| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
“राजाको अधिकार कटौती गर्दा संसदमै गोली चलेको
इतिहास पनि छ। तर हामीले भन्यौँ संसदमै गोली चले पनि राजाको अधिकार
कटौती नगरी पछि हट्दैनौँ।”
अमृतकुमार
बोहरा, स्थायी समिति सदस्य, एमाले
२६ जेठ २०६३, नेपालीपत्र साप्ताहिक
(प्रतिनिधिसभाले राजाका अधिकार कटौती गरेपछि)
“दक्षिण एसियामा तपार्इँ (गिरिजाप्रसाद कोइराला)
जस्तो ठूलो नेता कोही छैन। ”
डा. मनमोहन
सिंह, भारतीय प्रधानमन्त्री
प्रम कोइरालालाई दिल्ली विमानस्थलमा २३ जेठमा स्वागत गर्दै।
अङ्क
र अर्थ
१२ धर्मनिरपेक्ष
विश्वमा राज्य–धर्म नभएका देशहरूको सङ्ख्या–१२। त्यसमा नेपाल समेत
भारत, जापान, सं.रा. अमेरिका, अष्ट्रेलिया, फ्रान्स, न्यूजिल्याण्ड,
रोमानिया, सिङ्गापुर, दक्षिण कोरिया, टर्की र अजरवैजान पर्छन्।
५ बौद्ध
भुटान, कम्बोडिया, थाइल्याण्ड, काल्मिकिया (रूसी महासंघभित्रको एक
गणराज्य) र तिब्बत (सिङ्गो चीन हैन) ले बौद्ध धर्मलाई राज्य–धर्म मानेका
छन्।
१९ क्रिस्चियन
विभिन्न चर्चलाई आफ्नो राजकीय–धर्म घोषित गर्ने क्रिस्चियन मुलुकहरूको
सङ्ख्या।
२५ इस्लामिक
राज्य–धर्म घोषित गर्ने मुस्लिम देशहरूको सङ्ख्या।
झण्डै एक चौथाई जनसङ्ख्याले मान्ने हिन्दूधर्मलाई राज्य–धर्म
बनाउने देश विश्वमा एउटै पनि छैन।
स्रोतः विकिपिडिया
हिँड्दा-हिँड्दै
ट्राफिक प्रहरीले सवारी चालकहरूसँग दुर्व्यवहार
गरेको गुनासो आएपछि एसके ग्रुपले दिएको 'शारीरिक हाउभाउ र रिस व्यवस्थापन'
तालिममा सहभागी उपत्यका ट्राफिकका नायव उपरीक्षक जगतमान
श्रेष्ठ भन्छन्, “तालिमपछि हामीमा सुधार आएको छ।”

किरण पाण्डे |
किन तालिम दिनु परेको?
सार्वजनिक स्थलमा जनतासँग 'डिल' गर्ने ट्राफिकको व्यवहार ठीक भएन भन्ने
गुनासो धेरै आएकोले।
किन आउँछन् त्यस्ता गुनासा?
साँचो खोस्ने, मुख छाड्ने, छुद्र व्यवहार गर्नेलगायतका गुनासा बढी
छन्। चालकले गल्ती गर्यो भन्दैमा नियम पालना गराउनेले पनि उस्तै व्यवहार
गर्न त भएन नि!
तालिमबाट के के सिकिँदो रहेछ
त?
रिस र दुर्व्यवहार रोक्ने तरिका। कुरा गर्दा हात पछाडि राख्ने, औँला
ठड्याएर कुरा नगर्ने, रिस उठ्दा पानीमा वरफ हालेर पिउने, जति रिस उठे
पनि तँ–तिमी नभन्नेआदि।
किन उठ्दो रहेछ, रिस?
अति व्यस्तता र तनाव अनि त्यसमाथि अक्षरशः ट्राफिक नियम पालना गराउन
चाहने ट्राफिकप्रति कतिपय चालकहरूको व्यवहार आदिले।
अब ट्राफिकको व्यवहार सुधिरन्छ?
केही हदसम्म सुधार आइसक्यो। तर सबैलाई तालिम दिन सकिएको छैन। उपत्यकाका
झण्डै साढे ५ सय ट्राफिकमध्ये ५०–५० जना सई–असई र हवल्दार–जवानलाई
भारतीय प्रशिक्षक रीता गंग्वानीले तालिम दिनुभएको हो। बाँकीलाई पनि
छिट्टै दिने सोचाइ छ। तर तालिम नलिँदैमा दुर्व्यवहार गर्ने ट्राफिक
सजायबाट जोगिँदैन। पहिले पनि त्यस्ता धेरैलाई सरुवा, नसिहत, अवकाश
दिएका छौँ।
|