| आवरण | नागरिकता
किनबेच
फाइदाको व्यापार !
नेपालको नागरिकताप्रति
बिहारका भारतीयहरूको ठूलो आकर्षा छ । त्यसको मुख्य कारण नेपालको नागरिकतासँगै
पाइने आर्थिक अवसर हो । उनीहरू नेपालमा फाइदैफाइदा देख्छन् ।
•
वीरेन्द्रकुमार साह

सन्तानहीन मावलीको कलैया, बारास्थित धनसम्पत्ति स्याहार्न सुनिलले
मावली हजुरबुबालाई बाबु बनाएर नागरिकता लिए ।
|
विशेषगरी
तर्राईका सीमावर्ती जिल्लामा गैर-नेपालीहरूले नेपाली
नागरिकता लिएका घटना बारम्बार प्रकाशमा आइरहन्छन् । सरकारले कतिपय
मामिलामा छानबिन गरेर दोषीलाई कारबाही पनि गर्दै आएको छ । तर पनि यो
समस्या झन्झन् बढेर गएको छ, घटेको छैन ।
खासगरी भारतको बिहार राज्यसँग सीमा जोडिएका
नेपाली जिल्लाहरूमा नक्कली कागजात तयार गरेर बिहारीहरूले नेपाली नागरिकता
लिने क्रम बढ्दो छ । तर यस्तो किन भइरहेको छ - बिहारीको आँखामा नेपाली
नागरिकताको के महत्त्व छ - नेपाली नागरिकता लिन खोज्ने बिहारीहरूकै
दृष्टिकोण खोतल्दा केही चाखलाग्दा जानकारीहरू सतहमा आएका छन् ।
नेपालसँग सीमा जोडिएका करीब दर्ुइ दर्जन
बिहारी गाउँका बासिन्दाहरूको नजरमा नेपाली नागरिकताको विशेष महत्त्व
छ । बारा जिल्लासँग जोडिएका बिहारी गाउँहरू अमवा, कोरैया, झटिकैया,
जमुनाभार, कटहरिया, बसन्तपुर, लालाछपरा, मटिअर्वा, गम्हरिया, बरैनिया,
हरपुरभकुरिया, विश्रामपुर, नकरदेहीर्,र् इनर्वा, सहदेवामहदेवा, घोडासहन
र नयकाटोला क्षेत्रका भारतीय बासिन्दाहरू नेपाली नागरिकता लिन बारा
जिल्ला प्रशासन कार्यालयमा हरेक दिन जसो धाउँछन् । ती गाउँका बासिन्दाहरूको
नेपाल र भारत दुवै ठाउँमा नातापाता, घरबास, खेतीपाती र जग्गाजमिन छ
। त्यसबाहेक वंशगत सम्बन्ध, भाषा र सांस्कृतिक व्यवहार एकअर्कासँग
छुट्याउनै नसकिने गरी समान छ । सम्पत्ति जोड्दा होस् वा अपुताली पर्दा
एकापट्टकिो सम्पत्ति अर्कापट्टलिे व्यहोर्नु वा सम्हालिदिनुपर्ने हुन्छ
। यही सामाजिक जटिलताले गर्दा सीमावर्ती क्षेत्रका मानिसलाई एक अर्को
देशको नागरिकता आवश्यक हुन्छ । भारतमा नागरिकताको चलन नभएको र राशनकार्ड
आदिबाटै कानूनी खाँचो पूरा हुने हुँदा समस्या त्यति जटिल छैन । तर
नेपालमा नागरिकता नै चाहिने हुँदा त्यसनिम्ति नक्कली कागजात वा नाता-सम्बन्ध
गाँसेर नेपाली नागरिकता लिने गरिन्छ ।
बिहार, पर्ूर्वी चम्पारण जिल्लाको दुहवा
बजार बस्ने सुनिल राय यादवको मावली कलैया नगरपालिका-१० मा हो । उनका
मावली हजुरबुबा लक्षुमन राय यादवका छोरा थिएनन् । त्यसैले सुनिललाई
लक्षुमनरायको अपुताली स्याहार्नु थियो । लक्षुमनको कलैयाको १७ धुर
र इनर्वा सिरा गाविसमा रहेको १६ कट्ठा जमिन हात पार्न सुनिलले नेपाली
नागरिकता बनाउनुपर्ने बाध्यता थियो । सामाजिक व्यवहार अनुसार उनी आफ्ना
मावली हजुरबुबाका सम्पत्तिका हकवाला नै थिए । तर कानुनलेेे सुनिललाई
त्यो हक प्रदान गरेको थिएन । उनी भारतीय नागरिक थिए, सम्पत्ति चाहिँ
नेपालीको थियो । त्यसैले नेपाली नागरिकता सम्बन्धी कानूनको आँखामा
छारो हाल्नुपर्ने उपाय उनीहरूले खोजे । मावली हजुरबा लक्षुमनराय यादवलाई
पिता बनाएर सुनिलले १२ असोज २०६२ मा बारा जिल्ला प्रशासन कार्यालयबाट
वंशजको आधारमा ४९९१/५६३८ नम्बरको नेपाली नागरिकता लिए । सुनिलसँगै
उनका दर्ुइ भाइ सुमेशकुमार र सुजेशकुमारको पनि नेपाली नागरिकता बनाइयो
। तर दर्ुभाग्य, नागरिकताको प्रमाणपत्र लिँदालिँदै सुनिल पक्राउ परे,
भाइहरू चाहिँ फरार भए ।
सुनिल अहिले पर्ुपक्षको क्रममा थुनामा
छन् । उनी भन्छन्- मलाई अन्याय भयो । म बाल्यकालदेखि नै नेपालमै बसिआएको
थिएँ । २०४४ सालको नागरिकता टोलीले मेरो नाम दर्ता गरेको छ । म नेपालमै
पढेको हुँ । नाबालक रजिष्टर, विद्यालय अभिलेख र अदालती बण्डापत्रमा
समेत मेरो नाम दर्ता भइसकेको छ ।
हुनपनि, सुनिल र उनका भाइहरू २० वर्षन्दा
लामो अवधिदेखि नेपालमा बसोबास गरिआएका हुन् । उनीहरूको जन्म दर्ता
पनि नेपालमै भएको छ । शिक्षादीक्षा पनि नेपालमै भएको हो । नेपाली भाषा
पनि बोल्न सक्दछन् । उनीहरू नेपाली नागरिक लक्षुमनरायको सम्पत्तिको
हकवाला पनि हुन् । तर उनीहरू आफू नेपाली नागरिकको वंशज नभएको तथ्य
चाहिँ स्वीकार गर्छन् ।
पक्राउ परेपछि सुनिलले भने- मेरो वास्तविक
बाबुको नाम पारसप्रसाद यादव हो, उनी भारतीय नागरिक हुन् । घर चाहिँ
पर्ूर्वीचम्पारणको दुहवाबजार हो । हजुरबाको छोरा नभएकाले हामीलाई सम्पत्तिको
हकदार बनाउन बाल्यकालदेखि नै नेपालमै राखेर पालनपोषण र शिक्षादीक्षा
दिलाउनुभएको हो । त्यसैले हामीलाई छोरा बनाएर नागरिकता पनि दिलाइदिनुभएको
हो ।
भारत बिहारको पर्ूर्वीचम्पारण घोडासहन
ग्राम लखिमपुरलौखना निवासी अब्दुल वहिद मन्सुरी नेपाली नागरिकता लिनको
लागि बारा जिल्लाको परसौना बोधवनमा रहेको आफ्नो ससुरालीमा घरज्वाईं
बस्न आएका थिए । उनी नेपाली नागरिकता लिएपछि ससुराली नजिकै जमिन किनेर
बसोबास गर्न चाहन्थे । त्यसैले उनले आफ्नो सालो समसाद मियाँ मन्सुरीलाई
सहोदर दाजु बनाएर नेपाली नागरिकता लिए । उनलाई नागरिकता दिलाइदिन परसौना
गाविस सचिव रामप्रसाद भट्टर्राईले सिफारिस गरिदिएका थिए । त्यो सिफारिस
लिइदिने काम महेशपुर गाविसका नागरिकता दलाल मदन कुशवाहाले रु.१० हजार
कमिशन लिएर तारतम्य मिलाई दिएका थिए ।
१३ साउन २०६२ मा अब्दुल वहिद मन्सुरीले
वंशजको आधारमा नागरिकता पाए । तर सिफारिसकर्ता रामप्रसादले नै उजुरी
गरिदिएपछि उनी पक्राउ परे । उजुरीकर्ता रामप्रसाद भन्छन्, "नागरिकता
पाएपछि उसले मलाई पैसा दिन खोज्यो । अनि शङ्का लागेर उजुरी गरिदिएँ
।" अब्दुल वहिद मन्सुरी अहिले तारेख खेप्दैछन् ।
भारत बिहारको जगतपुरमहुवारीसँग नेपालको
बारा जिल्लाको इटियाही गाउँ जोडिएको छ । नेपाल भारत सिमाङ्कन पछि एकव्यक्तिको
जग्गा दुवैतिर पर्न गयो । जग्गाधनीले आफ्नो जग्गा चर्चिने क्रममा दुवैतर्फो
नागरिक हुनुपर्ने अवस्था आयो । जगतपुरमहुवारीका जनकदेव दुबेलाई पनि
यही समस्या पर्यो । अनि उनले आफू र आफ्ना छोराहरू बागिस दुबे, वाशिष्ट
दुबे र सुदिष्ट दुबेले नेपाली नागरिकता लिए । तर उनीहरू भारतीय नागरिक
पनि थिए । त्यही आधारमा उजुरी पर्यो । अहिले पक्राउ परी कैद भोगिरहेका
छन् ।
बारा जिल्लामा किर्ते नागरिकताको समस्या
निकै ठूलो छ । बारा मालपोत कार्यालयका खरिदार विनायक पौडेल भन्छन्,
"भारतीय नागरिक हकवाला भएको जग्गा बारा जिल्लामा मात्रै पाँच
सय बिगाहा भन्दा बढी छ । त्यो जमिन बिक्री गर्न पनि तिनलाई नेपाली
नागरिकता चाहिन्छ ।
पक्राउ परेका जनकदेव दुबेले दुःखेसो गरे-
वि.सं. १९९४ देखि नै नेपालमा बसोबास गरिआएको र तिरो तिरेर जग्गाजमिन
चर्चिँदै आएको हुँ ।
दुबे परिवारले बारा इटियाहीको जग्गा भोगचलन
गर्दै आएका पनि छन् । त्यहाँ उनीहरूको व्यवसाय पनि छ । तर उनीहरूको
बाँकी जग्गा भारत बिहारको सिवान जिल्लाको बसन्तपुर थाना ग्राम जगतपुरमहुवारीमा
पर्दछ । त्यही आधारमा उनीउपर गैरनेपालीले नेपाली नागरिकता लिएको उजुरी
परेको थियो ।
बारा जिल्ला विकास समितिका पर्ूव सभापति
प्रयागराय यादवले भने- नेपालतिर परेको आफ्नो जग्गाजमिनको सुरक्षा गर्नको
लागि पनि बिहारीहरूले नेपाली नागरिकता लिन चाहेका हुन् ।
नेपालमा अवसर
बिहारमा जनसङ्ख्याको चापसँगै गरीबी पनि बढिरहेको छ । आय आर्जन गर्ने
अवसरको कमी छ । भारत पर्ूर्वीचम्पारण अदापुर प्रखण्ड कार्यालयका उद्योग
प्रसार पदाधिकारी ठाकुरप्रसादले दिक्दारी व्यक्त गरे- बिहारमा वर्षौँदेखि
गरीबी उन्मूलन कार्यक्रम चलेको छ, तर गरीबी झन्झन् बढेको छ । यो गरीबीको
सङ्कट छल्न पनि बिहारीहरू नेपाल छिर्न चाहन्छन् । यही कारणले पनि नेपाली
नागरिकताप्रति बिहारीको चाहना बढेको हो ।
बारा जिल्लाको दोश्रो ठूलो बजार, जितपुरमा ७० वटा भन्दा
बढी पसल भारतीयहरूले खोलेका छन् । उनीहरू नेपालमा रहेको आफ्नो सम्पत्तिको
रक्षा गर्न नेपाली नागरिकता चाहन्छन् । वि.सं. २०६० मा जिल्ला विकास
समिति बाराले गरेको एक र्सर्वेक्षण अनुसार बारा जिल्लामा १७ सय जति
बिहारी व्यवसायी छन् ।
अर्कोतिर बारा र पर्सर्ाा विभिन्न ठाउँमा खुलेका उद्योगहरूमा
बिहारी कामदारहरूको सङ्ख्या ४० प्रतिशत भन्दा बढी छ । उनीहरू कम ज्यालामा
काम गरिरहेका हुन्छन् । आफ्नो ज्यालाको अधिकार खोज्न र नोकरी स्थायी
गर्न उनीहरू नेपाली नागरिकता लिन चाहन्छन् ।

तारेख खेप्दैछन् सालो-भिनाजु अब्दुल र समसाद |
नेपालका सीमावर्ती इलाकामा उद्योग-धन्दाहरू बढेकोले
मजदुरीको अवसर पाइने लोभले पनि बिहारीहरू नेपालतर्फआकषिर्त भएका हुनसक्ने
अनुमान बारा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिहर दाहालको
छ ।
बिहारको ढाकाथाना, ग्राम दोस्तिया घर भएका नजीर मियाँ
अन्सारी र गोनाही मोदिया घर भएका गङ्गा मुखिया बिनले कलैयामा सिलाईको
राम्रो व्यवसाय चलाएका थिए । उनीहरू आफ्नो जम्दै गरेको व्यवसाय छोड्न
चाहँदैनथे । त्यो बचाउन नजिर मियाँले ससुरालाई बाबु बनाएर नागरिकता
लिए भने गङ्गा बिनले बेनौली गाविसका कोदई मुखिया बिनलाई बाबु बनाएर
नागरिकता लिन खोजे । तर उजुरी परी भेद खुलेपछि कारबाहीमा परे ।
नेपाली बाबुले चर्को दाइजोको मारबाट बच्न अविवाहित छोरीलाई
नेपाली नागरिकता बनाइदिने गर्छन् । अनि ज्वाईँहरू चाहिँ नेपाली ससुरालाई
परिबन्दमा पारेर नेपाली नागरिकता लिन चाहन्छन् ।
भारतको रक्सौल थाना ग्राम जोकिहारी निवासी राजेन्द्र
महतो नुनियाले बारा जिल्ला उचिडिह गाविसका राजाराम महतो नुनियाकी छोरीसँग
बिहे गरेर दाइजोमा वीरगञ्जको वडा नम्बर १३ को घडेरी जग्गा पाएका थिए
। त्यो जग्गा उनले आफ्नी सालीको नाममा राखेका थिए । सालीको बिहे भएपछि
सो सम्पत्ति खतरामा पर्ने देखेर उनले आफ्नै नाममा जग्गा दर्ता गर्न
नेपाली नागरिकता लिन खोजे । उनले आफ्नै ससुरालाई बाबु बनाएर नागरिकता
त लिए तर पोल खुलेपछि पक्राउ परे । अहिले धरौटीमा तारेख खेप्दैछन्
।
पर्ूर्वीचम्पारणको ग्राम चिरैया निवासी जयप्रकाश सिंह
चनउले नेपाली बनेर विदेश जान सजिलो हुने थाहा पाएपछि बारा जिल्ला हर्दिया
निवासी आफ्ना भिनाजु महेन्द्रलाई बुबा बनाएर राजकिशोर सिंह चनउको नाममा
नेपाली नागरिकता लिन खोजे । तर नागरिकता लिन नपाउँदै पक्राउ परे ।
अहिले साला र भेना तारेखमा छुटेका छन् ।
बिहारीहरू उताको थोरै जग्गा बेचेर यता धेरै जग्गा लिन
पनि नेपाल छिर्न चाहन्छन् । भारत पर्ूर्वीचम्पारण ग्राम गुलरिया घर
भएका दिनानाथ यादव, रक्सौल लक्ष्मीपुरका राजकुमार महतो, सिवान बालुवा
बजारका छोटेलाल साह नेपालमा जग्गा जमिन किनेर व्यापार व्यवसाय गर्ने
हेतुले नेपाल आएका थिए । त्यसो गर्न उनीहरूलाई नेपाली नागरिकता चाहिने
भएकोले फर्जी बाबु बनाई नागरिकता लिन सफल भए । तर अहिले उनीहरूको नागरिकता
जफत भएको छ ।
बिहारीले यत्रो खतरा मोलेर किन नेपाली नागरिकता लिन
खोजेको भन्ने प्रश्न गर्दा आदापुर -बिहार) का औषधि व्यापारी पृथ्वीचन्द
प्रसादले भने- नेपाली नागरिकता भएपछि त्यहाँ व्यापार गर्न सजिलो पर्छ
। उनले प्रस्ट्याए-नेपालको पैसा सस्तो छ । भारतको एकसय रुपैयाँ नेपाल
पुग्दा एकसय साठी हुन्छ । त्यसैले नेपाली उत्पादन सस्तो पर्छ, खर्च
चलाउन सजिलो हुन्छ । जग्गा पनि सस्तो छ । बिहारतिर एक कट्ठा जग्गा
किन्न तीसदेखि पैतीस हजार भारु पर्छ । नेपालमा राम्रै ठाउँमा २५ देखि
३० हजार नेरुमा एक कट्ठा जग्गा पाइन्छ ।
रामगढवा प्रखण्ड भरवलीया -भारत) को जैतापुर माध्यमिक
विद्यालयका प्रधानाध्यापक परमानन्दप्रसाद कानु पनि नेपाली नागरिक बन्न
चाहन्छन् । उनी भन्छन्, "नेपाली नागरिकता लिएर हामीलाई केही नोक्सान
छैन, फाइदैफाइदा छ ।"
दैनिक जागरणका पत्रकार अनिलकुमारले प्रस्ट्याए- नेपालमा
दोहोरो नागरिकता लिए कारबाहीमा परिन्छ, तर भारतमा दोहोरो नागरिकता
लिनुलाई अपराध मानिँदैन त्यसैले पनि नेपाली नागरिकता लिन भारतीयहरू
उत्सुक हुन्छन् ।
बिहारीहरूलाई नेपालको घूस पनि सस्तो लाग्छ । एउटा नागरिकता
सिफारिस गर्नेले सामान्यतः १० हजार रुपैयाँसम्मको घूस माग्दछ, जो भारतीय
रुपैयाँ साढे ६ हजार जति पनि हँुदैन । सनाखत गर्नेहरू नातेदारहरू नै
हुन्छन्, घूस मागी नै हाले भने पनि भारु ३०० -पुगनपुग ने रु.५००) भन्दा
बढी दिनुपर्दैन । नागरिकता टोलीले सनाखत गर्नेहरूको आधारमा नाम दर्ता
गरिदिन्छ । विस्तृत छानबिन गर्दैन । एक डेढ घण्टामै नागरिकता दिने
भन्ने नीतिले घूस दिएर नागरिकता लिन चाहनेलाई सजिलो पारिदिएको छ ।
प्रहरी र गाविस सचिवहरू थोरै पैसामा पनि प्रभावित हुन्छन् ।
सामान्यतः सरुवा भइजाने सचिव, प्रशासकीय अधिकृत र प्रमुख
जिल्ला अधिकारीहरूले पैसाको प्रलोभनमा परेर विवादास्पद नागरिकता वितरण
गर्ने गर्दछन् । तर उनीहरूलाई कुनै कारबाही हँुदैन । यसरी नागरिकता
दिने दिलाउनेहरू कारबाहीमा पर्न नपर्ने हुनाले समस्या ज्यूँका त्यूँ
रहन गएको हो ।
बिहारीलाई नेपाली नागरिकताको आकर्षण
पारिवारिक र सम्पत्तिः नेपालीहरूसँगको
वैवाहिक र वंशगत सम्बन्धका कारण प्राप्त हुने जग्गा आदि सम्पत्तिको
हकवाला बन्न ।
विदेश जान सजिलोः नेपाली नागरिकताबाट पासपोर्ट बनाउन
र विदेश जान सजिलो हुने भएकोले ।
पर्याप्त अवसरः अपठित र कम पूँजी भएका
बिहारीहरूका निम्ति बिहार र भारतमा भन्दा नेपालमा नोकरी, व्यावसायिक
अवसरहरू बढी हुनु ।
नेरु र भारुको विनिमयदरः नेपाल भित्रिने
वित्तिकै भारतीय रुपैयाँ ६०% ले बढ्ने स्थिति हुनु ।
नेपालको सस्तो जग्गाः नेपालका सीमावर्ती
गाउँमा धान फल्ने खेत प्रति कट्ठा नेरु २५/३० हजारमा पाइन्छ भने बिहारमा
भारु ३५/४० हजार पर्छ ।
भारतको उदार नीतिः भारतमा दोहोरो
नागरिकता अपराध नठहरिनु ।
सस्तो घूसः नेपाली नागरिकता वितरण
प्रक्रिया खुकुलो भएकोले व्यापक अनियमितता । रु.१० हजारदेखि रु.१ लाखसम्म
घूस खुवाउँदा सजिलै नागरिकता बन्ने स्थिति ।
|