हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

सम्वाद नगरी सुखै छैन

'सत्ताको सातो जाँदैछ' (आवरण, १-१५ माघ) ले देश देखाएको छ ।

· राजाले नारायणहिटी दरबारभन्दा बढी सैनिक ब्यारेक र विदेशमा रात बिताउनुको अर्थ के हो - कतै राजाले असुरक्षित महसूस गरिरहेका त छैनन् -
· आफूप्रति वफादारलाई न्यायपालिकामा पठाएर राजाले सात दल र माओवादीलाई तह लगाउन नयाँ मोर्चाको आवश्यकता महसूस गरेको देखिन्छ ।
· हिंसा र हत्याको बीच भएपनि निर्वाचन गराइछाड्ने राजाको ढिपीले उनी गलत सल्लाहको दलदलमा फसेको देखाउँछ ।
· दरबारियाहरूले पेवा सम्झिने राप्रपालाई समेत १९ माघपछि राजाले दोश्रो पटक टुक्र्याएको देख्दा उनी सबै निकाय र संरचनालाई निकम्मा बनाउन प्रतिबद्ध रहेको देखिन्छ ।
· सात संसदवादी दलहरूको प्रस्तावित ७ माघको पर््रदर्शनबाट तिल्मिलाएको सरकारलाई निर्वाचनमा हुने सम्भावित हिंसा र ओरालो लागेको अर्थतन्त्रले झनै तड्पाइरहेको छ । त्यसैले सरकारको अध्यक्षता गरिरहेका राजाले दल र माओवादी दुवैसँग वार्ता नगरी सुखै छैन ।

बलराम
चापागाउँ-६, ललितपुर


जिम्मा कसले लिने ?

'अध्यक्ष ज्ञानेन्द्रः जनता दुब्ला भया' (१-१५ माघ) मा नयाँ आवरण भित्रका राजाको स्वरुप प्रस्तुत छ । लेखमा कहीँ पनि राजा वा श्री ५ को दर्जा नदिएको निकै चित्तबुझदो लाग्यो । राष्ट्रको स्रोतको दुरुपयोग गरेर शासन-सत्ता दर्ीघकालीन हुँदैन । 'उकालो लाग्दा' स्तम्भमा ओरालो लागेको राजसंस्था बारेको लेखमा राजतन्त्र झन्झन् पतनतिर उन्मुख भएको देखिन्छ । कर्फ्यु र सेनाको भरमा जनताको कन्चटमा बन्दुक तेर्स्याएर गरिने चुनावले त्यो अधोगतिलाई रोक्ला र - चुनावको क्रममा भइरहेका र हुने रक्तपातको जिम्मा कसले लिने, सरकार वा सरकार प्रमुखले ?

आईपी घिमिरे र गोविन्द आकाश
दमक बहुमुखी क्याम्पस, झापा


वाह ! क्या राम्रो लेख

अहिलेसम्म सरकारका अध्यक्षलाई यति सुहाउँदा शब्दहरूको संज्ञा दिएर कसैले पनि ('अध्यक्ष ज्ञानेन्द्रः जनता दुब्ला भया' १-१५ माघ) लेख रचना कसैले पनि प्रकाशित गरेको थिएन । लेखकले महान् काम गरेका छन् । मलाई लाग्छ, नेपाली इतिहासमा यो लेख नै दशककै राम्रो लिखत सावित हुनेछ ।

नवराज कोइराला, क्यानाडा
navaraj@hotmail.com


बुद्धि त चोरको पनि हुन्छ

'को हुन् पवनकुमार ओझा' (रिपोर्ट, १-१५ माघ) ले पवनकुमार ओझाको इतिवृत्तान्त खोतलेझैँ उनी वास्तवमा प्रतिगमनलाई निरन्तरता दिनर्ुपर्छ भन्ने शाही हुकुमीतन्त्रका मतियार हुन् भन्दा अत्युक्ति नहोला । पवन कुमारको 'विद्वत्ता' ले मलाई मकवानपुरका पर्ूव रापंस तथा 'थाहा' दर्शनका प्रणेता स्व. रुपचन्द्र विष्टको 'मिहिनेत त मर्ूखले पनि गर्छ, बुद्धि त चोरको पनि हुन्छ' भन्ने भनाइ याद आयो ।

नरहरि महत
हर्नामाडी, मकवानपुर


नेतृत्वदायी भूमिका निर्वाह भएन

'राजमार्गमा माओवादीको रजाइँ' (देश समाचार, १-१५ माघ) शर्ीष्ाकको समाचार र तस्बिरले मुलुकमा फेरि भीषण रक्तपातको स्थिति पुनरावृत्ति हुनलागेको सङ्केत दिएको छ ।

माओवादी हिंसालाई बन्दुकले दबाउन खोज्दाको परिणाम हो अहिलेको अवस्था । वार्ताद्वारा समस्या समाधान गर्छु भन्ने सोच मात्र बनाउने हो भने समाधानका ढोकाहरू खुला छन् । राजाले सरकारको अध्यक्षता ग्रहण गरेपछि त झन् विवादरहित ढङ्गले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्थ्याे, हुन सकेन ।

भूमराज तिवारी
बेल्कोट-७ अमारे, नुवाकोट


कमैया हुनुको कारण

'ट्याक्टरले बनाउँदैछ किसानलाई कङ्गाल' (अर्थ, कृषि प्रविधि, १-१५ माघ) मा ट्याक्टरधनी धनगढीका बाधुराम चौधरीको कथा पढ्दा थारूहरू किन धेरै कमैया भए, लख काट्न गाह्रो परेन । बाधुरामको ऋण उकासी दिन व्यापारी भक्त ठकुल्लाले बाधुरामकै लालपर्ुजा ब्याङ्कमा धरौटी राखी रु.१८ लाख निकाली रु.७ लाख तिरी दिएछन् । यसबाट उनलाई एघार लाख रुपैयाँ सोझै नाफा भयो  । किनकि ब्याङ्कलाई उनले एक रुपैयाँ पनि सावाँव्याज तिरेनछन् । व्यापारी ठकुल्ला सोझा किसानलाई ठगेर कतै आरामका साथ शयर गरिरहेका होलान्, जग्गा गुम्ने भयो बाधुरामको । कानूनी दृष्टिले बाधुराम फसाइए । धेरै जमिन्दारहरूले अधिकांश थारू किसानहरूको लालपर्ुजा धरौटी राखेर ब्याङ्कबाट रकम निकाली ऋण नतिरिदिएकोले थारू जमिन्दारहरू कमैया बनेका कैयन् उदाहरण छन् । यस सम्बन्धमा हिमाल ले छुट्टै खोज गरोस् ।

कौशलेन्द्र कुमार
पो.ब.नं. ५९५८, काठमाडौँ


माओवादी र सरकार दुवै उस्तै

'राजाको भ्रमणः विकास बजेटको लूट' (देश समाचार १-१५ माघ) ले देशमा राजा, राजावादी र 'राष्ट्रवादी' को दबदबा दर्शाएको छ । राजाको भ्रमणमा पाँचथरको जिविसले विकास अनुदान शर्ीष्ाकबाट कट्टा गरेर रकम खर्चेको त उदाहरण मात्र हो । अहिले त जन्मोत्सवदेखि लिएर जन्मजयन्ती मनाउन कथित राष्ट्रवादीहरूले जिल्लाका सरकारी, गैरसरकारी कार्यालय, संघसंस्था तथा व्यापारीहरूसँग माओवादी जस्तै चन्दा असुल्न थालेका छन् । माओवादी र सरकारमा जङ्गलको मात्र फरक छ ।

राकेश पीसी
rakesh_pc@hotmail.com


कुरा ठीक हो

सम्पादकज्यू, कदी इतिहासविद् होइन । 'लाइब्रेरियन' मात्र हो, पुस्तकालयमा फेला परेका वस्तु केलाउने । कदीलाई जङ्गबहादुर कानुनन् 'महाराजा' थिए कि थिएनन् थाहा छैन तर उनी र उनीभन्दा पछिका पनि सबैजसो राणा प्रधानमन्त्रीहरूलाई नेपाली प्रजाले 'श्री ३ महाराज' नै भन्थे । त्यस बाहेक, बोलचालमा राणाकालमा श्री ३ लाई 'महाराज्' र श्री ५ लाई 'धिराज्' भनिन्थ्यो । यतिचाहिँ कदीलाई थाहा छ ।

भएपनि, अघिल्लो हिमालमा कौशलेन्द्र कुमारले उठाउनुभएको कुरा ठीक हो । त्यो सारिएको भनिएको कापीमा त्यस ऐनमा 'श्रीप्राइम्मिनिष्टर यान कम्यांडरइनचीफ जनरल जङ्गबहादुर कुँवरराणाजी' नै लेखिएको छ, 'महाराजा' होइन ।

कदी
पाटनढोका, ललितपुर


उघ्रियो सरकारको लाज

राजनीतिक सरगर्मी बढिरहेको बेला 'अबका ४५ दिन र देशका दशा' (आवरण, १६-२९ पुस) पत्रिकाको प्रमुख आकर्षा लाग्यो । लेख पढेपछि म्याकियावेलीको मान्यतालाई मूलमन्त्र बनाई अघि बढिरहेको दरबारसँग नेपालीलाई झुक्याउने कार्ड सकिएको निष्कर्षनिकाल्न सकिन्छ । किनकि सत्ता विश्वासबाट प्राप्त हुन्छ, विवेकले चल्छ र विचारको आधारमा निरन्तरता पाउँछ । माओवादी व्रि्रोहको प्रतिवादमा चलाइने शाही सेनाको सशस्त्र कारबाहीबाट जनताले राहत वा शान्तिको अनुभूति गर्न सक्दैनन्  । सरकार भने तर्राईका विभिन्न शहरहरूमा भइरहेको व्रि्रोह, विष्फोटन र मृत्युको तुलनामा राजधानीलाई सुरक्षित राख्नुलाई आफ्नो कर्तव्य ठानेर बसेजस्तो देखिन्छ । १ माघमा माओवादीले गरेको थानकोट हमलाले त सरकारको उक्त लाज पनि उघारिदिएको छ ।

अनिमेष पाठक
सिद्धिचरण मार्ग, ओखलढुङ्गा


गाउँ नछोड दलहरू

'अबका ४५ दिन र देशका दशा' (आवरण, १६-२९ पुस) मा सीके लालले प्रस्तुत गर्नुभएको तालिकालाई सम्भावना नभनी ठोकुवा गरिदिएको भएपनि हुन्थ्यो । राजा जनभावनाको प्रतिकूल हिँड्नुको पछाडि गलत सल्लाहले गर्दा पनि हो । किनकि राजालाई उक्साउनेहरू धेरै छन् तर, सम्झाउने र बाटो देखाउने कोही पनि देखिएनन्  ।

दलहरू शहरमा मात्र केन्द्रित रहेको ठानेर नै नेताहरू नपुगेको गाउँ-गाउँमा राजा पुगिरहेका छन् । लोकतान्त्रिक जागरणको निम्ति दलहरू गाउँसम्म नपुग्ने हो भने लोकतन्त्र फर्किन धेरै समय लाग्न सक्छ  ।

उपेन्द्र
बेलचोक-४ नारायणगढ


दया पलाओस्

'हिंसाः जुनसुकै बहानामा पनि अग्राहृय' (आवरण, १६-२९ पुस) ले आम जनताको आवाज बोलेको छ । वास्तवमा शान्ति र प्रजातन्त्रका पक्षपातीहरूले शत्रुको मन पनि जित्न सक्नर्ुपर्छ । यदि माओवादीहरूले आफूलाई त्यही ठान्छन् भने कथित जनकारबाही फिर्ता लिनर्ुपर्छ । राजाको निरङ्कुश सत्ता ढाल्न जनताको नैतिक बल र साहस नै पर्याप्त हुन्छ । आखिर राजहठको पनि त सीमा होला । उनी र उनका सरकारको आयु अँध्यारो रातभरि मात्र हो । त्यो रात पनि काट्न नदिन महात्मा गान्धीको असहयोग आन्दोलनको अनुसरण गर्नर्ुपर्छ सबै प्रजातन्त्रवादीले । शान्ति बहाली गर्ने बहानामा बन्दुक पड्काउने 'बहादुरी' सरकारले त्याग्नर्ुपर्छ । सबै निर्दयीहरूमा दया पलाओस्, हत्याको प्रतिस्पर्धा बन्द होस् ।

कमला राजभण्डारी
इन्द्रपुर, खोटाङ


बरु भुस खानु, घुस नखानु

'भ्रष्टाचार नियन्त्रणः के हुँदैछ' (प्रभाव फिचर, १६-२९ पुस) पढेपछि भ्रष्टाचार जस्तो घृणित व्यवहारबाट मुक्ति पाउन नेपालले गरिरहेको र्सार्थक प्रयासको प्रशंसा गर्न मान लाग्यो । हामीकहाँ कुनै सानो काम गराउन पनि टिप्स लिने-दिने वा 'चिया खर्च हजुर' भन्ने बानी छ । ठूल्ठूला ठेक्कापट्टादेखि अनियमित काम गर्न-गराउन पदीय दुरुपयोग हुने गर्छ । अनियमित आम्दानीले ल्याएको असमानताले समाजमा द्वेष, विभेद र असहिष्णुता जन्माउँछ । कानूनी संरचनालाई संस्थागत गर्दै आम नागरिकमा भ्रष्टाचारविरोधी धारणा जागृत गराउन सङ्गठित र साझा पहल जरुरी छ । सभ्य, समुन्नत र सुसंस्कृत समाज निर्माणको निम्ति राष्ट्रिय र दातृ निकायको सहयोगमा सञ्चालित भ्रष्टाचार विरुद्धको आन्दोलनले आशाको सञ्चार गराएको छ । त्यसको प्रतिफल हो, भ्रष्टहरूलाई सामाजिक रूपमा बहिष्कार र उपेक्षा गर्न थालेको । यो अभियानले सफलता पाउँदै गयो भने पक्कै पनि 'बरु भुस खानु, घुस नखानु' भन्ने मान्यता स्थापित हुनेछ । अर्थात् रुखो-सुखो खालान् तर सम्पन्न र सुखी जीवनको लागि भ्रष्टाचार नगर्लान् ।

राधेश्याम गजुरेल
बेल्कोट-६ तिगाउँ, नुवाकोट


केही हुँदैरहेछ

भ्रष्टाचार सम्बन्धी विशेष आलेख (प्रभाव फिचर, १६-२९ पुस) पढ्दा भ्रष्टाचार नियन्त्रणको निम्ति प्रसस्तै कानूनी र अन्य व्यावहारिक कठिनाईहरू विद्यमान रहेको थाहा भयो । चारैतिर भ्रष्टाचारै भ्रष्टाचार छ भन्ने हल्लाले भरिएको हाम्रो दिमागमा हिमाल को उक्त सामग्रीले आशाको उज्यालो प्रवेश गरायो  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतले गरेको प्रयासको छोटकरी विवरण पढ्न पाउँदा सबै सुतेका रहेनछन्, धेरै काम हुँदैरहेछ भन्ने लाग्यो । राष्ट्रिय र्सतर्कता केन्द्र, अन्य सरकारी कार्यालय र सर्वोच्च अदालतको कामबाट सन्तुष्ट हुने ठाउँ रहेनछ । तैपनि समाज नै भ्रष्टाचार विरोधी बनेपछि ती निकाय पनि कहाँ जालान् र - एक न एक दिन त भ्रष्टाचार विरोधी अभियानमा हातेमालो गर्नै पर्नेछ ।

विकास कार्की, सञ्जिव गौतम
तिनटोलिया विराटनगर


कसरी पत्याउने ?

'नगरकोट नरसंहारः नयाँ तथ्य नआउने' (देश समाचार, १६-२९ पुस) मा भनिएझैँ जाँचबुझ टोलीले कुनै नयाँ कुरा ल्याएनन् । तर जनमानसमा जन्मिएका थुप्रै प्रश्नहरू अनुत्तरित नै छन् । मेलामा विवादपछि सिपाही वासुदेव थापाले राति नै त्यति छिटो कहाँबाट कसरी हतियार ल्याएर र्सवसाधारणमाथि गोली चलाए - के सेनामा जथाभावी हतियार राखिन्छ - हतियारको कुनै गोपनीयता हुँदैन - यस्तै हो भने अर्को वासुदेव जन्मिन्छ । यस्तो तरिकाले कसरी राष्ट्रको अखण्डता जोगाउला सेनाले - अर्को कुरा आफैँले आफ्नो छातीमा एसएलआर बन्दुकले गोली हानी आत्महत्या गर्न सकिने कुरा पत्यारलाग्दो छैन । बन्दूक पड्किएपछि नाल दायाँबायाँ हल्लिन्छ र गोली सीधा छातीमा लाग्ने सम्भावना कम हुन्छ । त्यस्तै यस्ता घटनासँग सम्बन्धित जुनसुकै पदको व्यक्ति होस् सैनिक नियमानुसार कोर्ट मार्शल हुनुपर्ने हो । तर, सरकारले कसैलाई केही गर्‍यो र ?

डी. मश्राङ्गी (थापा)
पाल्पा


बल्ल बुझयो

चित्त कसको नबुझला र, त्यस्तो भेटेपछि
सोह्र-उन्तीस 'हिमाल' को, कार्टर्ूूदेखेपछि
उम्मेदवारले भोट माग्ने, बन्दुकको भर
बिचरालाई होला नि त, बन्दुकेकै डर
लानुपर्ने कता होला, बन्दुकले बोकी
एउटा खुट्टा छैन जुत्ता, ढँटुवारे हो कि
भोकै थियो मतदाता, झण्डै बन्दुक खायो
बन्दुकसँग नारिएर, लुरुलुरु आयो
बुझन बाँकी उही थियो, बल्ल बुझयो अब
नेपालको राजनीति, बन्दुक नीति सब

इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुङ्गा