हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विज्ञान विचार

नाक र गन्ध

डा. तीर्थबहादुर श्रेष्ठठ

गन्ध ठम्याउने घ्राणेन्द्रियको महिमा जति अपरम्पार छ, त्यति नै गहन छ गन्ध-सुगन्ध, दर्ुगन्ध, बासना आदिका स्रोत-पदार्थको रहस्य ।

यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो,
मग मग चल्यो बासना...

यो गीत सुन्दा प्रेमध्वज प्रधानको सुरिलो स्वरमा सबै मिठास पाउँछौँ तर इन्द्रकमलको मग मग बासना भने हाम्रो नाकले टिप्न सक्दैन । तर किन त - आज यिनै वास-सुवास, गन्ध-सुगन्ध वा दर्ुगन्धका बारेमा चर्चा गरौँ ।


तस्बिरहरूः तीर्थबहादुर श्रेष्ठ

सानो छँदा आमा सधैँ भन्नुहुन्थ्यो, 'तेरो नाक त साह्रै तीखो छ ।' यहाँ तीखो शब्द चुच्चो वा बुच्चोको अर्थमा नभई नाकको घ्राण अर्थात् शक्तिको सर्न्दर्भमा थियो । हुन पनि, चोटा-कोठामा पाठशालाको पाठ गरिबस्दा बुइगलको भान्छामा जिम्बु झानेको वास नाकमा पर्नासाथ फड्को हानेर माथि पुगी पिर्कामा पलेँटी कसेर भात माग्न थालिहाल्थेँ । खान बसेपछि ज्रि्रोले नुनिलो, पीरो, अमिलो, गुलियो, टर्र्रो, तीतो वा पर्पराउँदो आदि स्वाद लिँदै गर्दा नाकले मसलाका विभिन्न हरक, वास, सुवास, महक र सुगन्ध लिइरहेको हुन्थ्यो । तर बास्ना, गन्ध, हरक, सुवास आदिको शब्दमा बयान गर्न सकिँदैन । त्यसमा पनि विश्वभर नेपाल बाहेक कतै नपाइने वनस्पति- जिम्बुको त कुरै छोडौँ । वैज्ञानिक जगतमा एलियम हिपसिस्टम भन्दा जति नाक खुम्चिन्छ, जिम्बुभन्दा त्यसको हरकले उत्तिकै हुरुक्क पार्छ ।
प्राणी जगतमा घ्राणशक्तिको रहस्य बुझी नसक्नु छ । बम वा बारुद, विषादी वा लागूपदार्थ र दूरदराजका अपराधीको सुराक समेत ठम्याउन सक्ने कुकुरको घ्राणेन्द्रिय वा नाकले त चमत्कारी सेवा नै प्रदान गर्ने गरेको छ । कुन कम्प्युटरको कति मेमोरीले त्यस्तो सेवा प्रदान गर्न सक्ला अवश्यै खोजको विषय हुनेछ । किन हो कुन्नि, अरू इन्द्रियको प्रतिरुपमा श्रव्य-दृश्यका अनेकौँ यन्त्र र संयन्त्रहरू बनेका छन्, तर नाकको नक्कल गर्ने यन्त्र आजसम्म बन्न सकेको छैन । घ्राणेन्द्रिय अर्थात् सुँघ्ने नाकको रहस्य ठूलो छ । आँखा, कान, नाक केही नभएको, मात्र रगत चुस्ने मुख लिई बसेको जुकाले टाढैबाट मानिसको गन्ध चाल पाएर आक्रमण गर्छ तर जीउमा तीतेपाती दलेर हिँड्दा त्यसको बासनाले पर भाग्छ । जुकाको सुँघ्ने शक्तिको यो रहस्य बुझन झनै कठिन छ ।


मीन बज्राचार्य
बम, हातहतियार, लागूऔषधजस्ता कुराहरू लुकाइएको छ कि भनी कुकुरबाट सामानको जाँच गराइँदै ।

हाम्रो आफ्नै नाकको कुरा गर्दा, चुच्चे होस् वा थ्याप्चे, हरेक नाकमा दर्ुइ वटा पोरा हुन्छन् । पोराभित्र धुलो छेक्न थुप्रै स-साना रौँहरू झुस्स बसेका हुन्छन् । त्यसको भित्रपट्ट िसिँगान आदि पदार्थ पैदा गर्ने कमलो र गिलो भागले अझ स-साना धूलोका कण वा कीटाणुहरूलाई च्याट्ट टाँसेर रोक्ने काम गर्दछ । त्यसबाट भित्र पसेपछि हावालाई वरपरका रक्त धमनीले न्यानो बनाइदिन्छन् । हावाका साथमा त्यहाँ पुग्ने गन्धयुक्त कणहरूले नाकभित्र तैनाथ घ्राणस्नायुहरूलाई उत्तेजित तुल्याइदिने वा जगाइदिने काम गर्छन् । त्यसरी प्राप्त सूचना अन्य स्नायुहरूमार्फ् तत्काल मस्तिष्कसम्म पुर्याइन्छ । अनि जे गर्नुपर्ने हो मस्तिष्कले अह्राउँछ, निर्देश गर्छ । अप्रिय वा ग्राहृय नहुने गन्ध वा पदार्थ आएको रहेछ भने "हाछ्यूँ" गरी फ्याँक्न लगाउँछ अथवा त्यसबाट बच्न अन्य उपायहरू सुझाइदिन्छ । प्रिय गन्ध वा राग- हरक हो भने कुरा अर्कै भयो । नाकले एक पटक ठम्याएको गन्ध धेरै समयसम्म नभुल्ने शक्ति मानिसमा भन्दा अरू प्राणीमा अधिक रहेका धेरै उदाहरण छन् । विशेष गरेर कुकुरको गन्ध सम्झने शक्ति अद्वितीय पाइएको छ । यसैगरी कतिपय हानिकारक कीरालाई नाश गर्न उनीहरूकै घ्राणशक्तिको प्रयोग गर्ने गरिएको छ । आफ्नो भालेलाई आकर्षा गर्न पोथीले निष्कासन गर्ने गन्धयुक्त पदार्थ कृत्रिम तरिकाले पनि निर्माण भएका छन् । यस्तो पदार्थ "फेरोमेन" लाई स-सानो खोरभित्र थापेर भाले कीराहरूलाई धरापमा पारिन्छ र विषमा मारिन्छ । भालेहरू सबै नाश भएपछि तरकारी बाली नष्ट गर्ने अरू थप किरा जन्मन पाउँदैनन् । घ्राणेन्द्रियको यो घातक कथा कृषि विकासको सिलसिलामा एकीकृत शत्रुजीव व्यवस्थापन रणनीतिको रूपमा निकै लोकप्रिय पनि भएको छ । गन्ध-सुगन्ध, वास-सुवासले प्राणीलाई कहाँ पुर्याउँदैन !


मुस्ताङमा गमलामा उमारिएको जिम्बु

प्रत्येक वर्षैँ नेपालको तर्राईका कतिपय जिल्लामा जङ्गली हात्तीको विगविगी सुनिन्छ । त्यसक्रममा केही हात्ती सबभन्दा पहिले जाँडको घ्याम्पो लुकाएको घरमा सुँड घुसाउन पुग्छन् । भनिन्छ, हात्तीहरू यस्तो गन्ध दर्ुइ/तीन किलोमिटर परैबाट ठम्याउँदै आउँछन् । अप्रिmकी देश केन्याका आदिबासी मार्साईहरू हात्ती शिकारमा प्रख्यात मानिन्छन् । तर त्यहाँका जङ्गली हात्ती हावामा सुँड झुलाएर शिकारीहरू कहाँ छन् भन्ने कुरा दर्ुइ किलोमिटर परैबाट चाल पाउँछन् । हात्तीको सुँडले सुँघेरै सबै बस्तुको पहिचान गर्दछ । त्यसका अतिरिक्त, यस अद्भुत अवयव -नाक, सुँड) ले टाढा-टाढाको कम्पन समेत ठम्याउन सक्छ भन्ने कुरा गत वर्षो सुनामी छाल छलेर थाइल्याण्डका हात्तीहरूले प्रमाणित गरिदिएका छन् । गन्ध ठम्याउने घ्राणेन्द्रिय वा नाकको महिमा जति अपरम्पार छ, त्यति नै व्यापक छ गन्ध-सुगन्ध, दर्ुगन्ध, बासना आदिको स्रोत-पदार्थको महिमा पनि ।
प्राणीहरूको मल-मूत्र, श्वास-प्रश्वास र पसिनालगायत विभिन्न प्रकारका ग्रन्थीहरूले प्रदान गर्ने गन्धहरूको आ-आफ्नै प्रयोजन हुन्छ । समष्टिमा, गन्ध भनेको प्राणीहरूलाई आकर्षा वा विकर्षा गर्ने वस्तु हो । कस्तुरीको बिनाबाट आउने सुवासले पोथी मृगलाई आकषिर्त गर्दछ भने सिभेट ९अष्खभत० नामक एक किसिमको वनविरालोले छ्याप्ने दर्ुगन्धित तरल पदार्थले उसलाई समात्ने शिकारी जन्तुलाई शिकार छोडेर भाग्न बाध्य पार्छ । कत्रो विकर्षा - बाघहरू आफ्नो सीमाको लक्ष्मणरेखा कोर्न पिसाबको गन्ध प्रयोग गर्दछन् । मत्ताहात्ती वा मात्तिएको बोकै पनि आफ्नो गन्धले प्रतिस्पर्धी भालेलाई भगाउन र पोथीलाई फकाउन सफल हुन्छन् ।

गन्ध र सुगन्धको अर्को बृहत् संसार वनस्पति जगतमा पाइन्छ । फूलमा हेरौँ फूलैमा बासना, तुलसी, कपुर, धनियाँ वा धसिंगरेका पातमा हेरौँ पातैमा बासना; दालचिनीको बोक्रैमा बासना; श्रीखण्ड, देवदार र धूपीको काठैमा बासना; खसखस, जटामसी र सुगन्धवालका जरामै बासना; आँप, केरा, लिचीको फलै मगमगाउँदो; जीरा, मरिच, अलैँचीको बीउ बीउमा बासना ! यी विभिन्न सुगन्धित वस्तुका स्रोत र सँगालो भित्र मानवोपयोगी औषधि र अत्तर, खाद्यवस्तु एवं पेय पदार्थहरूलाई मनमोहक र मधुर बनाउने बासना, नारी सौर्न्दर्यमा सुगन्ध थप्ने विभिन्न शृङ्गारिक वस्तुका महकदेखि देवीदेवताका आराधनामा प्रयोग हुने धूप आदि विभिन्न वस्तुहरू विद्यमान हुन्छन् । शृङ्गार जगतमा यिनलाई "परफ्यूम" भनिन्छ । शाब्दिक अर्थ खोज्ने हो भने "फ्यूम" भन्नाले धूवाँ र "पार" भन्नाले "माध्यमबाट" भन्ने जनाउँदछ । यस अर्थमा धूवाँ, हावा वा वायुको माध्यमबाट फिँजिने विशेष रासायनिक पदार्थ नै गन्ध र सुगन्ध, वास र सुवासका तत्व हुन् । हावामा उडिजाने यस्तो सुगन्धित तत्वलाई "भोलाटाइल आयल" भनिन्छ, रसायन विज्ञानमा ।
सुगन्धित तेलका बासना तत्वले मानिसको तन, मन, मस्तिष्क मात्र हैन अन्तरात्मालाई समेत प्रभावमा ल्याउन सक्दछ । मानव इतिहासको प्रारम्भकालदेखि नै सुगन्धित तत्वले मनमोहकको काम गरिआएको छ । मानिसको मनस्थितिलाई तेजना वा उत्तेजना, सौम्य वा शान्त स्थितिमा ल्याउन गन्ध र बासना प्रयोग हुने गरेको छ । गुम्बा, चैत्य, मठमन्दिरमा बल्ने धूपहरूमा हिमाली धूपी र दामपातेका पात, श्रीखण्ड, सालधूप र गोकुल धूपको सुवासले चित्तलाई शुद्ध पारी आराधनातर्फडोर्याउन र मनलाई स्थिर राख्न सहयोग गर्दछ । मर्दापर्दा, कर्मकाण्ड र होम आदिका बेला धूपीका पात, जटामसीका जरा, सल्ला र देवदारका दाउरा बालेर वातावरणलाई शुद्ध र कीटाणुबाट मुक्त गराउने हाम्रो परम्परा अझै कायम छ । यसैगरी भूत, प्रेत, बोक्सी र अन्य विकार हटाउन हाम्रा वैद्य, धामी, फेदाङ्मा, बिजुवाहरू अनेकौँ जडिबुटीका धूवाँ प्रयोग गर्छन् । विश्वमा जडिबुटीको सुगन्धमा आधारित "एरोमाथेरापी" अर्थात् सुगन्धबाट रोग शमन गर्ने विधिको पनि विकास हुँदैछ । मालिसका विभिन्न तेलहरू "एरोमाथेरापी" का मूल तत्वहरू हुन् । यिनलाई आफ्नै ठाउँमा छाडेर, पुष्प सुवासतिर लाग्दा पनि अपार भण्डार भेटिन्छ, नेपालमा ।


घोडेपानी जङ्गलमा फुलेको हिमालयन् जायन्ट लिलि ।

फूल भनेपछि वासनाको सर्न्दर्भ आइहाल्छ । हुन त बतासमार्फ् पराग सेचन हुने बिरुवाहरू, जस्तै- धान, मकै, कोदो तथा सल्ला, धूपी र देवदारका फूलमा बासना आउँदैन । कीटपतङ्ग, चराचुरुङ्गी र अन्य जीवमार्फ् पराग सेचन हुने फूलहरू बासनादार हुन्छन् । त्यसमा पनि राति फुल्ने वा सेतो रङ्गमा फक्रने फूलहरूमा बढी बासना हुन्छ । नेपालका लगभग ५००० भन्दा बढी बोटबिरुवामा फूल फुल्दछन् र तीमध्ये लगभग ५० बिरुवाका फूलहरू सुगन्धका निम्ति प्रख्यात छन् । बगैँचामा फुल्ने इन्द्रकमल र रूखकमल, जाई, जर्ुइ, बेली र चमेलीलगायत सुगन्ध राज -रजनीगन्धा), गुलाब र गुनकेशरीहरूमा मगमगाउने सुवास, रात-साँझमा उग्र बासनाले लोभ्याउने हसना अर्थात् रातकी रानी भनिने फूल र सेतो धतुराको फूल पनि नेपालका रैथाने वनस्पति होइनन् । आजभोलि विष्णुमतीका छेउछाउ र काठमाडौँ उपत्यकाका खुल्ला ओसिला ठाउँमा सेतो धतुरो लटरम्म फुलेको देख्दछौँ । एक वित्ताभन्दा लामो सेतो विगुल आकारका धतुराका फूलहरू मुन्टो निहुराएर फुल्छन् तर यसका पात अति विषालु हुन्छन् । यतिबेला फुल्ने अन्य सुवासिलो फूलमा चोया र करवीरका फूलहरू पनि बिर्सन मिल्दैन । ती पनि रैथाने वनस्पति होइनन् । आयातित अतिथि फूलहरू हुन् । वनस्पति जीवनको स्मृतिपटल कोट्याउँदा नेपाली कागज बन्ने लोक्ताको फूल र सोही परिवार भित्रको अर्गेलीको फूल तथा स्टिलेरिया ९क्तभििबचष्ब० भनिने बिरुवाका फूल अग्रपङ्क्तिमा आउँदछन् । डोल्पा, मुस्ताङ, उत्तरी गोर्खा जस्ता सुख्खा भूभागमा विशेषतः खेती नगरी वर्षौँ छोडिएका समथर भागमा स्थानीय 'रेकेमुक्ता' भनिने स्टिलेरियाको बिरुवा हावामा झुल्दा मयुर नाँचे जस्तो देखिन्छ । वास्तवमा यो बिरुवालाई आँखाले भन्दा पहिले नाकले ठम्याउँदछ । यस्तै मीठो, मनपर्ने वासना भएको सेतो फूल 'सिलिङ्गी' बिरुवामा फुल्दछ । यसका २/४ बोट पशुपति-गुहृयेश्वरी वनमा पनि पाइन्छन् । वन-फूलहरूमा सबै प्रकारका चाँप सुवासिला हुन्छन् । सेतो फूल फुल्ने हिमाली चिमालहरू पनि सुगन्धित हुन्छन् । हाम्रा वनमा पाइने जङ्गली जाई र जुही पनि ज्यादै महकिलो हुन्छ । चिनियाँ चमेली "ज्यास्मिनियम अफिसिनाल" हाम्रो पनि रैथाने बिरुवा हो । यो पाकिस्तानको राष्ट्रिय फूल नै हो । चिनियाँ चियामा विशेष सुवास थप्न चमेलीको यस्तै फूल चियापत्तिमा मिसाउने चलन छ । नजिकै गएर सुँघ्दा असुरोको फूल पनि निकै वास आउँदछ । नेपाली फूलहरूमा केवराका फूलले प्रदान गर्ने मन्द माधर्ुयलाई विशिष्ट कोटिमा राख्न सकिन्छ । यसैगरी कस्तुरीको सुवास र्छर्ने सेतो गुलाब -मस्क रोज) र मगमगाउने लामा लामा सेता फूल फुल्ने हिमाली जायन्ट लिलि ९ज्imबबिथबल नष्बलत ष्ििथ० नेपाली सुगन्धको वैभवमा उत्कृष्ट नमूना हुन् ।
फूलको सुवास र गन्ध चेतनालाई के कवि, के साहित्यकार, के वैज्ञानिक र के प्राविधिक कसैले पनि आफ्नो पकडमा ल्याउन सकेका छैनन् । तिनको यथोचित वर्ण्र्ाापनि भइसकेको छैन । त्यसैले अहिलेलाई चित्त बुझाऔँ "मग मग चल्यो बासना..." गीत गुन्गुनाएर !