हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

रोयल नामले दिएको टेन्सन

नेपालीमा 'शाही' र अङ्ग्रेजीमा 'रोयल' जोडिएको नामै सुन्दा पनि अचेल मानिस मुख बिगार्छन्। सरकारले 'रोयल' भन्ने जनाउनलाई अघिल्तिर 'शाही' जोडेर बनाएको संस्थान, सङ्गठन, निकुञ्ज वा विभागको नामबाट शाही काटेर सजिलै नयाँ र छोटो नाम त राख्न सकिएला। जस्तो, नेपाली सेनाको हकमा भयो। तर जसको थर नै 'शाही' छ त्यस्ताले के गर्ने होला? बरा, नाममा शाही गाँसिएकै कारण ती कहिल्यै पूर्ण लोकतान्त्रिक हुन नसक्ने भए अथवा नदेखिने भए मानिसका आँखामा।

कहिले कहिले मानिसको राजनीतिक विचार एकातिर हुन्छ उनीहरूको नामले भने अर्कैतिर सङ्केत गरिरहेको हुन्छ। राजतन्त्र विरोधी कट्टर गणतन्त्रवादी कोही होला। उसैको नाम राजाराम वा रामराजा पनि हुन सक्छ। त्यस्तालाई निकै अप्ठेरो परेको छ आजभोलि। आफ्नो नाममा राजा शब्द परेकोमा अहिलेको बेलामा खुसी हुने त एउटै व्यक्ति शाही सरकारले गराएको नक्कली चुनावमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा चुनिने राजाराम श्रेष्ठ मात्र होलान्। अरूलाई त आफ्नो नाम कसरी बढीभन्दा बढी लोकतान्त्रिक बनाउँ भन्ने कुराको फिक्री छ। उहिले बालकृष्ण शमशेरले शेर काटेर आफूलाई सम बनाएको प्रसङ्गबाट कोही अनभिज्ञ छैनन्। अहिले पनि त्यसरी नाम फेर्नेहरू निस्केलान्।

व्यक्तिको नाम त फेर्न सकिएला। तर बेचिने वस्तुहरूको ब्रान्डलाई चाहिँ के गर्ने भन्ने प्रश्न उठ्न सक्छ। 'रोयल' ब्रान्डका धेरै वस्तुहरू छन्, खासगरी रक्सीका। रोयल च्यालेन्ज, रोयल सेलुट र हिजोआज छ्याप्छ्याप्ती पाइने रोयल स्ट्याग केही उदाहरण हुन्। रक्सी र 'रोयल' को विशेष सम्बन्ध रहेकैले यसो भएको होला।

लोकतन्त्र आए पनि रक्सीका यी ब्रान्डहरूले आफ्नो नाम फेर्ने वा नामबाट रोयल शब्द काट्ने कुनै सम्भावना देखिँदैन। यसले गर्दा कति जना धर्मसङ्कटमा परेका छन्। एकथरी पियक्कडहरू छन् त्यस्ता नामको रक्सी खानै हुन्न भन्ने। उनीहरू आफ्नो गणतन्त्रवादी छविलाई अक्षुण्ण राख्न चाहन्छन् र बरु ठर्रा खान्छन्। अर्काथरी पियक्कडहरू छन्, जो गणतन्त्रवादी भएकै कारण रोयल नामका रक्सी खानुपर्छ भन्छन्। उनीहरूको तर्क छ, रोयल नामका हरेक कुरालाई सिध्याउनुपर्छ र रोयल नामको ह्विस्की त एक थोपा नराखी बोतलै सिध्याउनुपर्छ।

कामले त गर्‍यो गर्‍यो, नामले समेत मानिसलाई टेन्सन दिने 'शाही' र 'रोयल' भन्ने कुरा कस्तो होला?

बोलीमा लोकतन्त्र कहिले?

नागरिक समाजका एक जना ठूला नेताको घरमा फोन गर्ने काम पर्‍यो। उनी प्रगतिशील सोच र अग्रगामी विचारका लागि चिनिन्छन्। सामाजिक न्याय र समानताका भाषण गर्छन्। फोन कसैले उठायो। शायद घरमा काम गर्ने हुनुपर्छ। जवाफ आयो : 'घरमा होइसिन्न।'
'कहिले आउनुहुन्छ?'

- 'राति मात्रै आइसिन्छ।'

अर्का वामपन्थी नेतालाई पनि फोनबाट सम्पर्क गर्नुपर्ने खण्ड आयो। फोन उनकी धर्मपत्नीले उठाएको हुनुपर्छ। जवाफ आयो - 'भुजा ज्यूनार गरिसिंदैछ।'

फलाना बोलेको भनिदिनोस्न भन्दा एकछिनको मौनतापछि प्रत्युत्तर आयो - 'पछि आफैँ फोन गरिसिन्छ 'रे।'

एक जना जनजाति नेता छन्- बोल्दा आगो ओकल्ने, भाषण गर्दा सामन्तवादको जरै उखेल्नुपर्छ भन्ने, नेपाली भाषालाई नेपाली भाषा नभनेर खस भाषा भन्ने। उनको घरमा फोन गर्दा पनि 'काजीसाहेब र 'दुलहीसा'ब सँगै डिनरमा सवारी भा' छ' भन्ने उत्तर पाइयो।

डाँडापाखामा हुर्किएका एक जना पत्रकार मित्रको घरमा फोन गर्दा पनि उनका छोराछोरीबाट 'ड्याडी बाथरुममा होइसिन्छ' 'ममी बजार गइसिया छ' भन्ने जवाफ सुन्न पाइन्छ। घरमै छन् भने 'होइसिन्छ' भन्छन्, 'अङ्ग्रेजी बोर्डिङ स्कूल'मा पढ्ने उनका छोराछोरीहरू।

दरबारमा हुर्केका वा दरबारिया छायाँ परेकाहरू त 'बक्स्योस्' र 'आइसियोस्'को अल्झोमा अल्झिनु अचम्म होइन। तर चार–चौरासबाट यस खाल्डोमा आएकाहरू पनि सभ्य र सुसंस्कृत हुने मोहमा सुगाले झैँ त्यही दरबारिया बोली टिप्छन्। त्यो चाहिँ कुरा अचम्मको छ। अब त लोकतन्त्र आयो। गणतन्त्रमा जाने कुरा गरिरहेछन् सबै। बोलीमा समेत लोकतन्त्र ल्याउन नसक्नेहरू गणतन्त्रमा जालान् भनी आशा गर्न सकिएला र?

छुन पाइन्छ अब

द्वितीय जनआन्दोलनको भरमा पुनःस्थापित सर्वशक्तिमान् संसद्ले नेपाललाई छुवाछूतमुक्त मुलुक भनी घोषणा गर्दा यो अज्ञानी सुनसरी जिल्लाको मधेश इलाकामा जेठको गर्मी खाँदै थियो। कारण केही निजी थिए।

देशको राजधानीबाट भर्खर देहात आएको सुकिलोमुकिलो र पढालेखाजस्तो लाग्ने व्यक्तिबाट आफूले नबुझेका देशका ठूलाठूला कुराबारे जान्न खोज्नु गाउँलेहरूको स्वभावै हो। खेतबाट भर्खर गोरु फुकाएर तित्तिरीको रूखमुनि सुस्ताइरहेका एक जना अधबैँसे किसानले सोधिहालेः

“यो छुवाछूतमुक्त भनेको के हो बाबु?”

यस प्रश्नको उत्तर मलाई उछिनेर छेवैमा खैनी माडिरहेका सेताम्मे कपाल भएका अर्का प्रौढ किसानले दिइहाले - 'त्यो भनेको अब जसलाई पनि छुनुहुन्छ, छुँदा मात्रै केही हुँदैन भनेको हो। पहिले छुँदा डर मान्नुपर्थ्यो। अब छुँदा गाल पर्दैन। समात्न र अठ्याउन चाहिँ हुँदैन। छुन पाइन्छ क्या!'

क्या ठीक बुझेछन् ती ग्रामीण प्रौढले। हुन पनि हो कर छुट भएको पसललाई करमुक्त पसल भन्छन्। मुक्त माने छुट। मलाई पनि लाग्यो बस, माइक्रोबस, टेम्पो, पसल, हाटबजार, जहाँ होस् जसले जसलाई छुँदा र धक्का दिँदा पनि भएको छ। प्लेनमा पनि बुद्धएयरमा भए त पछिल्लो तीन सिटमा एकअर्कालाई मजाले छोएर बस्न पाइन्छ। त्यसरी छुनु अब अपराध होइन।

संसद्ले साँच्चि नै जनताको मर्का र मर्म बुझेको छ। देश छुवाछूतमुक्त भएको घोषणा त गरिहाल्यो, अब छिट्टै शायद संसद्ले नेपाललाई 'अपराधीमुक्त देश' भनेर पनि घोषणा गर्ला। किनभने अपराधीहरू हिरासतबाट सिन्दूर जात्रा गर्दै छुटिरहेछन्, कोही पक्राउ नपरी खुला घुमिरहेछन्। आखिर यो देश अपराधीहरूको पनि हो। देशै नभए उनीहरूले अपराध कहाँ गर्ने? फेरि उनीहरूलाई मुक्त नगरे उनीहरूले अपराध कसरी गर्ने?