हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

इन्डिकाको भी टु जीटा

नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले इन्डिकाको पछिल्लो संस्करण इन्डिका भी टु जीटा बजारमा भित्र्याएको छ। युरो–३ मापदण्डको जीटा कार एक लिटर पेट्रोलमा १४ किलोमिटर गुड्ने कम्पनीको दाबी छ। पाँच रङमा उपलब्ध जीटा को मूल्य सुविधा अनुरुप रु.९.५ लाखदेखि रु.१२.५ लाखसम्म पर्ने बताइएको छ।

एसआर ड्रग्सका नयाँ औषधि

एसआर ड्रग्स ल्यावोरेटोरिज प्रा.लि.ले नेपालमै मुटु, मस्तिष्क र स्नायु सम्बन्धी रोगहरूको औषधि उत्पादन शुरु गरेको छ। कम्पनीका अनुसार यसनिम्ति छुट्टै विभाग खडा गरिएको छ र यो विभाग यी नयाँ औषधिको उत्पादन र बजार निर्माणमा समर्पित हुनेछ। डब्लूएचओ (जीएमपी, आईएसओः ९००१ः२००० र आईएसओः १४००१ः२००४ प्रमाणपत्र प्राप्त गरिसकेको यो कम्पनीले हाल १०४ प्रकारका औषधि उत्पादन र बिक्रीवितरण गर्दै आएको छ।

यामाहाको ग्लाडिएटर बजारमा

यामाहा मोटर्सको अधिकृत बिक्रेता मोरङ अटो वर्कस्ले ग्लाडिएटर मोटरसाइकलको बिक्री शुरु गरेको छ। स्ट्यान्डर्ड र डिलक्स गरी दुई मोडलमा उपलब्ध १२५ सीसीको यो मोटरसाइकलमा पाँच गियर छन्। ग्लाडिएटर स्टयान्डर्ड को मूल्य रु.१,११,९०० र सेल्फ स्टार्ट साथै डिलक्स ब्रेकयुक्त ग्लाडिएटर डिलक्स को रु.१,२३,९०० तोकिएको छ।

यतीको नयाँ विमान

यती एयरलायन्सले ६ वटा नयाँ जहाज भित्र्याउने योजना अनुसार दोस्रो जेटस्ट्रिम–४१ जहाज ल्याएको छ। २९ यात्रु अट्ने यो विमानले २५ हजार फिटभन्दा बढीको उचाइमा पनि उडान गर्न सक्छ। जेटस्ट्रिम–४१ को प्रवेशपछि कम्पनीले अहिलेका गन्तव्यहरूमा बढी स्तरीय सेवा प्रदान गर्न आफू सक्षम हुने विश्वास लिएको छ।

स्मार्ट पाउचमा म्याकडोवल

म्याकडोवल नेपालले आफ्नो उत्पादन (ह्वीस्की) विशेष कागजको थुँगा अर्थात् 'स्मार्ट पाउच'मा प्याक गरी बजारमा ल्याएको छ। यो प्याक एकपटक खोलेपछि पुनः बन्द गर्न नमिल्ने भएका कारण उपभोक्ताहरू नक्कली रक्सीबाट ठगिन नपाउने विश्वास कम्पनीले लिएको छ। हाल ७५० मिलिलिटरमा उपलब्ध उक्त पाउच ह्विस्कीको उपभोक्ता मूल्य रु.५०० तोकिएको छ।

एभरेष्ट ब्याङ्कलाई एक्सिलेन्स अवार्ड

ठूला, मध्यम, सेवा र साना उद्योग तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेबापत नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीले एभरेस्ट ब्याङ्कलाई एनआईसीसीआई एक्सिलेन्स अवार्ड प्रदान गरेको छ। संस्थाको वार्षिक साधारणसभामा अर्थमन्त्री डा. रामशरण महतले ब्याङ्कका कार्यकारी निर्देशक डी.भी.एस.एस.भी. प्रसादलाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको थियो।

सिग्मा र रोडस्टार नेपालमा

भारतीय कम्पनी प्रिमियर मोटर्सको अधिकृत बिक्रेता हंसराज हुलास चन्दले सिग्मा एक्सप्रेस कार्गो भ्यान र रोडस्टार पिकअपको नेपालमा बिक्री वितरण शुरु गरेको छ। डिजलबाट चल्ने २००० सिसि इन्जिन क्षमताको रोडस्टार र ३७०० सिसिको सिग्मा नेपालको
भौगोलिक बनोटमा सामान ढुवानीका लागि धेरै नै उपयुक्त रहेको दाबी कम्पनीको छ।

सानो बोतलमा सिग्नेचर

म्याकडोवल्स नेपाल लिमिटेडले सिग्नेचर ह्विस्की ३७५ मिलिलिटरको बोतलमा पनि बिक्री गर्न शुरु गरेको छ। यसको बोतल र बिर्को नक्कल गर्न नसकिने किसिमले डिजाइन र निर्माण गरिएको कम्पनीले जनाएको छ। यसको उपभोक्ता मूल्य रु.३४५ तोकिएको छ।