हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विशेष रिपोर्ट

अभिभावक, विद्यार्थीको आँखामा 'राम्रो विद्यालय'

कस्तो विद्यालय राम्रो हुन्छ? त्यसमा के–के हुनुपर्छ? के आधारमा विद्यालय छानिन्छ?

यस पटक एसएलसी दिएर उच्चमाध्यमिक तहमा प्रवेश गर्ने तरखर गरिरहेका अधिकांश विद्यार्थी र तिनका अभिभावकले माथिका प्रश्नमा यस्तो जवाफ दिए 'धान्न सकिने शुल्क, दक्ष शिक्षक–शिक्षिका, खेलमैदानसहितको सुविधायुक्त भवन, शान्त वातावरण, कुशल व्यवस्थापन, पर्याप्त अतिरिक्त क्रियाकलाप र उच्च नतिजा भएका विद्यालय नै राम्रा विद्यालय हुन्।'

डम्बरकृष्ण श्रेष्ठ

सङ्गीत पनि सिकाउने हुनुपर्छ
अभिषेक बज्राचार्य, विद्यार्थी, लिटिल एञ्जल्स, हात्तीवन, ललितपुर

दक्ष शिक्षक, सफा वातावरण, खेल मैदान र राम्रो पढाइसँगै मेरो विशेष रुचि सङ्गीत समेत सिकाउने सुविधा भएको विद्यालयमा जान्छु। अहिलेसम्म दिमागमा ज्ञानोदय, प्रसादी, युनाइटेड र लिटिल एञ्जल्स छन्। सानैदेखि पढेको लिटिल एञ्जल्स राम्रै भएपनि नयाँ ठाउँमा पढ्ने विचार छ।

छोराकै सल्लाहमा विद्यालय छान्छु
अशोकमुनि बज्राचार्य, अभिभावक (अभिषेकका बाबु), गाबहाल, पाटन

राम्रो अनुशासन, ठिक्क शुल्क र पढाइका लागि चाहिने सबै सुविधा भएको विद्यालय नै राम्रो हो। मैले त छोरालाई विदेश पठाउन लागेको थिएँ, तर अहिले देशको अवस्था सुध्रँदै गएकोले यहीँ पढाउँछु। विद्यालयमा हुनुपर्ने सुविधासँगै तिनका पहिलेका नतिजा पनि हेर्छु। र, छोराको पनि सल्लाह र रोजाइ बुझेर ऊ पढ्ने विद्यालय छान्छु।

प्राक्टिकल बढी हुनुपर्छ
एलिजा मगर, विद्यार्थी, ज्ञानोदय बोर्डिङ स्कूल, धरान विद्यालयको भवन र प्रचार राम्रो भएर मात्र हुँदैन, शिक्षक–शिक्षिका राम्रो

हुनुपर्छ। पढाइभन्दा प्राक्टिकल बढी हुनुपर्छ। त्यसपछि मात्र अरू कुरा आवश्यक हुन्छ। मैले डाक्टर बन्न चाहेकीले साइन्स पढ्छु। धरान या काठमाडौँ कहाँ पढ्ने भन्ने टुङ्गो भइसकेको छैन। बेलायतबाट बुबा आउँदै हुनुहुन्छ, त्यसपछि थाहा हुन्छ। उता जाने पनि कुरा छ।

जर्मनी जाने तयारी
तृष्णा राई, विद्यार्थी, सेकेण्डरी बोर्डिङ, इटहरी

कलेजमा पढाइभन्दा बढी अतिरिक्त क्रियाकलाप, खेलकुद हुनुपर्छ। म इण्टेरियर डिजाइनर बन्न चाहन्छु र मेरो परिवार हाल जर्मनीमा भएकोले उतै पढ्न जाने तयारी गरिरहेकी छु। यताभन्दा उतैतिर रुचि अनुसार पढ्न पाउँछु जस्तो लाग्छ। काठमाडौँमै पढेँ भने नोबल, ह्वाइट हाउस र लिटिल एञ्जल्समध्ये एउटा छान्छु।


तस्बिरहरूः डम्बरकृष्ण श्रेष्ठ

सस्तो नराम्रै हुँदैन
विजया ज्ञवाली, विद्यार्थी, एसओएस हर्मन माइनर स्कूल, सानोठिमी, भक्तपुर

पुराना शिक्षक, विद्यार्थीहरूसँग बुझेर छान्छु। अहिलेका कलेजहरू फ्रि छन् रे! कडा अनुशासनसँगै घरैमा किताब ल्याएर पढ्न पाइने पुस्तकालय हुनुपर्छ, दक्ष शिक्षकलगायत विद्यार्थीका लागि आवश्यक सबै सुविधा हुनुपर्छ। यहाँ सस्तो कलेजलाई नराम्रो भन्ने परम्परा जस्तै बनेको छ। तर म त्यो हेर्दिनँ।

प्रचार हैन शिक्षा
कपिलमणि/पूर्णकला ज्ञवाली, अभिभावक (विजयाका बाबु) मैतीदेवी, काठमाडौँ

म त छोरीको लागि पैसालाई भन्दा शिक्षालाई महत्त्व दिने विद्यालय छान्छु। आम रूपमा त धेरै शुल्क लिने मात्रै राम्रा हुन्छन् भन्ने छ, तर थोरै शुल्क हुने विद्यालयमा पनि राम्रो शिक्षा पाउन सकिन्छ। पुस्तकालय, प्रयोगशाला, खेलमैदान, राम्रो भवन, दक्ष शिक्षक, कुशल व्यवस्थापनसहित सबैको समन्वय भएको विद्यालय राम्रो हो।

साथीहरू मिलेर एउटै रोजिन्छ कि!
झितेश लिम्बू, विद्यार्थी, लिटिल एञ्जल्स

राम्रो पढाइसँगै खेलकुद, स्वास्थ्य सुविधा, अतिरिक्त क्रियाकलाप, शान्त वातावरण भएको विद्यालय नै मन पर्छ। स्कूलभन्दा 'फ्रिडम' हुनुपर्छ। सँगै पढेका साथीहरू एकै ठाउँ पढौँ पनि भन्दैछन्।

लगानी खेर नजाओस्
दिलमाया लिम्बू, अभिभावक, (झितेशकी आमा), ललितपुर

भविष्य राम्रो हुने, कुलतमा नफँस्ने, राम्रो शैक्षिक वातावरण भएको विद्यालयमै छोरालाई पढाउने विचार छ। कलेज भन्ने वित्तिकै छोराले भनेजस्तो खुल्ला हैन, राम्रो अनुशासित हुनुपर्छ। अहिले विद्यालयहरूले गर्ने प्रचारमा विश्वास लाग्दैन। छोराको पढाइमा सानैदेखि गरेको लगानी खेर नजाओस् भन्ने हो। जान्नेबुझ्नेहरूको सल्लाह लिएर विद्यालय छान्छु।

कम्प्युटर पढ्न चाहन्छु
विनिशा श्रेष्ठ, विद्यार्थी, समिट बोर्डिङ, धरान

राम्रो व्यवस्थापन, साइन्स ल्याव, पुस्तकालय र स्तरीय शिक्षा भएको विद्यालय राम्रो हुन्छ। मेरो चाहना त कम्प्युटर हार्डवेयर इञ्जिनियरिङ पढ्ने छ। तर कम्प्युटर पढ्ने विद्यालय नै नभएकोले साइन्स पढ्न लागेकी छु। रिजल्ट आएपछि बुबा–आमासँग सल्लाह गरेर विद्यालय छान्छु।

प्रचारै बढी
सुदेश्ना नेपाली, विद्यार्थी, महेन्द्र भवन, ज्ञानेश्वर, काठमाडौँ

विद्यार्थीहरू 'करिअर' बनाउन उच्चशिक्षामा जाने भएकाले गुणस्तरीय शिक्षा त हुनैपर्छ। साथै सबै विद्यार्थीहरूका रुचि पूरा गर्ने अतिरिक्त क्रियाकलापहरू हुनु पनि जरुरी छ। हालसालै भृकुटीमण्डपमा भएको 'एम्बिशन २००६' प्रदर्शनी हेर्न गएकी थिएँ। यति धेरै कलेज छन्, तिनका पम्प्लेट, ब्रोसियर र प्रोस्पेक्टसहरू हेरेर मात्रै कुन चाहिँमा पढ्ने भनेर छान्न सकेको छैन। म साइन्स पढ्न चाहन्छु, त्यसैले क्रिष्ट, क्याम्पियन र निष्ट लगायतका विद्यालयबारे बुझ्दैछु।

आफैँ रोज्छु
सुजा बज्राचार्य (विद्यार्थी), शिखर हाई स्कूल, जावलाखेल

म त नाम चलेको र पढाइ पनि राम्रो भएको विद्यालयमा पढ्छु। युनाइटेड, आइन्सटाइन, ज्ञानोदय आदि विद्यालय हेर्दैछु। बुबा–आमासँग पनि सल्लाह गर्छु। तर, आफ्नै लागि पढ्ने भएकाले विद्यालय आफैँ रोज्छु। अङ्ग्रेजी र म्यानेजमेण्ट पढ्ने मन छ। कलेजको पढाइ खर्चिलो त हुन्छ नै, तर खर्च भए पनि पढाइको गुणस्तर र सुविधा राम्रो हुनुपर्छ। अनुशासन र दक्ष शिक्षक हुनुपर्छ। मेरो लागि त बास्केटबल र ब्याडमिण्टन जस्ता खेलकुद पनि हुनुपर्छ।

सोचेकै छैन
कोमिङ राजभण्डारी, विद्यार्थी, एड्भान्स इङ्गलिस बोर्डिङ, हाँडीगाउँ, काठमाडौँ
दक्ष शिक्षक, पढ्नका लागि राम्रो, खुल्ला र शान्त वातावरण अनि खेलकुद, सङ्गीतसँगै अतिरिक्त क्रियाकलापहरू हुने विद्यालय नै राम्रा हुन्छन्। तर सबैथोक राम्रो भएको विद्यालय अति नै महँगो हुन्छ र त्यसमा हत्तपत्त सीट पनि पाइँदैन। ग्यालेक्सी, सेण्ट जेभियर्स जस्ता महँगा विद्यालयहरूले मध्यमवर्गीय परिवारले धान्न सक्ने गरी शुल्कमा छुट र छात्रवृत्ति दिएर कम खर्चमा पढ्न सक्ने वातावरण तयार गरिदिनुपर्छ।

ढुक्क हुन पाइयोस्
शिव/भक्ति राजभण्डारी, (कोमिङका बाबुआमा)

छोरा–छोरीको पढाइमा ढुक्क हुन पाइयोस् भनेर धेरै पैसा तिरेर पढायो, थप पैसा खर्च गरेर त्यहीँ ट्युशन पढ्न लगाउने विद्यालयहरू पनि छन्। कतिले खेलकुद, मनोरञ्जन, स्वास्थ्य आदिको नाममा समेत शुल्क लिन्छन्, तर सुविधा दिँदैनन्। विभिन्न छुटको प्रचार गरेर अनेकन् बहानामा अभिभावकसँग पैसा असुल्छन्। यस्तो अवस्थामा छोराको लागि विद्यालय छान्न सजिलो छैन। यो हेर्दा सरकारी कलेजमै पढाउँ जस्तो पनि लागिरहेको छ। तर छोराको चाहनामा पनि भर पर्छ।


'राम्रो विद्यालय'
के भन्छन्: प्रिन्सिपल/प्रोपाइटर


जेभियर इन्टरनेशनल, काठमाडौँ

प्लस टु उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले आफूले अध्ययन गरेको स्कूल/कलेजलाई राम्रो भने भने त्यो नै उत्कृष्ट स्कूल/कलेज हो।
सुरेन्द्र सिटौला, संस्थापक,
बागमती बोर्डिङ्ग स्कूल, काठमाडौँ

दक्ष शिक्षक, राम्रो व्यवस्थापन र आधुनिक शिक्षण विधि भएका प्लस टु हरूलाई राम्रो मान्न सकिन्छ।
ऋषि तिवारी, प्रिन्सिपल, पिनाकल एकेडेमी, ललितपुर

नतिजालाई मात्र आधार मान्नु भन्दा पनि त्यहाँबाट उत्पादित विद्यार्थीहरूले बाहिर कत्तिको प्रतिस्पर्धा गर्न सकेका छन् त्यो महत्त्वपूर्ण हो। २१ औँ शताब्दी सुहाउँदो भौतिक सुविधासम्पन्न विद्यालयहरूबाट उत्पादित दक्ष जनशक्तिले सजिलै काम पाउँछन्। अब प्लस टुका लागि विदेश जानुपर्दैन।
सुरेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष, नोवेल एकेडेमी, काठमाडौँ

कलेजमा पठनपाठन, शैक्षिक भ्रमण, अनुसन्धान, अनुशासन लगायतका कुरामा ध्यान दिइएको छ। हाम्रो कलेजमा बीबीएस, बीए, बीबीए, बीएस्सी (बायो–केमेष्ट्री), एमए (अङ्ग्रेजी) को पढाइ हुन्छ।
डा. शिवदत्त ज्ञवाली, प्रन्सिपल, युनिभर्सल कलेज, काठमाडौँ

कलेजमा सामाजिक उत्तरदायित्वलाई ध्यान दिइएको छ। राम्रो विद्यालय छनौट गर्दा त्यसको 'प्रोस्पेक्टस्' र स्कूलको वातावरणको तुलना गर्ने, त्यहाँका 'सिनियर' विद्यार्थीहरूसँग बुझ्नुपर्छ।
सिञ्जन कोइराला, प्रिन्सिपल, प्रोग्रेस उच्च माध्यमिक विद्यालय, ललितपुर

विद्यार्थी र अभिभावकले सैद्धान्तिक र व्यावहारिक ज्ञान दिनसक्ने तथा आफ्नो आर्थिक हैसियतको विद्यालय छान्नुपर्छ।
चिरञ्जीवी घिमिरे, कार्यकारी
निर्देशक, एस्एम् कलेज, काठमाडौँ