हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | रिपोर्ट

मेची–कोशी पहाडको नयाँ सम्भावना 'चिया –पर्यटन’

सीटीसी चियाका लागि प्रख्यात झापाका बगानहरू घुम्दै सर्वाधिक उचाइमा रहेको धनकुटास्थित गुराँसे चिया बगान (७,३०० फिट) को चिसो हावापानीको अनुभव गर्न पाउँदा स्वदेशी तथा विदेशी पर्यटकहरू साँच्चिकै रोमाञ्चित हुनेछन्।

पेशल पोख्रेल, धनकुटा, हिलेमा


पेशल पोख्रेल
इलामको कन्याम चिया बगान।

कन्याम चिया बगान (इलाम) को एउटा थुम्कोले आजभोलि 'शूटिङ डाँडा' को नयाँ नाम पाएको छ। यहाँ कति सिनेमा खिचिए, कति म्युजिक भिडियो बनाइए– बगानका कर्मचारी सम्झन सक्दैनन्। 'इलामे शहर चियाबारी राम्रो...', 'दुईपाते सुइरो कोपिलामाझ...' जस्ता गीत घन्काउँदै पिकनिक आउने त कत्ति हो कति! नेपाल चिया विकास निगमको कन्याम चिया फ्याक्ट्रीका प्रबन्धक पुण्य ढकाल भन्छन्, “चिया बगानको रमणीय दृश्यले मान्छेलाई लोभ्याउँछ भन्ने कुराको प्रमाण हो यो।” हुन पनि दार्जीलिङको टाइगर हिल, खर्साङ, मिरिकसँगै इलामका अधिकांश भाग एउटै थुम्काबाट देख्न सकिने ५,५०० फिट अग्लो शूटिङ डाँडामा बसेर पहाडको चिसो हावा, चियाबगानको हरियाली, चियापत्ती टिपिरहेका महिलाहरूको दिनचर्यासँगै इलामे चिया–संस्कृतिको प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सकिन्छ।

इलामवासीले अदुवा, ओलन, अम्लिसो, आलु र अकबरे खुर्सानीसँगै 'अतिथि–सत्कार' र 'अर्थोडक्स चिया'लाई समेत इलामका 'अ' अर्थात् थप अवसरका रूपमा गणना गर्न थालेका छन्। नेपालमा उत्पादित अर्थोडक्स चियाको ८० प्रतिशत हिस्स्ाा इलामे चियाले ओगटेको छ। औसत १५ वर्ष उमेरका चियाका कलिला बुटा र उत्कृष्ट चियाको पर्याय मानिने 'दुई पात एक सुइरो' का आधारमा यहाँका चिया–उत्पादकहरूले नया–नयाँ सपना देख्न थालेका छन्। तीन हजारदेखि ७,३०० फिट उचाइसम्म फैलिएका इलाम, पाँचथर र धनकुटाका चिया बगानलाई पर्यटकीय गन्तव्य बनाउने नयाँ सोचाइका साथ उनीहरू 'चिया–पर्यटन' को खाका कोर्न थालेका छन्। ढकाल भन्छन्, “हाम्रो चिया विषादि–मुक्त छ, ताजा छ। दार्जीलिङको जस्तै हावापानी छ हामीकहाँ। चियाबगान वरिपरिको सांस्कृतिक विविधता समेत उत्तिकै दर्शनीय छ।”

यी बाहेक टिपाइका तरिका, चियापत्तीको सुकाइ, बेराइ र प्रशोधनका अन्य चरण, कारखानामा 'टी–टेष्टिङ' का रोमाञ्चक क्षण तथा कृषकहरूको जीविकाको आकर्षक स्रोत बनिरहेका निजी बगानका कथाव्यथा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि थप आकर्षण हुने उद्यमीहरूको ठम्याइ छ। अहिले कोशी–मेची पहाडका सात हजार कृषक परिवारले निजी चिया बगानबाट उल्लेख्य आर्जन गरिरहेका छन्। यसले स्वरोजगारसँगै सम्पन्नतासमेत बढाएको छ। किसान र सरकार तथा किसान र फ्याक्ट्रीबीच लगानी, ऋण र चियापत्तीको मूल्यनिर्धारणसम्बन्धी समस्याहरू नभएका होइनन्। तैपनि स्थानीयस्तरमै किसानको चिया किनिदिने 'बट लिफ' फ्याक्ट्रीहरू चिया–कृषकको उन्नतिको आधार बनिरहेका छन्। अर्थोडक्स चियाका लागि निजी क्षेत्रको सर्वाधिक ठूलो बटलिफ फ्याक्ट्री मानिने इलाम–श्रीअन्तुको इलाम टी प्रोड्युसर्स प्रालिले मात्रै आसपासका छ सय कृषक परिवारलाई नियमित रोजीरोटी दिलाइरहेको छ। स्थानीय अर्थ–व्यवस्थासँग जोडिएका यस्ता कुराहरूसमेत पर्यटकहरूका लागि रोचक हुन सक्छन्। 'इलाम टी'का प्रबन्धक कुमार केसी अन्तु डाँडाबाट सूर्योदय हेर्न आउने पर्यटकहरूले गाउँको चिया र उत्पादन प्रक्रियाबारे पर्याप्त चासो देखाउन थालेको जानकारी दिन्छन्।

भौगोलिक विविधताका दृष्टिले त्यसै पनि सुन्दर छन्– इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका पूर्वी पहाडी जिल्लाहरू। चिया क्षेत्रका लागि यति उपयुक्त हावापानी भएको उच्च भूमि नेपालमा अन्यत्र विरलै छ। तराईको गर्मीबाट मुक्ति खोज्नेहरू चियाको हरियाली र चिसो अनुभव गर्न डेढ दुई घण्टामै इलाम, धनकुटाका बगानहरूमा पुग्न र परम्परागत चियाको स्वाद लिन सक्छन्। “प्रकृतिको स्पर्श र बगानभित्रकै न्यानो आतिथ्यका लागि आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरू समेत प्रशस्त आउने संभावना देखेका छौँ”, हिमालयन टी प्रोड्युसर्स कोअपरेटिभ लिमिटेड, हिमकुपका अध्यक्ष उदय चापागाई भन्छन्, “हामीकहाँ फ्रान्स, जापानमा 'टी म्यानेजमेन्ट' पढ्ने विद्यार्थीहरू बर्सेनि आउन थालेका छन्। उनीहरू स्टाफ क्वाटरमा बस्छन्, बगान घुम्छन्, चिया चाख्छन् र दङ्ग पर्दै फर्कन्छन्।” चिया बगानभित्र बस्ने, खाने सुविधा दिन सके प्याकेजकै रूपमा पर्यटक भित्र्याउन सकिने उनको अनुमान छ।

दार्जीलिङमा विश्वभरका चिया व्यवसायीहरू ओइरिने गर्छन्। नेपालमा तत्काल त्यस्तो आगमन संभव नभए पनि नेपाली अर्थोडक्स चियाका प्रमुख आयातकर्ता जर्मनी, जापान र अमेरिकाका व्यवसायीहरूले भने नेपाली बगान घुम्ने रुचि देखाउन थालिसकेका छन्। अर्थोडक्स चियामा उल्लेख्य संभावना बोकेको नेपालका लागि यो सुखद सङ्केत हो। पशुपतिनगर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न नेपाल–भारत सहमत भइसकेको पृष्ठभूमिमा दार्जीलिङ आएका चिया–पारखीहरूलाई सीमावारिको इलामतर्फ आकर्षित गर्न गाह्रो नहुने व्यवसायीहरूको ठम्याइ छ। यस्ता पर्यटकले इलामका कन्याम, श्रीअन्तु, जौंबारी, देउराली डाँडा, सन्दकपुर आदि ठाउँबाट आसपासका चियाबगानसँगै गजराजसिंह थापाद्वारा सन् १८६१ मा इलाम बजारनजिकै स्थापित नेपालको सर्वाधिक पुरानो चिया बगान हेर्न सक्छन्। माइपोखरी पुगेर विविध प्रजातिका सुनाखरी, उन्यु, रानीचाँप, लालीगुराँस, सुनौलो माछा, रूख भ्यागुतो, हरियो छेपारोे, चंखे सर्प, लोपोन्मुख स्तनधारी प्राणी ओतसँगै दुर्लभ गलैँचे झ्याउ र पानीगोहोरोका दृश्य र गतिविधि नियाल्न सक्छन्। सीटीसी चियाका लागि प्रख्यात झापाका बगानहरू घुम्दै सर्वाधिक उचाइमा रहेको धनकुटास्थित गुराँसे चिया बगान (७,३०० फिट) को चिसो हावापानीको अनुभव गर्न पाउँदा स्वदेशी तथा विदेशी पर्यटकहरू साँच्चिकै रोमाञ्चित हुनेछन्। चापागाई भन्छन्, “हामी भ्रमणका यस्ता प्याकेजहरूसँगै 'स्याम्पेन अफ द टी' दिन सक्छौँ।”

दार्जीलिङका चियाबुटा डेढसय वर्ष पुराना भइसकेका छन् तर हामीकहाँ एक, दुई अपवादलाई छोडेर १०–१५ वर्षका कलिला बुटाहरू छन्। दार्जीलिङले वर्षमा एक करोड केजी प्रिमियम चिया उत्पादन गरिरहेको बेला नेपालका उत्पादकहरू वार्षिक १६ लाख किलो अर्थोडक्स चिया उत्पादन गर्ने स्थितिमा भर्खरै पुगेका छन्। विश्व–बजारमा प्रिमियम चियाको माग प्रतिवर्ष ५ करोड केजी छ। जापान, जर्मनी र अमेरिकाका चिया व्यवसायीहरूले नेपालको अर्थोडक्स चियालाई 'कुनैभन्दा कम छैन' भन्न थालिसकेका छन्। उत्कृष्टताकै लागि गुराँसे चिया कारखानाले 'आईएसओ ९००१–२०००' प्रमाणपत्र पाइसकेको छ। धनकुटा र इलामका अरू बगान र कारखानाहरू पनि आ–आफ्नै विशेषतायुक्त छन्। फलस्वरुप ९६ प्रतिशत अर्थोडक्स चिया निर्यात भइरहेको छ। विश्व बजारमा मार्केटिङ गर्न सक्ने हो भने नेपाली फ्याक्ट्रीहरूले प्रिमियम चियाको उत्पादन जति बढाए, त्यति नै खपत हुने स्थिति छ। गुराँसे टी स्टेटका प्रबन्धक सन्तोष केसी भन्छन्, “प्रयास गर्ने हो, वातावरण बन्ने हो भने हामी धनकुटामै 'दार्जीलिङ' बनाउन र क्रेता तथा पर्यटकलाई सँगसँगै आकर्षित गर्न सक्छौँ।”

केसीका अनुसार, त्यस्ता पर्यटकहरूले चियापत्ती टिपाइ र चुँडाइको अन्तर अनुभव गर्न सक्छन्, बोट काँटछाट गर्ने तरिकाबारे जानकार हुनुका साथै स्वाद–परीक्षणमा प्रत्यक्ष सहभागी हुन सक्छन्। पत्ती, टुक्रे र धूलो चियाकोे भिन्नता र तिनको औषधीय गुण बुझ्न सक्छन्। चिया–चियाको 'ब्लेन्डिङ' हेर्न सक्छन्। ज्यास्मिन, सयपत्री जस्ता फूलबाट चिया बनाउने तरिका बुझ्न फ्याक्ट्रीमै नपुगी संभव हुँदैन।

खाँचो नेपाली ब्राण्डको
चिया–पर्यटनको अवधारणाले अप्रत्यक्ष रूपमा चियाको बजार प्रवर्द्धनमा सघाउने व्यवसायीहरूको अनुमान छ। उनीहरू इण्डोनेशियाको उदाहरण र सफलतालाई नजिकबाट नियालिरहेका छन्। त्यहाँ पर्यटकहरूका लागि चिया बगानमै बस्ने, खाने व्यवस्था मिलाइन्छ। उनीहरू धीत मरुञ्जेल बगान घुम्छन्, उपहारका निम्ति विभिन्न स्वाद र प्रकारका चिया किनेर फर्कन्छन्। यस्ता सूचनाबाट प्रेरित हुँदै इलामको बरबोटे–सुन्दरपानीमा आकर्षक बगान हुर्काइरहेका उदय चापागाई भन्छन्, “अब हामी चिया बगानभित्रै रिसोर्टहरू बनाउँछौँ।”

चिया–पर्यटनका निम्ति आवश्यक भौतिक पूर्वाधार तयार हुनुअघि चिया उत्पादकहरूले अनुभव गरेको प्रमुख खाँचो हो– विश्वबजारमा नेपाली चियाको 'ब्राण्ड–इमेज' को अभाव।दार्जीलिङ टी, सिलोन टी ले विश्वव्यापी 'गुड्विल' कमाइसकेको पृष्ठभूमिमा नेपाली चिया व्यवसायीहरू ब्राण्ड इमेजका निम्ति भर्खरै एकताबद्ध भएका छन्ः 'नेपाल टीः क्वालिटी फ्रम द हिमालयज' को साझा नारामुनि। त्यसको प्रचार–प्रसारका निम्ति विश्वका आठ हजार मिटरमाथिका चौध वटै शिखर आरोहण गरिसकेका विख्यात आरोही रेनहोल्ड मेस्नर सन् २००५ देखि 'नेपाल टी' को 'ब्राण्ड–एम्बेसेडर' का रूपमा सक्रिय छन्। त्यसयता नेपाल टी अलायन्स मा आवद्ध संस्थाहरू नेपाली चियाको ब्राण्ड प्रवर्द्धन र निर्यातका निम्ति थप सक्रिय भएका छन्। फलस्वरुप नेपाली व्यवसायीहरू प्रिमियम ब्राण्डका आफ्ना उत्पादन प्रति केजी रु.१० हजारसम्ममा बेच्न सफल भएका छन्। जर्मन प्राविधिक सहयोग (जीटीजेड) को निजी क्षेत्र प्रवर्द्धन कार्यक्रम (पीएसपी) ले अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चियाको व्यापार प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गरिरहेको छ। जीटीजेड/पीएसपीका सल्लाहकार अरुण राणाका अनुसार जर्मन लगानीकर्ता तथा चिया व्यवसायीहरूको एउटा टोली आगामी अक्टोवरमा नेपाली चिया र यसको संभावना हेर्न इलाम आउने कार्यक्रम बनेको छ। जर्मनीका प्रमुख आयातकर्ताहरूले नेपाली अर्थोडक्स चियालाई प्रिमियम चियाका रूपमा स्वीकारिसकेको पृष्ठभूमिमा नेपाली उत्पादकहरूले चिया उत्पादनको अन्तर्राष्ट्रिय 'कोड अफ कन्डक्ट' तिर थप ध्यान पुर्‍याउन सके संभावनै संभावनाको अर्को क्षेत्र बन्न सक्छ नेपालको चिया उद्योग।

गुराँसे चियाले जाम्लिङ तेन्जिङ नोर्गे, ब्रेन्ट विशप, पिटर हिलारीलाई 'ब्राण्ड–एम्बेसडर' बनाउनु पनि सम्भवतः त्यस्तै सम्भावनाको खोजी हो।