हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | टिप्पणी

जस्तो राजनीति त्यस्तै बजेट

बजेटको निर्माण प्रक्रिया लगभग पूरै नै राजनीतिक हुन्छ । कुनै पनि सभ्य देशमा सरकारले बनाएको बजेट संसदबाट पारित भएपछि मात्र कार्यान्वयन योग्य हुन्छ । देशको अर्थनीति भनेको देशको राजनीतिको छायाँ हो । राजनीति जस्तो हुन्छ आर्थिक नीति पनि त्यस्तै हुन्छ ।


किरण पाण्डे

इन्टरनेटको 'गुगल' खोजमा अर्थशास्त्र एवं अर्थशास्त्रीका बारेमा भेटिने ख्यालठट्टा -जोक) पढ्दा पहिले पहिले उदेक लाग्थ्यो । तर नेपालका हालका अर्थमन्त्रीको बजेट पढ्ने पारा, त्यसमा उल्लेख गरिएका सिद्धान्त र बजेटका सम्बन्धमा व्यक्त टिप्पणीहरू सुन्दा र पढ्दा भने 'गुगल' खोजमा राखिएका 'जोक'हरू स्वाभाविक लाग्न थाले । गुगलबाट प्राप्त केही जोक यस्ता छन्:

  • "अर्थशास्त्र एउटा यस्तो विषय हो, जसमा दर्ुइ वटा अर्थशास्त्रीले एकआपसमा बाझने अथवा ठीक विपरीत कुरो गरे भने पनि ती दुवैले अर्थशास्त्रको नोबल पुरस्कार एकै वर्षसंयुक्त रूपमा पाउन सक्तछन् ।"
  • "अर्थशास्त्री भनेको त्यस्तो व्यक्ति हो, जसले सबै वस्तुको मूल्य त थाहा पाउँछ तर कुनैको पनि महत्त्व थाहा पाएको हुँदैन ।"
  • "अर्थशास्त्र रेड वाइन जस्तै हो, तपाईँले सुँघ्नुहुँदैन, पिउनर्ुपर्दछ तर धेरै पियो भने झुम्म पार्दछ ।"
  • "अर्थशास्त्री भनेको एउटा त्यस्तो व्यक्ति हो जसलाई आफूले के बोलेको हो भनेर थाहा हुँदैन तर आफूलाई थाहा नभएको दोष तपाईँमाथि थोपर्न सफल हुन्छ ।"
  • "ईश्वरले अर्थशास्त्रीलाई किन जन्माए - मौसमको भविष्यवाणीलाई अलि राम्रो पार्न ।"

    अर्थमन्त्रीलाई शुद्ध नेपालीमा टाइप गरिएको बजेट पढ्न परेको सकस टिभीमा देखेपछि यस वर्षो बजेटको राजनीतिक पक्ष बुझन कसैले घोत्लिरहनु परेन । नेपाली भाषा नबुझने, अङ्ग्रेजी तगडा हुने व्यक्तिले प्रतिनिधित्व गर्ने भनेको नेपालको अभिजात्य -एरिष्टोक्र्याट) वर्गलाई हो । यिनका धाई मातृ भाषा नेपाली नभएका महिलाहरू बने, यिनले भारतका एकनम्बरी बोर्डिङ स्कूलमा पढे र त्यसपछि बेलायत वा संयुक्त राज्य अमेरिकामा थप अध्ययन गरे । पञ्चायती व्यवस्थामा यस्तो अवसर क-कसलाई उपलब्ध थियो, यहाँ किटान गर्नु जरुरी नहोला । अहिले यस्तै नेपाली पढ्न नसक्नेहरू नै गाउँगाउँ/शहर-शहरबाट चुनिएका जनताका प्रतिनिधि- दल र तिनका नेता एवं कार्यकर्ताहरूलाई गालीगलौज गर्न तल्लीन छन् । जननिर्वाचित दल र नेताहरूमाथि यिनको मुख्य आरोप छः नेताहरूले १२ वर्षा जनतालाई बुझनै सकेनन् । तर प्रश्न सीधा छ- हुम्लाका निवर्तमान जिल्ला विकास समिति सभापति जीवनबहादुर शाहीले हुम्लाका जनताका आकाङ्क्षा र आवश्यकता बारे बढी बुझछन् कि नेपाली बोल्न नजान्ने मधुकर शम्शेर राणाहरूले - तर बिडम्बना, यिनै राणा कर्ण्ााली अञ्चलको विकासका लागि अवधारणा प्रस्तुत गर्दछन् ।
    राजाको प्रत्यक्ष निर्देशन र संलग्नतामा बनाइएको वर्तमान बजेट राजनीतिक हिसाबले जनताको इच्छा र आकाङ्क्षा दर्शाउने खालको नहुनु स्वाभाविक लाग्न सक्छ, तर आर्थिक सिद्धान्त या दर्शनको दृष्टिबाट पनि यसले कुनै सफल र भरपर्दो मार्ग पहिल्याउन नसक्नु चाहिँ दर्ुभाग्यकै कुरा हो । संक्षेपमा भन्दा अहिलेको बजेट सिद्धान्तहीन छ । उदाहरणका लागि, वीरगंज क्षेत्रमा विशेष आर्थिक क्षेत्र -स्पेशल इकोनोमिक जोन) खोल्न सरकारले पहल गर्ने र यस्ता विशेष क्षेत्र वा निर्यात प्रशोधन क्षेत्रमा स्थापित उद्योगलाई कम दरमा आयकर लगाइने भनिएको छ । यो ३०-३५ वर्षपुरानो अवधारणा हो, जुनबेला अर्थतन्त्रमा व्यापक नियन्त्रण रहेको हुन्थ्यो र विदेशी लगानी आकषिर्त गर्न यस्ता क्षेत्रहरू स्थापना गर्ने गरिन्थ्यो । तर ९० को दशकमा अर्थतन्त्रमा व्यापक खुल्लापन आउन थालेपछि यस्ता क्षेत्रको स्थापना औचित्यहीन सावित भइसकेको हो । भारत वा बङ्गलादेशजस्ता नियन्त्रित अर्थतन्त्रमा त्यसपछि पनि यस्ता क्षेत्रहरू स्थापना नभएका होइनन् तर त्यहाँ महत्त्वपर्ूण्ा खालका उद्योग वा लगानी आकषिर्त नै भएनन् । तैपनि, बेकम्मा साबित भएको त्यही बासी विचारलाई यो वर्षो बजेटमा निकै प्राथमिकता दिइयो । यति मात्र होइन आयकर सुविधा दियो भने उद्योगमा लगानी बढ्दछ भन्ने पुरानै सोच दोहोर्याइएको छ । विशुद्ध उद्यम-व्यवसायीले आयकरमा छूट छ भनेर लगानी गर्दैनन्, उद्यम-व्यवसाय गर्दा नाफा हुन्छ कि हुँदैन भनेर हर्ेदछन् । नाफा गरिसकेपछि आयकर तिर्न यस्ता उद्यम-व्यवसायी एकदमै तयार हुन्छन् । आयकर छूट दिएकै भरमा अहिलेका अर्थमन्त्रीले रुकुममा लगानी/उद्योग आकषिर्त गर्न सक्छन् -
    यस किसिमका दिवालिया सोच बजेटमा धेरै ठाउँमा पाइन्छन् । स्थानीय निकायहरू नै छैनन्, विकेन्द्रीकरणलाई सुदृढ गर्ने भनिएको छ । विकेन्द्रीकरणको सिद्धान्त विपरीत "काठमाडौँ उपत्यका शहरी विकास परिषद्" खडा गर्ने भनिएको छ । यो अङ्ग स्थानीय निकायमाथि शासन गर्न जन्माउन खोजिएको हो भनेर बुझन कठिन छैन । भारतको नयाँदिल्ली विकास परिषद् जस्तै यसबाट पनि नक्सापास गराउने, घर भत्काउने, र्सार्वजनिक जग्गा आफन्तलाई बाँडी अदृश्य पैसा कमाउने काम नै गराइने छ ।
    बजेटमा सैद्धान्तिक अन्यौलता मात्र होइन, सामान्य आर्थिक-वित्तीय अवधारणाको समेत अभाव पाइन्छ । चौबीस घण्टा पनि नकुरी 'लिक्विडेसन'मा लानुपर्ने नेपाल औद्योगिक विकास निगम -एनआइडीसी) जस्तो संस्थालाई निजीकरण गर्ने घोषणा गरिएको छ । एनआइडीसीलाई लिक्विडेसनमा लगेर दरबारमार्गस्थित ३२ रोपनी र अन्य शहरी वा औद्योगिक-व्यापारिक ठाउँमा रहेका बहुमूल्य जग्गा, घर आदि टेण्डरबाट बिक्री गर्दा राज्यलाई अरबौँ रुपैयाँ आम्दानी हुनसक्छ । आजको स्थितिमा एनआइडीसीको निजीकरण भनेको यसको अचल सम्पत्तिको नामसारी गर्नु मात्र हो, न कि वित्तीय कारोबार । त्यस्तो सम्पत्ति सरकारले सीधै बेच्न छोडेर निजीकरणको वहानामा कुनै व्यक्ति वा र्फमका नाउँमा नामसारी गरिदिनु भनेको कसैलाई पोस्नु मात्र हुन्छ ।
    बजेटमा "...श्रम सम्बन्धी कानूनमा रहेको व्यवधान हटाउने गरी संशोधन गरिनेछ" भनिएको छ । तर, यो व्यवधान भनेको के हो - र त्यो केका लागि हटाउन खोजिएको स्पष्टता छैन । श्रमिकहरूलाई सजिलै हटाउन पाउने गरी उद्यमी-व्यवसायीलाई सहयोग पुर्याउन संशोधन गर्ने भनिएको हो कि, श्रमिकहरूको हकहितलाई अरू बढी संरक्षण गर्न खोजिएको हो - बजेटमा कार्यान्वयनस्तरको ज्ञानको कमी कति छताछुल्ल भएको छ भने विदेशी लगानीको लागि खुला गरिने क्षेत्र भनिएका उद्योगहरूको सूची हटाउन 'कानूनी व्यवस्था गरिनेछ' भनिएको छ । जबकि यस्तो सूची हटाउन कुनै कानूनको व्यवस्था गरिरहनुपर्दैन । कानूनले नै यो सूची हटाउन मन्त्रिपरिषद्लाई अधिकार दिएको छ । उद्योगहरू किन रुग्ण भए भनेर बजेटमा मीठो सिद्धान्त उल्लेख गरिएको छ । तर यथार्थ के हो भने नेपालका सबै जसो रुग्ण उद्योगहरू ९० को दशकभन्दा अगाडि उपलब्ध गराइएको अत्यधिक संरक्षणका कारण अहिले प्रतिस्पर्धी बन्न नसकेका हुन् । यिनलाई अब थप संरक्षण होइन प्राकृतिक मृत्युवरण गर्न दिनर्ुपर्छ । उदेक त केमा लाग्छ भने, यस्तै बन्द हुनुपर्ने उद्योगलाई ब्यूँताउनका लागि कर दाताले तिरेको पैसाबाट औद्योगिक पुनःस्थापना कोष खडा गर्ने भनिएको छ । नेपाल 'असफल राज्य'मा परिणत हुन लाग्यो भनेर विश्वभरि चिन्ता प्रकट भइरहेको बखत सरकारले नेपाललाई अन्तरराष्ट्रिय वित्तीय केन्द्रको रूपमा विकास गर्ने सपना बाँड्नु पनि एउटा अर्को क्रूर व्यङ्ग्यबाहेक अरू केही हुनसक्दैन ।
    बजेट आफैँमा राजनीतिको आर्थिक पाटो हो । बजेटको निर्माण प्रक्रिया लगभग पूरै नै राजनीतिक हुन्छ । कुनै पनि सभ्य देशमा सरकारले बनाएको बजेट संसदबाट पारित भएपछि मात्र कार्यान्वयन योग्य हुन्छ । देशको अर्थनीति भनेको देशको राजनीतिको छायाँ हो । राजनीति जस्तो रहन्छ आर्थिक नीति पनि त्यस्तै रहन्छ । अहिले बजेट भनेर प्रस्तुत गरिएको दस्तावेज पनि देशको राजनीतिक यथार्थसँग मिल्दोजुल्दो नै छ- प्रतिगामी र बासी विचारधारामा आधारित । यो पक्षमा चाहिँ अर्थमन्त्री इमान्दार देखिएका छन्, उनले जस्तो राजनीति, त्यस्तै बजेट बनाइदिएका छन् ।


  • संरक्षण नपुगेको गुनासो

     

    "द्वन्द्वका बेला उद्योग-व्यवसायको सञ्चालन एवं देशमा आर्थिक क्रियाकलाप जारी राखी रोजगारी सिर्जना गराउन विशेष प्याकेज ल्याउन नसक्ने हो भने सङ्कटमा परेको अर्थतन्त्र अझ बढी सङ्कटग्रस्त हुने र बजेटमा राखिएको ४.५ प्रतिशतको वाषिर्क वृद्धिदर हासिल हुन नसक्ने" ठहर नेपाल उद्योग बाणिज्य महासंघले आ.व. २०६२/६३ को बजेट प्रतिक्रियामा गरेको छ ।


    किरण पाण्डे

    महासंघको नवनिर्वाचित कार्यसमिति

    महासंघले करको दायरा र आयकर छूटको सीमा बढाउने निकासी-गृह एवं विशेष आर्थिक क्षेत्रको स्थापना र 'एक गाउँ एक उत्पादन' कार्यक्रम लागू गर्ने जस्ता बजेटका प्रावधानहरूको स्वागत गरेको छ । तर "दर्ुइ प्रतिशत भन्दा तल खस्किन लागेको नेपालको आर्थिक वृद्धिदरमा सुधार ल्याउन खासगरी द्वन्द्वका बेला छिमेकीभन्दा बढी सुविधा दिएर नेपाललाई कसरी बढी लगानी-आकर्ष देश बनाउन सकिन्छ" भन्ने तर्फसोच नपुगेको भनी बजेटप्रति असन्तुष्टि प्रकट गरिएको छ । त्यसैगरी ट्रेकिङ, पोनी-ट्रेकिङ जस्ता क्षेत्रहरूमा विदेशी लगानी खुला गर्ने नीतिको पनि आलोचना गरिएको छ ।
    समग्रमा, नयाँ बजेटप्रति महासंघ आशावादी कम, आशङ्कति बढी देखिएको छ र प्रतिक्रियामा स्वागत वा विरोधभन्दा सरकारलाई उपदेश/सल्लाह धेरै दिइएको छ । उद्योग-व्यवसायलाई सरकारी संरक्षण न्यून भएकोमा भने पर्याप्त गुनासो पोखिएको छ ।


    पेशेवार व्यवसायी महिलाहरू सम्मानित

    मीन बज्राचार्य

    विजनेश एण्ड प्रोफेशनल विमेन इण्टरन्याशनलको हालै सम्पन्न २५ औँ कंग्रेसले सो संस्थाको नेपालस्थित सदस्य सङ्गठनलाई सम्मानित गरेको छ । काठमाडाँैस्थित विजनेश एण्ड प्रोफेशनल वीमेन नेपाल -वीपीडब्लु-नेपाल)ले दिएको जानकारी अनुसार स्वीट्जरल्याण्डमा सम्पन्न सो कंग्रेसले आयोजना गरेको तेस्रो वीपीडब्लु अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट ठहरिएपछि नेपाली टोलीले सन् २००४ का लागि प्रथम ट्रफी अवार्ड हात पारेको हो । 'वियोण्ड २०००-हेल्पिङ विमेन हेल्प देमसेल्भ्स' भन्ने नाराका साथ सम्पन्न सो प्रतियोगितामा विश्वका सय भन्दा बढी राष्ट्रका सदस्य सङ्गठनहरूको सहभागिता थियो । आफ्ना सदस्य संस्थाहरूको सदस्यता सङ्ख्या, स्रोत परिचालन, गरिबी निवारण, शान्ति, महिला तथा सामाजिक सशक्तीकरण आदि क्षेत्रमा गरिएका क्रियाकलापहरूको बृहत् अनुगमनपछि पुरस्कृत गरिएको सो संस्थाले जनाएको छ । विजनेश एण्ड प्रोफेशनल विमेन क्लबका रूपमा सन् १९७४ मा स्थापित यस संस्थाको हाल कास्की, पर्सर्ाामकवानपुर, मोरङ, पाटन, भक्तपुर, काठमाडाँै र रामेछापमा गरी ८ वटा जिल्ला र युवाहरूको समूह योङ-वीपीडब्लु समेत गरी १० वटा शाखाहरू रहेका छन् ।