हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रभाव–फिचर | बालश्रम उन्मूलन

आचारसंहितामा बालबालिका

सञ्चार क्षेत्रले के गर्ने, के नगर्ने?

बालबालिकाहरूका लागि आवश्यक सामाजिक, नैतिक, शैक्षिक तथा सांस्कृतिक जानकारीहरू प्रचार–प्रसार गर्नु सञ्चारमाध्यमहरूको जिम्मेवारी र कर्तव्य हो। तर, उनीहरूको अहित हुने खालका सामग्रीहरू भने यस्ता माध्यमले प्रकाशन तथा प्रसारण गर्नुहुँदैन। यस विषयमा सञ्चारकर्मीहरू आफैँ गम्भीर, संवेदनशील र जिम्मेवार हुनुपर्छ।

बालबालिकाहरूको स्वास्थ्य, शिक्षा तथा विकासमा अवरोध पुग्ने गरी उनीहरूलाई काममा लगाउन र श्रमको शोषण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून तथा अनुबन्धहरूले प्रतिबन्ध लगाएका छन्। तथापि, परम्परावादी सामाजिक सोचाइ र एक दशक लामोे माओवादी सशस्त्र विद्रोहका कारण थुुप्रै नेपाली बालबालिकाहरू आफ्ना हकअधिकार तथा न्यायबाट वञ्चित भइरहेको अवस्था छ। शहर बजारका होटल, यातायातका साधन, ठूलाबडाका घर– जताततै बालबालिकालाई काममा लगाउने र श्रमको शोषण गर्ने गरेको पाइन्छ। श्रम–शोषणका यस्ता समाचारहरू नेपाली मिडियामा नआएका भने होइनन्। तर, कतिपय समाचारहरूमा २ मे १९९८ मा ब्राजिलको रेसिफमा सम्पन्न पत्रकारिता तथा बालअधिकार विषयक अन्तर्राष्ट्रिय सल्लाहकार सम्मेलनमा विश्वका ७० राष्ट्रका पत्रकार सङ्गठनहरूको सम्मेलनले पारित गरेको निर्देशिका र बालबालिकासम्बन्धी रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने सिद्धान्तबारे पर्याप्त ख्याल गरिएको पाइँदैन।

ब्राजिल सम्मेलनबाट पारित सिद्धान्त/आचार–संहितामा भनिएको छः
बालबालिकासम्बन्धी समाचार लेख्दा सत्य–तथ्य र शब्दहरूको संवेदनशीलतामा विशेष ध्यान दिनुपर्छ। बालबालिकाको जीवन बर्बाद पार्ने सूचना प्रकाशन तथा प्रसारण गर्नुहुँदैन। बालबालिकासम्बन्धी समाचारलाई अतिरञ्जित शैलीमा प्रस्तुत गर्ने पुरानो परिपाटीलाई हटाउनुपर्छ।

कुनै समाचारले बालबालिकालाई नकारात्मक प्रभाव पार्छ कि भनेर शुरुमै सचेत हुनुपर्छ। सार्वजनिक प्रदर्शनीमा ल्याउन आवश्यक आम चासोका दृश्य–सामग्रीबाहेक बालबालिकासम्बद्ध अन्य सामग्री वा तस्बिरहरू प्रकाशनमा ल्याउनुहुँदैन।

बालबालिकालाई आफ्ना अभिव्यक्ति खुलस्त गर्न प्रोत्साहन गर्नुपर्छ, तर त्यसका निम्ति कुनै किसिमको दबाब दिनुहुँदैन। जानकारीहरू आफ्नो तर्फबाट प्रमाणित गर्नुपर्छ, त्यसको पुष्टिका लागि बालबालिकालाई कुनै प्रकारको जोखिममा पार्नुहुँदैन।

बालबालिकालाई यौन उत्तेजक तस्बिरहरूमा कहिल्यै प्रस्तुत गर्नुहुँदैन। अभिभावक वा बालबालिकाको अनुमतिबेगर उनीहरूका तस्बिर खिच्ने, सामग्री प्रकाशित गर्ने गर्नुहुँदैन। उनीहरूप्रति कपटपूर्ण होइन, न्यायपूर्ण व्यवहार गर्नुपर्छ। बालहितसम्बन्धी संस्थाहरूबाट प्राप्त जानकारीलाई समाचार बनाउँदा ती संस्थाहरूको विश्वसनीयताको परख गर्न पनि भुल्नुहुँदैन। सूचना दिने बालबालिका तथा तिनका अभिभावक कसैलाई पनि जानकारीबापत भुक्तानी दिनुहुँदैन।

यस अतिरिक्त बालबालिकाको अहितमा सरकार वा अन्य कुनै पक्षबाट हुनसक्ने गतिविधिप्रति पत्रकारहरू सदैव चनाखो हुनुपर्छ। संयुक्त राष्ट्रसंघको साधारणसभाले २० नोभेम्बर १९८९ मा पारित गरेको आचारसंहिता सोमालिया र अमेरिकाबाहेक विश्वका सबै मुलुकका सरकारहरूले अनुमोदन गरिसकेका छन्। सरकारले बालअधिकारसम्बन्धी उक्त आचारसंहिता व्यवहारमा लागु गरेको छ वा छैन भन्नेबारे समेत पत्रकारहरू सजग रहनुपर्छ। बालबालिकाहरू माथि भइरहेका श्रमशोषणबाट उनीहरूलाई मुक्ति दिलाउन पत्रकारहरूको भूमिका सकारात्मक र महत्त्वपूर्र्ण रहन्छ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले वि.संं. २०६० मा जारी गरेको आचारसंहिताको खण्ड ३

(१०) मा बालबालिकाका सम्बन्धमा भनिएको छ, “अपाङ्ग, असहाय, अशक्त, बालबालिका, महिला र पछाडि परेका वर्ग, क्षेत्र, जाति तथा अल्पसङ्ख्यक समुदायको उन्नति र विकासका निम्ति सूचना तथा विचारहरूको निर्वाध प्रसारण गरेर पत्रकारहरूले यो विशेष सामाजिक दायित्व पूरा गर्नेछन्।”

नेपाल पत्रकार महासंघ र आइएलओको संयुक्त पहलमा पत्रकारहरूका लागि बालश्रम सम्बन्धी आचारसंहिता निर्माणका निम्ति गृहकार्य भइरहेको छ। त्यसले पत्रकारहरूलाई आफ्नो दायित्वप्रति अझ सजग बनाउने अपेक्षा गर्न सकिन्छ।

ध्रुब सिम्खडा


टे्रड युनियनको प्रतिबद्धता

नेपाल ट्रेड युनियन महासंघको बालश्रम शोषणविरुद्धको आचारसंहितामा भनिएको छः

महासंघका सदस्यहरूले १४ वर्षमुनिका बालबालिकालाई घरेलु बालश्रमिकका रूपमा प्रयोग गर्ने छैनन्। घरेलु श्रममा वयस्कहरूको प्रयोगलाई प्रोत्साहन गर्नेछन्।
महासंघद्वारा सञ्चालन गरिने कुनै पनि कार्यक्रम तथा काममा बालश्रमिकको प्रयोग गरिने छैन।
महासंघका सदस्य वा घटक युनियन रहेको स्थानमा बालश्रमिकको प्रयोगलाई रोक लगाउन प्रयास गर्नेछन्। १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउन र १४ देखि १८ बीचकालाई स्वास्थ्य परीक्षण गरी गर्न सक्ने काममा मात्र लगाउन दबाब दिनेछन्।
बालश्रम अन्त्य गर्न र उनीहरूलाई उचित व्यवहार गर्न र बालश्रम नियन्त्रण र निषेध गर्ने कानुनको कार्यान्वयनलाई सामाजिक सौदावाजीको विषय बनाई बालश्रमको अन्त्य गर्न सहयोग गर्नेछन्।
काम गरिरहेका बालबालिकाको हकमा वैकल्पिक व्यवस्था नगरेसम्म कामबाट हटाई सडकमा पुर्‍याउनुको सट्टा उनीहरूलाई पुनःस्थापन गरी वा सामाजिक संस्था वा परिवारको जिम्मा लगाएर वैकल्पिक व्यवस्था गरिदिन आवश्यक पहल गर्नेछन्। कानुन अनुरुप श्रम कार्यमा संलग्न श्रमिकलाई मानवोचित व्यवहार गर्नेछन्।