रमझम
विवाह को कुरा चलेको छ
सज्जा मैनाली,
नायिका

तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटी पार्लर
वस्त्रः गसिप, बिशाल बजार
तेस्रो तल्ला |
चार वर्षको
उमेरमा 'पाटीको वास' टेलिचलचित्रबाट अभिनय थालेकी नायिका सज्जा मैनालीलाई
अहिले हास्यकलाकार गोपालराज मैनालीकी छोरी भनेर चिनाइरहनुपर्दैन। उनको
आफ्नै दरिलो पहिचान बनिसकेको छ। छ वर्षअघि नौ डाँडा पारि बाट चलचित्र
क्षेत्रमा प्रवेश गरेकी उनले हालसम्म गोरेटो, कर्तव्य, भाइभाइ, कर्मयोद्धा
लगायतका २६ चलचित्रमा अभिनय गरिसकेकी छिन्। नायक निखिल उप्रेतीसँग
मिलेर सावधान चलचित्र निर्माण समेत गरेकी सज्जा कृष्ण अर्जुन र दादागिरी
चलचित्र भर्खरै सकेर अहिले भाग्यविधाता को छायाङ्कनमा व्यस्त छिन्।
अभिनयबाहेक युथ पावर नेपाल ड्रग एब्युज एण्ड एचआईभी प्रिभेन्शन नेपाल
संस्थासँग आबद्ध उनी कलाकारको सानो कुराले पनि समाजमा ठूलो प्रभाव
पार्ने भएकाले समाज–उपयोगी काममा लाग्नुपर्ने बताउँछिन्।
पहिले गोपालराज मैनालीको छोरी
र अहिले नायिका सज्जा भनेर चिनिँदा कस्तो लाग्छ?
चिन्ने आ–आफ्नै तरिका हो यसमा त्यस्तो फरक केही पनि लाग्दैन।
बुबाजस्तै हास्यकलाकार बन्न
मन लागेन?
कमेडी रोलका लागि प्रस्ताव नआएर हो। म त जस्तोसुकै भूमिका गर्न पनि
तयार छु। दर्शक हँसाउने लोभलाग्दो भूमिका पाए नगर्ने कुरै छैन। त्यसको
अर्थ हास्यकलाकारमै सीमित हुनुपर्छ भन्ने होइन।
नायिका बन्ने रहर सानैदेखिको
हो?
सबै किसिमको भूमिका गर्न मन लाग्थ्यो अरूले गरेको नृत्य, गम्भीर तथा
हास्य भूमिका देखेर त्यस्तै गर्न मन लाग्थ्यो। माधुरी दीक्षितको अभिनय,
नृत्य हेरेर आफु पनि त्यस्तै गर्ने कोशिश गर्थेँ– ऐना हेरीहेरी। केही
गर्छु भन्ने चाहिँ लाग्थ्यो तर माधुरी जस्तै बन्छु,, नायिका नै हुन्छु
भन्ने थिएन।
यो क्षेत्रलाई समाजका कतिपयले
अझौ पनि राम्रो भन्दैनन् नि?
हो, सबै वर्गका मानिसले राम्रो भनेको पाइँदैन। तर यो त्यस्तो क्षेत्र
हैन। राम्रो–नराम्रो पक्ष जुनसुकै क्षेत्रमा पनि हुन्छ। यो क्षेत्रमा
विकृति, विसङ्गति छँदै छैनन् म भन्दिनँ। प्रत्यक्ष जनमानसको नजरमा
पर्ने क्षेत्र भएकोले सानो नराम्रो कुराले पनि ठूलै चर्चा पाउँछ।
नचाहिँदो हल्ला बढी हुन्छ भन्छन्
नि? तपाईको अनुभव के छ?
ग्ल्यामरको फिल्ड भएकोले बढी हल्ला त हुन्छ नै। तर सिने–कलाकार 'पब्लिक
फिगर' भएकाले हरेक काम कुरा गर्दा सोचेर गर्नुपर्छ। राम्रा काममा अरूका
लागि दृष्टान्त बन्ने कोशिश गर्नुपर्छ हामीले। किनकि हामीले गर्ने
सानो कुराले पनि समाजमा ठूलो प्रभाव पारिरहेको हुन्छ।
चलचित्रहरूमा धेरैसँग प्रेम,
विवाह गरिसक्नु भो। वास्तविकतामा चाहिँ?
माया, प्रेम आफ्नै परिवार, दाजुभाइ, आफन्तसँग छ तर तपाइँले सोध्नुभए
झैँ त्यस्तो विशेष व्यक्ति कोही छैन्।
फुर्सद नपाएर कि मनै नभएर हो?
मलाई त यो कुरा जन्मँदै तय भएर आएको कुरा जस्तो लाग्छ। मान्छे जन्मनु,
मर्नु जस्तै हो विवाह र घरजम पनि। कोसँग कसरी बिहे हुन लेखेको छ, समय
आएपछि त्यो आफैँ हुन्छ। मलाई त ब्वाइफ्रेण्ड, गर्लफ्रेण्ड बनाउने,
अफेयर जस्ता कुरामा विश्वास पनि लाग्दैन।
बिहे गर्ने बेला त भइसकेन र?
घरमा त अहिल्यै, एक/दुई महिनाभित्रै छोरी अन्माउने कुरा पनि चल्छन्
कहिलेकाहीँ। अहिले पनि चलिरहेको छ तर म भाग्यमा विश्वास गर्छु। यदि
हुनु छ भने मैले नचाहे पनि हुन्छ र लेखेकै छैन भने घरबाट जति कर गरे
पनि हुँदैन। बिहेका लागि पाँच या दश वर्ष पनि लाग्नसक्छ, यही वर्ष
पनि हुनसक्छ।
•
अनुशील श्रेष्ठ
रिपोर्ट
जन संगीत
जहाँ भोको पेटले दानापानी मागेको हुन्छ
अन्याय र अत्याचारले जहाँ सीमा नाघेको हुन्छ
त्यहाँ फुट्छ ज्वालामुखी...

अखण्ड ज्योति |
| तनहुँको सिसाघाटमा कम्ब्याक्ट ड्रेसमा नृत्य। |
यस्ता गीतमा कराँते, तेक्वान्दो, उसु र बक्सिङमा प्रयोग
हुने एक्सन र कम्ब्याक्ट ड्रेससहित नृत्य प्रस्तुत भएपछि दर्शकहरू
स्वाभाविक रूपले तानिन्छन्, जिज्ञासु बन्छन्। जनवादी गीत–सङ्गीत भनेकै
आमजनताको वेदनालाई गीत–सङ्गीतमा उनेर जनतालाई नै पस्कने संस्कृति हो।
माओवादीहरू जनताको पीरमर्का बोल्ने यस्तै गीत–सङ्गीत लिएर आफ्नो पक्षमा
जनमत बनाउने काममा सक्रिय छन्, आजभोलि।
जनवादी गीत–सङ्गीतप्रति राज्यको दृष्टि पहिलेदेखि नै
फरक रहँदै आएको छ। विगतमा रामेश, रायनका गीतहरूसमेत सञ्चारमाध्यमले
कमै बजाउँदै आएको पृष्ठभूमिमा माओवादी नारा घन्किएका गीत–सङ्गीत माओवादी
प्रभावित क्षेत्रमै सीमित रहनु स्वाभाविकै हो। माओवादी विद्रोहका क्रममा
उनीहरूले सांस्कृतिक कार्यक्रमका माध्यमबाट जनतालाई आकर्षित गर्दै
आएका छन्। अहिले युद्धविरामको अवस्थामा सो पार्टीका कलाकारहरू शहर,
बजार हुँदै राजधानीको खुल्लामञ्चसम्म प्रस्तुत भइरहेका छन्। यस्ता
कार्यक्रममा माओवादीको भातृ सङ्गठन अखिल नेपाल जनसांस्कृतिक संघका
साथै जिल्ला र क्षेत्रहरूमा खुलेका अन्य समूहका कलाकारहरूको सक्रियता
देख्न सकिन्छ।
नेपाली राजनीतिमा माओवादी विद्रोहको उदयसँगै यस्ता गीत
खुला रूपमा गाउने र तिनमा रमाउने कामसमेत राज्यद्वारा प्रतिबन्धित
भए। फेला परे कलाकारहरूले मृत्युदण्ड समेत पाउँथे। माओवादी साङ्गीतिक
अभियानमा लागेकै आरोपमा ५ चैत २०५५ मा काभ्रे–अनेकोटमा एक घरमा सेल्टर
लिइरहेको बेला प्रहरीद्वारा सात निहत्था जनवादी कलाकार मारिएका थिए।
जुन दिनलाई माओवादीले सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउने गर्छ।
पञ्चायतकालमा पनि तत्कालीन सरकारहरूले यस्ता जनवादी
गीत गाउने कलाकारहरूलाई खोजी खोजी कारबाही गर्दथे। ०४६ सालको परिवर्तनपछि
पनि जनवादी सङ्गीत नेपाली आम सञ्चारमाध्यमका प्राथमिकतामा परेनन्।रक्तक्रान्तिको
ज्वालामुखीमा..., गाउँगाउँबाट उठ..., कोई त भने जहाजमा हरर..., जस्ता
गीत–सङ्गीत भएको चलचित्र बलिदान लाई १९ माघपछिको शाही सरकारले प्रदर्शनमा
प्रतिबन्ध नै लगायो।
आँखैमा राख्छु मेरो देश, मुटुमा राख्छु मेरो देश
परेलीमा सजाउँछु मेरो देश...

माओवादीले १९ जेठमा राजधानीमा गरेको सभामा
सांस्कृतिककर्मी। |
रेडियो नेपाल र एफएमहरूमा बजिरहने राष्ट्रप्रेमले ओतप्रोत
यो गीतकी गायिका अञ्जना गुरुङ समेत अहिले माओवादी सांस्कृतिक टोलीमा
छिन्। उनी माओवादी विद्रोहमा समाहित भएको एक दशक भइसकेको छ। अञ्जनासहित
सामना परिवारका खुशीराम पाखि्रन, पूर्ण परियारलगायतका कलाकार माओवादीको
भूमिगत सांस्कृतिक अभियानमा सक्रिय छन्। अर्की सदस्य चुनु गुरुङ चाहिँ
राज्यबाट बेपत्ता पारिएकी छिन्।
जनवादी सङ्गीतको कुरा गर्दा राल्फा आन्दोलनका अगुवाहरूलाई
पनि बिर्सन मिल्दैन। रामेश, रायन, मञ्जुल, जे।बी टुहुरे, रामकृष्ण
दुवाल, शम्भु राई, लोचन भट्टराईलगायतले राल्फा र पछिका जनवादी साङ्गीतिक
अभियानको अगुवाई गरेका थिए। शम्भु, लोचनलगायतका केही भने अहिले 'मायप्रीतिको
सङ्गीत' तिर लागेका छन्। चालीसको दशकमा विद्रोही गीत गाउने जीवन शर्मालगायतका
कलाकारहरू अहिले खुला रूपमा जनवादी गीत प्रस्तुत गर्दै हिँडिरहेका
छन्।
यस्तो सङ्गीतको जगेर्ना गर्ने प्रमुख श्रेय वामपन्थीहरूलाई
नै जान्छ। अहिले भने नेकपा माओवादीको अखिल नेपाल जनसांस्कृतिक संघ
यो अभियानमा बढी सक्रिय देखिएको छ। माओवादीले उसको सैन्य मोर्चाभित्रै
सांस्कृतिक टुकडीको उपस्थितिलाई अनिवार्य ठानेकोे छ। जसले माओवादीले
गरेका कार्यक्रमहरूमा जोशिला गीत–सङ्गीत र नृत्यहरू प्रस्तुत गर्दछ।
माओवादी केन्द्रीय सदस्य तथा गण्डक क्षेत्रीय व्यूरो
ईन्चार्ज टोपबहादुर रायमाझी (अनिल) जनतालाई परिवर्तनको बाटोमा लैजाने
एउटा सशक्त माध्यम सांस्कृतिक आन्दोलन भएको बताउँछन्। माओवादीका पोलिटव्यूरो
सदस्य रामबहादुर थापा (बादल) भन्छन्, “माओवादीले लोक, आधुनिक र शास्त्रीय
कला साहित्यलाई समातेकैले पनि अधिकांश ग्रामीण जनताको मन जित्न सकेको
हो।”
•
अखण्ड ज्योति
रिपोर्ट
संगीत सिकाउँदै बाटो खनाउँदै
राजधानी आउन् र
आफ्नो प्रतिभामा अझै निखार ल्याउन् भन्ने शुभचिन्तकहरूको आग्रहलाई
गायक कुवेर राईले तत्काल पूरा गर्ने छाँटकाँट देखिँदैन। उनी अहिले
आफू जन्मे/हुर्केको गाउँ इलामको श्रीअन्तुमा बाटो बनाउने काममा व्यस्त
छन्। भन्छन्, “के गर्ने गाउँमा बाटो राम्रो छैन, हिँडडुलमा समेत समस्या
पर्छ।”
कुवेरले कुनै ठेक्कापट्टा भने शुरु गरेका होइनन्।
गाउँको विकास निर्माणमा उनी जुटेका हुन्। तर उनको विकास निर्माणमा
जुट्ने कला भने बेग्लै छ। उनी अहिले आफ्ना विद्यार्थीहरूलाई सङ्गीत
सिकाएबापत कुनै शुल्क लिँदैनन्। बरु गुरुदक्षिणास्वरुप बाटो निर्माणमा
संलग्न गराउँछन्। उनलाई बाटो निर्माणका लागि स्थानीय कविराज तामाङ,
अरुण रसाइली तथा डिक तामाङलगायतका युवाहरूले दिलोज्यान दिएर सघाएका
छन्।
यसमा एउटा घटनाले काम गरेको छ। एक दिन पशुपतिनगरको
सयपत्री युवा क्लबका किशोरकिशोरीहरू “कुवेर दाई हामीलाई पनि सङ्गीत
सिकाइदिनु पर्यो” भन्ने प्रस्ताव लिएर आए। तर उनले एउटा शर्त तेर्स्याए।
भन्छन्, “मैले विद्यार्थीहरूलाई कुनै शुल्क नलिने र शुल्कबापत आफूले
शुरु गरेको बाटो निर्माणको अभियानमा सहयोग गर्नुपर्ने बताएँ।” कुवेरको
यस्तो प्रस्तावलाई समर्थन गर्दै विद्यार्थीहरूले पनि सङ्गीत सिक्दै
बाटो निर्माण अभियान शुरु गरे।
सोही क्रममा अहिले श्रीअन्तु गाउँ र पशुपतिनगर
जोड्ने दुई किलोमिटर बाटो निर्माण भइसकेको छ। बाटोमा पर्ने एउटा खोल्सामा
२० फीट लम्बाई र सात फीट चौडाइको पुल पनि बनिसकेको छ। यसका लागि जिल्ला
विकास समितिले ७० हजार रुपैयाँ सहयोग दिएको थियो। घोडासम्म हिँड्न
सक्ने यो बाटोको निर्माणपछि स्कूल ओहोरदोहोर गर्ने विद्यार्थीहरू मात्र
होइन, वर्षामासमा चिया बोक्नेहरूका लागि समेत यात्रा सहज भएको छ। कुवेर
भन्छन्, “गाउँमा त्यतिकै बस्नुभन्दा बाटो निर्माण गर्न मन लाग्यो।
आफ्नो कला अरूलाई पनि बाँडियो र बाटो पनि बन्यो।”
सुमधुर स्वरका धनी कुवेर काठमाडौँको अस्वस्थ प्रतिस्पर्धाका
कारण विरक्तिएर गाउँ फर्किएको एक दशकभन्दा बढी भयो। २०३७ सालमै काठमाडाँै
आएर उनले साङ्गीतिक सङ्घर्ष शुरु गरेका थिए। यो बीचमा उनका बारेमा
प्रणय लिम्बूले एक वृत्तचित्र नै बनाए। वृत्तचित्रको प्रभावस्वरुप
उनको एकल गायन आयोजना गरिनुका साथै गीति अल्बमहरू समेत बजारमा आए।
उनका कैयौँ शुभचिन्तकहरूले उनी काठमाडौँ नै आउन् अझ राम्रा गीत गाउन्
भन्ने कामना पनि गरे। तर तत्काल उनी काठमाडौँ आउने सम्भावना कम रहेको
छ। उनी घोडासम्म हिँड्न सक्ने यो बाटोमा मोटर चलेको देख्न चाहन्छन्।
भन्छन्, “बाटो बनाउन थालिहालियो, यसमा मोटर दौडिएको हेर्ने चाहना छ।”
•
कुमार सुब्बा, इलाममा
नयाँ
सिर्जना
सङ्गीत
कर्णदास र रीमा सर्वोत्कृष्ट



तस्विरहरूः अनुपप्रकाश
|
| भक्तराज आचार्य, कर्णदास र रीमा गुरुङ (होडा)।
|
पुरानालाई
सम्मान, नयाँलाई प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान
गर्दै आएको रेडियो, टेलिभिजन सञ्चालन संस्था इमेजको सङ्गीत महोत्सव
आठौँ टुबोर्ग इमेज अवार्ड २७ जेठमा सम्पन्न भएको छ। नेपाली सङ्गीत
क्षेत्रमा प्रतिष्ठित मानिएको यस आयोजनामा यसपालि गायक कर्णदासले वर्षकोे
सर्वोेत्कृष्ट गायकसहित तीन वटा प्रमुख विधाको अवार्ड हात पारे। चर्चित
गायक भक्तराज आचार्यलाई लाइफ टाइम एचिभमेण्ट अवार्डबाट सम्मानित गरियो।
समारोहमा कर्णदासले भेटिएर छुट्टिनु भन्दा
गीतबाट सर्वोत्कृष्ट गायकसँगै र फर्की आऊ शान्ति तिमी बाट राष्ट्रिय
भावनाले ओतप्रोत गीतको अवार्ड हासिल गरेका थिए। उनकै आधा आकाश वर्षको
उत्कृष्ट अल्बम घोषित भयो। भेटिएर छुट्टिनु गीतबाट भुपेन्द्र खड्का
वर्षकै उत्कृष्ट रचनाकार घोषित भए।
कसको आँखा लाग्यो बरै गीतबाट रिमा गुरुङ
होडा सर्वोत्कृष्ट गायिका घोषित भइन्। सविन राईको म संसार जित्ने आँट
गर्दैछु सर्वोत्कृष्ट गीत, प्रकाश गुरुङको बिन्ती छ है सर्वोत्कृष्ट
सङ्गीतको अवार्ड पाउन भए। दिव्य सुब्बाले पश्चाताप बाट नवगायकको अवार्ड
पाए। त्यस्तै मिङ्मा शेर्पा छमछम छमछम तिमीले बाट सर्वोेत्कृष्ट पपगायक,
सिनी गुरुङ तिम्रो मायामा गीतबाट सर्वोेत्कृष्ट पपगायिका घोषित भइन्।
द स्याडोज ब्याण्डको प्रकृति सर्वोत्कृष्ट
रक गीत, नेप्सिडेजको माया ओ माया सर्वोेत्कृष्ट समूह गायन, खेमराज
गुरुङको आलुतामाले सर्वोत्कृष्ट लोकगीत, सिर्जना विरही थापा र राजु
परियारको वनको काफल सर्वोत्कृष्ट दोहोरी गीत र चलचित्र माया बसेछ को
आज मन उडेर गीतबाट महेश खड्काले सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड
जितेका छन्। साथै पुरानो हुँदैन माया बाट फणीन्द्र राई उत्कृष्ट सङ्गीत
संयोजन र कसको आँखा लाग्यो बरै बाट उत्कृष्ट गीत रेकर्डिङको अवार्ड
मित्र लामाले पाए। सान्त्वना रेकर्डस्को अल्बम प्रहिनिर को कसको आँखा
लाग्यो बरै गीतको म्युजिक भिडियो सर्वोेत्कृष्ट म्युजिक भिडियो बन्यो
भने निर्देशक आलोक नेम्वाङ सर्वोेत्कृष्ट म्युजिक भिडियो निर्देशक।
त्यसैगरी म्युजिक भिडियो छायाँकार धीरजजङ्ग शाह बिन्ती छ है, सम्पादनका
लागि बलेको आगो बाट प्रकाश तुलाधर, स्पेशल इफेक्टका लागि रात बाट सिमोस
सुनुवार उत्कृष्ट घोषित भए।
साधारण, विशेष, म्युजिक भिडियो र राष्ट्रिय
भाषा समूह गरी चार समूहमा अवार्ड प्रदान गरिएको थियो। अवार्ड वितरणमा
राष्ट्रिय भाषालाई समावेश गराएर प्रशंसनीय कार्य गर्दै आएको इमेजले
यसपटक तामाङ भाषा समेत थप गरेको थियो। राष्ट्रिय भाषातर्फ नेपाल भाषामा
छ गना बाट सानुबाबु महर्जन, तामाङ भाषामा ए होई नाना, होई नाना बाट
चन्द्रकुमार दोङ र इन्द्र लामा र मैथिली भाषामा जीनगी जहर बाट गुरुदेव
कामत उत्कृष्ट घोषित भएका थिए।
काठमाडौँ– बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय
सम्मेलन केन्द्रमा सम्पन्न समारोहमा इमेज च्यानलका अध्यक्ष आरके मानन्धरले
इमेजको टेलिभिजन प्रसारण विश्वका ७७ राष्ट्रका दर्शकमाझ पुगिरहेको
जानकारी दिएका थिए।
•
अनुशील
रिपोर्ट
प्रकृति मोह
मिस नेपाल
२००५ तथा विश्व वन्यजन्तु कोष नेपालका लागि संरक्षण राजदूत सुगारिका
केसी जेठको दोस्रो साता विश्व वातावरण दिवस २००६ मनाउन चितवन राष्ट्रिय
निकुञ्ज पुगिन्।
निकुञ्ज अवलोकनसँगै त्यहाँको वफर जोन, जैविक विविधता,
सूचना केन्द्रमा पनि वन्यजन्तुका विषयमा उनले जानकारी लिइन्। “घरपालुवा
जनावरलाई जस्तै वन्यजन्तुलाई माया गरिदिनुहोस्”, स्थानीयवासीलाई उनी
भन्दै थिइन्, “तपाईँहरू त भाग्यमानी हुनुहुन्छ, जो प्रकृतिको यति नजिक
बस्न पाउनुभएको छ।” उनी आफैँले 'बहडी' रूखको बिरुवा रोपेर 'सुगारिका'
नामाङ्कन गरिन्।
विश्व वन्यजन्तु कोष नेपालका लागि संचार तथा शिक्षा
व्यवस्थापक तृष्णा गुरुङ मिस नेपालसँग विश्वले चिन्ने उपाधि हुने र
उनको प्रयासले समाजमा सकारात्मक प्रभाव पार्न सक्ने भएकोले संरक्षण
राजदूत बनाइएको बताउँछिन्।
जनचेतना जगाउन २२ जेठमा चितवनको नयाँ पदमपुर गाविसमा
सुगारिकासँगै काठमाडौँबाट गएको 'तीतो सत्य' को टोलीलाई हेर्न आउनेको
घुँइचो थियो।
•
प्रेरणा मरासिनी, चितवन
विविध
ओडिसी नृत्य–सन्ध्या
भारतीय सांस्कृतिक सम्बन्ध परिषद, भारतीय राजदूतावास
तथा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको आयोजनामा ओडिसी र भरतनाट्यम्की
कुशल नृत्याङ्गना सोनल मानसिंह सहभागी 'नृत्य–सन्ध्या' १६ जेठमा राजधानीमा
सम्पन्न भयो। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित
सो सन्ध्यामा कलाकार सोनलले भारतीय पौराणिक र समकालीन विषयहरूमा मौलिक
नृत्यहरू प्रस्तुत गरेकी थिइन्। उनलाई गायनमा दयानन्द परिहस्त, पखवाजमा
निरञ्जन भोल, सरोदमा अबरार हुसेन र प्रकाश तथा ध्वनिमा बालकृष्णले
साथ दिएका थिए।
पोखरेली जनक्रान्ति
 |
ऐतिहासिक आन्दोलनका क्रममा १९ दिनसम्म पोखरामा भएका
घटनाहरूमा आधारित जनक्रान्ति नामक चलचित्र तयार भएको छ। चलचित्रमा
कलाकार पनि अनेरास्ववियु पश्चिमाञ्चल प्रमुख सुधर पौडेल, नेविसंघका
स्थानीय नेता भानुभक्त ढकाललगायत आन्दोलनमा लागेका युवा विद्यार्थीहरू
नै छन्। दुई घण्टा लामो चलचित्रमा आन्दोेलनका दृश्यसँगै दुई वटा क्रान्तिकारी
गीत पनि समेटिएको छ। मणिरत्न पौडेलको प्रस्तुति, कथा निर्देशन रहेको,
जनक्रान्ति आर.सी फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित जनक्रान्ति मा
वासुदेव पोखरेलको छायाङ्कन र ठाकुरप्रसाद पौडेलको पटकथा रहेको छ।
•
त्रिभुवन/पोखरा
सरिताको ताल
सानैदेखि तबला बजाउँदै हुर्केकी सरिता
मिश्र २६ जेठमा काठमाडौँको गुरुकुल नाट्यघरमा आफ्ना सिर्जना ताल सरिता
लिएर प्रस्तुत भइन्। नारी भावना र चेतनालाई सङ्गीतका माध्यमबाट प्रस्तुत
गरिएको सो साङ्गीतिक कार्यक्रममा उनलाई चेली साङ्गीतिक समूहले साथ
दिएको थियो। सरितासँगै सितारमा अमृत हीरायोगी र पद्यहीरा स्थापित,
गायनमा सङ्गीता मिश्र पुडासैनी रमालती आचार्य, तबलामा बालकलाकार अन्नाशरद
गौतम, हार्मोनियममा निर्मल भट्टराई र इफेक्टमा ७४ वर्षीय रामेश्वर
नेपाल प्रस्तुत भएका थिए। सो अवसरमा उनका आठ सिर्जना समेटिएको सीडी
अल्बम ताल सरिता को विमोचन गरिएको थियो।
वातावरणीय तस्बिर
 |
वाइल्ड लाइफ कन्जर्भेसन नेपाल (डब्लुसीएन)को
आयोजना तथा फोटो कन्सर्नको सहयोगमा २२–२६ जेठमा नेपाल आर्ट काउन्सिलमा
नेचर थ्रु लेन्स–२ नामक वातावरणीय तस्बिर प्रदर्शनी सम्पन्न भएको छ।
युथ इन्भाइरोमेण्ट प्रोग्रामको सक्रियता रहेको प्रदर्शनीमा राखिएका
५८ फोटोग्राफरहरूका १ सय ३० तस्बिरबाट १० उत्कृष्ट तस्बिरको छनौट गरिएको
थियो, जसमा ओमप्रकाश यादव, दिनेश शिल्पकार र राजेन्द्रदेव अधिकारीका
तस्बिर प्रथम, दोस्रो र तेस्रो घोषित भएका थिए। उत्कृष्ट तस्बिरहरूको
पोष्टकार्ड समेत प्रकाशन गरिएको कार्यक्रम संयोजक सञ्जीवनी योञ्जनले
बताइन्।
फिनल्याण्डमा नेपथ्य
 |
फिनल्याण्डको हेलसिन्कीमा सम्पन्न वर्ल्ड
भिलेज फेस्टिभलमा नेपालको साङ्गीतिक ब्याण्ड नेपथ्य ले जेठको दोस्रो
सातामा कार्यक्रम प्रस्तुत गर्यो। नेपालयका अनुसार सो आयोजनामा नेपथ्य
ले एक दर्जन गीत प्रस्तुत गरेको थियो। गायक अमृत गुरुङले गाउँगाउँबाट
उठ...सँगै आफ्ना ब्याण्डको भेडाको ऊन जस्तो, जोमसोमै बजारमा अनि रातो
र चन्द्र सूर्य... जस्ता राष्ट्रप्रेमका गीत प्रस्तुत गरेका थिए। गायक
गुरुङले १३ जेठमा फिनल्याण्डका राष्ट्रपति तार्जा हलोनेलाई भेटी नेपथ्य
का अल्बम उपहार दिएका थिए।
नेपालगञ्जमा किड्स शो
नेपालगञ्ज जेसिजले २७ जेठमा आयोजना गरेको
बालबालिकाको सौन्दर्य प्रतियोगिता मास्टर एण्ड बेबी ट्यालेन्ट शो–२००६
मा मिस बेबी पूजा कुँवर र मास्टर बेबीको उपाधि प्रशान्तमोहन जोशीले
हात पारे। त्यसैगरी निकिता हमाल र निराजन पौडेल फस्ट रनरअप तथा साक्षी
अर्याल र आवेश कुँवर सेकेण्ड रनरअप घोषित भए। प्रतियोगितामा २२ बाल–
बालिकाको सहभागिता थियो।
•
रामेश्वर/नेपालगञ्ज
जलरङ चित्रकला
'नेपाल वाटरकलर सोसाइटी' को तेस्रो वार्षिक जलरङ चित्रकला
प्रदर्शनी (४ जेठ–४ असार) सिद्धार्थ आर्ट ग्यालरीमा आयोजना भइरहेको
छ। प्रदर्शनीमा संस्थाका संस्थापक कलाकारहरू दुर्गा बराल, लोकप्रसाद
गुरुङ, रतनकुमार राई, हरि खड्का, नरेशसुन्दर सैंजु, बुद्धि गुरुङ,
जीवन राजोपाध्याय, सृजनकुमार राजभण्डारी, टार्जन साङपाङ, रत्नकाजी
शाक्य, शान्तकुमार राई, हरेराम जोजू, सुरेन्द्र प्रधान र मन्दिरा मल्लका
सिर्जना राखिएका छन्। प्रदर्शनीका लागि प्रत्येक कलाकारले फरक–फरक
विषयवस्तुको चयन गर्दै आ–आफ्नो शैलीको उत्कृष्टता प्रस्तुत गरेका छन्।
•
अनुशील
|