खेलकुद | विश्वकप फूटबल
नेपाल पनि पुग्न सक्थ्यो, जर्मनी

किरण पाण्डे |
| काठमाडौँको कमलादीस्थित स्पोर्टस बार।
|
अठारौँ विश्वकप
फूटबलले पहिलो चरणका प्रतिस्पर्धात्मक र रोचक खेलहरूसँगै पूर्ण गति
लिइसकेको छ। २६ असारसम्म यस प्रतियोगिताका आगामी खेलहरू अझ रोचक हुने
सम्भावना बाँकी नै छ।
प्रतियोगिताको प्रारम्भिक चरणमा केही आश लाग्दा परिणामहरू
पनि देखिएका छन्। स्वीडेन, अर्जेन्टिना, इङ्गल्याण्ड, पोर्चुगल, कोरिया
जस्ता फूटबलका हस्ती राष्ट्रहरूलाई नयाँ र कमजोर ठानिएका राष्ट्रहरूको
चुनौती थेग्न निक्कै हम्मे परेको छ। विशेषगरी अफ्रिकन राष्ट्रहरूको
अस्थिर राजनीति र घरायसी अर्थतन्त्रका बाबजूद घाना, टोगो, अङ्गोला,
ट्युनिसिया र आइभरीकोष्टका खेलाडीहरूले मैदानमा देखाएको खेल–कौशल कुनै
दह्रा राष्ट्रहरूभन्दा कम थिएनन्। फूटबलको स्तरको कुरा गर्दा एक दशकअघिसम्म
पनि यी राष्ट्रमध्ये अधिकांशको खेलस्तर नेपालकै हाराहारीमा थियो। यी
राष्ट्रहरूको विश्वकप सहभागिताले नेपालका फूटबल खेलसँग सम्बद्ध निकाय
र खेल पदाधिकारीहरूले सधैँ तेर्स्याउने गरेको कमजोर आर्थिक अवस्थाको
बहानामाथि नै ठूलो प्रश्नचिह्न लगाएको छ।
नेपाल किन पछि पर्यो?
अहिले नेपालीहरू पनि विश्वकपको रमझममा डुबेका छन्। विश्वकप फूटबलको
मैदानमा नेपाल पनि उत्रन सक्छ भन्ने कुरा आम नेपालीहरूलाई तत्कालका
लागि अपत्यारिलो लाग्न सक्छ। र, अधिकांशको सोचाइ विश्वकप खेल्ने स्तरसम्म
नेपाल पुग्नै सक्दैन भन्ने रहँदै आएको छ।

जर्मनी

|
विश्व फूटबल महासंघ (फिफा)सँग आवद्ध २०७ देशबाट छनौट
हुनु सजिलो त बिल्कुलै होइन। यसपटकको विश्वकपमा अन्तिम ३२ टोलीको सूचीमा
आठ वटा मुलुकहरू पहिलोपटक परेका छन्। यसले विश्वकपमा परम्परागत टोलीको
सहभागिता मात्र सम्भव छ भन्ने मान्यतालाई उल्टाइदिएको छ। यसले पनि
प्रश्न उठाएको छ कि, आगामी दिनका विश्वकपहरूमा नेपालको सम्भावना किन
छैन? जर्मनी पुगेका ती आठमध्ये दुई अफ्रिकी देश अङ्गोला र टोगोको सफलता
त झन् नेपालको लागि अनुकरणीय नै छ। अङ्गोलाले यसपटक विश्वकपको पहिलो
खेल आफ्नै पूर्वउपनिवेशक पोर्चुगलसँग खेल्दैछ। धेरैले यसलाई चार वर्षअघि
सेनेगल र उसको पूर्व उपनिवेशक फ्रान्सबीचको खेलसँग तुलना गरेका छन्।
द्वन्द्वग्रस्त अङ्गोलालाई राजनीति र अर्थतन्त्रमा नेपालसँग तुलना
गर्न सकिन्छ। चार वर्षअघि मात्र २७ वर्षे लामो गृहयुद्धबाट छुटकारा
पाएको अङ्गोला जनसङ्ख्याको हिसाबले नेपालकै हाराहारीमा छ। अङ्गोला
र विश्वकपको साइनो जोडिएको धेरै भएको छैन। अङ्गोला र नेपालले एकै वर्ष
सन् १९८६ को विश्वकपदेखि छनौट चरणमा भाग लिन शुरु गरेका हुन्। अङ्गोलाले
त्यसपछि निरन्तर छनौट चरणमा भाग लियो भने नेपालले चाहिँ सन् १९९४ र
यसपालि भाग लिएन। सन् १९९४ मा अमेरिकाले विश्वकप आयोजना गर्दा फिफाको
वरियता क्रममा अङ्गोला र नेपाल उस्तै उस्तै क्रमशः १२४ औँ र १२६ औँ
स्थानमा थिए। तर अहिले नेपाल १६९ औँ स्थानमा झरेको छ भने अङ्गोला ५७
औँ स्थानमा उक्लिएको छ।
त्यस्तै त्यो बेला १२३ औँ स्थानमा रहेको टोगो अहिले
६१ औँ स्थानमा उक्लेको छ। टोगो पनि नेपालजस्तै राजनीतिक अस्थिरताले
पिरोलिएको र भुटान जत्रो सानो देश हो। फूटबलको दुनियाँमा नामै नसुनिएको
टोगो एकाएक दृश्यमा आउँदा अर्बौँ दर्शकका लागि चासोको विषय भएको छ।
अङ्गोला र टोगोले १२ वर्षमा गरेको यो प्रगतिले फूटबलमा असम्भव केही
छैन भन्ने देखाउँछ। अमेरिकामा १५ औँ विश्वकप खेल्न अफ्रिका महादेशबाट
क्यामरुन, नाइजेरिया र मोरक्को छनौट हुने बेलामा अङ्गोला र टोगोको
अत्तोपत्तो थिएन। अहिले इतिहास उल्टिएको छ; ती मुलुकका खेलाडीहरू दर्शक
हुन बाध्य भएका छन्।

पहिलो पटक सहभागी अफ्रिकी मुलुक टोगोका खेलाडीहरू। |
केही महिनाअघि एन्फाले नेपालको घरेलु फूटबल सुधार्नकै
लागि ठूला अन्तर्राष्ट्रिय छनौट चरणमा भाग नलिने आत्मघाती रणनीति सार्वजनिक
गरेको थियो। तर, भर्खरै त्यसलाई बदलेर आगामी विश्वकपको छनौटमा भाग
लिने बताएको छ। फूटबलको स्तर बढाउन घरेलु र अन्तर्राष्ट्रिय गतिविधि
समानान्तर सञ्चालन हुनुपर्छ। सार्क फूटबल र एसियन कप तथा विश्वकप छनौट
नै नेपालको अन्तर्राष्ट्रिय खेल देखाउने माध्यम हुन्। आफ्नो खेल स्तर
बढाउन यी प्रतियोगिताहरू बाहेक नेपालले थप मैत्रीपूर्ण खेलहरू समेत
खेल्न जरुरी छ। दक्षिण कोरिया र जापानजस्ता देशले आफ्नो अङ्क बढाउन
नेपालजस्तो देशसँग मैत्री खेल खेल्न चाहिरहेका हुन्छन्। नेपालले आफूभन्दा
बलियो टोलीसँग कम गोल खाएर र कमजोर ग्वाम, भुटान, लाओसजस्ता टोलीसँग
बढी गोल गरेर आफ्नो वरियता सुधार्न सक्छ। चिरपरिचित प्रतिद्वन्द्वी
टोली भारत एसियाली फूटबल महासंघको दोस्रो दर्जाको समूहमा छ भने नेपाललाई
तेस्रो दर्जामा राखिएको छ। फिफाको वरियतामा नेपालभन्दा निकै माथि ११७
औँ स्थानमा छ भारत। यसमा उसको अन्तर्राष्ट्रिय सक्रियताको हात छ। आफ्ना
समकक्षीको प्रगतिलाई अनुसरण गर्न चुक्नु नेपालको कमजोरी हो। उत्तरी
छिमेकी चीनले विश्वकप खेलिसकेको छ। त्यसबाट पनि केही सिक्न सकिन्छ।
अङ्गोला वा टोगोको कथा नेपालमा लागू हुन नसक्नुको कारण यहाँका फूटबल
पदाधिकारीहरूले दूरदर्शी योजनाभन्दा सस्तो प्रचारबाजी योजनालाई महत्त्व
दिनु नै हो। अब नेपालले कम्तीमा यति वर्षभित्र विश्वकप खेल्ने भनेर
अगाडि बढ्नु जरुरी छ। टोगो र अङ्गोलाको उदाहरणले जुन असम्भव पनि देखिन्न।
•
दीपेन्द्र लामा
अनाथहरूको सहयोगार्थ
वेभ फूटबल

अनुपप्रकाश |
वर्ल्ड कप
फूटबल २००६ को घमासान भइरहेको बेला हिमाल मिडिया को तन्नेरी प्रकाशन
वेभ मासिकले १० असारमा नेपाली सङ्गीत र मोडलिङ क्षेत्रका सेलीब्रेटी
र सञ्चारकर्मीहरूलाई दशरथ रङ्गशालाको मैदानमा उतार्ने भएको छ।
वेभ किक अफ कप फूटबल टुर्नामेण्ट मा नेपालका चर्चित
मोडल, गायक–गायिका तथा सङ्गीतकर्मीहरू र छापा तथा विद्युत् माध्यममा
कार्यरत पत्रकार गरी सय भन्दा बढीको सहभागिता रहने भएको छ। मोडलहरू
र प्रिण्ट मिडियाको एक टीम र सङ्गीतकर्मी र इलेक्ट्रोनिक्स मिडियाको
अर्को टीम बीच हुने मैत्रीपूर्ण फूटबल खेल मायादेवी अनाथालय, रुपन्देहीको
सहयोगार्थ हुन लागेको वेभ का सम्पादक आभा एली फोबु बताउँछिन्। फूटबलपछि
१० असार साँझ हुने ग्य्राण्ड पार्टी मा सेलिब्रेटिज र सञ्चारकर्मीसँगै
सर्वसाधारणले पनि निश्चित शुल्क तिरेर सहभागी हुन पाउनेछन्। पार्टीमा
रमाउँदै विश्वकप फूटबलको प्रत्यक्ष प्रसारण समेत हेर्न पाइनेछ।
|