राजनीति
| एमाले र माओवादी
तानातानमा 'जबज'
•
प्रज्ज्वलराज चापागाई

रविन साय्मि |
माओवादी अध्यक्ष
प्रचण्डले स्व. मदन भण्डारीद्वारा प्रतिपादित 'जनताको बहुदलीय जनवाद'
(जबज) लाई 'सकारात्मक' भनेपछि नेकपा (एमाले) र नेकपा (माओवादी) भित्र
यसबारे आ–आफ्नै खाले बहस, अनुमान र शङ्का–उपशङ्का शुरु भएको छ। एक
दशकदेखि सशस्त्र द्वन्द्वमा संलग्न माओवादी दलका प्रमुख रणनीतिकार
प्रचण्डको यो भनाइको अर्थ र उद्देश्य– माओवादीले बहुदलीय प्रतिस्पर्धाको
राजनीति अवलम्बन गर्ने पृष्ठभूमि निर्माण गर्न थालेको हो वा एमाले
भित्रका 'जबज' पक्षधरहरूलाई आफूतर्फ आकर्षित गर्न एउटा कार्ड फालेको
हो? यो प्रश्नले दुवैतर्फका कार्यकर्तामा खुल्दुली पैदा गरेको छ।
५ जेठ २०६३ मा बुटबलको तिनाउ एफएमलाई अन्तर्वार्ता
दिँदै प्रचण्डले, “जनताको बहुदलीय जनवादलाई सकारात्मक रूपमा ग्रहण
गर्ने” मात्रै भनेनन् त्यसका प्रतिपादक “मदन भण्डारी आफूलाई बेस्सरी
मनपर्ने” समेत बताए। तर, अन्तर्वार्तामा स्व. भण्डारीको प्रशंसा गरेपनि
प्रचण्डले एमालेको आलोचना गर्न भने बाँकी राखेनन्। प्रचण्डको भनाइ
थियो, “भण्डारीको उद्देश्य जनताको बहुदलीय जनवाद संसदमा पुर्याउने
थिएन; पूरै पूँजीवादमा पुर्याउने (पनि) थिएन। अहिले जति विश्लेषण
भएको छ त्यो उनको भावना अनुसार छैन।” अर्थात्, एमालेका वर्तमान नेताहरू
स्व. भण्डारीको विचारलाई सही रूपमा बुझ्न र व्याख्या गर्न असफल रहेको
भाव प्रचण्डको कथनबाट प्रकट भएको छ।
एउटा यथार्थ के हो भने, मदन भण्डारी जीवित रहँदासम्म
प्रचण्ड र माओवादी पार्टी दुवैले 'जबज'को आलोचना मात्र गरेका थिए,
भण्डारीको प्रशंसा पनि कहिल्यै गरेनन्। एमाले महासचिव माधवकुमार नेपालकै
शब्दमा, “माओवादीले भण्डारी बाचुञ्जेल उनलाई दक्षिणपन्थी, संशोधनवादी,
काउत्सकी र वरिष्टनको संज्ञा दिँदै निन्दा गरेका थिए। अवसानपछि अहिले
उहाँ महान्, बाँकी बाँचेकाहरू खत्तम भन्नु राजनीतिक दाउपेच र चालबाजी
हो।”
माओवादी केन्द्रीय सदस्य दीनानाथ शर्मा 'जबज'को बारेमा
आफ्नो पार्टीले कुनै आधिकारिक धारणा बनाइनसकेको बताउनुहुन्छ। तर उहाँ
थप्नुहुन्छ, “जबजको मर्म नेपाली समाजको रुपान्तरणका लागि प्रतिस्पर्धा
हो भन्ने हामीले बुझेको हो। तर, एमालेले जबजलाई पूँजीवादी संसदीय प्रणालीको
रूपमा जसरी परिभाषित गर्यो त्यसले मदन भण्डारीको सोचलाई अन्याय त
भएको छैन भन्ने हामीलाई लागेको हो।”
'जबज' लाई लिएर माओवादी र एमाले बीच उत्पन्न यो बहसमा
माओवादी पक्षको आधार कमजोर देख्नुहुन्छ वामपन्थी राजनीतिका विश्लेषक
श्याम श्रेष्ठ। उहाँ भन्नुहुन्छ, “माओवादीले पहिले 'जबज'को गम्भीर
आलोचना गरेका हुन्। अहिले सोच मिलेपछि सकारात्मक भन्न थालेका देखिन्छन्।”
के हो बहुदलीय जनवाद?
राज्यसत्तामा कम्युनिष्ट पार्टीको एकाधिकार रहने परम्परागत साम्यवादी
चिन्तनको ठाउँमा बहुलवादी खुला समाज, संविधानको सर्वोच्च्ाता, बहुलवाद,
मानवअधिकारको ग्यारेन्टी, शक्ति पृथकीकरणको सिद्धान्त, बहुदलीय प्रतिस्पर्धात्मक
प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार–अल्पमतको विपक्ष, कानूनको
शासन बहुदलीय जनवाद (जबज) का विशेषता मानिन्छन्। बहुलवादलाई स्वीकार
गरेर पनि समाजवादको लक्ष्यमा पुग्न सकिन्छ भन्ने 'जबज'को विश्वास हो।
माओवादीले किन 'जबज'लाई सकारात्मक देख्न थाल्यो होला
त? विश्लेषकहरूको भनाइमा मुख्यतः यसमा दुई वटा कारण छन्। पहिलो माओवादीलाई
आफ्नो बन्दुक गह्रौँ भइसकेको छ र सशस्त्र आन्दोलन छाडेर शान्तिपूर्ण
राजनीतिमा अवतरण गर्न बहुलवादलाई स्वीकार नगरी सम्भव हुँदैन। तसर्थ
'जबज'लाई सकारात्मक भनेर प्रचण्डले माओवादी पंक्तिभित्र बहुदलीय प्रतिस्पर्धात्मक
राजनीतिका लागि वातावरण निर्माण गर्न नै खोजेका हुन सक्छन्। हुनपनि,
'जबज' को नीति प्रतिपादन गर्दा, २०४७/०४८ सालमा एमाले (यथार्थमा 'माले')
र मदन भण्डारी राजनीतिक रुपान्तरणको जस्तो परिस्थितिमा थिए, आज नेकपा
(माओवादी) र प्रचण्डको स्थिति लगभग त्यस्तै नै छ।
एमाले पक्षीय व्यक्तिहरूको बुझाइमा चाहिँ बहुदलीय राजनीतिमा अभ्यस्त,
विचारले कम्युनिष्ट र समाजमा स्थापित भएका एमालेका हजारौँ कार्यकर्ता
माथि प्रचण्डले लोभी नजर लगाउन थालेका हुनसक्छन्। संविधानसभाको निर्वाचनदेखि
भावी खुल्ला चुनावी राजनीतिलाई ध्यानमा राखेर एमाले भित्रको क्रान्तिकारी
पंक्तिलाई आफू निकट तान्नका निम्ति प्रचण्डले मदन भण्डारी र उनको 'जबज'
को प्रशंसा शुरु गरेका हुन् भन्ने तिनको ठम्याइ छ।
“कतैभण्डारीकोसोचमा अन्यायभयोकि?”
दीनानाथ शर्मा
केन्द्रीय सदस्य, नेकपा माओवादी

मीन बज्राचार्य |
जनताको बहुदलीय जनवादलाई अध्यक्ष
प्रचण्डले सकारात्मक भन्नुभएको छ। के तपाईँहरूमा परिवर्तन आएको हो?
जबजको प्राधिकार मदन भण्डारीमा थियो। उहाँले कुन दृष्टिकोण र आधारमा
अगाडि सार्नुभयो भन्ने बारेमा भण्डारीसँग बसेर छलफल गरेर एउटा तार्किक
निष्कर्षमा पुग्न पाइएन। तरपनि, यसको मर्म नेपाली समाजको रुपान्तरण
गर्नको लागि सामन्त्ावादी र साम्राज्यवादी शक्तिहरूसँगको प्रतिस्पर्धा
हो भन्ने हामीले बुझेका थियौँ। तथापि, पछि जबजलाई संसदीय पूँजीवादी
प्रतिस्पर्धाको रूपमा परिभाषित गरियो। एमालेले त्यसरी परिभाषित गर्दा
मदन भण्डारीको सोचमा अन्याय गरेको त छैन, भन्ने हामीलाई लागेको हो।
अहिलेसम्म जबजलाई सकारात्मक वा नकारात्मक भन्ने निष्कर्ष हाम्रो पार्टीले
निकालेको छैन।
तपाईँहरूको स्वर 'जबज ठीक एमालेका
नेता बेठीक' भन्ने खालको सुनिन्छ। कतै एमालेका कार्यकर्तालाई आफूतिर
आकर्षित गर्न त यसो गरिएको हैन?
हामीलाई मदन भण्डारीको सिद्धान्त सापटी लिएर कसैका कार्यकर्ता हाम्रो
पार्टीमा ल्याउनुपर्छ भन्ने लागेको छैन। पार्टी र सङ्गठनहरू निरन्तर
एउटै अवस्थामा रहने जडगत वस्तु होइनन्। यी रुपान्तरण हुँदै जान्छन्।
एमालेको जड बनेर बसेको नेतृत्वलाई तानेर अगाडि बढ्न प्रेरित गर्ने
शक्ति भनेको एमालेभित्रको क्रान्तिकारी शक्ति हो। एमालेमा संविधानसभाको
निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको निर्णय गर्नै पर्ने बाध्यात्मक
स्थिति तिनै क्रान्तिकारी कार्यकर्ताको दबाबले संभव भएको हो।
“राजनीतिक चालबाजी हुनसक्छ”
माधवकुमार नेपाल,
महासचिव, नेकपा एमाले

मीन बज्राचार्य |
एमालेको वर्तमान नेतृत्वले स्व.
मदन भण्डारीद्वारा प्रतिपादित 'जबज'को सही व्याख्या र अर्थ दिन नसकेको
भन्ने माओवादी अध्यक्ष प्रचण्डको कथन सार्वजनिक भएको छ। यसमा तपाईँको
प्रतिक्रिया के हो?
आधिकारिक रूपमा आरोपका बारे मलाई थाहा छैन। तर मदन भण्डारी बाचुञ्जेलसम्म
उहाँलाई काउत्सकी र वरिष्टिनसँग तुलना गर्नेहरू पनि थिए। 'वरिष्टिनको
छाउरो' पनि भनेका थिए मदन भण्डारीलाई। त्यो हामीले बिर्सेका छैनौँ।
अवसान भइसकेपछि मदन भण्डारी महान् बाँकी बाँचेकाहरू खत्तम भनेर भन्न
खोजियो भने त्यो राजनीतिक चालबाजी मात्र हुनेछ।
माओवादीले चालबाजी नै गरेका
भए, त्यो किन गरेका होलान् त?
यसबारेमा मलाई यकिन थाहा छैन। मलाई माओवादीले त्यसरी भनेका पनि छैनन्।
तर कसैले पनि नचल्ने सिक्का चलाउने कोशिश गर्नुहँुदैन। सत्य जे हो
त्यही मान्नुपर्छ। मदन भण्डारीको पार्टी एमालेले 'जबज' अगाडि सारेको
हो। विश्व कम्युनिष्ट आन्दोलनको शिक्षा समयमै लिएर शान्तिपूर्णढङ्गबाट
समाज रुपान्तरण र परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता बोकेको हो। जनमत
र जनशक्ति नै निर्णायक हुन्छ अनि सामन्तवादलाई शान्तिपूर्णढङ्गले समाप्त
पार्न सकिन्छ भन्ने विचार लिएको हो। कम्युनिष्ट पार्टीको एकदलीय तानाशाहीमा
जानुहुँदैन भन्ने सोच बनाएको हो। विचार, कार्यशैली र आचरणको आधारमा
बहुदलीय प्रतिस्पर्धामा आफूलाई सशक्त र योग्य सावित गर्नुपर्छ भन्ने
विचार बोकेको हो। त्यही विचारलाई एमालेले आजसम्म बोक्दै आइरहेको छ।
|