हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | असुरक्षित गर्भपतन
करोडौँको कारोबार, हजारौँको मृत्यु

गर्भपतनका वैध र सुरक्षित बाटाहरू खुले पनि असुरक्षित र अवैध गर्भपतनको धन्दा घटेको छैन । नेपालमा बर्सर् ७० हजारभन्दा बढी यस्ता गर्भपतन हुने गरेको अनुमान छ । प्रति गर्भपात औसत रु.१० हजारका दरले बर्सर् रु.७० करोडसम्मको कारोबार हुने धन्दामा मूलतः स्वास्थ्यकर्मीहरू नै संलग्न पाइन्छन् ।

रामराज पोख्रेल, बुटवल


चित्र संयोजन सुरेशराज न्यौपाने

रोल्पा, मिझङिकी १७ वषर्ीया कल्पना र्घर्ती र तुलबहादुर र्घर्तीले ०६१ जेठमा आफूखुशी बिहे गरे । केही महिनामै कल्पना गर्भवती भइन् । तर र्घर्ती दम्पतीले तत्काल बच्चा जन्माउन बिहे गरेका थिएनन् । उनीहरू गर्भबाट मुक्ति लिन बुटवल पुगे । लुम्बिनी अञ्चल अस्पताल सामुन्ने बसेर वर्षौँदेखि गर्भपतन गराउने 'व्यवसाय' गर्दै आएकी रामकुमारी गुरुङले रु.१० हजार शुल्क लिएर ०६१ को भदौमा कल्पनालाई हलुङ्गो बनाइदिइन् । तर, कल्पना र उनका युवा पति तुलबहादुरको पीडादायी जीवनयात्रा यहीँबाट शुरु भयो ।

लुम्बिनी अस्पतालको अनमी जागिर छोडेर, गर्भपतन गराउने व्यवसायमा लागेकी रामकुमारीले कल्पनाको पेटबाट भू्रण त निकालिन्, तर त्यसका कारण भएको रक्तस्राव रोक्न सकिनन् । तुलबहादुरले कल्पनालाई लुम्बिनी अञ्चल अस्पताल हुँदै त्रिवि शिक्षण अस्पतालसम्म पुर्‍याएर बचाए । तर यसबीचमा उनले धेरै गुमाए- कल्पना फेरि गर्भवती हुन नसक्ने भइन्, उनको पाठेघर नै फ्याँकिएको थियो, उता उपचार गर्दा लागेको रु.१ लाख खर्च तिर्दा घरखेत सबै बिक्यो । त्यसअघिसम्म ट्रक चलाएर गुजारा गर्दै आएका तुलाराम धेरै पैसा कमाउन भारततिर पसे । कल्पना एक्ली कि एक्ली भएकी छन् । शिक्षण अस्पतालका डाक्टरका अनुसार कल्पनाको गर्भबाट भ्रुण झक्िदा रामकुमारीले आन्द्रा र पाठेघरमा घाउ मात्र लगाइनछन्, भ्रूणका टुक्रासमेत पाठेघरमा छोडेकी रहिछन् । त्यही कारण उनको पाठेघर सदाका लागि काम नलाग्ने भएको थियो ।

अपाङ्गसरह भएर पनि कल्पना र्घर्ती त तै बचिन्; तर रुपन्देही, मानपकडीकी कुविजा शर्माको ज्यानै गयो । ३२ वर्षो उमेरमा चौथो पटक बसेको गर्भ फाल्न उनी पनि रामकुमारीकहाँ नै पुगेकी थिइन् । गर्भ फालेपछि उही कथा दोहोरियोः कुविजाको रगत रोकिएन र उनलाई लुम्बिनी अञ्चल अस्पताल भर्ना गरियो । तर, रगत थामिएन । उनको त्यहीँ मृत्यु भयो । लोग्ने आत्मराम अहिले अर्की स्वास्नी भित्र्याएर भारततिर लागेका छन् । कुविजाका तीन लालावाला टुहुरा भएका छन् ।

यसअघि रामकुमारीले नै गर्भ फालिदिँदा रुपन्देही, देवदहकी जसमाया गुरुङ्गको पनि मृत्यु भएको थियो । जसमायाका श्रीमान् टेकबहादुर भन्छन्, "दर्ुइ हजार रुपैयाँ तिरेर चैत २ गते बिहान गर्भ फालेर घर आयौँ । दिउँसो दर्ुइ बजेदेखि रगत बग्न थाल्यो । राति १२ बजे लुम्बिनी अस्पतालमा लगियो । तर रगत बग्न रोकिएन । उपचार गर्दागर्दै चैत ५ गते बिहान मरिहाल्यो । मैले कस्तो ज्यानामारा ठाउँमा उपचार गर्न लगेको रहेछु ।" चार छोरा र एक छोरीकी आमा जसमायाका बालबच्चा सानै छन्  । टेकबहादुर आफ्नो दुःख सुनाउँदै भन्छन्, "दिनभर निमेक खोज्न जानर्ुपर्छ । घरको हालत बताइसाध्य छैन । कान्छो छोरा सुनिल आमा खोज्दै रुन्छ । मलाई ठूलो पिरलो भएको छ ।" टेकबहादुरलाई परिवार नियोजनको अस्थायी साधन हुन्छ भन्ने थाहा थियो, तर प्रयोग गर्न रुचाउँदैनथे । नचाहेको गर्भ बस्यो । त्यसलाई तह लगाउन खोज्दा जसमायाको मृत्यु भयो  । गुरुङ अरूलाई सल्लाह दिँदै भन्छन्, "मेरो जस्तो गल्ती कसैले नगरोस् । मलाई परेको दुःख अरूले भोग्नु नपरोस् । नचाहेको गर्भ रहनै नदिनू ।"


रामकुमारी गुरुङ

झण्डै एक वर्षघि जसमायाका पति टेकबहादुरले प्रहरीलाई दिएको उजुरीमाथि कारबाही भएको भए सम्भवतः कुविजा र कल्पनाले रामकुमारीको धन्दाबाट ज्यान गुमाउनु र बाँझो हुनुपर्ने थिएन । कल्पनाका श्रीमानले उजुरी गरेपछि, २०६२ भदौमा मात्रै प्रहरीले यसतर्फचासो देखायो । रामकुमारीलाई पक्रिन प्रहरी गएको बेला पनि उनी मोहनतारा पछाइसँग मिलेर कपिलवस्तुकी विमला केसीको गर्भ फाल्दै थिइन् । प्रहरीले रङ्गेहात पक्राउ गरेर उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । १६ असोजमा तारेखमा छुटेका उनीहरू आफूले अवैध काम गरेको अझै पनि स्वीकार्दैनन् । मोहनतारा भन्छिन्, "तीजमा रामकुमारीकहाँ आएको बेला प्रहरीले पक्रेर मेरो मानवअधिकार हनन् गर्‍यो  ।" रामकुमारीलाई पनि कुनै पछुतो छैन । उल्टै भन्छिन्, "नर्सिङ पेशामा लामो अनुभव भएकाले यो काम गर्दै आएकी हुँ, तर अहिले शत्रु लागेर यस्तो भयो ।"

नयाँ कानूनी व्यवस्था लागू भएपछि गर्भपतन गराउने एउटा प्रमुख केन्द्रको रूपमा विकसित हुँदैछ बुटवल । लुम्बिनी अञ्चल अस्पतालसँगै भीम अस्पताल, भैरहवा, परिवार नियोजन संघ, रुपन्देही र सिर्द्धार्थ बाल तथा महिला अस्पताल, बुटबल यो जिल्लामा गर्भपतन गराउने आधिकारिक मान्यता पाएका संस्था हुन् । तर, यीबाहेक गर्भपतन गराउने पसल थापेर बसेका व्यक्ति, संस्था र तिनलाई सघाउने तथा ग्राहक ओसारिदिनेहरूको ठूलो जालो छ । पोहोर साल मात्र यसरी गर्भपात गराउन बुटवल आएका १३ सय महिलामध्ये ५५६ जनामाथि विभिन्न स्वास्थ्य समस्या आएको थियो । कल्पना, कुविजा र जसमाया त्यस्तै समस्याका उदाहरण हुन् ।

अज्ञानताको मूल्य

आज नेपालमा गर्भपतन-पहिले जस्तो अवैध छैन, सुरक्षित रूपमा सरकारी अस्पतालहरूमै गर्भपतन गराउने सुविधा उपलब्ध छ । २०५८ सालमा संसदले यससम्बन्धी कानून बनाइदिएपछि स्वास्थ्य मन्त्रालयले अधिराज्यभर दर्जनौँ अस्पताल र स्वास्थ्य संस्थाहरूलाई गर्भपतनको सेवा उपलब्ध गराउन अनुमति प्रदान गरेको छ । तर, यो कुरा बहुसङ्ख्यक ग्रामीण महिला तथा पुरुषहरूलाई थाहा छैन । अवैध र असुरक्षित गर्भपतन गर्राई राम्रो आम्दानी गर्न पल्किएका स्वास्थ्यकर्मीहरूले पनि अप्ठ्यारोमा परेकाहरूलाई यस्तो जानकारी दिने गर्दैनन् । सुरक्षित गर्भपतनको सुविधा र असुरक्षित/अवैध गर्भपतनका जोखिम बारे जनचेतना सिर्जना गर्न पनि सरकारले केही गरेको छैन ।

नेपालमा असुरक्षित गर्भपतनको कारण हुने मातृमृत्युको समस्या निकै ठूलो र पुरानो छ । गर्भपतन गराउँदा उब्जने समस्याकै कारण प्रति वर्ष४ हजार महिलाको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संघको हालैको प्रतिवेदनमा नेपाललाई 'असुरक्षित गर्भपतनको समस्या भएको' देशको कोटीमा राखिएको छ । यो वर्गका देशमा गर्भपतन गराउने आधा महिलाहरूले कल्पना र कुविजाको जस्तै नियति भोग्नर्ुपर्छ । सुरक्षित गर्भपतन गराउन सक्ने संस्था र चिकित्सकहरूको व्यवस्था गर्नेतर्फराज्यले ध्यान नदिएका कारण समस्या बढेर गएको देखिन्छ ।


गिरफ्तार गरिँदै अनमि मोहनतारा पछाइ ।

स्थिति कहाँसम्म पुगेको छ भने पशुस्वास्थ्य सहायकले समेत गर्भपतन गराउन थालेका छन् । गाउँको एक दलालको सल्लाहमा पशुस्वास्थ्य सहायक लखन यादवको फेला परेकी प्युठानकी चन्द्रा खनालसँग रु.२ हजार लिएर यादवले उनको गर्भ फालिदिए । घाउ पाक्ने समस्या रोक्न यादवले पशुलाई झैँ गरी टिन्चर आयोडिनले भिजाएको कपडा पोको पारेर चन्द्राको पाठेघरमा कोचिदिए । गर्भ फालेको हप्ता दिनमा तल्लो पेट दुखेर सहनै नसक्ने भएपछि चन्द्रा घरमै अचेत भइन् । छिमेकीले लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिदिए । उपचारको क्रममा डाक्टरले उनको पाठेघर झकिेर फ्याँकिदिए । सो अस्पतालका डा. कृष्ण खनालका अनुसार चन्द्राको पाठेघर कुहिइसकेको थियो । पशुस्वास्थ्य सहायक भएपनि पशुको उपचार नगर्ने लखन यादवले अर्घर्ााँची, हंसपुरको रतनमारे बजारमा औषधि पसल खोलेर गर्भपतनलाई नै व्यवसाय बनाएका छन् । यादवले एकवर्षघि गर्भ फालिदिँदा अर्घर्ााँची, बाँगीका मानबहादुर केसीकी श्रीमतीको मृत्यु भएको थियो । तर प्रायः अवैध गर्भ बोक्नेहरू नै यादवकहाँ पुग्नेहुँदा उनी विरुद्ध कसैको उजुरी परेको छैन । परिणामतः मान्छे मर्दा पनि यादवको आँट उस्तै छ । उनी उल्टै दावी गर्छन्, "मैले त महिलाहरूको भलाइ गरेको छु, धर्म गरिरहेको छु ।"

यसरी अवैध र असुरक्षित तवरले गर्भपतन गराउनेहरूलाई प्रशासन आफैँ सक्रिय भएर कारबाही गर्ने गरेको छैन । रुपन्देहीका प्रजिअ गङ्गादत्त अवस्थी भन्छन्, "कसैले उजुरी दिएकै छैन, हामीले कसरी कारबाही गर्ने - हाम्रो ध्यान शान्तिसुरक्षातर्फबढी हुनेहुँदा पनि त्यसतर्फखासै चासो गएको छैन ।" 'उजुरी नआएसम्म' मूकदर्शक बनेर बस्ने प्रशासनिक नीतिले गर्दा यता आएर औषधि पसलेले समेत बजारमा खुलेआम साइनबोर्ड लगाएर गर्भपतनको व्यापार गरिरहेका छन् ।

रुपन्देही, देवदहका औषधि पसले एवं नवलपरासीकोे पाली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक छविलाल गिरी रु.२ हजार लिएर आफ्नै 'क्लिनिक' मा गर्भपात गराउँछन् । उनले तीन महिनाको गर्भ फाल्दा पाठेघर भित्र भ्रुण र कपडाको टुक्रा छुटाइदिएकाले लगातार ६ महिना पाठेघर दुख्ने र योनीबाट पीप निस्कने समस्याबाट पीडित देवदहकी देवी चार्इंले आखिर नवलपरासी जिल्ला अस्पतालमा गएर पाठेघर नै फाल्नुपर्‍यो  । देवीलाई यो हालतमा पुर्‍याउने छविलालले गर्भपतन गराउन चाहने ग्राहक आकषिर्त गर्न आफ्नो औषधि पसलमा बर्दिया जिल्ला अस्पतालका चिकित्सक डा. यमबहादुर बस्नेतको नामकोे ठूलो साइनबोर्ड पनि राखेका छन् ।


रामकुमारी गुरुङको घर ।

लुम्बिनी अञ्चल अस्पतालभन्दा ८० मिटर परको आफ्नै तीनतले ठूलो घरमा ढुक्कसँग गर्भ फाल्ने व्यवसाय गर्दै आएकी रामकुमारी गुरुङले २०४० सालदेखि यो धन्दा चलाइरहेको थाहा भएको छ । आठ वर्षघि लुम्बिनी अञ्चल अस्पतालको 'अनमी' बाट अवकाश पाएकी गुरुङ त्यसअघि अस्पतालको प्रसूति वार्डमा काम गर्थिन् । उनले अहिले पनि त्यहीँ काम गर्ने अनमी मोहनतारा पछाइलाई सहयोगी बनाएकी छन् । रुपन्देहीको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएकी मोहनतारा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका तत्कालीन निमित्त निर्देशक घनश्याम बरालको आडमा अस्पतालको गर्भवती क्लिनिकमा काज मिलाएर बुटवलमा बसेकी हुन् । अहिले मुद्दा लागेपछि उनको काज फिर्ता भएको छ ।

रामकुमारी गुरुङ, छविलाल गिरी र लखन यादवजस्ता साधारण स्वास्थ्यकर्मी र पशुस्वास्थ्यकर्मी मात्र हैनन्, बुटवलमा कार्यरत कतिपय गैरसरकारी संस्था समेत अनधिकृत रूपमा गर्भ फाल्ने काममा लागेका छन् । शङ्करनगरकी २८ वषर्ीया भगवती खनालले गत मङ्सिरमा बुटवलको मेरीस्टोप्स सेन्टरमा गएर गर्भ फालेकी थिइन् । त्यसको भोलिपल्टैदेखि रगत बग्न थालेपछि लुम्बिनी अञ्चल अस्पतालले पाठेघर झकिेर फालिदियो । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. श्रीधर आचार्य भन्छन्, "भगवतीको पाठेघरमा पीप जमेको र बच्चाको सालनालका टुक्राहरू छरपष्ट थियो । कुहिइसकेको पाठेघर नफालेको भए उनको ज्यानै जानेथियो ।"

२०६० सालदेखि गर्भपतन गराइरहेको बुटवल मेरीस्टोप्स सेन्टरले ३ असोज २०६२ मा मात्र यो काम गर्ने अनुमति पाएको हो । २०६२ भदौको पहिलोसाता यो संवाददाता बुटवलको मेरीस्टोप्स सेन्टर जाँदा एक महिला कर्मचारीले त्यहाँ तीन महिनासम्मको गर्भ फालिने र समस्या आएमा उपचार पनि गरिदिने बताएकी थिइन् । डा. हिमालय देवानले टेलिफोनमा पनि यही कुरा बताएका थिए । सेन्टरले प्रायः गरेर सरकारले अरू सेवा दिन प्रशिक्षित ग्रामीण स्वास्थ्य स्वयंसेविकालाई ग्राहक खोज्ने एजेन्ट राख्ने गरेको र प्रति व्यक्ति रु.५० कमिसन दिने गरेको छ । रुपन्देही, पर्र्रोहाकी महिला स्वास्थ्य स्वयंसेविका अम्बिका पन्तले १२ जना ल्याइदिएबापत गएको असारमा सेन्टरबाट रु.६०० कमिशन पाएकी थिइन् । उनको गुनासो थियो, "कमिसन साह्रै थोरै भयो । अब यो काम गर्दिनँ ।"

सरकारले गर्भपतन गराउन पाउने मान्यता दिएको संस्थाकै आडमा पनि जोसुकैले यो काम गर्न पाउँदैनन्, नेपाल मेडिकल काउन्सिलबाट मान्यता पाएका र गर्भपतन सम्बन्धी विशेष तालिम लिएका चिकित्सकलाई मात्र यस्तो अधिकार छ । मान्यता नपाएका व्यक्तिले गर्भपात गराएमा बढीमा पाँच वर्षम्मको कैदसजाय हुन्छ भने गर्भवतीको मृत्यु भएमा ज्यान मुद्दा नै लाग्छ । तर प्रशासनले यस्ता कानूनी व्यवस्था कार्यान्वयन गराउनेतर्फकुनै चासो देखाएको छैन । त्यसैले त गर्भपतन गराउने अनुमति नै नपाउने स्वास्थ्य सहायक छविलाल गिरी ढुक्कसँग भन्छन्, "मैले तीन महिनासम्मको गर्भ फाल्ने गरेको छु । १२ हप्ताको माल थोरै हुन्छ, त्यसैले सजिलै फालिन्छ  । काम गर्दा बिग्रियो भने धेरै डाक्टर सर्म्पर्कमा छन्, तुरुन्त उपचार गर्न पठाउँछु ।"

नेपाली महिलाहरू गर्भपतन गराउन जाने ठाउँको लहरो सीमावर्ती भारतीय बजार नौतनवासम्म पनि तन्किएको छ ।रुपन्देही, करहियाकी सावित्री शर्माले हालै मात्र नौतनवाका डा. मार्कण्डेय मिश्रकहाँ गएर गर्भ फालिन्  । तर डा. मिश्रले पाठेघर सफा नगरिदिएकाले पाँच दिनसम्म रगत बगिरहृयो र सिर्द्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा आई उपचार गराउनु पर्‍यो  । डा. मिश्र नेपालबाट आफूकहाँ हरेक महिना २०-२५ जना महिला गर्भ फाल्न आउने गरेको जानकारी दिन्छन् । नौतनवाकै अर्का डाक्टर अरविन्द मल्लिक त नेपालबाट महिलाहरू नआए आफ्नो व्यापार नै चौपट हुने बताउँछन् । उनीहरू दुवै नेपालमा एजेन्ट राखेर काम गरिरहेका छन् ।

कानून र नैतिकता मिचेर गर्भपतनको व्यापार गर्नेहरू रातारात धनी भइरहेका छन्, तर कल्पनाले आफ्नो मातृत्व र उनको परिवारले सम्पत्ति गुमाएका छन् । कुविजाका लालाबाला विचल्लीमा परेका छन् । यी कुराको क्षतिपर्ूर्ति त अब हुन सक्दैन । तैपनि कल्पना भन्छिन्- "म बाँचेर पनि मरेतुल्य भएकी छु, तर अरूले यस्तो भोग्नु नपरोस् । सरकारले अपराधीहरूलाई कारबाही गरोस् ।"

आमा बन्ने सपना पूरा हुन नपाए पनि कल्पनाको यो सपना पूरा भैदिए अरू धेरै गर्भवती महिलाहरूले अपाङ्ग हुनु, बाँझो बन्नु र अकालमा ज्यान गुमाउनुपर्ने थिएन ।


गर्भपतनः कानूनी मान्यता, अवैध धन्दा

संसारमा हरेक दिन हुने असुरक्षित गर्भपतनका ५५ हजार घटनामध्ये ९५ प्रतिशत विकासोन्मुख मुलुकमा हुन्छन् । नेपालमा बर्सर्ेे ७० हजार महिलाले अवैध र असुरक्षित ढङ्गबाट गर्भपतन गराउने गरेको अनुमान छ । युनिसेफको आँकडा अनुसार, नेपालको मातृ मृत्युदर प्रति लाखमा ५४० छ । जसमध्ये आधाको मृत्यु असुरक्षित गर्भपतनबाट हुने गरेको छ । अर्थात् नेपालको मातृ मृत्युदर उच्च हुनुमा बच्चा जन्माउन हैन, नजन्माउन खोज्दा उत्पन्न जटिलता बढी जिम्मेवार देखिन्छ । अस्पताल वा स्वास्थ्य केन्द्रहरूमा नआई मर्नेहरूको त गणना नै छैन ।

कानूनअनुसार, गर्भवती महिलाले १२ हप्तासम्मको सामान्य र १८ हप्तासम्मको बलात्कार एवं हाडनाता सम्बन्धबाट रहेको गर्भ आफ्नै इच्छाबाट पतन गराउन सक्दछन् । आमाको जीवन र शारीरिक एवं मानसिक स्वास्थ्य जोखिममा पार्ने तथा असामान्य बच्चा जन्मिने अवस्थाको गर्भ छ भने चिकित्सकको सिफारिसमा जुनसुकै बेला पनि फाल्न सकिन्छ । गर्भपात गराउने निर्ण्र्ाागर्न १६ वर्षन्दामाथिका महिलाहरूलाई लोग्ने वा अभिभावकको स्वीकृतिसम्म चाहिँदैन  । १६ वर्षन्दा तलका महिलाहरूको लागि परिवारका वयस्क सदस्य वा मित्र जोसुकै पनि 'अभिभावक' बनिदिन सक्दछन् । तर गर्भपतनले कानूनी मान्यता पाएको कुरा नै नेपालका ४२ प्रतिशत शहरबासीलाई मात्र थाहा छ भने ३० प्रतिशत यो अझै 'अवैध छ' भन्दैछन् । २८ प्रतिशतलाई यससम्बन्धी कुनै मेसो नै छैन । महिला स्वास्थ्य क्षेत्रमा कार्यरत परामर्शदातृ संस्था 'कृपा' ले, एक वर्षघि डिसेम्बर-२००४ मा काठमाडौँ, भक्तपुर, भरतपुर, पोखरा, विराटनगर, धरान, वीरगञ्ज, जनकपुर, भैरहवा र इलाम बजारका २६६५ मानिसहरूमा गरेको र्सर्भेक्षणले देखाएको नतिजा हो यो । गर्भपातको कानूनी हैसियत र आधिकारिक सेवाका सम्बन्धमा गरिएको उक्त अध्ययनअनुसार, काठमाडौँका ७२ प्रतिशतलाई नलिने हो भने आधाभन्दा बढीलाई सरकारी अस्पतालमै गर्भपात सेवा उपलब्ध भएको थाहा छैन ।

नेपालमा कानूनीभन्दा गैरकानूनी तवरमा हुने गर्भपतनका केसहरू १० गुणा बढी छन् । अधिकार पाए पनि व्यवहारमा नेपाली महिलाहरू आफैँ निर्ण्र्ाालिन सक्दैनन् । अनिच्छित गर्भको दोष महिलाले नै व्यहोर्नुपर्छ, चाहे त्यो बलात्कार, हाडनाता वा धेरै बच्चा भएको कारणले किन नहोस्  । धेरैले श्रीमान् र परिवारको सहमति नभई नियोजनका साधन वा उपाय अपनाउन पाउँदैनन् । सुरक्षित र सस्तो गर्भपात सेवामा सहज पहुँच हुँदैन । अनि वेसहारा भएर अवैध र असुरक्षित गर्भपतनको शरण लिन पुग्दछन् । जटिलता उत्पन्न भएपछि पनि लोकलाजको डर वा स्वास्थ्य सुविधामा पहुँचको अभावले गर्दा तुरुन्तै स्वास्थ्य सेवा लिन जान सक्दैनन् । र, जतिबेला जान्छन्- धेरै ढिलो भइसकेको हुन्छ ।

सरकार अनुमोदित गर्भपात सेवा हाल देशका २६ सरकारी अस्पताल र १३ गैरसरकारी क्लिनिकमा उपलब्ध छ । तर करीब एकतिहाई जिल्ला सदरमुकामसम्म पुगेको सरकारी सेवा पनि सबै ठाउँमा सुचारु छैन । दक्ष चिकित्सकहरूको अभाव छ । सामान्य अवस्थामा एउटा गर्भपातको शुल्क सरकारी अस्पतालमा रु.९०० देखि १५ सयसम्म लिइने गरेको छ भने गैरसरकारी क्लिनिकहरूमा रु.१ हजारदेखि ३ हजारसम्ममा गरिन्छ । त्योभन्दा बढी लिने क्लिनिक वा स्वास्थ्य केन्द्रहरू पनि छन् । अवैध ढङ्गले चलाइएका केन्द्रहरूमा त मान्छेका विवशता र हैसियत हेरेर जति पनि लिइदिन्छन् । त्यसमाथि स्वास्थ्य र ज्यानको जोखिम त्यत्तिकै हुन्छ ।

असुरक्षित गर्भपतनबाट तत्काल गर्भ ननिख्रिने, रक्तस्राव हुने, पेटमा चोट लाग्ने, पाठेघर पाक्ने जस्ता समस्या उत्पन्न हुन सक्छन्  । तल्लोपेट दुख्ने, त्यसमा सङ्क्रमण हुने, डिम्बवाहिनी नली बन्द हुने र बाँझोपनाजस्ता दर्ीघकालीन समस्या पनि उत्पन्न हुन सक्दछन् । अनिच्छित गर्भधारण, अकारण गर्भपात, असामयिक -चाँडो) प्रसव, महिलाको कार्यक्षमता, बच्चाहरूको स्याहारसुसार र यौनजीवन तथा प्रजननमा नकारात्मक प्रभाव असुरक्षित गर्भपातका अन्य जटिलता हुन् ।

बद्री पौड्याल