हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
कदी

इतिहासमा

 

जङ्गबहादुरको जङ्गी ऐन

शुरुको लेखमा नेपालको पश्चिमतिरका पुराना बाटाहरू पस्केको देख्ता हिमाल को यो नयाँ स्तम्भ सडकचर्चामै सीमित रहने हो कि भन्ने भ्रम परेको होला पढ्नेहरूलाई । तर यसको उद्देश्य त्यो होइन । हो के भने यो ऐतिहासिक होस् र सके अलिकति साहित्यिक पनि होस् भन्ने आशय थियो सम्पादकज्यूको । उहाँले त्यसो भनेपछि मैले यो आँट गरेको हुँ । तर म इतिहासविद् होइन । नेपालको समग्र इतिहासमा पस्न पनि सक्तिनँ । इतिहासको एउटा सानो कालखण्ड, राणाकालको सेरोफेरोमा घुम्नेमै सीमित रहन्छु- पाँच पुस्ता राणादरबारको 'भित्रिया' हुनपुगेकाले त्यस विषयमा केही 'देखिजान्ने' र केही 'सुनिजान्ने' भएको आधारमा । त्यसमा थप, केही पुराना राणाकालीन कागजात मेरा हात परे, श्रीदरबारमा सेवारत रहँदा । ती कागजपत्रहरू मैले मदनपुरस्कार पुस्तकालयमा थन्काएँ अनि तिनबारे सकेको प्रकाशित पनि गरेँ । मेरा 'जङ्गगीता', 'चन्द्रज्योति' र 'मपुपुको पाना' हरू त्यसैका उपज हुन् । यो स्तम्भलाई पनि त्यस्तै बाटोमा अघि बढाउने विचार छ ।

यस स्तम्भबारेको यो स्पष्टीकरण पहिले नै दिनुपर्ने थियो, तर दिइएन । त्यो पाठकहरूमा एउटा कौतुहल वा जिज्ञासा पैदा होस् भनेर नै हो । झवाट्टै बद्रीकेदारधाम जाने प्रकरणबाट आरम्भ भएको त्यो सिलसिला छाडी यसपटक एउटा अर्कै बाटोमा लागौँ ।

भोटयुद्धमा जानुअघि 'फौजले बुझून्' भनी जङ्गबहादुर महाराजले "आफ्नो बुद्धिले तजवीज गरी" संवत् १९११ सालमा एउटा 'ऐन' बनाएछन् र चैत्रसुदी ७ रोज ७ मा त्यसलाई जारी गरेछन् । राणाकालमा, ऐनकानुनहरू बनाउँदा कौसलियाहरूले तयार पार्ने र महाराजाधिराजहरूले जारी गर्ने प्रचलन थियो । तर यो जङ्गी ऐन जङ्गबहादुर आफैँले बनाई जारी गरेको देखिन्छ । अतः यो नामले 'ऐन' भए पनि औपचारिक हिसाबले 'ऐन' होइन कि भन्ने शङ्का लाग्छ । यस्तो शङ्का लाग्नुको एउटा अर्को कारण पनि छ । यस ऐनमा भूमिका जस्तो गरेर शुरुका ४४ दफामा पुराणका कुरा हालिएका छन् । महाभारत, मनुस्मृति, परासर धर्मशास्त्र र स्कन्धपुराणबाट युद्धको औचित्य देखाउने अनेक प्रसङ्ग ल्याइएको छ । ती उद्धृतांशहरूबाट क्षेत्रीय अर्थात् सिपाहीहरूका लागि युद्ध गर्नु धर्मको कार्य हो भन्ने प्रमाणित गर्न खोजिएको छ । भोटसँग लडाइँ हुने भएपछि आफ्ना सिपाही र अफिसरहरूको हौसला बढाउन यस्ता पौराणिक कुराहरू जङ्गबहादुरले ऐनकै रूपमा हाल्न खोजेको देखिन्छ । यसलाई एक प्रकारले जङ्गबहादुरको आफ्नै प्रकारको बुद्धिमत्ता या चलाखी भन्नर्ुपर्छ । महाभारतमा "भीष्मपितामहले युधिष्ठिर महाराजालाई सिक्षा गर्‍याको"लाई त्यो जङ्गबहादुरका अफिसर र जवानहरूलाई नै भनेको हो कि जस्तो पारिएको छ- यसरीः "जुद्धमा मर्न्या वीरकन जातभाइले शोक नगर्नू, जुद्धमा मर्न्या वीर र्स्वर्गलोकमा बडो सुभिता पाई रहंछन्. तस् निम्ति उस्को शोक गर्नु योग्य छैन. परन्तु जुद्धदेषी भागिकन आउन्या अधम पुरुष मरिकन कौन लोकमा जानन् भनि शोक गर्नु योग्य हुन्छ. ३५ ।"

यस्तै प्रकारका जम्मा ४४ दफा प्रस्तावनाका रूपमा यस 'ऐन' मा हालेका छन् जङ्गबहादुरले । ती दफाहरू हाम्रा लागि महत्त्वका छैनन् तर त्यस विषयले 'ऐन' मा यस्तो महत्त्वपर्ूण्ा स्थान ओगटेको चाहिँ निकै चाख उब्जाउने कुरा हो ।

युद्ध र लडाइँको प्रसङ्गमा त्यही पुराणको हवाला दिँदै "... जुद्धमा शरीर त्याग गर्नाले चतर्ुवाहु भगवान्का स्वरुप पाई विमानमा चढी इन्द्रादिदेवताले स्तुति गरियाको र्स्वर्गलोकमा जाँदो भयो." भनी ४४औँ दफा टुङ्ग्याएपछि जङ्गबहादुरको ऐन लडाइँका काममा जुटिहाल्छ । र, तेरिज कस्छ यस्तो लेखेरः "बाटामा फौज लस्कर षजाना रसद हिँडाउँदाको बन्देज" । यस प्रकरणमा २४ दफा छन् । ती सबै दफाको छुट्टै ऐतिहासिक महत्त्व त होला नै तर फौजी कारबाही र लडाइँका कुराहरूको कति गहिरो ज्ञान महाराज जङ्गबहादुरलाई रहेछ भन्ने बुझदा छक्क पर्नुपर्छ  । जस्तो पहिलै दफाले भन्छ?

"पैल्हे फौज हिडाउँदा २/२ हजारको १/१ दिनको फरक गरी हिडाउनु -१) ।" अनि भन्छ-
"फौजभन्दा २ पाउअघि विकट् घोडा चड्न्या हिडाउनु" -२) । अझ भन्छ-
"फौजभन्दा १ पाउअघि १ अफिसर ५० सिपाही दोस्रा विकट गरी हिडाउनु" -३) ।

सबै उल्लेख साध्य छैन, तापनि लडाइँको र्सतर्कतामा कति मीनमेख गरिँदो रहेछ भनी हर्ेन ९औँ दफा चाखलाग्दो होला । लेखिएको छः "फौजले यस ठाउँमा येति वैरि रहृयाछन्. भन्या समाचार सुन्यापछि येति जवान्ले त्यो वैरी हटाउनु सकिएला भंन्या अफिसरले तजवीज गरी तोप बन्दुक फौज पठाइ अफिसरका उर्दि बमोजिम् फैर गरी वैरि हटाइ अब भय छैन भंन्या तजवीज गरी फौज चलाउनु."

यो 'ऐन' भोट -तिब्बत) युद्धका लागि नै तर्जुमा भएको हो भन्नलाई यसभित्रै प्रमाण भेटिन्छन् । जस्तो बाह्रौँ दफामा "लंगुर पार पुग्या पछि" भन्ने उल्लेख भएको छ । त्यो लंगुर भनेको महालंगुर हो, हिमालको भोटपट्टकिो शृङ्खला । जङ्गी ऐन भए पनि यसमा लडाइँका कुरा मात्र छैनन्, न्याय-निशाफलाई पनि स्थान दिइएको देखिन्छ । युद्धको बेलामा पनि मानवअधिकार हनन् हुनुहुँदैन भन्ने जस्ता अहिलेका कुरालाई त्यस ऐनको ११औँ दफामा यसरी प्रस्तुत गरिएको छ- "बाटामा लस्कर हिँड्दा कसैको धनदौलत अनाज तर्कारिभाजि कसैले लुट्यो भन्या लुट्न्याबाट लुटियाका मालको दोवर विगो भर्राई ५ वेद -वेतको लट्ठी) हान्नु. कसैको स्वास्नी फौजले विगार्‍यो भन्या. तेसलाई १० रुपैयाँ नगद जरिवाना गरी ३० वेद हान्नु."

रोचक छ यो ऐन । यसका दफाहरूमा ठाउँठाउँमा निकै घतलाग्ने प्रसङ्ग फेला पर्छन् । मौका मिले तिनमा पछि पनि चर्चा गरुँला ।