत्वप्रतिको वफादारीलाई नै लोकतान्त्रिक भनेर बुझ्ने गरिएको छ जसले क्षमता र लोकतान्त्रिक आचरण दुवै गौण बन्न गएका छन्। अर्को शब्दमा त्यो भनेको दलभित्रको सामन्तवाद हो, राजतन्त्र हो जसलाई नफाली दलहरू जनअपेक्षा पूरा गर्न सक्दैनन्।

सात दलका नायकहरूमा प्रतिबिम्बित मानसिकता र कार्यशैली हेर्दा नेपालीहरूलाई ठेस पुग्न थालेको लेखकको मूल्याङ्कन एकदम सही छ। मन्त्री भएलगत्तै उनीहरूले लगाउन थालेको दौरासुरुवाल (कसैको टाइ) र महँगो कोटले उनीहरूप्रति जनआन्दोलनले पोतेको सम्मान उड्न थालेको छ। (गिरिजाबाबुले जस्तो सधैँ लगाइरहने भए केही भन्नु थिएन) उग्र गर्मीको बेला उनीहरूको दौरासुरुवालले हामी वातानुकूलित गाडीमा चढेर त्यस्तै अफिसमा काम गर्छौं भन्ने चहकमहकको रहर र जनताको करको खिल्ली उडाउने बाहेक अरू कुरा देखाउँदैन। त्यो शाही सरकारले गरेकै थियो।

भागवण्डामा लुछाचुँडी भएको सर्वविदितै छ। यसबारे लामो कुरा गर्नै परेन। मन्त्री बन्नासाथ सर्वज्ञ बनेर सञ्चारमाध्यममा आउने दिव्य उपदेशको वौछारले उनीहरूले परिवर्तन आत्मसात् गरिरहेको, परिस्थिति सम्हाल्न मेहनत गरिरहेको प्रमाण दिँदैन। मन्त्री बनियो, त्यसको काबिल हौँ भनेर आफ्नो क्षमता बढाउन भन्दा आफू जन्मजात नै नेताजस्तो गरेर सस्तो प्रचारबाजीमा कुदेको देखिन्छ।

यस जनआन्दोलनका परिवर्तनहरू राजाको शासनको अप्रियता, माओवादीको सक्रियता र नेपाली जनताको शान्तिको चाहनाको पृष्ठभूमिमा भएका हुन्। संसदको कर्मकाण्ड, निर्णयको ढिलासुस्तीले दलीय नेताहरूले परिवर्तन आत्मसात् नगरेको कुरा प्रमाणित गर्छन्। नयाँ परिवर्तनपछि दलका नेताहरू परिवर्तन आत्मसात् गर्न पुनः प्रशिक्षित हुनु जरुरी छ। नेताहरूले विचार गरुन्– उनीहरूका कदमले स्वतन्त्रताका पक्षधर नेपालीलाई निरुत्साहित नबनाउन्। जनताले सात दलका विकल्प सोच्नु नपरोस्। यसो भए मात्र प्रा. अधिकारीको लेखको अभीष्ट पूरा हुनेछ।

टीका भट्टराई,
भक्तपुर, लोकन्थली


भूलसुधार

हिमाल को गताङ्कमा 'उकालो लाग्दा' स्तम्भमा 'मेजर राममणि पोखरेलको नेतृत्वमा रहेको सैन्य टोलीबाट दोरम्बा नरसंहार भएको' हुनुपर्नेमा अन्यथा छापिएकाले सच्याइएको छ।

यसैगरी, हिमाल, १–१५ जेठमा स्वीस अन्तर्राष्ट्रिय विकास सहायता नियोग (एसडीसी) का निर्देशक योर्ग फ्रिडेनको तस्बिर अन्यथा हुन गएकोमा क्षमाप्रार्थी छौँ।

–सं