विचार
| शिक्षा
लोकतन्त्रको थालनी स्कूलबाटै
अबको शिक्षा पद्धतिमा विद्यालयदेखि नै लोकतन्त्र,
मानवअधिकार, सामाजिक रुपान्तरण, द्वन्द्व–व्यवस्थापन, संवाद, सहमतिजस्ता
सार्वजनिक महत्त्वका कुरा समेट्नु जरुरी छ। नत्र भावी सन्ततिले पनि
तनावमुक्त जीवन बाँच्न पाउने छैनन्।
•
मीनबहादुर शाही
“प्रजातन्त्र जीवनपद्धति
हो। यो संस्कृतिकै एउटा पाटो हो”, हेल्सिङवर्ग निम्न माध्यमिक विद्यालयमा
कक्षा ८ मा अध्ययनरत पिटरले आत्मविश्वासका साथ भने। डेनिस विद्यालयहरूका
पाठ्यक्रम, शिक्षणपद्धति र समाजमा तिनको भूमिका तथा प्रभावबारे बुझ्न
हामी राजधानी कोपनहेगनबाट ४५ मिनटमा पुगिने हेल्सिङवर्ग पुगेका थियौँ।
“हामीकहाँ पूर्ण प्रजातन्त्र छ। र, अटल विश्वास छ प्रजातन्त्र
र मानवअधिकारप्रति”, अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत जुलीले पनि
पिटरले झैँ गर्वसाथ प्रजातन्त्रकै कुरा गरिन्। डेनमार्कमा राजनीतिक,
सामाजिक विषयमा ठूला द्वन्द्व देखिँदैनन्। साना–मसिना समस्या देखिए
सरकार, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि मिलेर तत्काल समाधानको
प्रयास थाल्ने उच्चस्तरको संस्कार बसिसकेको पाइन्छ। सामाजिक समस्या
वा विवादहरूको समाधान संवाद, सहभागिता र छलफलबाटै गर्र्नुपर्छ भन्ने
चेतना बालबालिकादेखि बूढापाकासम्म विकसित छ। डेनिसहरू भन्छन्, “बच्चाहरूलाई
प्रजातन्त्र र यसका आचरणबारे घरपरिवार र विद्यालयबाटै सिकाइने परम्पराका
कारण यहाँका युवाहरूमा मुलुकको शासन–प्रणाली र त्यसका आधारभूत मान्यताबारे
राम्रै जानकारी छ। यसले मुलुक सञ्चालनमा ठूलो टेवा पुर्याएको छ।”
“हामी प्रजातन्त्र, मानवअधिकार र राजनीतिक व्यवस्थाबारे
सँगसँगै पढाउँछौँ। स्थानीय तहदेखि पार्लियामेन्टसम्मको चुनावबारे पनि
उनीहरूलाई जानकार बनाउँछौँ”, विद्यार्थीका लागि तयार प्रजातन्त्र र
मानवअधिकारसम्बन्धी पुस्तक पल्टाउँदै ४२ वर्षीय पूर्व प्रधानाध्यापक
हेनरिक भन्छन्। हाल उनी डेनिस सेन्टर फर कन्फ्िलक्ट रेजोलुशनका अध्यक्ष
छन्।
“विद्यार्थीलाई मुलुकको शासनप्रणालीका बारेमा अनभिज्ञ
राख्नुहुँदैन”, इन्टरन्याशनल पिपुल्स कलेजका गार्वा डियालोले भने,
“प्रजातान्त्रिक प्रक्रियाले सबैमा आत्मीयता र आत्मविश्वास बढाउँछ,
पद्धति–सुधारमा समेत सहयोग पुर्याउँछ।” तर, डेनमार्कमा लोकतन्त्र
पढाउनकै लागि सबैतिर एउटै ढाँचाका पाठ्यक्रम र पाठ्यपुस्तक छैनन्।
एकै खाले/निश्चित ढर्राका पाठ्यपुस्तकले विद्यार्थीको क्षमता–विकासमा
बाधा पुर्याउने डेनिस शिक्षाविद्हरूको मूल्याङ्कन छ। “धेरैजसो स्कुलमा
हामी आफैँ पाठ्यक्रम बनाउँछौँ। र, प्रजातन्त्र, मानवअधिकार, शान्ति
र द्वन्द्व व्यवस्थापनमा बढी केन्द्रित हुन्छन् यस्ता पाठ्यक्रम।”
किन त? हेनरिक थप्छन्, “हामीले विश्वको बद्लिँदो राजनीतिसँग प्रतिस्पर्धा
गर्नु छ नि!”
डेनमार्कमा द्वन्द्व–व्यवस्थापन, विवादहरूको उचित समाधान,
मानवअधिकार, प्रजातन्त्र, स्वतन्त्रता, सम्वाद, समझदारी जस्ता महत्त्वपूर्ण
विषय एवं राजनीतिक ज्ञानका बारेमा समेत विद्यालयमै सिकाइँदोरहेछ। डेनिस
विद्यार्थीहरूमा मुलुकको इतिहास, खासगरी राजनीतिक घटनाक्रमका बारेमा
राम्रो जानकारी पाइन्छ। पिटर भन्छन्, “हामीले प्रजातन्त्रका बारेमा
पढेका छौँ। हाम्रो इतिहास र त्यसले दिएको स्वतन्त्रतामाथि हामीलाई
गर्व छ।”
डेनमार्कमा विद्यालय तथा कलेजहरूमा हुलदङ्गा विरलै
हुन्छ। कारण; डेनिसहरूले परिवार र विद्यालयबाटै प्रजातन्त्रिक अभ्यास,
छलफल र मेलमिलापका सीप; प्रजातन्त्रिक मूल्य–मान्यतामा आधारित राजनीतिक
आचरण सिकेका छन्। सो ज्ञानले विध्वंस, हड्ताल, नाराबाजीलाई कम गर्न
सघाएको छ।
विद्यार्थीले राजनीति गर्नुहँुदैन भन्ने आग्रहसँग डेनिस
विद्यार्थीहरू सहमत छैनन्। “विद्यार्थीले राजनीति गर्दा तनाव उत्पन्न
हुन्छ, पढाइ बिथोलिन्छ भन्ने मान्यता गलत हो,” एक शिक्षाविद् भन्छन्,
“मूल कुरा विद्यार्थीले कस्तो शिक्षा ग्रहण गरिरहेका छन भन्ने हो।”
प्राइमरी एण्ड लोअर सेकेन्डरी स्कुल हेलसिंगरका १६ वर्षीया विद्यार्थी
जेनिथले भनिन्, “तपाईँको मुलुकमा अघिल्ला पुस्ताहरूले आजकोे राजनीति
बुझिदिएको भए विद्यार्थीहरू द्वन्द्व–व्यवस्थापन, संवाद–समझदारीतिर
लाग्थे होलान्, जसले सामाजिक तनावलाई स्वतः कम गर्थ्यो।”
द्वन्द्व–विशेषज्ञ मिई रोजडालका विचारमा हिंसाग्रस्त
मुलुकमा विद्यालयदेखि नै बहुलवाद, द्वन्द्व–व्यवस्थापन, सामाजिक रुपान्तरण,
मध्यस्थता, संवाद, मानवअधिकार र प्रजातन्त्रका बारेमा व्यावहारिक ज्ञान
दिनु जरुरी छ। उनी भन्छन्, “यस्तो ज्ञानले द्वन्द्वपछिको पुनःस्थापना
र पुनःमिलनमा समेत सघाउ पुर्याउँछ।”
हालैको लोकतान्त्रिक आन्दोलनका क्रममा नेपालका विद्यार्थी,
अभिभावक, शिक्षकलगायत सम्पूर्ण शिक्षाप्रेमीले देखाएको मोर्चाबन्दी
र सहभागितालाई स्वागतयोग्य ठान्नुपर्छ। किनकि, त्यो भविष्यप्रतिको
सचेतता हो। भविष्यप्रतिको आशा, अपेक्षाको तस्बिर पनि हो त्यो। त्यसैले
लोकतान्त्रिक राज्यव्यवस्थाको स्थापनापछि बनाइने शिक्षा नीति, संवाद/छलफलको
सीप सिकाउने सवालमा राजनीतिक नेतृत्वले आजैदेखि सोच्नु जरुरी छ; भोलि
विद्यालयमा निरङ्कुशता र सामन्ती संस्कारहरूले ठाउँ नपाउन। यसका निम्ति
हाम्रा विद्यालयहरूमा लोकतन्त्रको स्थान सुरक्षित गर्न विद्यार्थी
सङ्गठनहरूले बहस–पैरवी गर्नु जरुरी छ। किनकि शिक्षाले समाजभित्रका
राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्याहरूलाई सम्बोधन गर्न
सक्नुपर्छ। त्यसनिम्ति डेनमार्कको उदाहरण हाम्रा निम्ति अनुकरणीय हुन
सक्छ।
नेपाली समाजलाई गतिशील र सभ्य बनाउनका लागि वर्तमान
शिक्षा नीतिमा सामान्य सुधार र परिमार्जनले मात्र पुग्दैन। त्यसमा
पूर्ण परिवर्तनको खाँचो छ। हिंसा र प्रतिहिंसाले थिल्थिलिएको मुलुकलाई
वैज्ञानिक एवं तनावमुक्त ढङ्गले डोर्याउनुपर्ने खाँचो छ। त्यसैले
अबको शिक्षा पद्धतिमा विद्यालयदेखि नै लोकतन्त्र, मानवअधिकार, सामाजिक
रुपान्तरण, द्वन्द्व–व्यवस्थापन, संवाद, सहमतिजस्ता सार्वजनिक महत्त्वका
कुरा समेट्नु जरुरी छ। नत्र भावी सन्ततिले पनि तनावमुक्त जीवन बाँच्न
पाउने छैनन्।
लेखक कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान
केन्द्र (किर्डाक) सँग सम्बन्धित छन्।
|