विज्ञान–विचार
माइपोखरीः कस्तो नबनाउने?
•
डा. तीर्थबहादुर श्रेष्ठ
माइपोखरी भनेर छ नाउँ
खूब सुन्दर सबैतिर ठाउँ
कूसुमाकर सरी सब मास
फूल रूख अनि पक्षी निवास

पेशल पोख्रेल |
| माइपोखरी |
कवि लक्ष्मीप्रसाद पाठकको 'माइपोखरी जाँदा' कविताको
यो सानो उद्धरणले माइपोखरीको प्राकृतिक छटा, त्यहाँ हुने ऋतुमास परिवर्तनको
सौन्दर्य एवं पशुपक्षी तथा वन–वनस्पतिको उपस्थिति चित्रकारी रङ्गमा
प्रस्तुत गरेकोे छ। कवि पाठक माइपोखरीकै काख सुलुवुङ–६ का निवासी हुन्।
उनी नेत्रविहीन छन् र उनका यी उद्गार आँखाबाहेक अन्य इन्द्रियका अनुभूतिको
समष्टि रुप हो। यो अर्थमा माइपोखरीको सौन्दर्य इन्द्रियवश भन्दा उच्च
छ भन्ने बुझ्नुपर्दछ।र, इलाममा जिल्लास्तरमा तयार हुन लागेको माइपोखरी
सम्बन्धी गुरुयोजनाले कविको भावलाई आत्मसात् गर्नेछ भन्ने विश्वास
लिइएको छ।
नेपालका ७५ जिल्लामध्ये इलाम त्यसै पनि स्वस्फूर्त
विकासले परिपक्व जिल्ला हो। आलु, अलैँची, ओलन (दूध), अदुवा र अमि्रसोका
अतिरिक्त अर्थोडक्स टी (पर्वतीय चिया) ले गर्दा यो जिल्ला ख्यातियुक्त
उल्लेखनीय स्थितिमा पुगेको छ। यी उत्पादन इलमी र परिश्रमी इलामवासीका
परिचय हुन् भने यहाँका लेक–बेँसी, पाखा–पखेरा तथा प्राकृतिक पोखरीहरू;
पूर्वी हिमालका दुर्लभ वन–वनस्पति, वन्यजन्तु, पशुपक्षी आदि यस जिल्लाका
अनुपम सम्पदा हुन्। आर्द्र जलवायु, घना बादल र बाक्लो कुहिरोलाई आफ्नै
पोल्टामा अल्मलाई राख्ने यहाँका बादलु वन कतै उत्तिस, चिलौने, अर्ख्यौली
र कटुसले भरिपूर्ण छन् भने कतै चाँप, गुराँस, खस्रु, बज्राँठ, काउलो,
सिन्काउली र पैयूँका मिश्रणमा ढकमक्क देखिन्छन्। यी वनजङ्गलमा विचरण
गर्ने तीन सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी र सयौँ प्रकारका सुनाखरीलाई
इलामका रैथाने रत्न मान्न सकिन्छ। तिनका अतिरिक्त रूखकै टोड्कामा प्रजनन–व्यस्त
भेटिने भ्यागुता र स–साना पोखरीका छेउछाउ सल्बलाउने पानीगोहोरो (Crocodile
salamander) विश्वकै दुर्लभ प्राणी पनि हुन्।
इलामका चार माइ (जोगमाइ, महमाइ, पूवामाइ र देउमाइ)
का उद्गमस्थलहरू यस्तै वन–वनस्पति र वन्यजन्तुका विशिष्ट वासस्थान
हुन्। पर्या–पर्यटनका दृष्टिले यिनको ठूलो महत्त्व छ। यिनै चार माइको
बीचतिर दुई हेक्टरको जलाशय र वरिपरिको १० हेक्टर वन क्षेत्र माइपोखरी
धार्मिक वनका रूपमा कायम भएको छ। सन् १९९६ मा वनस्पति विभागका तर्फबाट
वनस्पति सर्वेक्षणका सिलसिलामा माइपोखरी पुग्दा मैले त्यसको मौलिक
स्वरुप देखेको थिएँ। त्यहाँ घनाजङ्गल थियो। पोखरीको छेउछाउ गलैँचे
झ्याउको जमोठमा सजिसजाउ थियो। जमोठमा १–१.५ मिटर अग्ला सेता चिमालहरू
ढकमक्क फक्रेका थिए। सामान्य रूपमा रूखमाथि उम्रने चिमाल जमोठमाथि
उम्रेको दृश्य अत्यन्तै चित्ताकर्षक थियो। जमोठमा टेक्दा माछाभुरा,
भ्यागुताका चेपागाडा र स–साना सर्पहरू सलबलाउँदै यत्रतत्र भाग्दथे।
तर अफसोस! पछि, पोखरी सफा गर्ने क्रममा लाखौँ रुपैयाँ खर्चेर विश्वमा
अन्यत्र कतै नपाइने त्यो गलैँचे झ्याउ (sphagunum
nepalense) निर्मूल पारियो।
एक दशकअघि माइपोखरी सेरोफेरोमा कुनै कोणधारी वृक्ष
थिएन। कुनै जापानी सल्लाको पनि सम्झना छैन। सबै वृक्ष चौडा पाते थिए।
त्यसमा पनि घोकेचाँप र बज्राँठका पात त ज्यादै चौडा थिए। पोखरीको पानी
नीलो थियो, हरियो हैन। त्यतिबेला पैदल मात्र पुग्न सकिने माइपोखरीको
छेवैमा अचेल मोटर पुग्छ। पोखरी परिसरमा रङ्गीविरङ्गी ठूल्ठूला सूचनापाटीहरूको
तँछाडमछाड घुँइचो छ। श्रद्धालुहरूले टाँगेका रङ्गीविरङ्गी तोरण र ध्वजाहरू
यत्रतत्र देख्न सकिन्छ। माइपोखरी पस्नलाई सिमेन्टको ढिकोद्वारबाट छिर्नुपर्छ।
वनस्पति विभागले आफ्नो कार्यालय त्यहीँ खडा गरेको छ। वरिपरि स–साना
पुष्पवाटिका र सुस्ताउने चौतारीहरू, सिमेन्टका खुड्किला, बिरुवा हुर्काउने
हरितगृहहरू, ढुङ्गे उद्यान, नर्सरीहरू; लोक्ता र लौठसल्ला अध्ययन/अनुसन्धानका
निम्ति छुट्याइएका गराहरू छन् भने विभिन्न वृक्ष र बुटामा तिनका वैज्ञानिक
एवं नेपाली नामपत्र ठोकिएको छ। गुराँसको छातीमा 'तँ लालीगुराँस होस्
तेरो नाम रोडोडेन्ड्रन अर्बोरियम हो' भनेर हरियो टीनमा लेखेर तीन इञ्चको
किलाले ठोकिएको छ। कठै त्यस वृक्षको ज्यानलाई दुख्दो पो हो कि!

तीर्थबहादुर श्रेष्ठ |
| जोरपोखरी |
धार्मिक आस्थाको विशिष्ट केन्द्रका रूपमा पूर्वाञ्चलभरि
ख्यातिप्राप्त यो पुण्यभूमिमा कहीँ अखण्ड धुनी निर्माण भएको छ भने
कहीँ शिवमन्दिर स्थापित छ। त्यस्तै सरस्वती र भगवतीका मन्दिर, बौद्ध
गुम्बा, वेद पाठशाला, ज्ञानी/ध्यानी भक्तहरूका कुटी–कटेरा मात्र हैन,
तिनका प्रतिमासमेत प्रतिस्थापित छन्। पोखरी वरिपरि घुम्न ग्राभेल बाटोको
चक्रपथ र पोखरीको पानी बचाउन सिमेन्टको पक्की बाँध निर्माण भएको छ।
ठाउँठाउँमा फलामे रेलिङ जडिएको छ। नगर विकास कोषदेखि सांसद कोषसम्म
खर्चेर बाटो, सिँढी, रेलिङ, पिकनिक शेड बनाइएको छ। हालै माइपोखरी धार्मिक
वन समूह र द इष्ट फाउण्डेशन मिलेर माइपोखरी सिमसार संरक्षणका लागि
सूचना केन्द्र र माइपोखरीको लोपोन्मुख ठकठके (पानीगोहोरो) संरक्षण
गर्न एक छुट्टै संरचना समेत निर्माण भएको छ। विभिन्न भक्तजन, विकासप्रेमी
एवं संरक्षण–समर्पित महानुभावहरूबाट यस पुण्यभूमिलाई सजाउन लेकलेकका
वनस्पति, जातजातका वृक्षहरू समयसमयमा रोप्ने काम भएको छ। तीमध्ये एक
श्रद्धालुले जापानी सल्ला (Cryptomeria Japonica)
यस क्षेत्रमा भित्र्याइदिए। त्यो सल्लाको क्रमिक अतिक्रमणमा माइपोखरीको
स्थानीय वन निकै प्रभावित छ। हुन त यो सल्लाको सुरिलो कद सबै वृक्षभन्दा
अग्लो भई रमणीय दृश्य देख्न पाइन्छ। तर माइपोखरीको प्राकृतिक अस्मिता
र मौलिकता जोगाउने हो भने यसको अतिक्रमण तत्काल रोक्नै पर्छ। यसैगरी
धार्मिक र सौन्दर्यप्रेमी केही महानुभावले रङ्गीविरङ्गी माछाहरू छोड्न
थालेपछि माइपोखरीका रैथाने जलचरहरू विस्थापित हुँदै गएका छन्। यो अपूरणीय
क्षति र गम्भीर चिन्ताको कुरा हो।
माइपोखरीको रमणीय वातावरणमा अलौकिक अनुभूति प्राप्त
भएपछि त्यहाँ पुग्ने प्रायः सबै व्यक्ति केही न केही गरौँ भन्ने भावले
ओतप्रोत हुने गरेका उदाहरणहरू धेरै छन्। माइपोखरीमै केही गरुँ भन्ने
सद्भावका साथ स्थानीय समुदाय, माइपोखरी धार्मिक वन उपभोक्ता समूह,
जिल्ला विकास समिति, वन कार्यालय, वनस्पति कार्यालय, शहरी विकास, सडक
विकासलगायत भक्तजन, साधुसन्त र माता सबै माइपोखरी माताको सेवा गर्न
चाहन्छन्। यसै परिप्रेक्ष्यमा सबै निकाय र संस्थाहरूको समन्वयमा योजनाबद्ध
कार्य गर्न जिल्लास्तरमा एउटा गुरुयोजना तयार हुँदैछ। यो योजना माइपोखरीलाई
'माइपोखरी' नै बनाइराख्ने उद्देश्यले अगाडि बढेमा निश्चय नै भविष्यको
स्यावासी पाउनेछ। यसका लागि के के गर्ने भन्दा पनि के के नगर्ने भन्नेमा
दृढ सङ्कल्प गर्नु आवश्यक छ।
अहँ! चाहिँदैन कृत्रिमता
माइपोखरीलाई कस्तो नबनाउने वा कस्तो हुनबाट जोगाउने भन्ने कुराको प्रत्यक्ष
उदाहरण जोरपोखरी (इलामको पशुपतिनगर र दार्जीलिङ्गको सुकियापोखरीको
बीच भागमा अवस्थित) बाट सिक्न सकिन्छ। माइपोखरी भन्दा झण्डै २०० मिटर
उच्च भूमि (२,३०० मिटर) मा अवस्थित जोरपोखरी पानीगोहोराकै नाममा 'सालामाण्डर
रिजर्भ' भनेर परिचित छ। नाम अनुसार त्यहाँ दुई वटा पोखरी पनि छन्।
तर, दुवै पोखरीमा कुनै प्राकृतिक स्वभाव बाँकी छैन। झट्ट हेर्दा पाँचतारे
होटलका स्वीमिङपुल जस्ता देखिन्छन् यी पोखरी। पोखरीको बीचैमा सिमेन्टको
विशाल पाँचटाउके नागले फणी उठाएको छ। राजहंसका हूल पोखरी वरपर हल्ला
गर्दै दौड्छन्। सम्पूर्ण परिवेश आधुनिक सज्जामा ठाँटिएको छ। सिमेन्टको
बाटो, सिमेन्टकै वेञ्च कुर्सी, विश्रामस्थल र ठाउँठाउँमा पुष्पवाटिकाले
सजिएको यो ठाउँ हेर्नलाई ज्यादै रमणीय छ। त्यहाँ आकर्षक आधुनिक गेष्टहाउस
पनि छन्। तर विडम्बना! 'सालामाण्डर' कहाँ छ भनी सोध्दा एउटा प्लाष्टिक
जर्किनमा एक जोडी देख्न पाइयो। वरपरको वन जापानी सल्लाले छपक्कै ढाकेको
छ। स्थानीय वनस्पतिको उपस्थिति शून्यप्रायः छ। परम्परा, धर्म–संस्कृति
अनि प्रकृति समेतलाई विकृत बनाउँदै यो पर्यटकस्थल निर्माण भएको छ।

पानीगोहोरोः यो जीव इलाम र पाँचथरबाहेक नेपालका
अन्य ७३ जिल्लामा पाइँदैन। |
यता, माइपोखरी धार्मिक वन समूहले आफ्नो कार्ययोजनाअनुसार
पोखरी–क्षेत्रलाई विश्वव्यापी महत्त्वको सिमसारका रूपमा संरक्षण गर्ने
सङ्कल्प अघि सारेको छ। माइपोखरीको जैविक विविधताका आधारमा यसलाई 'रामसार
सूची'सम्म पुर्याउन सकिने सम्भावना बढेको छ। विश्वव्यापी महत्त्व
भएका सिमसारलाई विश्व समुदायले रामसार (इरानको एउटा शहर) महासन्धि
अनुसार अनुमोदन गर्ने चलन छ। हाम्रा कोशी टप्पू वन्यजन्तु आरक्ष, चितवनको
बीस हजारी ताल, कैलालीको घोडाघोडी ताल र रुपन्देहीको जगदिशपुरा ताल
यसकोटिमा सूचीकृत छन्। माइपोखरी नेपालको पर्वतीय सिमसारका रूपमा रामसार
सूचीका निम्ति एक उत्कृष्ट उम्मेदवार हो र गुरुयोजनाले यसलाई कदर गर्नुपर्छ।
अनि मात्र इलामको पर्या–पर्यटन सञ्जालमा यस क्षेत्रले विशेष भूमिका
निर्वाह गर्नेछ।
यसैबीच माइपोखरीको पानी सुक्दै गयो भन्ने चासो र चिन्ता
समेत सबैमा व्याप्त छ। त्यसको यकिन कारण निर्क्यौल हुनसकेको छैन तर
पोखरीको साँधैमा ठूल्ठूला बस–ट्रक गुड्ने र वनमा पनि वेजातका वृक्ष
(जापानी सल्ला) को फैलावट बढ्ने क्रमसँगै यसो भएको आशङ्का गरिन्छ।
जेजस्तो भएपनि संरक्षणको सामान्य सिद्धान्तअनुसार भारी गाडी (हेभी
भेहिकल) ले गराउने भूकम्पन र मिचाहा प्रवृत्तिका जापानी सल्लाको वृद्धि
तत्काल रोक्नु बुद्धिमानी हुन्छ। जापानी सल्लाको वृक्ष नियन्त्रण गर्न
त्यसका स–साना बिरुवालाई बेलैमा उखेलेर अन्यत्र सार्नु श्रेयष्कर हुन्छ।
अहिले नै ठूला वृक्षलाई काट्ने वा हटाउने अभियान प्रत्युत्पादक पनि
हुनसक्ने हुनाले जापानी सल्लालाई माइपोखरीको जलाधारभित्र अरू बढ्न
दिनुहुँदैन। यसैगरी माइपोखरी वरपर सडकमा ढुङ्गाखानी चलाउने काम तुरुन्त
रोक्नुपर्ने कुरामा गुरुयोजनाले ध्यान पुर्याउनुपर्दछ। सर्वाधिक महत्त्वको
कुरा– माइपोखरी जलाधारभित्र अरू कुनै नयाँ निर्माण नगर्ने नीति अपनाउनुपर्दछ।
|