प्रभाव–फिचर | बालश्रम उन्मूलन
कम्लहरीः दासप्रथाको अवशेष
कम्लहरीका रूपमा घरेलु श्रमिक रहेका बालिकाहरू
विभिन्न शोषण, दुर्व्यवहार र हिंसाको शिकार भइरहेका छन्।

रामेश्वर बोहरा |
| आईएलओको सहयोगमा विद्यालय भर्ना गरिएका
बाँकेको नौवस्ता–३ का मुक्त कमैयाका बालबालिका। यस क्षेत्रमा मुक्तकमैयाका
बालबालिका नै बढी बालश्रमिक छन्। |
देउखुरी–गङ्गापरसपुरकी
अनिता चौधरीलाई ९ वर्षकी हुँदा खुट्टामा चोट लाग्यो। उपचारका लागि
उनका बुबाले लिएको ऋण (रु.६ हजार) तिर्न उनलाई कम्लहरीका रूपमा काठमाडौँ
पठाइयो। दैनिक १२–१४ घण्टा काम गर्नुपर्ने अनिताले घर सम्झेर रुँदै
एक वर्ष बिताइन्। माघी (माघे सङ्क्रान्ति) मा घर फर्कन पाइएला भन्ने
उनको आशा थियो। तर मालिकले 'पछि' भन्दाभन्दै उनले सात वर्षसम्म घर
फर्कन पाइनन्।
गएको १ माघमा दाङभरि माघीको चहलपहल भएको बेला १३ वर्षकी
श्यामपियारीको नारायणपुर–अमराहीस्थित घरमा रुवाबासी चलिरहेको थियो।
कारण, ६ वर्षको उमेरमा कम्लहरी जीवन शुरु गरेकी श्यामपियारी लुगा उठाउन
जाँदा मालिकको घरको कौसीबाट खसिन् र उनको खुट्टा भाँचियो। मालिकले
उपचारका लागि रु.८ हजार खर्च गरेर श्याम पियारीको बुबासँग रु.४० हजारको
कागज गराए। त्यो तिर्नका निम्ति श्यामपियारीकी आमासमेत कम्लहरी बस्न
गइन्। यो समेत सहन तयार चौधरी परिवार रुनुको मुख्य कारण थियो– खुट्टा
भाँचिएर काम गर्न नसक्ने भएकी श्यामपियारी माघीपछि नफर्के, घरैबाट
कपाल तानेर लैजाने मालिकको धम्की।
यसरी बिहान सबेरैदेखि बेलुकी अबेरसम्म घरेलु कामदारका
रूपमा लादिनुका साथै विभिन्न शोषण, दुर्व्यवहार र हिंसाको शिकार भइरहेका
छन् पश्चिम नेपालका केही जिल्लाका बालिकाहरू। दाङ, बाँके, बर्दिया,
कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारू समुदायमा छोरीलाई कम्लहरी
पठाउने चलन छ। (अरूका घरमा भाँडा माझ्ने, सरसफाइलगायतका काम गर्न बालिकाहरू
राख्ने चलनलाई स्थानीय भाषामा कम्लहरी भनिन्छ।) हरेक वर्ष माघीको दिन
थारू बालिकाहरूको एक वर्षका लागि किनबेच हुने गर्छ। वर्षको रु.५ सयदेखि
८ हजारसम्म लिएर बालिकाहरूलाई मालिकको घरमा काम गर्न पठाइन्छ। यसरी
बेचिँदा बालिका आफैँले भने केही पाउँदैन। बेचिएर गएपछि वर्ष दिनसम्म
घर फर्कन पनि पाउँदैनन्। कति अभिभावकलाई छोरी कुन घरमा छ समेत थाहा
हुँदैन। केही बालिकाहरू बेचिएपछि आजीवन घर फर्कँदैनन् भने माघीमा घर
फर्केकाहरू फेरि बेचिन्छन्। यसरी कम्लहरी हुनेमा ६ वर्षदेखि चौध वर्षसम्मका
बालिकाहरू धेरै छन्। करीब २० प्रतिशत मात्र चौध वर्षमाथिका हुने गरेको
कम्लहरी उन्मूलनमा सक्रिय संस्था असहाय नानीहरूको साथी/फ्रेण्डस् अफ
निडी चिल्ड्रेन (एफएनसी) को अनुमान छ। एफएनसीका मानबहादुर क्षेत्रीका
अनुसार मासिक श्राव शुरु भएपछि गर्भधारणको डर, 'पर सर्ने' लगायतका
परम्परागत चलनका कारण प्रायः साना केटीहरू नै कम्लहरीका लागि रोजिन्छन्।
चेतनाको अभावका कारण 'चलन/प्रथा हो' भनेर स्वीकार गर्ने
प्रवृत्ति पनि यो समस्याको एउटा कारण हो। एफएनसीका अनुसार यो प्रथाको
फाइदा उठाउँदै दलालहरूले थारू बालिकाहरूलाई काठमाडौँको घर, होटल, रेष्टुरेण्टदेखि
भारतको वेश्यालयसम्म पुर्याउने गरेका छन्।
| मुक्तिको प्रतीक्षा
नौ वर्षीया बालिका वसन्ती चौधरी
दाङ–खर्चवाका दामोदर लामिछानेको घरमा कम्लहरी बनेकी छन्। मालिकको
दबाबबाट त्रसित यी बालिका प्रायः रोइरहने र डराउने गर्छिन्।
एफएनसीको अथक् प्रयासपछि पनि लामिछानेले मुक्त गर्न नमानेकाले
उनका विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। वसन्तीको उद्धार
गर्न कठिनाई भइरहेकाले सहयोग र समर्थन चाहिएको एफएनसीका प्रह्लादकुमार
ढकाल बताउँछन्।
उदाहरणीय फड्को
दशवर्षको उमेरमा कम्लहरी बनाइएकी
शिवा चौधरी (तस्बिरमा सबैभन्दा दायाँ) सँग पाँच वर्ष लामो दासताको
तीतो अनुभव छ। तर उद्धारपछि कापी, कलम समातेर विद्यालय मात्र
होइन, राजधानीको गुरुकुल नाटकघरसम्म आइपुगेकी छन् उनी। सुनिल
पोखरेलबाट प्रशिक्षण लिएर उनले 'छोरी शिक्षा चाहन्छन्, दासता
होइन' नाटकमा मुख्य भूमिकामा अभिनय गरिसकेकी छन्।
|
चेतनाको कमी बालिकाहरूमा झनै व्याप्त छ। मालिकको घरमा
राम्रो साबुन, मञ्जन प्रयोग गर्ने, रंगीन टेलिभिजन हेर्ने बानी बसेका
एकाध बालिकालाई कम्लहरी जीवन नै प्यारो लागेको नपाइने पनि होइन। अपवादका
रूपमा घर फर्कँदा राम्रा लुगा र पैसा लिएर आउने केही बालिकाहरूको हाउभाउबाट
प्रभावित छिमेकी बालिकाहरू समेत यसमा फस्ने गरेका छन्। त्यसमाथि बालहितकै
क्षेत्रमा काम गर्ने शिक्षित मानिसहरूले समेत घरमा कम्लहरी राखेको
भेटिएको छ। केही हप्ताअघि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको विराटनगर
शाखामा कार्यरत प्रभाकर के.सी.को घरबाट एक कम्लहरीको उद्धार गरिएको
थियो। गएको चैतमा सांसद रोमी गौचनको घरबाट समेत कम्लहरी फर्काइएको
एफएनसीका क्षेत्री बताउँछन्। बालश्रम (निषेध तथा नियन्त्रण गर्ने)
ऐन २०५६, कमैया श्रम (निषेध गर्न बनेको) ऐन २०५८ र चेलीबेटी बेचविखन
नियन्त्रणसम्बन्धी कानूनी प्रावधानअनुसार कम्लहरी राख्ने मान्छेलाई
कानूनी रूपमा एकैपल्ट तीन वटा मुद्दा लाग्न सक्छ।
विगत पाँच वर्षदेखि कम्लहरी उन्मूलनमा सक्रिय एफएनसीका
अनुसार दुई वर्ष पहिले नेपालमा करीब बीस हजार कम्लहरी थिए। एफएनसी
आफैँले १५ सय र दाङको सोसाइटी वेलफेयर एक्सन नेपाल (स्वान) र एफएनसीले
संयुक्त रूपमा थप एक हजार बालिकालाई कम्लहरीबाट मुक्त गराएर विद्यालय
पठाएका छन्। यस्ता विद्यार्थीहरूलाई भर्ना लिन अप्ठ्यारो नहोस् भन्ने
उद्देश्यले दाङमा ३० वटा विद्यालय भवन निर्माण गरिएको एफएनसीका प्रह्लाद
ढकाल बताउँछन्। कम्लहरी उन्मूलनमा लागेका यी दुई संस्थाले विविध प्रकृतिका
चेतनामूलक कार्यक्रमका साथै अभिभावकहरूका लागि ब्याङ्किङ कार्यक्रम
पनि सञ्चालन गरिरहेका छन्। वयस्क उमेरका पूर्व कम्लहरीका लागि सिलाईबुनाई
तथा अनौपचारिक शिक्षा कार्यक्रम समेत सञ्चालन भइरहेका छन्। मानबहादुर
क्षेत्री भन्छन्, “शुरुशुरुमा कम्लहरी पठाउनुहुँदैन है भनेर सम्झाउन
एउटा घरमा दश दिनसम्म लाग्थ्यो। अहिले कुनै घरदैलो पुग्नुपर्दैन। अभिभावक
र बच्चाहरू आफैँ हामीकहाँ आउँछन्।” पाँच वर्षअघि माघीमा दाङ पुग्दा
बजारमा खसीबाख्राझैँ बालिकाहरूको मोलतोल र बेचविखन भइरहेको देखिन्थ्यो।
अहिले दाङबाट कम्लहरी प्रथा असी प्रतिशत उन्मूलन भइसकेको एफएनसीको
दाबी छ।
परिवर्तनको परिणाम
एक वर्षअघि सुन्तली चौधरीका हातमा जूठाभाँडा हुन्थे, अहिले ती हातमा
कापीकिताब, कलम छन्। पहिलेजस्तो मालिकको कुटाइ र गाली पनि खानुपर्दैन,
घरैमा आमा–बाबुको माया पाएकी छिन्। काठमाडौँ–नयाँबानेश्वरकी सीता मैनालीको
घरमा काम गर्न बसेकी बाँके नौवस्ता–३ की १४ वर्षीया सुन्तली अहिले
आफ्नै गाउँको विद्यालयमा कक्षा ४ मा पढ्न थालेकी छिन्। उनकी साथी रामजिता
पनि कापी किताब बोकेर विद्यालय जान्छिन्। एक वर्षअघि उनी काठमाडौँकै
केशव प्रसाईंको घरमा जुठाभाँडा माझ्िथन्।
सुन्तली र रामजिताजस्तै 'मालिक' को घरमा कम्लहरी बसेका
बाँके र बर्दियाका ३२८ बालिकाहरूले दासताको बोझबाट मुक्ति पाएका छन्।
तिनमा धेरैजसो विद्यालय जान थालेका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन
(आईएलओ) को सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले
तीन वर्षदेखि बाँके, बर्दियामा सञ्चालन गरेको बालश्रम न्यूनीकरण कार्यक्रमको
प्रभावले कम्लहरीहरू घर फर्केर विद्यालय जान थालेका हुन्। सुन्तली
भन्छिन्, “पढ्दापढ्दै आमाबाबुले छुटाएर काम गर्न पठाए, अहिले घरमै
बसी पढ्न पाउँदा खुसी लागेको छ।”
आरआरएनले सञ्चालन गरेको तीनवर्षे कार्यक्रमअन्तर्गत
बाँके र बर्दियामा मुक्त कमैयाका ४,९३३ बालबालिका विद्यालय भर्ना भएका
छन्। त्यसैगरी, कम्लहरीबाट मुक्ति पाएका केहीका लागि बाख्रा पालन,
खुद्रापसललगायत आयआर्जनका कार्यक्रम शुरु गरिएको आरआरएनका बालकार्यक्रम
संयोजक दीपक बोहरा बताउँछन्। विद्यालय जान थालेका बालबालिकालाई कार्यक्रम
सञ्चालन हुने अवधिभरका लागि शुल्क तथा कापी किताब, कलम, झोला र पोशाकको
व्यवस्था गरिएको छ।
बालश्रम न्यूनीकरणका लागि आइएलओले पश्चिम तराईका दाङ,
बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सञ्चालन गरेको कार्यक्रममा गैससहरू
आरआरएन, बोट फर कम्युनिटी डिभलपमेन्ट (बीसीडी), व्याकवार्ड सोसाइटी
फर एजुकेशन (वेस), अन्तर्राष्ट्रिय ऐक्यबद्धता समूह (ग्रिन्सो) र सिर्जनशील
समाजको सिर्जना (सीसीएस) तथा आयआर्जन र तालिमका कार्यमा जिल्लाका भूमिसुधार
कार्यालयहरूले सहकार्य गरेका छन्। यो क्षेत्रमा मुक्तकमैयाका बालबालिका
नै बढी बालश्रमिक भएकाले त्यसैमा कार्यक्रम लक्षित रहेको आइएलओ नेपालगञ्ज
फिल्ड कार्यालय, बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक प्रकाश शर्मा
बताउँछन्। उनी भन्छन्, “लक्षित समुदायलाई लाभ दिने कार्यक्रमको उद्देश्य
हो, परिणाम राम्रो आएको छ।”
•
शैली बस्नेत/रामेश्वर बोहरा
(पीडित केही बालिकाहरूको नाम परिवर्तन गरिएको छ।
'गरीब परिवारको
बाध्यताको शोषण हो, बालश्रम'
पुष्कर आचार्य, कार्यवाहक
अध्यक्ष, नेपाल ट्रेड युनियन काङ्ग्रेस
बालश्रमबारे तपाईँको
सङ्गठनको धारणा के छ?
बालश्रम देशका कर्णधार बालबालिकाहरूको सुनौलो भविष्यको छेकवार हो।
यसको प्रयोग देश विकासको बाधक पनि हो। त्यसैले यसको उन्मूलन गर्नुपर्छ
भन्ने हाम्रो मान्यता छ।
बालश्रमको प्रमुख
कारण के हो?
गरीबीका साथै शिक्षा र चेतनाको अभाव यसका मुख्य कारण हुन्। अभिभावकले
रोजगारीको अवसर नपाएपछि पनि धेरै बच्चालाई काममा लगाएको पाइन्छ। अभिभावकहरूले
रोजगारी पाए भने बच्चालाई पढाउन पठाउँछन्। त्यसो हुनेबित्तिकै बालश्रमको
सम्भावना न्यून हुन्छ। हाम्रो समाजमा आफ्नो बच्चालाई एक गिलास पानी
सार्न नदिने तर काम गर्ने बच्चालाई भएभरको काममा लगाउने अनि पढ्न समेत
नपठाउने चरम सामन्ती प्रवृत्ति जीवित छ। यसरी पनि गरीब परिवारको बाध्यताको
शोषण भइरहेको छ।
यो विकृति हटाउन
के गर्नुपर्छ?
सरकारले १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाउने कानूनको कार्यान्वयन
आफूबाटै शुरु गर्यो भने पनि २० प्रतिशत बालश्रम अन्त्य हुन्छ। श्रीमान–श्रीमती
नै जागिरे भएका घरमा बच्चा हेर्न अर्काको बच्चा राख्ने उच्च कर्मचारीहरू
थुप्रै छन्। त्यस्तालाई नसिहत र चेतावनी दिनुपर्छ। बालश्रमको अन्त्य
एकैपटक हुन नसक्ने भएकोले क्रमिक रूपले प्राथमिकता अनुसार गर्नुपर्छ।
त्यसका निम्ति
तपाईंको सङ्गठनले कस्तो प्रयास गरेको छ?
सुधारको आरम्भ हामी आफैँबाट गर्नुपर्छ भनेर नेपाल ट्रेड युनियन काङ्ग्रेसका
केन्द्रीय पदाधिकारी कसैले पनि बालश्रमको प्रयोग नगर्ने आचारसंहिता
बनाएका छौँ। हामी कसैको घरमा बालश्रमिक छैनन्। १० वर्षदेखि बर्सेनि
५ सय बालश्रमिकलाई ९ महिने अनौपचारिक शिक्षा दिएर स्कूलमा भर्ना गरिदिन्छौँ।
निकृष्ट प्रकारको बालश्रममा लगाइएकाहरूको उद्धार गरेर स्कूल भर्ना
गरिदिएका छौँ। उनीहरूलाई निःशुल्क किताब, कापी, कलम, कपडा र जुत्ता
दिन्छौँ। पढाइ नटुटोस् भनेर उनीहरूका अभिभावकलाई स्वरोजगारतर्फ लाग्न
प्रेरित गर्छौँ। सँगसँगै बालश्रम विरोधी अन्य चेतनामूलक कार्यक्रमहरू
सञ्चालन भइरहेका छन्।
|