जनता
अविचलित मोहम्मदी

सार्वजनिक जीवनमा प्रवेश गर्नुअघि सिद्धिकी
। |
तराईका रौतहट, बारा,
कपिलवस्तु आदि जिल्लामा मुस्लिम समुदायको बसोबास उल्लेख्य छ, तर त्यो
समुदाय सम्बन्धी खबरहरू प्रायः बाँके, नेपालगञ्ज आसपासबाटै बढी आउँछन्,
किन?
यो जिज्ञासाको जवाफ यस्तो हुनसक्छ “किनभने त्यहाँ विशेषगरी
मुस्लिम महिलाको हक–अधिकारका निम्ति सङ्घर्ष गर्न स्थापित फातिमा फाउण्डेसनकी
अध्यक्ष मोहम्मदी सिद्दिकी त्यसनिम्ति सक्रिय छन्, अन्य जिल्लामा छैनन्।”
२०४७ सालमा पतिको निधन भएपछि नारी कल्याण समाज गठन
गरी घर, परिवार र बुर्काबाट बाहिरिएकी मोहम्मदी नगरपालिकाको वडाध्यक्ष,
एम्नेष्टीको कार्यकर्ता र अन्याय विरुद्ध आवाज उठाउने महिलाअधिकर्मी
हुँदै अहिले इस्लामिक कानून, परम्परा र कुरानको सही अर्थ र व्याख्या
गराई मुस्लिम महिलाको अवस्था सुधार्ने अभियानसम्म आइपुगेकी छन्। मुस्लिम
परम्परा र सोचाइलाई भित्रबाटै नसच्याइकन मुस्लिम महिलाको अवस्थामा
सुधार ल्याउन नसकिने उनको ठम्याइलाई उदारचित्त भएका धेरै मुस्लिम गैरमुस्लिमहरूले
सह्राएका छन्। तर, कुरानको अध्ययनभन्दा रुढीवादी परम्परामा बढी विश्वास
राख्ने कतिपय मुस्लिम धर्माधिकारीहरू मोहम्मदीको अभियानबाट क्रूद्ध
पनि भएका छन्। तिनले उनलाई इस्लामिक धर्म विपरीत कार्य गरेको भनेर
सामाजिक बहिष्कार गर्ने धम्की समेत दिएका छन्।

शरद के. सी. |
तर, मोहम्मदी अविचलित छन्। पछिल्लो पटक त्यस्तो धम्की
पाएको लगत्तै (जेठको अन्तिम साता) उनले हामीसँग भनिन्, “म ढुङ्गा–मुढा
सहन पनि तयार छु किनभने मैले इस्लामिक कानून नै गलत भनेकी छैन, तर
त्यसको गलत व्याख्या गरेर मुस्लिम महिलाहरूलाई अधिकारबाट वञ्चित गर्न
पाइँदैन।” यसोभन्दा मोहम्मदीका नीला आँखामा दृढ इच्छाशक्ति र आत्मविश्वास
स्पष्टै देख्न सकिन्छ।
भारतको गोरखपुरमा जन्मिएर त्यहीँ स्नातकसम्म अध्ययन
गरेकी मोहम्मदी नेपाली, अवधी र हिन्दी बाहेक, उर्दू, अरबिक र अङ्ग्रेजी
भाषामा समेत उत्तिकै दखल राख्छिन्। आफ्नो समुदायमा व्याप्त रुढीवाद
चिर्न उनले इस्लामिक धर्मग्रन्थ र कानूनलाई सरल भाषामा अनुवाद गरी
सिधासादा धर्मभीरु जनतालाई पढाउने अभियान समेत थालेकी छन्। उनले खोलेको
फातिमा फाउन्डेसनका क्रियाकलापले थुप्रै मुस्लिम महिलाहरूलाई न्याय,
सम्पत्ति र बाँच्ने आधार दिइसकेको छ। यस क्षेत्रका कैयौँ मुस्लिम युवतिहरूले
बुर्का थन्क्याएर स्कूल, कलेज र अफिस समेत जाने प्रेरणा पाएका छन्।
तर पनि सत्य के हो भने थुप्रै मुस्लिम महिलाहरू अहिले पनि रुढिवादी
कुसंस्कार र अन्यायको चक्रबाट बाहिर निस्कन सकेका छैनन्।
त्यसनिम्ति शायद एउटी मोहम्मदीको सट्टा सयौँ मोहम्मदीहरूकै
खाँचो छ। र, यसमा सन्तोष गर्ने पक्ष चाहिँ–पहिलो मोहम्मदीको सक्रियता
र सङ्घर्ष हो जसले अरू मोहम्मदीहरू जन्माउने कुरामा आशावादी बन्न सकिन्छ।
|