हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक | परिचय

भूमिगतः मानवीय कथाहरूको सँगालो

किताबः भूमिगत
कथाकारः भागीरथी श्रेष्ठ
प्रकाशकः साझा प्रकाशन, ललितपुर, २०६२
पृष्ठः १३८, मूल्यः रु.९

कथा जीवनजस्तो, जीवन कथाजस्तो! जब एक पाठकको हातमा भूमिगत कथा सङ्ग्रह पर्छ, अझैसम्म भूमिगत रहेका र खुल्न नसकेका जीवनका रहस्यहरू खुल्दै गएझैँ लाग्छ। बन्द रहेका मनका झ्यालढोकाहरू आफैँ खुलेजस्तै मनमा सहस्र संवेदनाहरू तँछाडमछाड भएर उर्लिन थाल्छन्। भूमिगत भित्रका कथाहरू पढ्न थालेपछि यो कृति आफैँ भित्र हेर्ने एउटा ऐनाजस्तो लाग्न थाल्छ।

लामो समयदेखि साँच्चैको भागीरथी (नदी) जस्तै साहित्यमा बग्दै, खासगरी कथाजगतमा एउटा विशेष स्थान प्राप्त गरिसकेको प्रतिष्ठित नाम हो– भागीरथी श्रेष्ठ। कथा, बालकथा, लघुकथाका साथैै उपन्यास र कवितामा पनि बरोबर देखापर्ने भागीरथी यतिबेला २१ कथाहरूको सङ्ग्रह भूमिगत मार्फत् प्रकट भएकी छन्। २०६२ सालकै प्रकाशन भए पनि भर्खरै जस्तो मात्र बजारमा निस्कन भ्याएको छ– भूमिगत ले।

निकै रुचिकर लाग्छ सङ्ग्रहको शीर्षक बनेको भूमिगत कथा। शीर्षकबाट नै बुझ्न सकिन्छ यो कथा एउटा राजनीतिक अवस्थाबाट प्रभावित हुनुपर्छ। भूमिगत अवस्थामा चरम दुःखकष्टहरू भोगेर जब एक नेता मन्त्रीको कुर्सीमा पुग्छ, उसको विवेकमा कसरी एक्कासी परिवर्तन आउँछ? एउटा सामान्य विवेकी मान्छेबाट ओर्लेर उसले कुर्सीलाई मात्र च्याप्न थाल्छ भने त्यो अवस्थाको मान्छेको रुप कस्तो हुन्छ? यो रुपलाई जस्ताको तस्तै हेर्न कथाको यो वाक्य पर्याप्त छ, “...यदि सबै खराब कुराहरू भत्केर नयाँ सुन्दर कुराहरू सिर्जना हुनुपर्थ्यो भने लक्ष्य शर्माको मनको सुन्दर पर्खाल भत्केर निर्लज्ज, घिनलाग्दो र अपराधी पर्खाल किन ठडियो?” कथाकारले ४६ सालको जनआन्दोलन पछाडि नेताहरूमा देखापरेको मनोभावनाको तस्बिर यसमा देखाउन खोजेकी थिइन्। वास्तवमा यो कथा पुरानो हो झण्डै डेढ दशकअघिको सन्दर्भ बोक्ने। तर आजको सन्दर्भलाई हेर्दा यो अझै पुरानो भन्न नमिल्ने कथा बनेको छ। भूमिगत आजका नेताहरूको आँखामा पनि एकपटक पर्नुपर्ने कथासङ्ग्रह हो भन्दा अन्यथा हुँदैन।

सङ्ग्रहमा राजनीति–प्रभावित कथाहरू मात्र छैनन्। अधिकांश कथा हृदयसँग सम्बन्धित छन्। यसमा मान्छेको सामाजिक र मानसिक अवस्थाले सिर्जित घटना–दुर्घटनाहरूको विभिन्न आकारप्रकार देख्न सकिन्छ। 'अन्तराल', 'आँधी', 'काग र चिठी' जस्ता कथाहरूमार्फत् भिन्दाभिन्दै अवस्थाको मान्छेको मनलाई खोतल्न सकिन्छ। प्रेम र विछोडका प्रसङ्गहरू पनि उत्तिकै सुन्दर कथा बनेका छन्। 'मौनताभित्र' नियाल्दा दाम्पत्य जीवनमा आउने उतारचढाव देख्न सकिन्छ। 'अँध्यारो फाटेपछि' अर्को सुन्दर कथा हो। यसमा मोहमा फस्दा गति छोडेर दुर्गतिभित्र फसिसकेको मान्छेलाई पनि कथाकारले आँखा दिएर सत्यको पक्ष लिन फर्काइएको छ। 'ओझेल परेका प्रेमका किरणहरू' मा युवाहरू बीचको प्रेम र अहङ्कारको रुप देख्न सकिन्छ।

यस सङ्ग्रहका अन्य कथाहरू हुन्– 'अपराध बोध' 'विश्वास अविश्वास' 'घाम डुबेपछि' आदि। तीमध्येकै अर्को एउटा सुन्दर र चर्चित कथा हो– 'चाँदीको करुवा'। भौतिक वस्तुप्रतिको मोहलाई सुन्दर शैलीमा प्रस्तुत गरिएको यो कथामा मान्छे–मान्छेको प्रेम र सम्बन्धलाई एउटा चाँदीको करुवाले कसरी जितिदिन्छभन्ने कुरा स्पष्ट अनुभव गर्न सकिन्छ। यसमा पढेको एउटा चाँदीको करुवाले मलाई विगतका केही चाँदीका करुवाहरूको बीचमा लिएर गयो। एक वर्षअगाडि मात्र धार्मिक या राजनीतिक विवादका कारण मृत्युवरण गर्ने पण्डित नारायणप्रसाद पोखरेलको जीवनको अन्त्यतिर प्रसारित एउटा टेलिभिजन अन्तर्वार्तामा उनको कोठाको सजीव रुप देखाइएको थियो– दराजको ऐनाभित्र एउटा मात्र होइन, चाँदीका केही करुवा थिए, सजाइएका वा जम्मा पारिएका। ती ज्यादै आकर्षक थिए। केही दिनभित्रै धार्मिक–यात्राकै क्रममा पण्डितको अज्ञात व्यक्तिहरूबाट क्रूर हत्या भयो। यो खबर सुन्नासाथ मनमा प्रश्न जन्म्यो– ती करुवाहरू सबै मौन छन् त? एउटा व्यङ्ग्य–चित्रजस्तो लागेको थियो ती करुवाको अवस्थिति।

सङ्ग्रहको 'चाँदीको करुवा' ले देखाउन खोजेको कुरा पनि यही हो– भौतिक वस्तु जति नै आकर्षक र बहुमूल्य भए पनि यो जीवनभन्दा माथि कदापि हुन सक्दैन। समालोचक डा. दयाराम श्रेष्ठको समालोचकीय दृष्टि सापट लिएर भन्नुपर्दा “कथाकार भागीरथी श्रेष्ठको सामाजिक परिदृश्यभित्र यथार्थका धेरै आयामहरू अटाएका छन्। उनले मानिसका अन्तरपीडालाई बुझ्ने प्रयासमा विश्वासको घोर सङ्कटमा दिशाहीन भएको मानिसको यथार्थलाई आफ्ना कथाहरूमा विषयबद्ध गरेकी छन्।” भूमिगत मा पाइने मूल कुराहरू पनि यिनै हुन्– मोह, द्वेष, अपराधविरुद्ध प्रेम! मानवीय प्रेमका अगाडि अरू सबै कुरा फिक्का हुन्छन्। अरू कुरा पाठक स्वयंले चाखी हेर्नु बेस!

सुलोचना मानन्धर


प्राप्त कृति

शाही आयोगः उत्पत्ति र अवसान
(घटना र टिप्पणी सङ्ग्रह)
लेखक/सम्पादकः विमल गौतम
प्रकाशकः पैरवी प्रकाशन, काठमाडौँ, २०६३
पृष्ठः १९०177, मूल्यः रु.१९०
शक्तिको अवतरण
(स्थलगत रिपोर्टाजहरूको सँगालो)
लेखकः किशोर नेपाल
प्रकाशकः सेन्टर फर प्रोफेशनल जर्नालिज्म स्टडिज, काठमाडौँ, २०६२
पृष्ठः १७०177, मूल्यः रु.१००
दरबारकाण्डपछि दबाइएको अर्को हत्याकाण्ड
(खोज/अनुसन्धान)
लेखकः किशोर श्रेष्ठ
प्रकाशकः आस्था प्रकाशन प्रालि काठमाडौँ, २०६३
पृष्ठः ब७८177, मूल्यः रु.१००
मानवअधिकारसम्बन्धी सर्वोच्च अदालतका फैसलाहरूको टिप्पणी
सम्पादकः गोपाल सिवाकोटी 'चिन्तन'
प्रकाशकः त्रिभुवन विश्वविद्यालय मानवअधिकार केन्द्र, काठमाडौं, २०६२
पृष्ठः २१६177, मूल्यः रु.१००
माडी घटना
(बाँदरमुढे घटनासम्बन्धी संस्मरणात्मक कृति)
लेखकः रामहरि श्रेष्ठ
प्रकाशकः जनमोर्चा नेपाल, चितवन, २०६२
पृष्ठः ६८177, मूल्यः रु.४०
स्मृतिका छालहरू
(नियात्रा–सङ्ग्रह)
लेखकः विष्णुबहादुर सिंह
प्रकाशकः दायित्व वाङमय प्रतिष्ठान, काठमाडौँ, २०६२
पृष्ठः २१४177, मूल्यः रु.२००