हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५२ होमपेज   | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

टिप्पणी | काङ्ग्रेस महाधिवेशन

पार्टीता जाने, कता लैजाने ?

गोविन्द अधिकारी

नेपाली काङ्ग्रेसको एघारौँ महाधिवेशन संघारमा आइसकेको छ । वैधानिकता पूरा गर्न मात्र पनि काङ्ग्रेसले यो महाधिवेशन गर्नै पर्ने स्थिति छ । राजतन्त्रलाई लिएर काङ्ग्रेसको इतिहासमा अहिले जति सैद्धान्तिक विवाद कहिल्यै भएको छैन । त्यसैले यो सवालमा काङ्ग्रेस स्पष्ट हुनैपर्ने बाध्यता छ । काङ्ग्रेसको एउटा सिङ्गो पुस्ता राजतन्त्रको विपक्षमा देखिएको छ । युवाहरू राजतन्त्रको वर्तमान भूमिका स्वीकार गर्न तयार देखिँदैनन् । त्यति मात्र हैन उनीहरू त नेपाल अधिराज्यको संविधान, २०४७ ले दिएको जति भूमिका पनि राजालाई दिने पक्षमा छैनन् । यसका अतिरिक्त आसन्न महाधिवेशनले संसदीय पद्धति, स्वायत्तता, सामाजिक सुरक्षा, राज्यको पर्ुनर्संरचना जस्ता विषयहरूमा पनि समयसापेक्ष नीति तय गर्नु आवश्यक देखिएको छ ।
मुलुकको सङ्कट काङ्ग्रेसले मात्र मोचन गर्न नसक्ला तर विद्यमान समस्याको लोकतान्त्रिक समाधान काङ्ग्रेसको नेतृत्वमा नै सम्भव छ । अरू कुनै शक्ति वा समूहले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने क्षमता र विश्वसनीयता कमाइसकेका छैनन् ।
नेपाली काङ्ग्रेसले आफ्नो सिद्धान्त, संरचना र नेतृत्व तीनै पक्षमा पुनर्विचार गर्नु आवश्यक देखिएको छ । यसका एकथरी नेताहरू काङ्ग्रेस मध्यमार्गी दल भएकाले यो सबै प्रश्नमा 'बीचमा' उभिनर्ुपर्छ भन्ने ठान्छन् । परन्तु, २००७ सालको सशस्त्र जनक्रान्ति वा २०४६ को शान्तिपर्ूण्ा जनआन्दोलनको नेतृत्व गरेको काङ्ग्रेस लोकतन्त्रको प्रश्नमा मध्यमार्गी वा तमासे हुन मिल्दैन ।

सैद्धान्तिक परिमार्जन
राजतन्त्रः बेलाको बोली बुझने हो भने काङ्ग्रेसले आफ्नो विधान र घोषणापत्रबाट अब वैधानिक राजतन्त्र भन्ने शब्द हटाउनु नै उपयुक्त हुने देखिन्छ । गणतन्त्रवादीका पङ्क्तिमा उभिन सङ्कोच लागे कम्तीमा पनि नरहरि आचार्यले प्रस्ताव गरेजस्तै 'राजतन्त्रप्रति निरपेक्ष' भए हुन्छ । यसले आफ्ना विधान र घोषणापत्रहरूमा 'राजसंस्थाको भविष्यको निर्ण्र्ाागर्ने अधिकार जनताको हो' भन्नेमा पर्ूण्ा प्रतिबद्धता देखाउनर्ुपर्छ र त्यसमा सम्झौता गर्नुहुँदैन ।
संसदीय प्रणालीमा परिमार्जनः 'वेस्ट मिनिस्टर' नमुनाको विद्यमान संसदीय प्रणालीप्रति पनि पुनर्विचार आवश्यक देखिएको छ । विगतका प्रतिनिधिसभाहरूको बनौट र तिनको कार्यसम्पादन हर्ेदा संसद्ले मुलुकको प्रतिनिधित्व गर्न र समेट्न सकेको देखिँदैन । संभवतः अब यस्तो प्रणालीले काम गर्न सक्तैन । अहिलेको समावेशीकरणको लहर आगतको पदचाप हो । समानुपातिक वा आरक्षित प्रकारको प्रतिनिधित्व प्रणाली अपनाएर संसद्मा सबैलाई समेट्ने प्रयास हुनर्ुपर्छ र नेपाली काङ्ग्रेसले त्यसको अगुवाई गर्नुपर्छ । यस्तो प्रणाली अपनाउँदा काङ्ग्रेसलाई तत्काल केही नोक्सान हुन सक्तछ तर लोकतन्त्रलाई यसले सुदृढ बनाउनेछ ।
स्वायत्तताः अहिले भाषिक, जातीय वा क्षेत्रीय आधारमा राज्यको पर्ुनर्संरचनाको माग निकै तीव्र भएको छ । नेपालका सर्न्दर्भमा हर्ेदा यहाँको जनसाङ्ख्यिक बनौटले यी तीनै वटा आधारहरू कृत्रिम हुन्छन् । यसैले सकेसम्म सानो भौगोलिक क्षेत्रलाई प्रशासनिक इकाइ बनाएर अधिकतम स्वायत्तताको पक्षमा काङ्ग्रेसले अगुवाई गर्नुपर्छ ।
लोकतान्त्रिक अभ्यासः सैद्धान्तिक रूपमा काङ्ग्रेस लोकतान्त्रिक पार्टीो भन्नेमा कसैले पनि प्रश्न गर्दैन तर यसका नेताहरूको विशेषगरी सत्तामा पुगेका बेलामा देखिएको आचरण र अभ्यासले लोकतान्त्रिक प्रतिबद्धतामा सबाल उठाउने धेरै ठाउँ दिएको छ । राज्यका नाममा सरकारले जे गरेपनि हुन्छ भन्ने सोच धेरै काङ्ग्रेसीमा रहेको पाइयो । अन्तिम निर्ण्र्ाार्ता जनता हुन् भन्ने सत्य आत्मसात् गर्नुभन्दा जनतामाथि निर्ण्र्ााथोपर्ने मानसिकता काङ्ग्रेसजनमा देखिन्छ । यो अधिनायकवादी सोच हो । यसलाई काङ्ग्रेसले छाड्नै पर्छ । त्यसका लागि काङ्ग्रेसले प्रतिनिधित्व बिना कर नलिने, व्यक्तिको मर्यादा र स्वतन्त्रतामा कहिल्यै बन्देज नलगाउने, प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल कुनै निर्ण्र्ाानगर्ने र आधारभूत मानवअधिकार, राष्ट्रिय र्सार्वभौमिकता र लोकतन्त्रका सबालमा कुनै सम्झौता नगर्ने घोषणा दोहोर्याउनर्ुपर्छ ।
सैद्धान्तिक अडानः तत्कालको राजनीतिक लाभहानिका निम्ति जोसँग पनि सम्झौता र सहकार्य गर्न तयार हुने लचिलोपन पनि काङ्ग्रेसले छाड्नर्ुपर्छ । उदाहरणका लागि माधव नेपाल र शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनलाई ठूलो धक्का दिएका छन् । देउवाले चुनावै हुननसक्ने बेलामा जानीजानी प्रतिनिधिसभा भङ्ग गराएर संसदीय पद्धतिलाई दर्ुघटनामा पारे । त्यसपछि आन्दोलनलाई धोका दिएर गोर्खाली राजाबाट न्याय पाएको घोषणा गर्दै सत्तामा गए । प्रधानमन्त्रीका लागि सिफारिस नगरिएको झोँकमा माधवकुमार नेपालले देउवालाई साथ दिएर प्रतिगमनलाई बलियो बनाए । र्समर्पण, सिद्धान्त, र सङ्कल्पविहीनहरूसँग काङ्ग्रेसले काँध र हात मिलाउनु हुन्न । छोइछिटोको राजनीति गर्नुहुँदैन तर विखालु र्सपलाई दूध खुवाउने मर्ूखता पनि दोहोर्याउनु उचित होइन । अहिलेको प्रश्न दलको सङ्ख्या होइन । आन्दोलनमा चार, पाँच वा सात जति दल भए पनि तात्विक अन्तर परेको छैन । जनतालाई आकषिर्त गर्न सैद्धान्तिक स्पष्टता र अडान आवश्यक छ ।
पार्टीे संरचनामा सुधारः प्रकृति र सिद्धान्तका आधारमा काङ्ग्रेस एउटा उदार र लोकतान्त्रिक दल हो । सङ्गठनलाई समाजवादी आवरण दिन खोज्दा यसको विधान हाँस न काग बन्न पुगेको छ । कार्यकर्तामा आधारित अहिलेको संरचनालाई जनतामा आधारित हुने गरी परिवर्तन गरिनर्ुपर्छ । यसको सदस्यता वितरणदेखि नेतृत्व चयनसम्ममा खुला प्रतिस्पर्धा प्रोत्साहित हुने प्रावधान विधानमा नै राखिनर्ुपर्छ । अनि मात्र काङ्ग्रेसमा नयाँ ऊर्जा प्रवाहित हुनेछ । अहिलेको विधानमा वैचारिक आधारमा नेतृत्व चयन गर्ने व्यवस्था छैन भने पनि हुन्छ । नयाँं विचार दिएर नेतृत्व गर्न खोज्नेलाई थुप्रै अवरोध खडा गरिएका छन् । विशेषगरी पछिल्लो संशोधनपछि सीमित व्यक्तिहरू मात्रै नेतृत्वमा पुग्नर्ुपर्छ भन्ने सामन्ती सोच यसको विधानमा प्रतिबिम्बित भएको छ । यसलाई बदल्नर्ुपर्छ । कुनै पनि कार्यकर्तालाई आफ्ना कार्यक्रम र विचार प्रस्तुत र अनुमोदन गराउनबाट छेक्ने प्रयास हुनुहुँदैन । केन्द्रीय समितिमा पुग्न यति वर्ष सभापति हुन यति वर्षभन्नेजस्ता कम्युनिस्टहरूलाई सुहाउने प्रावधानहरू हटाएर कार्यकर्ताले पत्याए गगन थापा पनि केन्द्रीय सभापति हुने बाटो खुला हुनर्ुपर्छ । यसैगरी, काङ्ग्रेसले आफूलाई सिङ्गो नेपालको प्रतिनिधि पार्टीनाउन महिला, अपाङ्ग भएका व्यक्तिहरू, दलित, जाति जनजाति, धनी, गरीब, बुद्धिजीवी, श्रमजीवी सबैलाई समेट्न सक्नर्ुपर्छ । विधानमा नै यस्तो व्यवस्था मिलाएर काङ्ग्रेसले अरूलाई बाटो देखाउनर्ुपर्छ ।

सामाजिक सुरक्षाको प्रत्याभूति
काङ्ग्रेसमा अन्योल सामाजिक सेवाको आपर्ूर्तिका सम्बन्धमा पनि छ । काङ्ग्रेस सत्तामा छँदा न सामाजिक सेवाका क्षेत्रमा निजी क्षेत्र प्रोत्साहित भयो न राज्यको भूमिका नै प्रभावकारी भयो । यथार्थमा उदारवाद र पूँजीवादलाई पर्याय ठान्ने काङ्ग्रेसका समाजवादीहरूले पार्टीई हाँस न काग बनाए । शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाका आपर्ूर्ति विन्दुहरूमा शुल्क नलाग्ने व्यवस्था काङ्ग्रेसको घोषणापत्रमा समावेश हुनर्ुपर्छ । सेवाका विन्दुहरूमा कुनै पनि आधारमा भेदभाव हुनुहुँदैन । धनी गरीब सबैले न्यूनतम सेवा समान रूपमा पाउनर्ुपर्छ । धनीसँग कर लिनर्ुपर्छ तर सेवाको विन्दुमा होइन । समान गुणस्तरको सेवा सबैले पाउने प्रत्याभूति गर्ने स्पष्ट घोषणा काङ्ग्रेसले आफ्नो घोषणापत्रमै समावेश गर्नुपर्छ । कारण सबैलाई पुगे मात्र कमजोरले पाउँछन् । यसबाट सेवाका आधारमा वर्ग विभाजन हुने व्यवस्थाको अन्त्य हुन्छ । वैयक्तिक क्षमताको विकासमा आर्थिक, सामाजिक, वातावरण अवरोध बन्न नदिने प्रतिबद्धता काङ्ग्रेसले गर्नुपर्छ । नत्र, काङ्ग्रेस रही त रहला, तर जीवन्त रहन सक्ने छैन ।